दृश्य एक : नुवाकोट, त्रिशूली अस्पतालको भग्नावशेष वरपरको धुलाम्मे वातावरण छिचोलेर टेन्टभित्रको प्रसूति वार्डमा पुग्दा गर्भवती, सुत्केरी र नवजात शिशुको भीड थियो। तर, त्यहाँ कोही चिकित्सक थिएनन्। नर्सहरु टेन्टभित्रका बेडमा सुतेका गर्भवती र नवजात शिशुसहितका सुत्केरीलाई थामथुम पारेर कुराकानी गरिरहेका थिए।
धुलाम्मे टेन्टमा रहेको प्रसूति वार्डबाट केही पर ए–फोर साइजको कागजमा ‘आकस्मिक कक्ष’ लेखेर टाँसिएको अर्को टेन्ट थियो। सेतो टेन्ट चराको विष्टा र धुलोले कालो भइसकेको थियो। टेन्टको एक छेउ कुहिएर च्यातिन थालिसकेको थियो। आकस्मिक कक्ष लेखिए पनि सुनसान थियो। हामी त्यही टेन्टभित्र छि¥यौँ। एकैछिनमा एउटा बच्चा काखमा च्यापेर दुई महिला त्यही आइपुगे।
‘हेर्नुस् न, औषधिले कामै गरेन, गाह्रो भयो। बच्चा निकै कमजोर भएको छ। यो औषधिको के काम ?’ औषधिको पोका टेबुलमा बजार्दै एक युवतीले अघिल्तिर मेचमा सेतो एप्रोन लगाएर बसेकी युवतीसामू आक्रोश पोखिन्।
झाडापखालाबाट पीडित १५ महिने बालक बाकेर आएका दुई जनाको आक्रोश बढ्दै गएपछि एप्रोन लगाएकी ती युवती अत्तालिइन्। आकस्मिक कक्षलाई सम्हालीरहेकी हेल्थ असिस्टेन्ट ममता साहले लगातार औषधि सेवन गर्दा पनि निको नभएको बालकको समस्यालाई सम्बोधन गर्न सकिनन्।
दृश्य दुई : रातको चकमन्न अन्धकारलाई उज्यालो बनाउने होलोजन लाइट रसुवा, धुन्चेस्थित जिल्ला अस्पतालको छेवैमा छ। टेन्ट अस्पतालतिर जाने बाटो निकै अप्ठ्यारो छ। उक्त बाटोमा बिरामी मात्र हैन, स्वस्थ मानिस पनि निकै होसियारीका साथ हिँड्नुपर्छ। भुइँमा बिछ्याइएको ढुंगा एकनासले मिलेका छैनन्। बिरामी बाकेर आउनेहरु मात्रै होइन, रित्तो मानिसलाई पनि हिँड्न सजिलो छैन। भूकम्पले भवन भत्किएपछि अस्पताल १० महिनादेखि टेन्टमा चलिरहेको छ।
गेट छिचोलेर केही अगाडि पुगेपछि बच्चा ‘च्याहा च्याहा’ गरेको आवाज सुनियो। भूकम्पपछि मलेसियाबाट काम छाडेर फर्केका २७ वर्षीय रमेश तामाङ दोस्रो सन्तानका पिता बनेका रहेछन्। उनकी श्रीमती निमा सुत्केरीपछि ‘ब्लिडिङ’को समस्यामा परेपछि चिकित्सक र नर्सहरु केही हतारमा देखिन्थे। युनिसेफले बनाइदिएको क्याम्पबाहिर अवाक बनेका रमेश चिसो ठिहीले लुगलुग काँपिरहेका थिए।
‘माथिपट्टि अल्लि तातो क्याम्प छ रे,’ उनले भने, ‘बच्चालाई चिसो हुन्छ भनेर त्यहाँ लग्ने भनेको, बिरामी कमजोर भएकाले भोलिमात्रै हुन्छ होला।’ उनका अनुसार टेन्ट अस्पतालमा त आफू बस्दै आइरहेको अस्थायी टहरोभन्दा पनि चिसोको समस्या छ।
दृश्य तीन : नुवाकोटको सामरी स्वास्थ्य चौकीका कार्यालय सहायक रामबहादुर तामाङ दुई स्कुले बालबालिकाको नाम लेख्दै थिए। निहुरिएर भित्र छिर्नुपर्ने स्वास्थ्य चौकीको टेन्टमा चार÷पाँच जना बस्ने ठाउँ पनि थिएन भने कार्यालयको साइनबोर्ड शिविर छेवैको भुइँमा अड्याइएको थियो। औषधिको भण्डारण नभएको चौकीमा स्वास्थ्य शिविर चलाउने संस्थाले शिविरपछि बाँकी रहेको औषधि दिएकाले जेनतेन चलेको रहेछ।
