पालमपुर (भारत) – भारतको हिमाचल प्रदेशस्थित पालमपुरमा सम्पन्न एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिष्ट अफ इन्डिया (एसिओआईएन) को १५औं वार्षिक सम्मेलन तथा २४औं अन्तर्राष्ट्रिय सभा इन्टरनेसनल एसेम्ब्ली अफ कम्युनिटी अप्थाल्मोलोजिस्टमा नेपालका विभिन्न नेत्र रोग विशेषज्ञहरूलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिएको छ।
यस वर्षको प्राडा आरपी पोखरेल इन्डोमेन्ट एसिओआईएन–एनएनजेएस इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेसनल अवार्डबाट डा. तेजसु सिंह मल्ल सम्मानित भएका छन्। उनी हाल छत्रपति निःशुल्क चिकित्सालय, दृष्टि आँखा केन्द्र र बी एण्ड बी अस्पतालमा कार्यरत छन्। डा. मल्ल नेपाल अफ्थाल्मिक सोसाइटीका महासचिव तथा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य समेत हुन्।
त्यसैगरी, तिलगङ्गा आँखा प्रतिष्ठानकी भिट्रियो–रेटिना विशेषज्ञ डा. सुष्मा दुवाललाई प्रा बिएनआर सुबुधी इन्डोमेनट एसिओआईएन इन्टरनेसनल अवार्ड फर प्रिभेन्सन अफ डायबेटिक रेटिनोप्याथी प्रदान गरिएको छ। उनी विगत एक दशकदेखि तिलगंगामा भिट्रियो–रेटिना सेवामा कार्यरत छिन्।
तिलगङ्गा आँखा प्रतिष्ठानबाट मास्टर्स डिग्री प्राप्त डा. निश्चल घिमिरेले डा पिनाकी रन्जन रोय मेमोरियल एसिओआईएन अवार्ड प्राप्त गरेका छन्। उनले सुनसरी जिल्ला अस्पतालमा आँखा विभाग स्थापना गर्ने र विराटनगरको कोशी अस्पतालमा पहिलो सरकारी मोतिबिन्दु शल्यक्रिया सुरु गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल अफ्थाल्मिक सोसाइटीले उनलाई योङ्ग अप्थाल्मोलोजिष्ट स्टार २०२३ बाट पनि पुरस्कृत गरेको थियो।
योङ्ग अप्थाल्मोलोजिष्ट नेपालका अध्यक्ष डा. अमित कुमार यादवलाई डा. एरोप–मीनाक्षी मिड्या मेमोरियल एसिओआईएन अवार्ड प्रदान गरिएको छ। उनी हाल जानकी आँखा अस्पताल, जनकपुरमा कन्सल्टेन्ट नेत्र रोग विशेषज्ञका रूपमा कार्यरत छन्।
यस्तै, चितवन मेडिकल कलेजका प्राध्यापक तथा विभागीय प्रमुख प्रो. डा. ऋषिकान्त अधिकारीलाई श्री कृष्णमान एन्ड लिलामाया भण्डारी मेमोरियल एसिओआईएन इन्डो नेपाल फ्रेन्डसिप अवार्डबाट सम्मान गरिएको छ।
त्यसैगरी, ACOIN President’s Appreciation Gold Plaque बाट
डा. पवन श्रेष्ठ (विराटनगर आँखा अस्पताल)
डा. संजिता शर्मा (तिलगङ्गा आँखा अस्पताल)
डा. इरिना कन्सकार (ग्रान्डे अस्पताल)
डा. पवन महत (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)
डा. राजेश श्रेष्ठ (विराटज्योति आँखा अस्पताल) लाई समेत सम्मान गरिएको छ।
एसिओआईएनका राष्ट्रिय अध्यक्ष प्रा. डा. ललित के. नेपालियाका अनुसार संस्थाले समुदायमा नेत्र स्वास्थ्य सचेतना अभिवृद्धि र आँखा उपचार सेवा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
संस्थाका संस्थापक महासचिव प्रा. डा. स्वापन के. सामन्तका अनुसार सन् २००० मा स्थापना भएको एसिओआईएनमा हाल १६०० भन्दा बढी आजीवन सदस्य छन्। संस्थाले आफ्नो २५औं वार्षिकोत्सव सन् २०२६ अक्टोबर २४–२७ का बीचमा कोलकाताको विश्व बङ्गला कन्भेन्सन सेन्टरमा मनाउने तयारी गरेको छ।
“Reach the Unreached” भन्ने नारासहित ACOIN ले समुदाय–आधारित नेत्र स्वास्थ्य सेवामा कार्य गर्दै आएको छ, जसले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म तीनै पुस्ताका लागि रोकथाम, उपचार र पुनःस्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।