पहिले–पहिले मानिसको आम बुझाइ थियो कि रोग दुई किसिमका हुन्छन्– धनीलाई लाग्ने रोग र गरिबलाई लाग्ने रोग। झट्ट सुन्दा वैज्ञानिक नलागे पनि यसले त्यतिबलाको समाजको बुझाइको चित्रण गरेको छ।
अहिले आएर त्यो समयको बुझाइको स्तरलाई मिहीन ढंगबाट विश्लेषण गर्ने हो भने सुगर, उच्च रक्तचाप, मोटोपन धनीका रोग हुन् भने सर्ने रोगहरु प्रायः गरिबका रोग मानिनु स्वभाविक लाग्दछ। तर यथार्थ यो हो कि रोगले धन, जाति, वर्ग केही पनि भन्दैन।
अर्कोतर्फ योगको बारेमा नेपाली समाज कुनै न कुनै रुपमा जानकार रहेको मान्न सकिन्छ तर के योगाभ्यास सम्पूर्ण नेपालीको पहुँचमा छ त? यो पनि कतै विकृति तथा फेसन त बनिरहेको छैन? यी कुराको विश्लेषण गर्दा मलाई ढुक्क हुने जवाफ मिलेन। किनकि मेरै घर छिमेकलाई यसको ज्ञान छ तर अभ्यासका लागि आ–आफ्ना चुनौती छन्।
दिनचर्याको हकमा एक आम मानिसको 18 र धनी वर्गको तुलना गर्दा जो मानिस श्रममा बाँचेका छन् उनीहरु योग अभ्यास गर्न जरुरत नै ठान्दैनन्। कारण उनीहरुले गर्ने शारीरिक कर्मले नै व्यायामको मात्रा पुरा हुने उनीहरुको ठम्याइ छ। हिजोआज ठुलो पेट लिँदै योग सेन्टर धाउनु अथवा युट्युब र टेलिभिजनमा हेर्दै अभ्यास गर्नु नै धनी वर्गको योग गर्ने तरिका बनेको छ। तसर्थ समस्या व्यवसायी र मजदुर वर्गलाई बढी मात्रामा छ किनकि उनीहरुको दैनिकी तालिका अनुसार नहुनु तथा काम गरेपछि योगको आवश्यक पर्दैन भन्ने आम बुझाइ कायम छ।
यसरी हेर्दा योग सबै नेपालीको दैनिक तालिकामा अटाउन नसकेको देखिन्छ। यस चुनौतीलाई निराकरण गर्नका लागि योगलाई यी विविध रुपबाट जीवनमा लागू गर्न सकिन्छ।
समयमा सुत्ने र उठ्ने
हामीले दैनिक जीवनको धैरै समय निद्रामा खर्चिदा कतिपय कार्य राम्रो तरिकाले सम्पादन गर्न सकिरहेका हुँदैनौँ। त्यसकारण हाम्रो व्यस्त समयको एक कारण आवश्यकताभन्दा बढी सुत्नु पनि हो। समयमा उठ्ने र सुत्ने गर्दा हामीले समयको बचत गर्न सक्दछौँ। बिहानको समयमा चाँडै उठेर नियमित १०–१५ मिनेट मात्रै योगाभ्यास गर्ने गर्यौँ भने शरीर फुर्तिलो र तनावमुक्त हुनुका साथ यसलाई बानीको रुपमा विकास गर्न सकिन्छ। यसरी हेर्दा राति १० बजेदखि बिहान ५ बजेसम्म सुत्ने बानी निकै प्रभावकारी मान्न सकिन्छ।
योगलाइ सर्वोपयोगी बनाउने