केही बेरमा अनमी कविता खड्का क्याम्पभित्र छिरिन्। टेन्टको एक छेउमा रड र काठले अड्याइएको छ। होचो टेन्टमा राम्रोसँग उभिन समेत मिल्दैन। ‘स्वास्थ्य चौकीमा मरिगए स्वास्थ्यकर्मी भेटिँदैनन्,’ स्थानीय रमेश डंगोलले भने, ‘सिडिओलाई पनि पटकपटक गुनासो गरियो, केही सीप लागेन।’
स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका ध्वस्त अस्पताल तथा स्वास्थ्य संस्था पुनर्निर्माणको काम अगाडि बढिसकेको र जिल्लामा धमाधम प्रिफ्याब र पक्की भवन बन्न सुरु भएको तथ्यांक सार्वजनिक गरेको थियो माघ ६ मा। माथिका तीनवटै दृश्य मन्त्रालयको हलमा सार्वजनिक तथ्यांकको दुई सातापछिका हुन्।
मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको दुई सातापछि स्वास्थ्य खबरपत्रिकाको टिम जिल्लाको स्थलगत अध्ययनका लागि रसुवा र नुवाकोट पुगेको थियो। अध्ययनका क्रममा मन्त्रालयले सार्वजनिक गरेको अवस्था र जिल्लाका वास्तविकतामा आकाश जमिनको फरक पाइयो। न त स्वास्थ्य संस्था प्रिफ्याबमा थिए, न त पक्की भवनमै। प्रभावित दुई जिल्ला नुवाकोट र रसुवाका स्वास्थ्य संस्था सबै टेन्ट र टहरामा थिए। भूकम्पलगत्तै गाडिएका टेन्ट कोही च्यातिसकेका थिए भने कोही कुहिसकेका थिए।
मन्त्रालयले प्रभावित जिल्लाको विभिन्न ३ सय १८ वटा स्वास्थ्य संस्थाका भवन निर्माण तथा मर्मतका लागि ४५ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासँग करिब ४ अर्ब ५६ करोड रुपियाँको सम्झौता भइसकेको र तीमध्ये धेरै संरचना निर्माण भइसकेको र केही निर्माणाधीन अवस्थामा रहेको तथ्यांक सार्वजनिक गरेको थियो। तर, अध्ययननका क्रममा रसुवाको राम्चे स्वास्थ्य संस्थाको प्रिफ्याब भवन निर्माणबाहेक ती दुई जिल्लाका सबै स्वास्थ्य संस्था अहिले पनि टहरा र टेन्टमै छन् ।
भूकम्पको १० महिना बितिसक्दा पनि प्रभावित जिल्लाका स्वास्थ्य संरचनामा टेन्टको विकल्प स्वास्थ्य मन्त्रालयले खोज्न सकेको छैन। माघको कठ्यांग्रिँदो जाडोमा पनि शीत चुहिने टेन्टमा चिकित्सक तथा स्वास्थ्यकर्मी लुगलुग काँप्दै बिरामीको उपचार गरिरहेका छन्। बिरामीको अवस्था त्यस्तै छ।
‘बिरामीलाई चिसोले नसताओस् भनेर सकेसम्म छेक्ने प्रयास गर्छौं,’ जिल्ला अस्पताल रसुवाका चिकित्सक निश्चित बराल भन्छन्, ‘तर, टेन्ट न पर्यो भवनको जस्तो चिसो कहाँ छेक्न सक्छ र !’ चिसोका कारण अस्पतालमा भर्ना भएका बिरामी बस्न नमानेको उनले बताए।
रसुवामा प्रिफ्याब स्वास्थ्य संरचना निर्माणको जिम्मा करुणा फाउन्डेसनले लिएको छ। फाउन्डेसनले सरकारसँग गरेको सम्झौताअनुसार सबै स्थानमा डिसेम्बर अर्थात् पुसको दोस्रो साताभित्र प्रिफ्याबका संरचना बनाइसक्नुपर्ने हो। तर, फाउन्डेसनले अहिलेसम्म जिल्लामा दुईवटा स्वास्थ्य चौकीबाहेक अन्य कुनै पनि संरचना बनाउन सकेको छैन।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु कमिसन पाएपछि अनुगमन नै नगर्दा रहेछन्। गैरसरकारी संस्थाले बजेट ल्याउँछन् तर कागजमा मात्र खर्च गर्ने रहेछन्। बजेट रसुवामा जिल्लामा अस्पतालसहित १८ वटा स्वास्थ्य संस्था छन्। सबैको अवस्था दयनीय छ।
