केही दिन यता स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)को समूहले नयाँ संघीय संरचनामा शैक्षिक योग्यता अनुसार स्वास्थ्यकर्मी व्यवस्थापन गर्नु पर्ने लगायत विभिन्न माग राखेर आन्दोलनमा रहेका छन् । यसले गर्दा जनताको स्वास्थ्य सेवामा वाधा पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्यायसंगत निकास दिन नसक्दा अनावश्यक लफडा उत्पन्न भएको छ।
समस्या के हो ?
अ.हे.व.ले सि.अ.हे.व. तालिम प्राप्त गरी लोक सेवा आयोगको प्रतिष्पर्धात्मक परीक्षामा सामेल नै नभई सोझै पदनामको अंकुशबाट सि.अ.हे.व पद प्राप्त गरेपछि हे.अ.लाई आफू वरिष्ठ हुने बलजफ्तीपन र स्वास्थ्य सेवा ऐनको विकृतीले गर्दा हे.अ. भन्दा सि.अ.हे.व.चाँडै छैठौं तहमा पुग्छन् । तर हे.अ. पाँचौं तहमा नियुक्त हुन्छन् र छैठौं तहमा पुग्न केही अवधि र अन्य पूर्वाधार पुर्याउनु पर्ने हुनाले नै यो समस्या उत्पन्न भएको हो।
स्वास्थ्य सहायकको इतिहास?
२०२१ सालदेखि २०२८ सालसम्म चिकित्सा विज्ञान सरकारद्वारा अध्यापन गरिन्थ्यो । एअक्जुलियरी हेल्थ वर्कस स्कूल, महाराजञ्ज (हाल चिकित्सा विज्ञान स्नातक कोर्ष अध्ययन गर्ने भवन)मा दुई वर्षे अ.हे.व.कोर्ष अध्यापन गरिन्थ्यो । २०२९ सालमा सो कोर्षत्रिभुवन विश्व विद्यालयमा गाभिएपछि २०३१ सालमा सो पाठ्यक्रममा परिमार्जन गरी हे.अ. कोर्ष शुरु गरियो । २०२९÷३० सम्म दुई वर्षे कोर्ष पूरा गर्ने विद्यार्थीको वृत्तिविकासको माग बमोजिम त्रि.वि. र स्वास्थ्य मन्त्रालयको समन्वयमा २०३० सालसम्म दुई वर्षे अ.हे.व. अध्ययन गरेकालाई कम्तिमा ५ वर्ष स्थायी सेवा पूरा गरेकालाई ३ महिने पुनर्ताजगी तालिम दिएपछि लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा उत्तिर्ण भएपछि मात्र सि.अ.हे.व.नियुक्त हुने व्यवस्था थियो । ती सि.अ.हे.व.लाई लोक सेवा आयोगले हे.अ.÷सि.अ.हे.वको समान स्तर दिएको हो।
तर कालान्तरमा एक वर्षे अ.हे.व.लाई पनि पुनर्ताजगी तालिम प्रदान गर्ने नीति लागु भयो, जसअनुसार १० वर्ष र त्यसलाई पनि परिमार्जन गरी ५ वर्ष स्थायी सेवा गरेपछि सि.अ.हे.व. पुनर्ताजगी तालिमको व्यवस्था गरियो । हुँदा–हुँदा अ.हे.व. ले पुनर्ताजगी तालिम लिएपछि लोक सेवा आयोगको प्रतिस्पर्धा नै नगरी सि.अ.ह.ेव. पदनाम र पदस्थापनाको माग स्वास्थ्य मन्त्रालयसंग माग गरे । स्वास्थ्य मन्त्री अमिक शेरचनले उनीहरुको माग पूरा गर्न लोक सेवा आयोगको परामर्श विना पदनामको माध्यमबाट सि.अ.हे.व.मा स्तरबृद्धि गर्ने गरी स्वास्थ्य सेवा ऐनलाई नै अवाञ्छनीय किसिमले संशोधन गरियो । जसको फलस्वरुप आजको यो अवस्था आएको हो।
समाधान के त ?
एक वर्षे अ.हे.व कोर्ष अध्ययन गरी सि.अ.हे.व. (पदनाम)बाट छैठौं तहमा स्तरबृद्धि भइ आएको आधारमा हे.अ.लाई पदनामका आधारबाट आएका सि.अ.हे.व.को मातहतमा राखिनै हुँदैन । किनभने सि.अ.हे.व पुनर्ताजगी तालिम प्राप्त गरेपछि लोक सेवा आयोगको हे.अ.समानको पदमा प्रतिष्पर्धात्मक परीक्षा उत्तिर्ण गर्नैपर्छ । लोक सेवाको परीक्षा उत्तिर्ण नगरेकालाई हे.अ. समान गराउनै हुँदैन र हे.अ.लाई उच्च अध्ययन र छैठांै तहमा स्तरबृद्धिको मार्ग प्रशस्त गरिनु पर्दछ।
(अर्याल स्वास्थ्य सेवामा ४० वर्ष काम गरेर सेवा निवृत्त भएका हुन्)