काठमाडौं- उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला भएको विषयलाई लिएर चिकित्सकहरुले कानुन तथा संघीय ममिला मन्त्री अजय कुमार चौरसियालाई भेटेका छन्। नेपाल चिकित्सक संघ (एनएमए)का महासचिव डा सञ्जिव तिवारीको नेतृत्वमा चिकित्सकहरुले मन्त्रीसँग छलफल गरेका हुन्।
डा तिवारीका अनुसार चिकित्सकलाई पेशाप्रति मर्यादित बनाउन नेपाल मेडिकल काउन्सिल हुँदाहुँदै उपभोक्ता अदालतले मुद्दाको फैसला गरेर हतोत्साही बनाएका विषयमा छलफल गरिएको हो।
उनले भने, 'चिकित्सा पेशाको विशिष्टता बुझेर नै सरकारले नेपाल मेडिकल काउन्सिल बनाएको छ। त्यसले नियमन गर्दै आएको छ। अहिले उपभोक्ता अदालत ल्याएर चिकित्सा क्षेत्रको मुद्दा हेर्न थालिएको छ। जसले हामी हतोत्साही भएका छौं।'
अदालतले चिकित्सकलाई बस्तु जस्तो गरी र अस्पताललाई फ्याक्ट्री जस्तो गरि हेर्न थालेको भन्दै ध्यानाकर्षण गराइएको बताए।
उनले भने, 'यसैपनि चिकित्सक देशमा बस्ने अवस्था छैन। विदेशिइरहेका छन्। नयाँ अदालत, कानुन र नियम ल्याएर हतोत्साही बनाउँदा त्यो अवस्था झन् बढ्छ भनेर भनेका छौं।'
केही दिनअघि उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार र संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको थियो। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला गरेको हो।
बसन्त गौतमले आफ्ना बुवा हरिहर प्रसाद गौतमको उ उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्ति पाउँ भनेर दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको थियो।
सम्बन्धित समाचार