यस्तै समस्या नुवाकोट जिल्लामा पनि छ। त्रिशूली अस्पतालकी स्टाफ नर्स रमिता महर्जनका अनुसार क्यानुला (सलाइन चढाउन राखिएको सुई) सहित आफन्तले बिरामी घरमै लाने गर्छन्। ‘मेडिकल इथिक्सअनुसार स्लाइन चढाइरहेका बिरामीलाई निको नपारी घरमा पठाउन मिल्दैन,’ उनले भनिन्, ‘तर, के गर्नु ? यहाँ राख्दा चिसोले झन् समस्या होला भनेर भोलि बिहान आउनु होला भन्दै पठाउन बाध्य छौँ।’
जाडो महिनामा कठ्यांग्रिँदै बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीलाई बिस्तारै जाडो हट्दै जाँदा अर्को पीरले सताउन थालिसकेको छ। फागुन, चैतमा अत्यधिक मात्रामा हावाहूरी चल्ने भएकाले टेन्ट अस्पताल हावाले उडाउने हो कि भन्ने त्रास बढेको छ।
‘जाडोमा चिसो भुइँमै उपचार गर्नुप¥यो, अब हावाहुरीको मौसम सुरु हुन लागेकाले कतिबेला टेन्ट उडाएर समस्यामा पार्ने हो भन्ने डर छ,’ जिल्ला अस्पताल सिन्धुपाल्चोकका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले भने, ‘सबैभन्दा बढी प्राथमिकतामा पार्नुपर्ने अस्पताल संरचना नै नबन्दा बिरामीलाई राम्रो सेवा दिन सकिएको छैन।’
पालमा सञ्चालित अस्पतालमा गर्मीको सुरुवातसँगै लामखुट्टे र सर्पले पनि सताउन थालेको जिल्ला अस्पताल नुवाकोटकी नर्स महर्जनले बताइन्। टेन्ट अस्पतालमा मुसाको समस्या पनि उस्तै छ। च्यातिएका टेन्टबाट धुलो उत्तिकै छ, बिरामीलाई संक्रमण होला भन्ने अर्को डर।
त्रिपालमा चलेका अस्पताल तथा बर्थिङ सेन्टर निकै असुरक्षित बन्दै गएका छन्। ‘हामी त यहीँ सुत्केरी गराँउछौँ अनि यही शल्यक्रिया पनि,’ त्रिशुली अस्पतालकी नर्स पुनम थापामगरले भनिन्, ‘सरकारले बेलैमा विकल्प नदिँदा हामी यस्तैमा सेवा दिन बाध्य छौँ।’
नुवाकोट जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले अस्पताल निर्माणमा सरकारको चासो नपुग्दा समस्या आएको बताए। ‘उपचार गर्ने थलो नै नाजुक भएपछि कसरी गुणस्तरीय सेवा दिन सकिन्छ ?’ उनले भने, ‘यति लामो समयसम्म जनताको ज्यान जोगाउनुपर्ने स्वास्थ्य संस्था निर्माण हुन नसक्नु सरकारकै कमजोरी हो।’ उनले आफ्ना तर्फबाट प्रयास गर्दा पनि शक्ति र पहुँच नपुग्दा नुवाकोटका स्वास्थ्य संस्था निर्माणमा ढिलाई हुन पुगेको जाकानरी दिए।
रसुवा
सकसमा उपचार
ठूला ठूला सेता टेन्ट लहरै गाडिएका छन्। टेन्टका केही भाग धुलो र फोहोरले कालो भइसकेको छ। टेन्टका ढोका खुला छन्। शीतले भिजेका टेन्टका केही भागमा च्यातिन सुरु हुन थालेको छ। टाढाबाट झट्ट हेर्दा धुन्चेको रसुवा जिल्ला अस्पताल भूकम्पपीडितहरुको कुनै सेल्टरजस्तो देखिन्छ।
अस्पतालका आकस्मिकसहितका सबै सेवा अस्थायी टेन्टमै छन्। माघ २० गते साँझ स्वास्थ्य खबरपत्रिका टोली रसुवाको जिल्ला अस्पताल पुग्दा टेन्टमा बनाइएको प्रसूति कक्षमा बच्चा रोइरहेको सुनियो। बाहिर सुत्केरीका पति रमेश तामाङ भेटिए। चिसोले उनलाई पनि रुघाखोकीले समाएको थियो।
