आजको आधुनिक र तीव्र गतिको जीवनशैलीमा मानिस शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि असन्तुलित हुँदै गएको छ। रोगहरू दिनानुदिन जटिल बन्दै गएका छन्। यस्तो अवस्थामा 'रोग दबाउने उपचार' भन्दा पनि "रोगको मूल कारण निको पार्ने उपचार" को आवश्यकता बढेको छ। यही सन्दर्भमा होमियोप्याथी एक वैज्ञानिक, समग्र र व्यक्तिकेन्द्रित चिकित्सा पद्धति हो, जसबारे प्रत्येक सचेत नागरिकले जान्नै पर्ने हुन्छ।
होमियोप्याथी के हो?
होमियोप्याथी एक वैकल्पिक चिकित्सा प्रणाली हो, जसको आधारभूत सिद्धान्त हो- "सिमिलिया सिमिलिबस क्युरेन्चर" (Similia Similibus Curentur) अर्थात् 'जसले रोग उत्पन्न गर्छ, त्यही वस्तुले सूक्ष्म रूपमा रोग निको पार्छ।'
यसको अर्थ कुनै पदार्थले स्वस्थ मानिसमा जुन लक्षण उत्पन्न गर्छ, त्यही पदार्थलाई अत्यन्त सूक्ष्म मात्रामा प्रयोग गर्दा उस्तै प्रकारका लक्षण भएका बिरामी निको हुन सक्छन्।
होमियोप्याथीको इतिहास
होमियोप्याथीको स्थापना डा. सामुएल एनिमेन (Dr. Samuel Hahnemann) ले सन् १७९६ मा जर्मनीमा गरेका थिए। एलोप्याथिक औषधिहरूको दुष्प्रभाव र हानिकारक अभ्यासबाट निराश भएर उनले नयाँ, सुरक्षित र तर्कसंगत चिकित्सा प्रणालीको खोज गरे, जसलाई उनले 'होमियोप्याथी' नाम दिए।
उनका प्रसिद्ध ग्रन्थहरू:
अर्गेनन् अफ मेडिसिन (Organon of Medicine)
मटेरिया मेडिका प्युरा (Materia Medica Pura)
क्रोनिक डिजिज (Chronic Diseases)
आज होमियोप्याथी विश्वका ८० भन्दा बढी देशहरूमा प्रचलित छ।
होमियोप्याथीका आधारभूत सिद्धान्तहरू:
समानताको सिद्धान्त: रोगको उपचार त्यही औषधिबाट गरिन्छ, जसले स्वस्थ व्यक्तिमा उस्तै लक्षण उत्पन्न गर्छ।
एकल औषधिको सिद्धान्त: एक समयमा एक मात्र औषधि प्रयोग गरिन्छ, ताकि शरीरको प्रतिक्रिया स्पष्ट देखियोस्।
न्यून मात्राको सिद्धान्त: औषधि अत्यन्त सूक्ष्म मात्रामा प्रयोग गरिन्छ, जसले उपचार गर्छ तर हानि गर्दैन।
औषधि परीक्षणको सिद्धान्त: यसका औषधिहरूको परीक्षण स्वस्थ व्यक्तिमा गरिन्छ।
व्यक्तिकेन्द्रित उपचार: एउटै रोग भए पनि फरक व्यक्तिलाई फरक औषधि हुन सक्छ।
जीवनशक्ति (Vital Force) को अवधारणा: रोग शरीरमा होइन, जीवनशक्तिको असन्तुलनबाट सुरु हुन्छ।
होमियोप्याथिक औषधि केबाट बनाइन्छ?
होमियोप्याथिक औषधिहरू प्राकृतिक स्रोतबाट बनाइन्छन्:
वनस्पति (Plants): जस्तै– बेलाडोना, नक्स भोमिका।
खनिज पदार्थ (Minerals): जस्तै– सल्फर, कल्केरिया कार्ब।
जन्तु स्रोत (Animal): जस्तै– सिपिया, लेकेसिस।
रोगजन्य पदार्थ (Nosodes): संक्रामक तत्वहरूबाट उत्पादित।
उपरोक्त पदार्थहरूलाई Potentization (शक्तिकरण) को प्रक्रियाबाट अत्यन्त सूक्ष्म र शक्तिशाली औषधि बनाइन्छ।
होमियोप्याथीले कसरी काम गर्छ?
होमियोप्याथिक औषधिले शरीरको प्राकृतिक प्रतिरक्षा शक्तिलाई सक्रिय गर्छ। यसले लक्षण मात्र दबाउँदैन, बरु:
रोगको कारण पत्ता लगाउँछ।
मन–शरीर–ऊर्जालाई सन्तुलनमा ल्याउँछ।
दीर्घकालीन स्वास्थ्यमा सुधार ल्याउँछ।
"होमियोप्याथीमा रोगको होइन, रोगीको उपचार हुन्छ।"
होमियोप्याथीले कुन-कुन रोगमा काम गर्छ?