योगलाइ सर्वउपयोगी बनाउन अनेक किसिमका आसनहरु निर्माण गरिएको छ। साथै असजिला आसनहरुलाई समयानुकूल परिमार्जित समेत गरिएको पाइन्छ। सूर्य नमस्कार ह्विलचेयरमा समेत बसेर गर्न सकिने गरी परिमार्जन गरिएकोले यसको व्यापकता अझै बढ्नेमा सन्देह गर्न सकिँदैन। आफ्नो व्यापारमा असर नपर्नेका लागि प्राणायाम तथा सहज आसानहरुको ज्ञानले गर्दा योग अभ्यास सरल र नित्य उपयोगी हुन जान्छ तर यो भन्दैमा योगका आधारभूत ज्ञान तथा नियमहरुको ध्यान दिनु भने अपरिहार्य रहन्छ।
रोग अनुसार योगाभ्यास
सबै खाले योग आसनहरु गर्न असमर्थहरुका लागि आफ्नो रोग अनुसारको विशेष खाले आसनहरु तर्जुमा भएका छन्। रोगअनुसारका आसन, प्राणायामहरु मात्र गर्दा पनि निकै फाइदा हुने गर्दछ।
योग शिविरमा भाग लिने
योगसम्म स्थानीयको पहुँच पुर्याउन विभिन्न संस्थाले नि:शुल्क योग शिविर सञ्चालन गरिरहेका हुन्छन्। यस्ता शिविरहरुमा सहभागी हुँदा अभ्यासका तरिकाहरुको याद गर्न सजिलो हुन्छ। यस्तो विधीलाई सिकाइको कम खर्चिलो माध्यमसमेत मान्ने गरिएको छ। योगलाई सामूहिक रुपमा अभ्यास गर्दा छुट्टै जोसजाँगर तथा मानसिक स्फुर्ति समेत आउने गर्छ।
फुर्सदमा ध्यान केन्द्र जाने
सातामा बिदा पर्ने समय तथा फुर्सदमा केही समय योग तथा ध्यान केन्द्रहरुमा गएर पनि बिताउन सकिन्छ। योगसम्बन्धी अध्ययन तथा प्रशिक्षण दिने यस्ता केन्द्रहरुमा जाँदा ज्ञानको दायरा फराकिलो हुनुका साथै परिवर्तित नियमहरुको समेत जानकारी मिल्छ।
स्वस्थ समाज निर्माण
स्वास्थ्य सम्बन्धी जनचेतना तथा स्वस्थ 18को ज्ञानबाट मात्र स्वस्थ समाज निर्माण हुन्छ। समाज तथा परिवारमा योगको ज्ञानले सामूहिक कार्यको भावना जागृत हुनुका साथै नयाँ ऊर्जा सञ्चार हुन्छ। यसबाट ज्ञानको प्रचार तथा प्रेरणा सबैमाझ पुर्याउन सकिन्छ।
आयुर्वेद र योगको संयोजन लाभदायक
आयुर्वेदिक जडीबुटीको नियमित प्रयोग मानव स्वास्थ्यको रक्षा र रोगको उपचार दुवैमा लाभदायक हुन्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास आयुर्वेदबाट सम्भव छ तसर्थ आयुर्वेद र योगको संयोजन एक प्राकृतिक तरिका हो। योगाभ्यास गर्न नसक्ने व्यक्तिले स्वस्थ्य 18 अपनाउन आयुर्वेदमा वर्णन गरिएको दिनचर्या, ऋतुचर्याको अध्ययन तथा अनुशरण गर्नु उपयुक्त हुने गर्दछ।
यसरी योगको सम्यक अभ्यासबाट स्वस्थ समाज निर्माण र दीर्घ जीवनको कामना गर्न टेवा मिल्ने हुँदा योगलाई आम मानिसको घर–घरमा पुर्याउन जरुरी छ। त्यसैले समयानुकूल योगको अभ्यास आम मानिसले गर्न र गराउन जरुरी देखिन्छ नत्र योग ‘फिटनेस’को नाममा धनी वर्गको तालिकामा मात्र सिमित हुने अवस्था नआउला भन्न सकिँदैन।
(लेखक नेपाल आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष हुन्।)