बिरामी तथा कुरुवामा भाइरल इन्फेक्सनलगायतका समस्या देखिएको छ। ‘कोही बिरामी पनि अस्पतालमा रात कटाउन चाहँदैनन् र हामी पनि राख्न खोज्दैनौँ,’ अस्पतालका चिकित्सक डा. निश्चित बरालले भने, ‘तातो खानेकुरा र चिजोबाट जोगिने वातावरण भए बिरामीलाई अस्पतालमा भन्दा घरमै सुरक्षा हुन्छ।’
भोलिपल्ट अर्थात् माघ २१ गते बिहान फेरि त्यहाँ पुग्दा खाली रहेको वार्डमा शीत चुहिरहेको थियो। केही बेरमा एक सहायक महिलाले बेड र भुइँमा खसेको पानी पुछिन्। करिब एक दर्जन टेन्टमध्ये मुस्किलले दुई/तीनवटामा शीत नचुहिने, हावा नछिर्ने गरी ‘विन्टराइजेसन’ गरिएको थियो।
‘हावा नछिर्ने बनाइएको भन्नुमात्रै हो। भित्र जति गर्दा पनि तात्ने होइन,’ अस्पतालमा कार्यरत अहेव बाबुराम थापाले भने, ‘फागुन नलाग्दै हावा चल्ने याम सुरु हुन्छ, डाँडामा रहेका टेन्ट यत्तिकै रहन मुस्किल छ।’
डाक्टर सुत्ने कोठा पनि मुस्किलले एउटा खाट अट्ने छ। छेवैमा हिटर र अगाडिपट्टि टेबल छ। काठले बारेर बनाइएको डा. बरालको कोठामा रातभर चिसो हावा छिर्छ। ‘जेनतेन स्लिपिङ ब्याग र सिरकभित्र ज्यान लुकाएर रात गुजार्ने हो,’ उनले भने, ‘यही साँघुरो ठाउँमा एडजस्ट गर्नुपरेको छ।’ जस्तापाताले बारेको शौचालयको एउटा पाखो ह्वाङ्ग परेको छ।
यार्सा स्वास्थ्य चौकी : भत्कियो, फेरि च्यातियो
रसुवाकै यार्सा स्वास्थ्यचौकीमा जस्ताले बारेको टेन्टमा उपचारसुरु भएको रहेछ। भूकम्पमा १३ जना गर्भवतीलाई सुरक्षित सुत्केरी गराएको रहेछ। अहिले पनि यार्सा स्वास्थ्य चौकी १० महिनाअघिकै जस्तो छ। सुत्केरी सेवा अलपत्र परेको छ। घरमै बरु सुरक्षित हुने भन्दै बच्चा जन्माउन पनि स्वास्थ्यचौकी आउन छाडेका छन्। धुन्चे जाने सडकमै पर्ने कालिकास्थानबाट सात÷आठ घन्टा हिँडेर पुग्नुपर्ने ठाउँमा फोनसमेत टिप्दैन। स्वास्थ्य चौकी निर्माणको हल्ला पनि त्यहाँका स्वास्थ्यकर्मी सुनेका रहेनछन्।
स्याफ्रुबेसी : ताला झुन्ड्याउने ठाउँ छैन
‘सर, रगत छेरेर मर्न लाग्यो’ भन्दै ५० वर्षीया चिमो तामाङ रसुवाको स्याफ्रुबेसी स्वास्थ्य चौकी पुगिन्। माघ २१ गते मध्यान्हतिर हामी त्यहाँ पुगेका थियौँ। हेल्थ असिस्टेन्ट राजु साह स्वास्थ्य परीक्षण गर्दै थिए। ‘काम गरेर खाने मान्छे, दुई महिनादेखि केही गर्न पाएको छैन,’ लामो सुस्केरासहित चिमो तामाङले गुनासो गरिन्, ‘यो ठाउँमा सधैँ गरिबको गरिब नै हुने भइयो, के गर्नु ?’
स्याफ्रुबेसी स्वास्थ्य चौकीमा भूकम्पअघि बर्थिङ सेन्टर पनि रहेछ। महिनामा दुई÷तीन जना सुत्केरी सेवा लिन आउने रहेछन्। भूकम्पपछि बन्द भएको सेवा अझै सुचारु भएको छैन। गर्भवतीहरु घरमै असुरक्षित प्रसूति गराउन बाध्य छन्।
पालभित्र एउटा टेबल, केही औषधि र परीक्षणका केही सामान राखेर स्वास्थ्यकर्मीहरु केही माथिको घरमा रात बिताउँछन्। ‘टेन्टको फस्नर तानेर हिँड्ने हो,’ साहले भने, ‘ठाउँ नै छैन, तालाचाबी कहाँ लगाउने ?’
