विश्वव्यापी रूपमा संक्रामक रोगहरूको जोखिम बढ्दै जाँदा र खोपको कभरेजमा रहेका कमीका कारण बालबालिकाको स्वास्थ्य संरक्षण एक जटिल चुनौती बनेको छ। यस्तो परिवेशमा आयुर्वेदको प्राचीन अभ्यास स्वर्णप्राशनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने एक सम्भावित पूरक रणनीतिको रूपमा पुनर्जनन भएको छ।
आयुर्वेदको प्राचीन ग्रन्थ कश्यप संहिताको सूत्रस्थान, लेहन अध्यायमा उल्लेखित स्वर्ण प्राशन एक विशेष आयुर्वेदिक प्रक्रिया हो जसले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। यो अभ्यासमा प्रशोधन प्रक्रिया गरिएको सुन (स्वर्ण भस्म), औषधीय घिउ (ब्राह्मी घृत) र महको मिश्रणलाई बालबालिकालाई थोपाको रूपमा दिइन्छ। यो परम्परागत विधिलाई आधुनिक समयमा पुनर्जनन गरी स्वास्थ्य उत्साहीहरूका लागि लोकप्रिय बनाइएको छ। नेपाल, भारत र श्रीलंकामा स्वर्ण-वचा, स्वर्ण-बिन्दु र रथ-कल्प जस्ता नामले यो प्रक्रिया प्रचलित छ।
स्वर्ण प्राशनले विशेषगरी जन्मदेखि पहिलो दुई वर्षको अवधिमा प्रभावकारी नतिजा दिन्छ, किनभने यो समय मस्तिष्क र रोग प्रतिरोधक प्रणालीको तीव्र विकासको चरण हो। यसमा मध्य (बौद्धिक शक्ति वृद्धि गर्ने), बल्य (शारीरिक बल प्रदान गर्ने) र रसायन (पुनर्जनन गर्ने) गुण भएका औषधिहरूको प्रयोग गरिन्छ।
कश्यप संहिताका अनुसार यो प्रक्रियाले बच्चाको बौद्धिक क्षमता, रोग प्रतिरोधक शक्ति र समग्र शारीरिक विकासलाई बढावा दिन्छ। यसले बच्चालाई रोगमुक्त जीवन, सुन्दर वर्ण, दीर्घायु र शारीरिक बल प्रदान गर्छ। साथै, यो प्रक्रियाले शरीरको अग्नि (पाचन शक्ति) लाई सन्तुलनमा राखेर इष्टतम चयापचय सुनिश्चित गर्छ।
आयुर्वेदमा स्वर्ण प्राशनलाई लेहन प्रक्रियाको रूपमा वर्गीकृत गरिएको छ। यो प्रक्रियामा स्वर्णलाई मधु र घृतसँग मिसाएर अन्य मेध्य, बल्य र रसायन औषधिहरूसँग संयोजन गरिन्छ। यसले बच्चाको शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ। विशेषगरी, पहिलो दुई वर्षमा मस्तिष्कको तीव्र विकास हुने भएकाले यो प्रक्रिया मस्तिष्कको न्यूरनहरूको गुणस्तर वृद्धि गर्न प्रभावकारी मानिन्छ। घृतमा पाइने आवश्यक फ्याटी एसिडले उच्च मानसिक कार्यक्षमता वृद्धिमा सहयोग गर्छ।
स्वर्ण प्राशनको रोग प्रतिरोधक क्षमता वृद्धिमा पनि महत्वपूर्ण भूमिका छ। आयुर्वेदका अनुसार, यो प्रक्रियाले बच्चालाई संक्रामक रोगहरूबाट बचाउँछ। यसले विरुद्ध आहारको सिद्धान्तमा आधारित भएर रोग प्रतिरोधक प्रणालीलाई उत्तेजित गर्छ। मधु र घृतको समान मात्राको मिश्रणमा अशुद्ध स्वर्ण मिसाउँदा यो मिश्रण एन्टिजेनिक पदार्थको रूपमा कार्य गर्छ, जसले रोग प्रतिरोधक कोशिकाहरूलाई सक्रिय बनाउँछ। मधुमा पाइने परागकणहरू (पोलेन) ले पनि एन्टिजेनिक प्रभाव पैदा गर्छ। यो प्रक्रियाले बारम्बार र नियन्त्रित मात्रामा प्रशासन गर्दा शरीरमा रोगहरू, एलर्जी र विषाक्त पदार्थहरूविरुद्ध निरन्तर एन्टिबडीहरूको निर्माण गर्छ।
यो प्रक्रियालाई जातकर्म संस्कारसँग भ्रमित गर्नु हुँदैन। जातकर्म संस्कार जन्मपश्चात् एकपटक गरिने प्रक्रिया हो, जबकि स्वर्ण प्राशन दीर्घकालीन स्वास्थ्य प्रवर्द्धन प्रक्रिया हो, जुन जन्मदेखि नै शुरू गर्न सकिन्छ। पुष्य नक्षत्रमा यो प्रक्रिया गर्नु शुभ मानिन्छ, जसले धार्मिक विश्वास र सुविधालाई पनि ध्यानमा राख्छ।