दीर्घकालीन रोगहरू: दम, एलर्जी, माइग्रेन, छालाका रोग, अर्थराइटिस, थाइराइड, मधुमेह (सहायक रूपमा), अटोइम्युन डिजिज।
मानसिक तथा भावनात्मक समस्या: चिन्ता, डर, डिप्रेसन, रिस, तनाव, अनिद्रा, बालबालिकाको व्यवहारिक समस्या।
बालरोग: टन्सिलाइटिस, दाँत आउँदाको समस्या, मानसिक एवं शारीरिक विकास सम्बन्धी समस्या, अटिजम (समग्र व्यवस्थापन)।
महिला स्वास्थ्य: महिनावारीको समस्या, PCOS (पोलिसिस्टिक ओवेरियन डिजिज), बाँझोपन, गर्भावस्थाका समस्या।
होमियोप्याथी उपचारका फाइदाहरू:
सुरक्षित र प्राकृतिक औषधि।
साइड इफेक्ट नगण्य हुने।
सबै उमेरका लागि उपयुक्त (गर्भवती र वृद्धका लागि पनि सुरक्षित)।
रोगको जरामा काम गर्ने।
मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार ल्याउने।
होमियोप्याथीबारे फैलिएका भ्रमहरू:
भ्रम: औषधिले ढिलो काम गर्छ।
यथार्थ: सही औषधि छनोट भएमा तुरुन्त सुधार देखिन सक्छ।
भ्रम: यो केवल प्लेसबो (Placebo) हो।
यथार्थ: वैज्ञानिक सिद्धान्त, प्रूभिङ र लाखौँ केस स्टडीहरूले यसलाई चिकित्सा पद्धतिको रूपमा प्रमाणित गरेका छन्।
भ्रम: सबैलाई एउटै औषधि दिइन्छ।
यथार्थ: यो चिकित्सा पूर्ण रूपमा व्यक्तिकेन्द्रित छ।
होमियोप्याथी र एलोप्याथी बीचको भिन्नता:
| विषय |
होमियोप्याथी |
एलोप्याथी |
| उपचारको आधार |
कारणमा आधारित |
लक्षणमा आधारित |
| औषधि |
प्राकृतिक स्रोत |
रासायनिक स्रोत |
| साइड इफेक्ट |
न्यून वा शून्य |
सम्भावित साइड इफेक्ट |
| दृष्टिकोण |
समग्र (Holistic) |
अंगकेन्द्रित |
योग्य होमियोप्याथिक चिकित्सक कसरी चिन्ने?
होमियोप्याथी सुरक्षित भए पनि यसको सफलता चिकित्सकको ज्ञान र अनुभवमा भर पर्छ। योग्य चिकित्सक चिन्न निम्न कुरामा ध्यान दिनुहोस्:
१. शैक्षिक योग्यता: चिकित्सको औपचारिक योग्यता BHMS / DHMS / MD (Homeopathy) हुनुपर्छ र सम्बन्धित मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ।
२. विस्तृत केस-हिस्ट्री: योग्य चिकित्सकले शारीरिक लक्षण मात्र होइन, मानसिक अवस्था, डर, चिन्ता, निद्रा, खानपान र पारिवारिक इतिहासबारे विस्तृत जानकारी लिन्छ। ५ मिनेटमै औषधि दिने वा सबैलाई एउटै औषधि लेख्ने अभ्यास गलत हो।
३. एक समयमा एक औषधि: सही होमियो चिकित्सकले प्रायः एक पटकमा एउटा मात्र औषधि दिन्छ र अनावश्यक कम्बिनेसन प्रयोग गर्दैन।
४. अवैज्ञानिक दाबी नगर्ने: योग्य चिकित्सकले "क्यान्सर ग्यारेन्टी निको पार्ने" वा "चमत्कार गर्ने" जस्ता भ्रामक दाबी गर्दैनन्। उनले आशा दिन्छन्, तर झुटो आश्वासन दिँदैनन्।
५. अन्य पद्धतिको सम्मान: उनले अन्य चिकित्सा प्रणालीको सम्मान गर्छन् र आवश्यक परेमा बिरामीलाई रेफर गर्न हिचकिचाउँदैनन्।
निष्कर्ष
होमियोप्याथी कुनै चमत्कार होइन, यो एक गहिरो वैज्ञानिक चिकित्सा दर्शन हो। यसले रोग मात्र होइन, रोगीलाई सम्पूर्ण रूपमा निको पार्ने प्रयास गर्छ। शरीर, मन र ऊर्जा तीनैको सन्तुलन मिलाउने यो पद्धति आधुनिक समयको आवश्यकता हो। होमियोप्याथी रोज्नु भनेको प्रकृतिसँग मिलेर स्वास्थ्य लाभ गर्नु हो।
अस्तु।
-(डा. ललित कुमार मिश्र वरिष्ठ होमियोप्याथिक कन्सल्टेन्ट हुन्।)