‘सर यो बच्चालाई कान दुःखेको छ’ चेताङ्चेबाट तीन घन्टा बाइकमा यात्रा गरेर आएकी एक महिला स्वास्थ्यकर्मीलाई भन्दै थिइन्। उनी बच्चाको उपचारका लागि नजिकैको चिलिमे स्वास्थ्य चौकीमै पुगेकी रहिछन् तर औषधि सकिएको रहेछ। पाँच सय रुपियाँ भाडा तिरेर बाइकमा आएकी उनी केही औषधि बोकेर गाउँतिर फर्किइन्।
हाकु स्वास्थ्यचौकी : राज्य नपुगेको ठाउँ
गाउँमा स्वास्थ्य चौकीको ‘लोकेसन’ पत्ता लगाउन सबैभन्दा सजिलो उपाय हो, सम्झना तामाङको टहरो। किनकि उनको घरको एक कुनो नै हाकु स्वास्थ्य चौकी हो। ‘खाना, पानी, शौचालय सबै कुराको समस्या छ’ हाकुमा बसिसकेका राजु साहले भने, ‘एक घन्टा उकालो चढेर खानेपानी ल्याउनुपर्छ, दुःख छ, गाउँमा कोही स्वास्थ्यकर्मी बस्न चाहँदैनन्।
भूकम्पपछि उद्धारका सामानसहित पुगेको हेलिकप्टरले गाउँमा टेन्ट खसालिदियो। त्यसमध्येको एउटा टेन्ट स्वास्थ्य चौकीमा लगिएको थियो तर एक स्थानीयले उक्त टेन्ट कब्जा गरे। ‘सम्झना तामाङले आफ्नै घरबाट औषधि दिन्छिन्,’ साहले भने, ‘हेलिकप्टरले झारिदिएको औषधिले जेनतेन पुगेको छ। त्यो सकिएपछि अरु उपाय छैन।’ तामाङ कहीँ कतै जान परे कार्यालय सहयोगी बुचुङ तामाङले बिरामी जाँच्ने र औषधि दिने गर्छन्। ५०/६० परिवार रहेको बस्तीबाट कोही विरामी भए सदरमुकाम ल्याउनु असम्भवजस्तै छ।
राम्चे स्वास्थ्य चौकी : उद्घाटनको जोखाना कुर्दै
रसुवा राम्चेको डाँडामा चिटिक्कको प्रि–फ्याबको स्वास्थ्य चौकी बनिसके पनि सेवा सुचारु गरिएको छैन। चर्किएर धराप बनेको छेवैको गाविस भवनमै छ स्वास्थ्य चौकी। ‘उद्घाटन गरेपछि मात्रै सामान सार्ने रे,’ स्टाफ नर्स कुन्जना थापाले भनिन्। स्वास्थ्य खबर टिम रसुवाका एक दर्जनभन्दा बढी स्वास्थ्य चौकी घुम्दा राम्चे चौकीको मात्रै अल्पकालीन संरचना निर्माण गरेको देखियो।
नुवाकोट
त्रिशूली अस्पताल : अस्तव्यस्तताको पर्याय
भूकम्पका कारण सबै संरचना भत्किएको जिल्ला अस्पताल त्रिशूली अस्तव्यस्त थियो। भौतिक संरचना नहँुदा पनि जसरी रसुवामा जेनतेन सेवा दिइएको थियो। नुवाकोटमा त्यस्तो पाउन सकिएन। ठूला रुखमुनि रहेको त्रिशूली अस्पतालकोे कुन पालमा कुन सेवा उपलब्ध छ, थाहै पाउन मुस्किल पर्छ। वातावरण पनि दुर्गन्धित छ।
स्थानीय बासिन्दा र केही स्वास्थ्यकर्मीसँगको कुराकानीका क्रममा थाहा भयो, ११ औँ तहको प्रमुखको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका प्रमुख छन्। १५ बेडको अस्पताललाई ५० बेडको बनाइएको रहेछ। त्रिशूली जलविद्युत आयोजना निर्माणका क्रममा कामदारको उपचारका लागि २०३३ सालमा निर्माण गरिएको सो अस्पताललाई २०६९ वैशाखमा स्तरोन्नति गरी सरकारलाई हस्तान्तरण गरिएको होे।
‘काठमाडौँको नजिकै रहेर पनि यो अस्पताल सधैँ उपेक्षामा छ,’ १७ वर्षदेखि अस्पतालमा कार्यरत नासु केशव थपलियाले भने, ‘उच्च तहको दरबन्दी छ, त्यो भन्दा दुई÷तीन तहको पदमा पनि रिक्त छ। यहाँ कोही लामो समय बस्न चाहँदैन।’
हामी निरन्तर दुई दिनसम्म अस्पतालमा जाँदा पनि चिकित्सकसँग भेट हुन सकेन। नर्स तथा स्वास्थ्यकर्मीले ‘केही बेरअघि डाक्टर साप यही हुनुहुन्थ्यो’ भन्दै ढाकछोप गरिरहे। नर्सिङ सेवामा पनि उस्तै समस्या देखियो। सातौँ तहको हुनुपर्नेमा पाँचौँ तहका नर्स कार्यरत छन्। १२ जनाको नर्सको दरबन्दी रहेकोमा आठ जनामात्रै कार्यरत छन्।