स्वर्ण प्राशनलाई खोपको विकल्प मान्नु हुँदैन। खोप विशिष्ट रोगहरूविरुद्ध लक्षित हुन्छ, जबकि स्वर्ण प्राशन सामान्य रोग प्रतिरोधक क्षमता र स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित छ। यो प्रक्रियालाई पारदर्शी रूपमा प्रस्तुत गर्न, अभिभावकको सहमति लिन र मिथ्या धारणाहरू हटाउन आवश्यक छन्। स्वर्ण प्राशन कार्ड बनाएर प्रत्येक भ्रमणमा बच्चाको शारीरिक मापन रेकर्ड गर्नु उपयुक्त हुन्छ।
वैज्ञानिक प्रमाणहरू
आधुनिक अनुसन्धानले स्वर्णप्राशनका परम्परागत दावीहरूलाई समर्थन गर्ने विभिन्न संयन्त्रहरू पहिचान गरेको छ:
१. प्रतिरक्षा प्रणालीको सुदृढीकरण:
म्याक्रोफेज सक्रियता: अध्ययनहरू (Bajaj et.al. 1999; Khedekar et.al., 2016) ले स्वर्ण भस्मले म्याक्रोफेजहरूलाई सक्रिय बनाएर शरीरको प्रथम रक्षा रेखालाई बलियो बनाउने देखाएका छन्।
ह्युमोरल प्रतिरक्षा: खेडेकरको अध्ययनले स्वर्णप्राशनले रगतमा आईजीजी (लामो समयसम्म प्रतिरक्षा प्रदान गर्ने एन्टिबडी) को स्तरमा उल्लेखनीय वृद्धि गरेको पाइयो।
गैर-विशिष्ट प्रतिरक्षा: यसले जन्मजात र विशिष्ट दुवै प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्छ, जसले प्लीहा र लिम्फ नोडहरूमा कोशिका उत्पादनलाई बढावा दिन्छ।
२. एन्टिअक्सिडेन्ट प्रभाव:
स्वर्ण भस्मले सुपरअक्साइड डिसम्युटेज (SOD), क्याटालेज (CAT), र ग्लुटाथियोन प्रणालीका इन्जाइमहरूको गतिविधि बढाउँछ, जसले कोशिकालाई अक्सिडेटिभ तनावबाट जोगाउँछ। यसले मस्तिष्कको इस्केमिया र अक्सिडेटिभ क्षति जस्ता अवस्थाहरूमा सुरक्षात्मक र पुनर्जननकारी प्रभाव देखाएको छ।
३. न्यूरो-संज्ञानात्मक लाभ:
सिन्याप्टिक सञ्चार: : Chakraborty et al. (2002) ले नानो-आकारको सुनले न्यूरोनल सञ्चारलाई सुधार गर्न सक्ने र बुद्धि तथा स्मृति वृद्धि गर्ने सम्भावना प्रस्तुत गरे।
न्यूरोप्रोटेक्शन: Shah et al. (2002) ले स्वर्ण भस्मले मस्तिष्कको क्षतिलाई कम गर्ने र एन्टिअक्सिडेन्ट इन्जाइमहरू पुनर्स्थापित गर्ने देखाए।
मानसिक स्वास्थ्य: Abraham et al. (1998) ले सुनले मानसिक स्थिरता र एकाग्रता बढाउन सक्ने उल्लेख गरे।
४. जैवउपलब्धता र सुरक्षा:
स्वर्ण भस्मका नानोकणहरू छाला, आन्द्रा, र जिब्रोमुनिको मार्गबाट अवशोषित हुन्छन्। अध्ययनहरूले यो रक्त कोशिकाहरूसँग गैर-विषाक्त र गैर-एग्रीगेटिंग रहेको देखाएका छन्। Kashani et al. (2018) ले उच्च मात्रामा पनि यो मानव कोशिकाहरूमा गैर-विषाक्त रहेको पुष्टि गरे।
निष्कर्षमा, स्वर्ण प्राशन आयुर्वेदको अनमोल उपहार हो, जसले बालबालिकाको स्वस्थ भविष्य निर्माणमा सहयोग गर्छ। स्वस्थ बच्चाहरूले स्वस्थ राष्ट्र निर्माण गर्छन्। यो प्रक्रिया चमत्कार नभई वैज्ञानिक स्वास्थ्य प्रवर्द्धन विधि हो, जसलाई नेपाल र भारतमा व्यापक रूपमा अपनाइएको छ। यसका मस्तिष्क, शारीरिक र रोग प्रतिरोधक लाभहरूको उचित दस्तावेजीकरणले यसको सफलता दर निर्धारण गर्न मद्दत गर्नेछ।
-(डा सुशान्त भण्डारी आयुर्वेद बालरोग विशेषज्ञ हुन्)