परिचय : पिसिओएस प्रजनन् उमेरका महिलामा देखिने सबैभन्दा बढी पाइने हार्मोन सम्बन्धी रोग हो। विश्वमा करिब ६ देखि २० प्रतिशत महिलामा यो रोग देखिन्छ। नेपालमा शहरी क्षेत्रमा ९ देखि १८ प्रतिशतको दरले पिसिओएस देखिएको छ। यस रोगका मुख्य लक्षणहरूमा अनियमित महिनावारी, पुरुष हर्मोनको मात्रा बढी हुनु र डिम्बाशयमा थुप्रै साना सिस्टहरू देखिनु पर्दछन्। यसले बाँझोपन, मेटाबोलिक समस्याहरू जस्तै मोटोपन, मधुमेह, मुटुरोग आदि संगै मानसिक समस्याहरू पनि ल्याउन सक्छ।
यसको उपचारका लागि जीवनशैली परिवर्तन तथा औषधि सेवन हो। जीवनशैली परिवर्तन प्रभावकारी भए पनि दैनिक जीवनमा निक्कै कम प्रयोग भएको पाइन्छ। अधिकांश मानिसहरुले औषधिले मात्र पिसिओएसको व्यवस्थापन हुन्छ भन्ने ठान्दछन्। तर औषधिको मात्र प्रयोगले उल्लेख्य परिणाम आउन नसक्ने र दुष्परिणाम पनि धेरै हुने देखिन्छ। अतः आधुनिक युगमा जीवनशैली परिवर्तन नै प्रमुख उपचार हो ।
जीवनशैली परिवर्तनका साथसाथै आयुर्वेद तथा परम्परागत चिकित्सा पद्दति धेरै जस्तो पिसिओएसमा उपयोगी सावित भइसकेका छन्। यस लेखले आधुनिक र वैकल्पिक चिकित्सा मिलाएर पिसिओएसको एकीकृत उपचार विधिको बारेमा प्रकाश पार्नेछ।
रोगको कार्यविज्ञान र निदान
पिसिओएसमा मुख्य रूपमा इन्सुलिन प्रतिरोध हुने र पुरुष हर्मोनको मात्रा बढी हुने हुन्छ। यसले अण्डा उत्पादनमा असर पुर्याउँछ र छालामा डन्डीफोर, अनुहारमा रौँ आउनु, टाउकोको कपाल झर्नेजस्ता समस्या ल्याउँछ।
Rotterdam Criteria अनुसार पिसिओएसको निदान गर्न कम्तिमा ३ मध्ये २ लक्षण हुनुपर्छ:
1. महिनावारी नआउनु वा अनियमित हुनु
2. पुरुष हर्मोनको लक्षण वा परीक्षणमा उच्च हुनु
3. डिम्बाशयमा साना साना सिस्टहरू देखिनु
विश्वव्यापी प्रभाव
धेरै महिला भने निदान नपाएर उपचारबाट बन्चित नै हुन्छन्। यस रोगले मधुमेह, मुटु रोग, र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ। साथै, करिब ७०–८० प्रतिशत महिलामा बाँझोपन देखिन्छ। मानसिक रूपमा पनि यो रोगले तनाव, डिप्रेशन, आत्मविश्वासमा कमी ल्याउँछ।
नेपालमा उपचारको पहुँच कम हुनु, लाजको भावना र परम्परागत उपचारप्रतिको अन्धबिस्वासले रोगको बोझ झनै बढाएको छ।
हालका उपचार विधिहरू
औषधि
• पिल: महिनावारी मिलाउन र पुरुष हर्मोन घटाउन
• मेटफोर्मिन: इन्सुलिनको प्रतिरोध घटाउन
• क्लोमिफेन, लेट्रोजोल: अन्डा उत्पादन बढाउन
• स्पाइरोनोलेक्टोन, फिनास्टेराइड: अनुहारको रौँ तथा चाउरीपन कम गर्न
जीवनशैली परिवर्तन
धेरै अध्ययनहरूले जीवनशैली परिमार्जन (आहार, व्यायाम, र तनाव व्यवस्थापन) पिसिओएस को व्यवस्थापनमा प्रभावकारी हुने देखाएका छन्। जीवनशैली सुधारले मात्र औषधिको तुलनामा दीर्घकालीन रूपमा राम्रो परिणाम दिन सक्छ।कम ग्लाइसेमिक फूड, व्यायाम, र मानसिक स्वास्थ्य सुधार गर्ने व्यवहारिक उपायहरू जीवनशैली परिवर्तन अन्तर्गत पर्दछन। केवल ५–१०% वजन घटाउँदा पनि धेरै लक्षणमा सुधार आउँछ।
वैकल्पिक र परम्परागत उपचार
आयुर्वेद
आयुर्वेदमा पिसिओएस लाई "आर्तव क्षय" वा "स्रोतोरोध" भनिन्छ, जसमा कफ र वात दोष बढी हुन्छ। उपचार बिधि २ प्रकारको हुन्छ। शमन र शोधन; शमन मा जडिबुटी औषधि को प्रयोग गरिन्छ भने शोधनमा पंचकर्म अपनाइन्छ। केहि अनुसन्धान भएका जडिबुटी हरु निम्न प्रकार छन्:

पंचकर्म

योग
योग अभ्यासले महिलाका प्रजनन हर्मोन सन्तुलन गर्न , इन्सुलिनको काममा सुधार गर्न तथा महिनावारी नियमित गर्न मद्दत गर्छ। जस्तै : सुप्त बद्ध कोणासन, भुजङ्गासन, प्राणायाम।
अकुपङ्क्चर
इलेक्ट्रो अकुपङ्क्चरले अण्डा उत्पादनमा सुधार गर्न, इन्सुलिनको काममा सुधार गर्न र तनाव घटाउन सहयोग गरेको पाइएको छ।
आहार र पोषण
• खानामा कम ग्लाइसेमिक इन्डेक्स भएका खाना
• इनोसिटोल, भिटामिन D, ओमेगा–३ जस्ता तत्वहरु
विश्वमा एकीकृत चिकित्सा प्रणालीको सफल प्रयोगका उदाहरण
संयुक्त राज्य अमेरिका र युरोप: धेरै एकीकृत स्वास्थ्य सेवा प्रदायकहरूले पीसीओएसको उपचारमा आधुनिक चिकित्सा संगै पोषण र जीवनशैली परामर्शलाई संयोजन गरेको पाइन्छ।
भारत: पीसीओएस व्यवस्थापन गर्नको लागि आयुर्वेद अनुसार आहार परिवर्तन, जडीबुटी र जीवनशैलीलाई आधुनिक चिकित्साका विधि संगै प्रयोग गरेको पाइन्छ।
अस्ट्रेलिया र न्युजिल्याण्ड: प्रमाणमा आधारित एकीकृत दृष्टिकोणमा ध्यान केन्द्रित गरी पीसीओएस व्यवस्थापनमा औषधिहरु , आहार परिवर्तनहरू, व्यायाम र मानसिक स्वास्थ्य प्रवर्धन प्रयोग हुन्छ
चीन: परम्परागत चीनी चिकित्सा (टीसीएम) ले लामो समयदेखि अक्यूपन्चर र जडीबुटी उपचारहरू प्रयोग गरेको छ, जुन अब आधुनिक पीसीओएस व्यवस्थापन रणनीतिहरूमा पश्चिमी चिकित्सा संग एकीकृत गरिएको छ।
नेपालमा एकीकृत उपचारको सम्भावना
नेपालमा आधुनिक र परम्परागत उपचार प्रणालीलाई मिलाएर एकीकृत उपचारको विकास गर्ने सम्भावना छ। नेपाली जनताले आयुर्वेद र अन्य वैकल्पिक चिकित्सा प्रणालीप्रति विश्वास राख्ने भएकाले यस्तो प्रणाली सफल हुने सम्भावना बलियो देखिन्छ। देशमा आधुनिक (जस्तै: एलोपेथिक) र परम्परागत (जस्तै: आयुर्वेदिक) दुवै स्वास्थ्य सेवाहरू उपलब्ध छन्, जुन एक अर्कालाई पूरक बन्न सक्छन्। तर, केही चुनौतीहरू पनि छन्। जस्तै, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकहरूको तालिममा एकरूपता छैन, धेरै उपचारमा वैज्ञानिक प्रमाणको कमी छ, र चिकित्सकहरूबीच समन्वयको अभाव छ। यी चुनौतीहरू समाधान गर्न गाइनोकोलोजिस्ट, एन्डोक्रिनोलोजिस्ट, र आयुर्वेदिक चिकित्सकबीच सहकार्य आवश्यक छ। साथै, जडीबुटीहरूमा थप अनुसन्धान गर्नुपर्ने, र समुदायमा यस्ता उपचारका फाइदाहरू बारे चेतना फैलाउनुपर्ने आवश्यकता छ। भविष्यमा अस्पतालहरूमा एकीकृत पिसिओएस क्लिनिक स्थापना गर्न सकिन्छ, नेपालमै दीर्घकालीन अनुसन्धान गर्नुपर्छ, चिकित्सा शिक्षामा वैकल्पिक उपचारलाई समावेश गर्नुपर्छ, र बीमा प्रणालीमा पनि यस्ता उपचारहरूलाई समेट्न सकिन्छ। यसरी, नेपालमा एकीकृत उपचार प्रणालीले स्वास्थ्य सेवामा नयाँ आयाम ल्याउन सक्छ।
निष्कर्ष
पिसिओएस एक लामो समयसम्म रहने र जटिल समस्या हो, जसको उपचार विभिन्न तरिकाले गर्नुपर्छ। नेपालमा परम्परागत (जस्तै आयुर्वेद) र आधुनिक (जस्तै एलोपेथिक) दुवै प्रकारका उपचार उपलब्ध छन्। यी दुवैलाई मिलाएर उपचार गर्दा राम्रो नतिजा आउन सक्छ। यस्तो मिलेको उपचारले महिलाहरूको प्रजनन स्वास्थ्य सुधार्न, जीवनस्तर बढाउन, र आत्मविश्वास बढाउन मद्दत गर्छ।
-(डा बिहानी संज्याल स्त्री रोग विशेषज्ञ (आयुर्वेद) हुन्।)