नुवाकोटको सदरमुकाम विदुरमा सञ्चालित त्रिशूली मेडिकल इन्स्टिच्युटले नर्सिङ अध्ययनका क्रममा पठाउने ‘इन्टर्न’ विद्यार्थीले नर्सिङ सेवा धानिएको छ। बिरामी आउँदा इन्टर्न नर्सहरु अत्तालिँदा रहेछन्। माघ २१ गते अपराह्नतिर हामी त्यहाँ पुग्दा हेल्थ असिस्टेन्ट ममता साहले एक्लै आकस्मिक कक्ष सम्हालेकी थिइन्। डाक्टर आकस्मिक कक्ष मुस्किलले छिर्दा रहेछन्।
नुवाकोटको जिल्ला स्वास्थ्य कार्यालय त्रिशूलीका प्रमुख विश्वराम श्रेष्ठ क्वाटर (निवास)मा भेटिए। उनले भूकम्पपछि भत्किएका जिल्लाका स्वास्थ्य संरचनामा मुस्किलले एक तिहाइको निर्माण तयारी सुरु हुन लागेको जानकारी दिए। ‘राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हो,’ उनले भने, ‘यहाँ भने हाम्रो पहुँच नपुगेर होला, बनाउने तयारी पनि गर्न सकेका छैनौँ।’
कल्याणपुर अर्थात् कानो मामा
‘अरुतिर टेन्टमा चलेका स्वास्थ्य चौकी हेर्दा हाम्रोमा केही सहज छ,’ नुवाकोटको कल्याणपुर स्वास्थ्य चौकीका सहायक कृष्णबहादुर शिवभक्तिले भने, ‘नहुनु मामाभन्दा कानो मामा निको भनेर चित्त बुझाउनुपरेको छ।’ कल्याणपुर स्वास्थ्य चौकीमा विभिन्न दाताको सहयोगमा जस्ताले बारको टहरोमा छ। तर, बत्ती र पानी नै छैन।’
सामरी : औषधि झिक्न प्रहरी चौकीमा
राज्यको वेवास्ताको ज्वलन्त उदाहरण हो भन्दा फरक पर्दैन, नुवाकोट सदरमुकाम विदुरबाट १२ किलोमिटर टाढाको सामरी स्वास्थ्य चौकी। एउटा सानो पालमा रहेको स्वास्थ्य चौकीको साइनबोर्ड भुइँमा अड्याइएको छ।
स्वास्थ्य खवरपत्रिकाको टोली पुग्दा कार्यालय सहायक रामबहादुर तामाङ दुई बालकको स्वास्थ्य परीक्षण गर्दै थिए। ‘अहिले औषधिको स्टक सकिएको छ,’ तामाङले भने, ‘स्वास्थ्य शिविर चलााउन आउनेहरुले बाँकी रहेको केही औषधि दिएका थिए, त्यसैले जेनतेन चलेको छ।’ भएका सीमित औषधि पनि नजिकैको प्रहरी चौकीको एक कुनामा भण्डारण गर्नुपरेको उनले बताए।
कुराकानी चल्दै गर्दा अनमी कविता खड्का टेन्टभित्र छिरिन्। अन्य स्वास्थ्यकर्मी विभिन्न कामले सदरमुकाम गएका रहेछन्। ‘पहिले बर्थिङ सेन्टर चलाएका थियौँ,’ उनले भनिन्, ‘अहिले अन्य उपकरण, बत्तीलगायत केही सुविधा छैन। गर्भवतीहरुलाई घरमा गएर सेवा दिनु र यहाँ ल्याउनुमा कुनै फरक छैन।’
धादिङसँग सीमा जोडिएको नुवाकोटको पुछारको ठाउँ हो, सामरी बजार। त्यहा रहेको स्वास्थ्य चौकीमा नुवाकोट, कल्याणपुरका केही भेगका साथै धादिङका गोस्याम, दाङसिङ, सोजोङ, थर्पुलगायत गाविसका बासिन्दा उपचारका लागि आउँछन्। तर, स्वास्थ्य चौकीमा भने पूर्वाधारदेखि उपकरण र जनशक्तिको समेत अभाव छ।
सामरी बजारमा भेटिएका स्थानीय रमेश डंगोलका अनुसार, स्वास्थ्यकर्मी नै नभेटिने गरेको बताए। कार्यालय सहायकको भरमा चलेको स्वास्थ्य चौकीबारे गुनासो गर्दा प्रमुख जिल्ला अधिकारीले पनि वास्ता नगरेको उनले बताए। ‘हामीले त अहेवहरुको मुखै देख्न पाइँदैन,’ उनले भने, ‘एकैछिन देखिन्छन्, अनि कता जान्छन् कता।’
कहाँ कति बने ?
