दुई वर्षअघि रुकुम, जाजरकोट लगायतका जिल्लामा झाडापखालाको प्रकोप फैलँदा करिब तीन सय मानिसको ज्यान गयो। स्थानीय स्वास्थ्य टोलीले थेग्न नसकेपछि सरकारले केन्द्रबाटै हेलिकोप्टरमार्फत स्वास्थ्य टोली पठायो। स्वास्थ्य टोलीहरूले आफूले लगेका ‘मिनरल वाटर’ सकिएपछि पिउनका लागि पानीको खोजी गर्न थाले। घरवरिपरि फोहरैफोहर र झिँगा भन्केको देख्दा उनीहरूले त्यहाँको पानी पिउने आँट गरेनन्। उनीहरू पानीको मुहान खोज्दै गए।
मुहाननजिक पनि मानव मलमुत्र जथाभावि देखिए। अनि, बिरामी र तिनका परिवारलाई सम्झाउन थाले, पानी उमालेर मात्र खानुस्। तर, गाउँलेको उत्तर थियो, ‘मिठै हुँदैन, उमालेर खाने बानी नै छैन।’ बल्ल रहस्य खुल्यो, झाडापखाला जस्तो सामान्य रोगबाट पनि किन भकाभक मान्छे मरिरहेका छन् र औषधिले पनि काम गरिरहेको छैन। सोही समय अस्ट्रेलिया पुगेका मेरा एकजना पत्रकार मित्रलाई अस्ट्रेलियाको एकजना साथीले नेपालमा के–कस्ता विषय समाचार बन्छन् भनी सोधेछ। साथीले पनि अंग्रेजी भाषाका नेपाली अनलाइन समाचार पोर्टलहरू देखाइदिएछन्।
‘झाडापखालाबाट दर्जनौं मानिसको मृत्यु’को खबर पढेपछि उसले ती समाचारको विश्वसनीयतामाथि नै शंका गर्दै भनेछ, ‘साथी, एक्काईसौं शताब्दीमा पनि झाडापखालाजस्तो सामान्य रोगबाट यति धेरै मान्छे मर्छन् भन्ने साँचो हो र ?’
अमूल्य जीवन जोगाउन उमालेको पानी खानुपर्छ भन्नेसम्मको चेतनास्तर नहुनु र झाडापखालाबाट पनि आजको आधुनिक युगमा मान्छेको ज्यानै जान्छ भन्ने कुरालाई विश्वासै गर्न नसक्नु दुई विरोधाभाष कुरा हुन्। तर, दुवै सत्य र यथार्थ हुन्। ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाई साधारण लागे पनि गहन छ। रोग लाग्नु समस्याको अन्तिम चरण हो भने औषधि–उपचार गर्नु निदानको अन्तिम उपाय। सामान्य चेतनाको अभावले मान्छेको जीवन अन्तिम चरणमा पुग्ने अवस्था आउनु भनेको वास्तवमै पीडादायी पक्ष हो। किनभने, यो शारीरिक र मानसिक पीडा मात्र होइन कि यसले व्यक्तिगत खर्च र समाजको प्रगतिमा पनि अवरोध ल्याउँछ। त्यसैले ‘प्रिभेन्सन’ अर्थात् रोग लाग्न नदिनु नै उत्तम उपाय हो भनिएको होला।
तर, प्रिभेन्सनका लागि डाक्टर वा स्वास्थ्यकर्मीभन्दा मिडियाको भूमिका सयौं गुण बढी र महत्वपूर्ण हुन्छ। जाजरकोटका ती गाउँमा मिडियामार्फत योजनाबद्ध ढंगले निरन्तर सन्देश प्रवाहित गर्न सकेको भए सयौं मानिसले अकालमै ज्यान गुमाउनुपर्ने थिएन सायद। यसैले पनि पुष्टि गर्छ कि, जनस्थास्थ्यमा मिडियाको भूमिका कति धेरै खड्किएको छ र सरोकारवालाहरू यी कुराबाट कति टाढा छन्।
