वर्षायामको भाद्र महिना चलिरहेको छ। बिजुली बत्ति नभएकोल गर्मी महसुस हुन् थाल्यो। चिया पिउँदै गफ गर्न अनि थोरै भएपनि गर्मी छल्न हामी छतमा निस्क्यौं। छतमै एकातिर किचेन कोठा अनी अर्कोतिर फुलबारी त्यसमाथी आधा ट्रस्ट हालेको सुन्दर अनि हावादार छत थियो र ट्रस्टको मुनि सजाएर राखेको टेबल अनि कुर्सीमा बसेर चिया पिउन थाल्यौं।
आन्टीले चिया ल्याइदिनुभो हामिले धन्यवाद भन्दै चियाको चुस्की लिन थाल्यौं। एक पटक चिया पिउँदा धेरै पटक हात खुट्टा हलाउनु पथ्र्यो,कारण थियो लामखुट्टेको टोकाइ। मिठो चियाको स्वाद पनि लामखुट्टेको टोकाइले नमिठो हुदै थियो।
सहनै नसकेर मैले भने बाफ्रे कति लामखुट्टे छ है! प्रतिउत्तर दिँदै आन्टीले भन्नु भयो 'हो बाबु तराईंको ठाउँमा गर्मी पनि उस्तै छ, लामखुट्टेको आतंक झन् त्यस्तै, अब त लामखुट्टे पनि सिढीँ लगाएर चढेझैँ माथी-माथी जिल्लामा पुगिसक्यो। देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगुको संक्रमण देखा परिसक्यो। नयाँ नेपालको पुरानो अनि नयाँ नेतृत्वहरुले डेंगु रोकथाम तथा नियन्त्रणमा पक्कै उपयुक्त योजना ल्याउलान् भन्ने आशा छ,' उहाँले मुस्कुराउदै भन्नु भयो।
मेरो साथी राम(नाम परिवर्तन)ले थपे, नहाँसिकन भन्नुस आन्टी, सबै दोष नेताहरुलाइ लगाएर मात्र हामी पन्छिन पाइन्छ र? हाम्रो पनि त केही उत्तरदायित्व होलानी डेंगु नियन्त्रणको लागी होइन र? हेर्नुस त तपाईंको घर वरिपरी सफा छैन, झाडी देखिन्छ, नाला सफा छैन, गमलामा पानी जमेको जस्तो देखिन्छ अनि झ्यालमा खै त लामखुट्टे नछिर्ने जाली? घर वरिपरी सफा राख्नु पर्यो फोहरमेलाको व्यवस्थापन गर्नुपर्यो नि सरकारलाई मात्र दोष दिएर मात्र हुन्छ?
रामको कुरा सकिन नपाउँदै आन्टीले भन्नुभयो, 'हो बाबु ठिक भन्नुभन्यो हाम्रो पनि उत्तरदायीत्व हो। भोलि पनि आउनुहोला काम गरेको हेर्न अनि चिया पिउन।'
हवस्त नमस्ते भन्दै हामी बिदा भयौं।
अर्को बिहान करिब ९ बजे तिर हामी फेरि आइपुग्यो आन्टीको घर। काम गर्ने मान्छे ठिक्क यही बेला आइपुगे। लौ हजुर यो सफा गरेको आठ सय लिन्छु। कोदालो अनि झार काट्ने हसिया दिनुस् भन्दै थियो। यति भन्दै उनले आफ्नो पुरा बाहुला भएको लुगा फुकाल्न लागिसकेका थिए। म मनमनै सोच्दै थिएँ। आठ सय अर्थात महिनाको चौबिस हजार तैपनि यति काम गर्न ६ घण्टा पनि लाग्दैन। पढेलेखेकाहरुले त महिनाको चौबिस हजार तलब थाप्न कठिन छ। तर भन्न नसकेर शब्द फोरेर भनें-यती काम गर्न आठ सय महंगो भएन र? धेरैमा अढाई-तीन घण्टा त लाग्ला नि।
प्रतिउत्तर दिँदै उनले भने,'हो हजुर, महंगी कहाँ पुगीसक्यो। बजारमा सामान छोइसक्नु छैन, हजुरलाई थाह छ त?' फेरि सोच्न बाध्य भएँ, दिनको ८-१० घण्टा काम गर्ने मध्यम शिक्षितहरुको त यति तलब हुँदैन बिचरा शिक्षित मजबुर जागिरेहरु। उनीहरुको लागि महँगी सायद हुँदैन होला। विरोध गरे जागिरबाट निकालिने डर, अनि नगरे पढेको इज्जत जोगाउन मुस्किल उफ्!