रसुवामा एक जिल्ला अस्पतालसहित १७ वटा स्वास्थ्य चौकीको भवन ध्वस्त भएको हो। त्यसमध्ये राम्चे र धुन्चेको स्वास्थ्य चौकीको मात्र अल्पकालीन संरचना मात्रै निर्माण भएको छ। यी दुवै चौकी सडक सुविधा पुगेका ठाउँका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालयले डाँडागाउँ, ठूलोगाउँ, गत्लाङमा मात्रै काम सुरु मात्र भएको बताएको छ। यसबाहेक स्याफ्रु, ब्रिदिम, यार्सा, पार्चाङ, हाकु, थुमन, लाङटाङमा कुनै काम सुरु नै भएको छैन। करुणा फाउन्डेसन नामक संस्थाले डिसेम्बरसम्म काम सक्ने गरी सम्झौता गरेको भए पनि हालसम्म निर्माण सुरु हुन नसकेको हो।
नुवाकोटमा ६५ स्वास्थ्यचौकी, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा सहरी स्वास्थ्य केन्द्र र पाँचवटा ग्रामीण सामुदायिक स्वास्थ्य इकाई छन्। त्यसमध्ये भूकम्पका कारण ४३ वटा पूर्ण क्षति र २१ वटामा आंशिक क्षति पुगेको छ।
त्यसमध्ये तारुका, दाङसिङ, कमारी र चाउथेमा प्रि–फ्याव भवन निर्माणका लागि डिपिसीसम्मको काम सुरु भइसकेको छ। बाँकी १७ वटा स्वास्थ्य चौकीमा काम सुरु भएको जनाएपछि खासै अघि बढ्न सकेको छैन। १४ वटामा त कुनै पनि काम सुरु हुन सकेको छैन। यसमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बनाउने भनेका १४ वटा भवन पर्छन् भने युनिसेफले चारवटा बर्थिङ सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरिसकेको छ। बाँकी चारवटाको जिम्मा सेभ द चिल्ड्रेनले लिएको छ। तर, कामको सुरसार देखिँदैन।
प्रभावित जिल्लाका स्वास्थ्य संरचनाहरु प्रिफ्याबमा जाडोअगावै बनाइसक्नु पर्ने भए पनि हालसम्म मुस्किलले १४ जिल्लाका १८ वटा संस्थामात्र बनेका छन्। प्रिफ्याबका संरचना २ सय ३८ वटा बनाउने सम्झौता भएका छन्। तर, २ सय २० वटा संरचना नबन्दा पनि मन्त्रालयका पदाधिकारीहरु सम्झौता भएको छ भन्दै मख्ख परिरहेका छन्। जिल्लामा स्वास्थ्यकर्मी र बिरामीले दुःख पाइरहे पनि निर्माणले भने अझै तीव्रता पाउन सकेको छैन।
स्वास्थ्य मन्त्रालयका नीति योजना तथा महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्र श्रेष्ठले जिल्लाका धेरै संरचना प्रिफ्याबमा बनिसकेको दाबी गरे। ‘नुवाकोट तथा रसुवाका सबै संरचना प्रिफ्याबमा गइसकेका छन्, फागुन १ गतेतिर उद्घाटन हुनेछ,’ उनले भने, ‘यसका साथै दीर्घकालीन भवन बनाउन पनि सम्झौता भइसकेको छ।’
तर, प्रवक्ता श्रेष्ठले दिएको जानकारी झूटो सावित भयो। रसुवाको राम्चे स्वास्थ्य चौकीबाहेक अन्य कुनै पनि संरचना बनेका थिएनन् भने नुवाकोटमा पनि चारवटा संस्थाको डिपिसी निर्माणबाहेक अरु काम भएको छैन। स्वास्थ्यकर्मीले धुन्चेस्थित स्वास्थ्य चौकी भने निर्माण सकिने अवस्थामा छ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७ सय ८४ स्वास्थ्य संस्थाका १३ सय १ भवनमध्ये १ सय १५ भवनमा मात्रै क्षति पुगेको थिएन। तीमध्ये ३ सय ५८ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ३ सय ११ मा आंशिक क्षति पुगेको थियो। भूकम्पलगत्तै गरिएको पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पिडिएनए)को प्रतिवेदनअनुसार ७ अर्ब ५४ करोड रुपियाँ बराबरको क्षति भएको थियो।