जनस्वास्थ्य प्रवद्र्धनमा मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। खासगरी, कसरी स्वस्थ रहने भन्नेबारेमा सही सूचना दिएर मिडियाले स्वास्थ्यको स्तर माथि उकास्न सक्छन्। मिडियाले स्वास्थ्यकर्मीका क्रियाकलाप र सन्देशहरू जनतासम्म पुर्याएर उनीहरूबीच पुलको काम गर्न सक्छन्। जनस्वास्थ्यका विषयमा जनतालाई सुसूचित गर्ने जिम्मेवारी पनि मिडियाकै हो। यसका लागि अनुसन्धान गर्ने, के–कस्ता सन्देश दिने, कुन तहका मिडियालाई कसरी उपयोग गर्ने जस्ता विषयमा स्पष्ट हुनु जरुरी छ। स्थानीय मिडियाकर्मीलाई के–कस्ता तालिम दिएर जनचेतना फैलाउने भन्ने कुरामा सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी र स्वयं मिडियाहरूले दायित्वबोध गर्नुपर्दछ।
मिडियाले स्वास्थ्यकर्मीहरूलाई जनतासम्म पुग्न सहयोग गर्न सक्छन्। नयाँ रोगबारे जानकारी दिने तथा कहाँबाट कसरी उपचार सहयोग लिने र बच्ने भन्ने उपायबारे ‘मास लेबल’मा चेतना जगाउने काम मिडियाको हातमा छ। तर, विडम्वना नै भन्नुपर्छ, सरकारले खुला दिसापिसाब मुक्तक्षेत्र घोषणाको अभियान चलाइरहँदा मिडियाको भूमिका भने न्यून देखिएको छ।
कतिपय सानातिना समस्याबारे जानकारी नहुँदा मानिसले पीडा भोगिरहेका हुन्छन्। कतिपय ठूला समस्यालाई पनि सामान्य ठानेर आफूभित्र हुर्किरहेको रोगलाई बेवास्ता गर्छन्। के–कस्ता लक्षण सामान्य हुन् र के–कस्ता गम्भीर भन्नेबारे अनुमानसम्म गर्न नसक्दा मानिसले ठूलो मूल्य चुकाउनुपरेको छ।
एउटा मान्छेले बच्चादेखि बयस्कसम्म के–कस्ता भ्याक्सिन लगाउनुपर्छ, तिनको महत्व के छ, साधारण स्वास्थ्य परीक्षण कति समयमा गराउने, त्यस्ता परीक्षण खर्च कति लाग्छ भन्ने आमचासोका विषयमा मिडियाले सूचना प्रसार गरेर स्वस्थ समाज निर्माणमा ठूलो योगदान पु¥याउन सक्छन्। प्रिभेन्सनका लागि मिडिया मात्र एउटा यस्तो पक्ष हो, जसले जनसमुदायमा ठूलै परिवर्तन ल्याइदिन सक्छ। मिडियामा आउने सामाग्रीले मानिसको सोच र मान्यतालाई नै परिवर्तन गरिदिने क्षमता राख्छन्। त्यसैले स्वास्थ्य सम्बन्धी मिडियाका सन्देश औषधि साबित हुन सक्छन् भनिएको हो।
अहिले नेपालमा करिब चार सयवटा एफएम रेडियो, सयौं पत्रपत्रिका, दर्जनौं टेलिभिजन, दर्जनौं अनलाइन पोर्टल सञ्चालनमा छन्। त्यसका अतिरिक्त फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल पनि सञ्चारका माध्यम बनेका छन्। परम्परागत शैलीका रोदी, जात्रा, धार्मिक सत्सङ, देउसी–भैलो, तीजगीत लगायतका माध्यम पनि हामीकहाँ छन्। उदाहरणका लागि, रोदी परम्पराबाट हुर्केको दोहोरी गीतको व्यावसायिक प्रयोगले कलाकार र होटल सञ्चालकलाई आम्दानीको बाटो मिलेको छ। दोहोरीगीत ठूलो संख्याले सुन्ने र मनपराउने भएकैले त्यसले आम्दानी दिएको हो। दोहोरीगीतले आम्दानी दिन सक्छ भने, त्यसलाई माध्यम बनाउँदा चेतना पनि दिन सक्छ।
आमसञ्चारका माध्यममा अहिले पनि नेताहरूका पट्यारलाग्दा र अनावश्यक भाषणले प्रमुख ठाउँ ओगट्छन्। तर जनजीविकासँग जोडिएका सामाजिक विषयवस्तु सधैँ ओझेलमा पर्छन्। जस्तै, जनस्वास्थ्यको विषय मिडियामा सधैँ उपेक्षित छ। अब, मिडियामा जनस्वास्थ्यका विषयवस्तु प्राथमिकतामा पार्न सबै सरोकारवाला जुट्नै पर्ने बेला भएको छ।