'के सोच्न थाल्नु भो बाबु?' भनेर भन्दा पो झसंग भएँ। काम गर्ने मान्छे बाहुला भएको लुगा खोलेर गन्जीमा मात्र थिए। उनको कामको इज्जत गर्दै मैले भनेँ, 'ठिक छ आन्टी दिनुस् आठ सय।' आन्टीले भने काम गर्नेलाई इज्जत र पैसा दुवै दिनुपर्छ। श्रम शोषण गरेर अरुको छोरा छोरीको पेट र शिक्षामा लात मार्नु हुँदैन, एक दिन पाप धुरीबाट कराउछ। यदि यो कुरा हेरक रोजगारदाताले बुझिदिए....मनमनै फेरि सोचेँ अनि बोलेँ, झाडीमा सरसफाई गर्दा पुरा शरीर ढाक्ने बाहुला भएको कपडा लगाएरमात्र काम गर्ने गर्नुस्।
कामदार र आन्टीले एकै स्वरमा भन्नुभयो, किन? टुसुक्क पिर्कामा बसिरहेको रामले थपे, डेंगुको प्रकोप बढ्दै छ थाहा छैन तपाइहरुलाई? अनी आन्टीले भन्नुभयो, 'बाबु अलिक विस्तृतमा भनन यो डेंगुको बारेमा।'
म यसरी भन्न थाले।
डेंगु रोग रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या हो। यो संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। डेंगुका जिवाणु नेपालमा सन् २००४ मा देखा परे, २००६ देखी पटकपटक गरी हालसम्म जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको छ। एडिज जातको लामखुट्टे सफापानी जमेको ठाँउहरुमा वृद्धिविकास हुने गर्दछ।
डेंगु ज्वरोको हालको अवस्था
डेंगु ज्वरो हाल नेपालमा ७५ वटा जिल्लामा देखा परिसकेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ सेप्टेम्वर ६ सम्म सबै भन्दा बढी ललितपुर जिल्लामा २२६३, काठमाडौं जिल्लामा १२२९ संक्रमण पुष्टि भईसकेको छ। नेपालका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४६४७, लुम्बिनी प्रदेशमा ९०४ तथा प्रदेश नं १ मा २४८ जनालाई संक्रमण भईसकेको छ। डेंगु संक्रमण खास गरेर वर्षा मौसममा बढी देखा पर्दछ। यसको संक्रमण दर जुलाई,अगष्ट र सेप्टेम्बरमा उच्च रहेको छ। सेप्टेम्बर महिनामा संक्रमण दर अझैं बढ्नसक्ने सम्भावना छ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार डेंगुको स्रक्रमण दर बढ्दो क्रममा छ। सन् १९७० अगाडि केबल नौवटा राष्ट्रमा मात्र डेंगुको संक्रमण थियो भने हाल एक सय भन्दा धेरै राष्ट्रहरुमा यसको संक्रमण देखिएको छ। खासगरी अमेरिका, दक्षिण पूर्वी एसियामा, पश्चिमीप्र शान्त क्षेत्रमा देखीएको छ। अन्य क्षेत्रभन्दा ७० प्रतिशत डेंगुको संक्रमण एसियामा मात्र देखा परिसकेको छ। कोमलराज रिजालको समूहले गरेको अनुसन्धानमा डेगु संक्रमणलाई नयाँ उदाउदो जनस्वास्थ्य समस्याको रुपमा लिइएको छ। जसलाई नियन्त्रण गर्नको लागि वातावरणिय सरसफाईको प्रमुख योगदान हुने गर्दछ। यसैगरी ओपी साहले गरेको अनुसन्धानमा डेंगु ज्वरोलाई प्रमुख जनस्वास्थ्य समस्याको रुपमा लिई समयमै रोकथाम तथा नियन्त्रण गर्नुपर्दछ भन्ने निश्कर्ष निकालेका छन्।
