नेपालमा महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम सञ्चालन भएको २५ वर्ष पुगेको छ। सञ्चारका साधनको सहज पहुँच नभएको शुरुवातका वर्षदेखि नै गाउँघरसम्म स्वास्थ्य सन्देश लिएर जाने र आफ्नो ज्ञान, सीपले भ्याएसम्म स्थानीयको घरमै गएर स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेकाले नै स्वयम्सेविकालाई गाउँघरमा सम्मान दिने गरिएको पाईन्छ।
नेपाल सरकारले पनि स्वास्थ्यका दुतका रुपमा महिला स्वयम्सेविकालाई लिने गरेको छ। वास्तवमा शुरुवातका वर्षदेखि नै महिला स्वास्थ्य स्वयम्सेविकाले प्रशंसनीय कार्य गर्दै आईरहनु भएको छ। अझ खासगरी परिवार स्वास्थ्य तथा बाल स्वास्थ्यका हरेक राष्ट्रिय कार्यक्रममा उहाँहरुको अमुल्य योगदान रहिआएको छ।
नेपाल सरकारले स्थापना गरेका स्वास्थ्य संस्थाका बारेमा, त्यहाँ पाईने स्वास्थ्य सेवा, निःशुल्क उपलब्ध सेवा, पटक–पटक सञ्चालन गरिने खोपलगायतका राष्ट्रिय कार्यक्रमका बारेमा स्थानीयको घरदैलोमा गई स्थानीयले बुझ्ने भाषामा जानकारी गराउने गर्छन्। यसका साथै स्थानीयलाई स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्ने तथा आवश्यकताअनुसार आफैं स्वास्थ्य संस्थामा समेत बिरामी लिई आउने गर्ने गरेकाले नेपाल सरकारले समेत स्वयम्सेविकालाई महत्वका साथ हेरेको छ।
यिनै कारणले गर्दा नेपाल सरकारले स्वास्थ्यमा निक्कै फड्को मारेको र नेपालका स्वास्थ्य सुचकले समेत उल्लेख्य उपलब्धि हासिल गरेका कारण बेलाबखत अन्तर्राष्ट्रिय पुरस्कारसमेत हात पार्ने गरेको छ। नेपालले मात्र नभै अन्तर्राष्ट्रिय जगतले समेत नेपालका महिला स्वयमसेविकाले स्थानीय स्तरसम्म उपलब्ध गराएको स्वास्थ्य सेवा तथा परामर्शलाई महत्वका साथ हेरेको पाईन्छ।
बेलाबखत महिला स्वयम्सेविकाले आफ्नो हकहितका लागि भनी केही (विशेष काम गरेको दिनको भत्ता, तथा लुगा भत्ता वृद्धि लगायतका) माग राख्दै आउनुभएको छ। उहाँहरुका माग सामान्य नै छन् र जायज पनि। यति हँुदाहुँदै पनि नेपाल सरकारले उहाँहरुका माग भनेजति सम्बोधन गर्न सकिराखेको अवस्था छैन। नेपालभर रहेका स्वयम्सेविकाको संख्या ठूलो भएका कारण अलिकति सुविधा वृद्धि गर्दा पनि ठूलो आर्थिक भार पर्न जाने देखिन्छ। यद्यपि नेपाल सरकार उहाँहरुले उठाएका न्युनतम मागप्रति सकारात्मक छ। स्वयम्सेविकाको एउटा विशेषता के रहेको छ भने उहाँहरु निःशुल्क रुपमा काम गरेपनि स्वयम्सेविकावाट हटन चाहनुहुन्न। नेपाल सरकारले महिला स्वास्थ्य स्वयम्सेविकाको सम्मानजनक बिदाई भनेर प्रति व्यक्ति दश हजार रुपियाँको व्यवस्था गरेपनि उहाँहरुले स्वयम्सेविका नै भएर काम गर्न चाहिरहेको पाईन्छ। उहाँहरुले पनि धेरै महात्वाकांक्षा राख्नु भएको छैन।
यद्यपि अब नेपाल सरकारले पनि पाको उमेर भएका स्वयम्सेविकालाई सम्मानजनक बिदाई गर्ने र युवा पुस्ताका पढे लेखेका स्वयम्सेविकालाई केही तालीम उपलब्ध गराई समयअनुसारको ज्ञान सीप सिकाउनेतर्फ सोच्नु पर्ने बेला आएको छ।