जनजस्वास्थ्यका क्षेत्रमा मिडियाको भूमिका खोज्न पत्रकार मात्र पर्याप्त छैनन्। सरकार र सरोकारवालले जनस्वास्थ्य प्रबद्र्धनमा मिडियाको भूमिकाबारे गहन अनुसन्धान गर्नु जरुरी छ। सरकारले स्वास्थ्यकर्मी परिचालन गरेर मात्र जनस्वास्थ्यको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने एकाङ्की सोचलाई त्यागेर नयाँ मिडिया नीति ल्याउनुपर्छ। सरकारले नाटक, दोहोरी गीत प्रतियोगिता, बहस, छलफल, प्रहसन जस्ता प्रक्रियामार्फत स्वास्थ्यसम्बन्धी सार्वजनिक सन्देश निर्माण गर्न सक्नुपर्छ र तिनलाई मिडियामार्फत प्रचारप्रसार गर्ने वातावरण मिलाउनुपर्छ। जनस्वास्थ्यका लागि विभिन्न घोषित ‘स्पोन्सर्ड’ कार्यक्रम नै मिडियाहरूमार्फत दिन सकिन्छ। स्थानीयस्तका समस्याहरूको अध्ययन गरी स्थानीय मिडियाहरूलाई नै उपयोग गर्ने नीति अख्तियार गर्नुपर्छ। त्यसैगरी, मिडियाकर्मीहरूले पनि आफ्नो सामाजिक दायित्वबोध गरी स्वास्थ्यसम्बन्धी सामाग्रीहरू पस्किन सक्नुपर्छ।
वीर अस्पतालमा गामा क्यामेरा आयो कि आएन भन्ने समाचारले भन्दा टाउकोको रौं झर्ने समस्याको विषय आममानिसका लागि महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा हालैको एक घटनाले पुष्टि गरिदिएको छ। नागरिक दैनिकको अनलाइन पोर्टलमा वैशाखको अन्तिम साता त्यहीँ रौं खुइलिने समस्याबारेको समाचार सबैभन्दा बढी पढिने समाचारको सूचिमा दोस्रो स्थानमा रह्यो। त्यसैले मानिसहरू नीति, व्यवस्थापन र प्रशासनिक कुराभन्दा पनि व्यक्तिगत समस्यालाई बढी महत्व दिन्छन् र उनीहरूका स्वास्थ्यमा पनि यस्तै कुराको महत्व बढी हुन्छ भन्ने तथ्यलाई समाचारकर्मीले बिर्सन हुँदैन। नेपाली स्वास्थ्य पत्रकारितामार्फत मानिसका स्वास्थ्यसम्बन्धी निजी समस्या समाधान गर्ने विषय कम र स्वास्थ्य क्षेत्रका नीतिगत कुरा बढी आउँछन् भन्ने आमबुझाइ छ।
जनस्वास्थ्यका नाममा सरकार र सामाजिक संघसंस्थाले बर्सेनी लाखौं डलर खर्चिन्छन्। तर, स्वास्थ्यसम्बन्धी समस्या समाधानमा उल्लेख्य प्रगति हुन सक्दैन। किनभने रोग लाग्नै नदिन जनचेतना फैलाउने मिडियाको सही उपयोग हुन सकेको छैन। जनस्वास्थ्य सम्बन्धी सन्देश प्रवाह गरेर जनतालाई सुसूचित गर्ने र स्वास्थ्य, खानपान र जीवनशैलीप्रति जागरुक बनाउने विषयमा सरकार, सम्बद्ध संघसंस्था मात्र नभई स्वयं मिडियाले पनि उपेक्षा गरिरहेका छन्। यस्तो निरन्तरतालाई अब क्रमभङ्ग गर्नै पर्छ। स्वस्थ जीवनबिना समृद्ध समाजको परिकल्पना कहिल्यै यथार्थ साबित हुन सक्दैन। यदि, दीर्घकालीन योजना बनाएर सञ्चार माध्यमको उपयोग गर्दै जनस्वास्थ्यका विषयलाई जनतासम्म पु¥याउन सकिएन भने, फेरि पनि हामी झाडापखालाबाट यति जनाको मृत्यु भन्ने समाचार बनाउन बाध्य हुनेछौं।