काश्यप संहिता आयुर्वेदको एक महत्वपूर्ण ग्रन्थ हो, जसमा मुख्यत: बालरोग विधा सम्बन्धी ज्ञान समावेश गरिएको छ । यस ग्रन्थमा बालबालिकामा लाग्न सक्ने रोग, तिनको निदान, लक्षण, उपचार, साथै बाल्यावस्थामा स्वास्थ्य प्रवर्द्धन गर्ने र रोग नलाग्ने उपायहरूको विस्तृत उल्लेख छ ।
नवजात शिशु परिचर्या (newborn care), बाल्य–वय विभाजन, बालकमा गरिने संस्कार, स्तनपान, बालग्रह, दन्तोद्भेद तथा त्यस सम्बन्धी व्याधी, फक्क रोग लगायत बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयहरू काश्यप संहितामा विस्तृत रूपमा अध्ययन गर्न सकिन्छ ।
आजको समयमा संहिता वा ग्रन्थलाई कतिपयले केवल पुरानो आलेख वा दस्तावेजका रूपमा मात्रै बुझ्ने गरेका छन् । तर यस्ता संहितामा ज्ञान कसरी संग्रह गरियो, कसरी सूत्रबद्ध भयो, ती सूत्रहरूको प्रयोग पहिले कसरी हुन्थ्यो, र आज पनि तिनको प्रभावकारिता तथा विश्वसनीयता कसरी कायम छ भन्ने पक्षप्रति भने पर्याप्त ध्यान नदिइएको देखिन्छ ।
संहिताहरू एक–दुई व्यक्तिले स्मरण गरेर वा कल्पना गरेर लेखिएका होइनन् । ती हाम्रो भूगोलमा देखिएका स्वास्थ्य समस्याहरूको समाधानका लागि पुर्खादेखि पुस्ता–पुस्तासम्म निरन्तर अपनाइएका उपायहरूको संग्रहित ज्ञान हुन् । "संभाषा परिषद्" भन्नाले विशिष्ट ज्ञानी व्यक्तिहरू बसेर गरिने छलफल वा प्रतिवादलाई जनाउँछ, जसलाई आजको भाषामा conference सँग तुलना गर्न सकिन्छ । कतिपय सूत्रमा प्रत्यक्ष अनुभवजन्य प्रमाण नपुग्दा यस्ता परिषद्–बहसमार्फत ज्ञानलाई परिष्कृत गरिएको उदाहरणहरू शास्त्रमा पाइन्छन् । यसरी बुझ्दा, आयुर्वेदको ज्ञान हाम्रो पुर्खाहरूले खोज, अन्वेषण, अनुसन्धान, परिषद्, र trials गरेर सूत्ररूपमा संरक्षित गरेका अमूल्य फर्मुलाहरू नै हुन् ।
यसकारण संहिताका ज्ञानहरू आजका पुस्ताका लागि पुर्खाहरूको स्वर्णिम उपहार हुन् ।
स्वर्णबिन्दु प्राशनसम्बन्धी कुरा पनि यिनै प्रक्रियामार्फत—अध्ययन, प्रयोग र अनुभवजन्य प्रमाणमार्फत—समर्थित छ, केवल "काश्यप संहितामा लेखिएको छ" भनेर मात्र होइन । हाम्रो आरोग्यका बारेमा शंका–सन्देह हाम्रो पुर्खालाई पनि उत्तिकै थियो, जति आज हामीलाई छ र हाम्रो भावी पुस्तालाई हुनेछ ।
पाँच हजार वर्षदेखि सर्पगन्धाले निद्रा दिलाएको छ, शतावरीले स्तन्य (दूध) बढाएको छ, त्रिफलाले पाचन सुधार्ने काम गरेको छ, र ती आजसम्म निरन्तर प्रयोगमा छन् । यस्ता हजारौँ उदाहरणहरूले प्राचीन अनुसन्धान दीर्घकालीन र प्रमाणित रहेको देखाउँछन् ।
त्यसैले वेद वा संहितामा लिपिबद्ध ज्ञानलाई अपूर्ण वा गलत ठहर गरेर, केही दशक यताका सीमित अनुसन्धानलाई मात्र आधार मानेर, प्रचलनमा रहेका र स्पष्ट दुष्प्रभाव नदेखिएका आहार–औषध वा कर्मलाई अस्वीकार गर्नु भनेको आफ्नै मौलिकता र परम्पराको कदर नगर्नु हो ।
वेदमा उल्लेख गरिएका सूक्ष्म सिद्धान्तहरू—पञ्चमहाभूत, अग्निको धारणा, त्रिदोष सिद्धान्त, धातुपोषणको नियम, ओजको परिकल्पना आदि—लाई केवल अनुमान वा हचुवामा बनेको भन्नु न्यायसंगत हुँदैन ।
यस्तै स्वर्णप्राशनका विषयमा पनि "सुन सुरक्षित छैन" भन्ने प्रश्न उठाइन्छ । तर स्वर्ण भस्म निर्माणका विधि, त्यसपश्चात् गरिने विभिन्न परीक्षा (वरितर, अङ्गुलिपूर्णता, अपुनर्भव आदि) को अध्ययन गर्न जरुरी छ । ती परीक्षा पास गरेका भस्महरूले शरीरमा कस्तो metabolism र clearance गर्छन् भन्ने अनुसन्धान अझै आवश्यक छ ।
तर स्वर्णप्राशन केवल शारीरिक स्वास्थ्य प्रवर्द्धनमा मात्र होइन, मानसिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र समवेगनात्मक (emotional) स्वास्थ्य प्रवर्द्धनको जड बन्न सक्ने सम्भावना बोकेको विषय हो ।
यस विषयमा देखिएका चुनौतीलाई अस्थायी रूपमा पन्छाएर, सम्पूर्ण देशका भावी कर्णधारहरूको समग्र विकास को परिकल्पना गर्दै, स्वस्थ, समृद्ध र खुसी नेपाल निर्माणतर्फ अघि बढ्नु नै आजको आवश्यकता हो ।