मन्त्रालयले पुनर्निर्माणका अल्पकालीन कार्यक्रमहरु २०७२ असार मसान्तभित्र, मध्यकालीन कार्यक्रम आर्थिक वर्ष २०७२/०७३ भित्र र दीर्घकालीन कार्यक्रम ०७३ बाट सुरु गरी आर्थिक वर्ष २०७६/०७७ भित्र पूरा गर्ने लक्ष्य लिएको छ। यीमध्ये अल्पकालीन र मध्यकालीन कार्यक्रम समयमा सकिएन भने दीर्घकालीन कार्यक्रम पनि प्रभावित हुने देखिएको छ।
मन्त्रालय स्रोतका अनुसार अझै पनि स्वास्थ्यका संरचना कुन रुपमा कसले बनाउने भन्ने टुंगो लाग्न सकेको छैन। दातृ निकायले जिम्मा लिने भनिएका संरचना पनि कहिलेबाट निर्माण सुरु हुने भन्ने यकिन हुन सकेको छैन।
मन्त्रालयकै नियमित कार्यक्रममा हुने निर्माणका काम भने झन् समयमा नसकिने बताइएको छ। मन्त्रालयका नियमित काम भवन विभागबाट हुने र दसौँ वर्षदेखि विभागले स्वास्थ्यका संरचना निर्माण नगरी अलपत्र पारिरहेको समयमा प्रभावित जिल्लाका कार्यक्रम समयमै हुनेमा स्वास्थ्यका कर्मचारी नै विश्वस्त छैनन्।
पुनर्निर्माणका अड्चन
पुनर्निर्माणमा कतिपय समस्या पनि देखिएका छन्। दुर्गम क्षेत्रमा दातृ निकाय नजाने र भवन निर्माणका लागि आवश्यक जग्गा नभेटिने समस्या देखिएको प्रवक्ता श्रेष्ठको कथन छ। श्रेष्ठले भने, ‘कति जिल्लामा धेरै दातृ निकायले चासो देखाए। कतिमा जानै मानेनन्।’
उनका अनुसार मनाङ, धनकुटा, सोलुखुम्बु, भोजपुरलगायत भूकम्पले आंशिक क्षति पु¥याएका १८ जिल्लामा दातृ निकाय सहयोगका लागि जान मानेनन्। ती ठाउँमा सरकारले आफैँ पुनर्निर्माण गर्ने उनले बताए ।
स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमका सुनिल खड्का कतिपय ठाउँमा स्वास्थ्य संस्थाका लागि चाहिने किसिमको जग्गा नभएकाले पुनर्निर्माणमा समस्या देखिएको बताउँछन्। उनले भने, ‘खोलाको किनार र पहिरो जान सक्ने डाँडाको जग्गा स्वास्थ्य संस्थालाई दान गरिएको रहेछ। कतिपय ठाउँमा घाम नलाग्ने हुँदा बिरामी झन् बिरामी हुन सक्ने सम्भावना छ। यो विषयमा पनि पुनर्निर्माण गर्दा सोच्नुपर्नेछ।’ भवन विभागले बनाएको नियमअनुसार पनि त्यस्तो ठाउँमा स्वास्थ्य संस्था बनाउने नमिल्ने उनले जानकारी दिए।
गोरखा, रामेछाप, रसुवा र जिरी अस्पतालको पुनर्निर्माणका लागि कोइकाले सहयोग गर्ने भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि अमरिकी सहयोग नियोग युएसएडले सहयोग गर्ने बताए पनि सम्झौता हुने बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसैगरी, सिन्धुपाल्चोकको चौतारा अस्पताल पुनर्निर्माण गर्ने प्रतिबद्धता चीनले गरिसकेको छ। तर, १० महिना बितिसक्दासम्म पनि प्रतिबद्धतामै सीमित छ। उपचार नपाएर मृत्यु रोज्न स्थानीयको बाध्यता छ ।