डेंगु ज्वरो लागेमा देखिने लक्षणहरु
डेंगु ज्वरो अतितिव्र खाले विषाणुजन्य रोग हो। यसका लक्षणहरु एक्कासी ३ देखी ५ दिन सम्म उच्च ज्वरो आउनु, अति नै टाउको दुख्नु, मांशपेसी तथा जोर्नीहरु दुख्नु, आँखा दुख्नु, खानामा अरुचि हुनु, शरीरमा डाबर आउनु, शरीरमा सुरुमै रातो बिमिरा आउने गर्दछ। यससँगै बिरामीको नाक तथा गिँजाबाट रगत बग्दछ र छालामुनी रक्तश्राप समेत हुने गर्दछ।
लामखुट्टे नियन्त्रणका उपायहरु
डेंगु एडिज जातको लामखुट्टेबाट सर्ने सरुवा रोग हो। यो लामखुट्टे अरु जातको लामखुट्टे भन्दा ठुलो आकारको कालो सेतो छिर्केमिर्के रङ्ग भएको हुन्छ। यो लामखुट्टे खासगरी जमेको सफा पानीमा बस्दछ। सडक छेउछाउमा राखिएको गाडीका टायरहरु, पानीका बोतलहरु, गमला तथा अन्य भाँडाकुँडाहरु जहाँ पानी जम्नसक्छ त्यस्तो ठाँउहरुमा यो लामखुट्टेले सहज रुपमा वृद्धिविकास गर्दछ। यो लामखुट्टे दिउँसोको समयमा धेरै सक्रिय रहन्छ। तसर्थ दिउँसोको समयमा हामी लामखुटट्टेको टोकाइबाट बच्नुपर्दछ।
डेंगुको संक्रमणबाट बच्ने उपायहरु
डेंगुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उपर्युक्त हुन्छ। लामखुट्टेले आफ्नो जिवनकालमा विभिन्न स्थानमा गएर ८०० भन्दा बढी अण्डा पार्ने भएकोले यसको लार्भालाई नै नष्ट गर्नु सबैभन्दा उत्तम उपाय हो। यसको साथै घर वरिपरिको वातावरण सफ गर्ने, एडिजका लार्भाहरुलाई नष्ट गर्ने, घर वरिपरि रहेका पानी जम्नसक्ने भाँडाकुँडाहरुलाई उचित तरिकाले व्वयस्थापन गर्ने, झाडिहरुलाई नष्ट गर्ने, कृषिकार्य गर्दा शरीर ढाक्ने कपडाहरु लगाएर कार्य गर्ने गर्नुपर्दछ।
डेंगु ज्वरो रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागी केवल राज्यमात्र उत्तरदायित्व भएर हुँदैन। यसका लागि हामी आमनागरिक, स्थानीय तह, विभिन्न संघसस्था, प्रदेश सरकार लगायत केन्द्रीय सरकारको पनी जिम्मेवारी हो। उपचारात्मक प्रकृया भन्दा रोगथाम तथा नियन्त्रण प्रकृयामा जोड दिए राज्यको खर्चलाई न्युनीकरण गर्न सकिन्छ।
(लेखक कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरका सह-प्राध्यापक हुन्।)