औषधि स्वास्थ्य उपचारको एउटा अभिन्न पाटो हो। औषधिबिना स्वास्थ्य उपचारको कल्पना पनि गर्न सकिंदैन। बजारमा उपलब्ध औषधि सुरक्षित, असरयुक्त र गुणयुक्त हुनुपर्छ। चिकित्सकबाट औषधिको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ।
बिरामीलाई चिकित्सकीय आवश्यकताअनुसार सही औषधि, सही मात्रामा सही समयसम्मको लागि सिफारिस गर्नु चिकित्सकको धर्म र कर्तव्य हो। यसरी सिफारिस गर्दा सकेसम्म कमभन्दा कम औषधि कसरी सिफारिस गर्न सकिन्छ, त्यसबारेमा ध्यान पुर्यााउनुपर्छ। किनकि जति धेरै औषधि बिरामीलाई सिफारिस हुन्छ, औषधिहरुबीच प्रतिक्रिया हुने तथा औषधिबाट उत्पन्न प्रतिअसरले बिरामीलाई लाभभन्दा हानि हुने जोखिम बढ्छ। यसर्थ चिकित्सकको ध्यान सदैव औषधिको विवेकपूर्ण प्रयोगमा हुन्छ।
सिद्धान्तत: यसो भए तापनि विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा आधाभन्दा बढी औषधि अनुचित रुपमा सिफारिस र बिक्री-वितरण हुन्छन्। त्यसमा पनि आधाभन्दा बढी बिरामीले सिफारिस भएका औषधि सही तरिकाले प्रयोग गर्दैनन्। यसले गर्दा हाम्रोजस्तो विकासोन्मुख देशमा बिरामीलाई अनावश्यक आर्थिक भार पर्न जान्छ। यसर्थ जनताको स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।
औषधिको अधिक प्रयोग, प्रतिजैविक औषधिको अनुचित प्रयोग, चिकित्सकको सिफारिसमा प्रयोग गर्नुपर्ने औषधिको आफूखुसी प्रयोग, सुइजन्य औषधिको अधिक प्रयोग, अनावश्यक औषधिको प्रयोग आदि औषधिको अनुचित प्रयोगका केही उदाहरण हुन्।
आजकल विशेषत: सहरी क्षेत्रमा डायटरी सप्लिमेन्ट वा न्युट्रासिटिकल्स (खाद्यपूरक) को नाममा उपलब्ध हुने औषधिजन्य उत्पादनको बिगबिगी नै छ। केही अस्पतालमा त चिकित्सकहरुले मुख्य औषधिलाई भन्दा यसलाई नै प्रमुख औषधिको रुपमा सिफारिस गर्ने अभ्यास देखिन्छ।
चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरल लगायतका धरै समिश्रणहरुलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ। बजारमा उपलब्ध धेरै डायटरी सप्लिमेन्ट वा न्युट्रासिटिकलहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सिफारिसमा उपलब्ध छन्।
खाद्य पूरक वा अन्य जे नाम दिए पनि यस्ता उप्तादनहरु खाद्यका प्रशोधित उत्पादनहरु हुन्। यस्ता उत्पादनको प्रयोगले खासै हानि गर्दैन। तर यस्ता उप्तादनले कुनै पनि रोग निको गर्दैनन्। जस्तो सन्तुलित भोजनको प्रयोगले जे फाइदा हुन्छ, त्यस्तै यसको फाइदा हुन्छ। तर यसको औषधि चिकित्सकबाट हुने सिफारिसमा भने गम्भीर नैतिक प्रस्न छ।
खाद्यको रुपमा भित्रने यस्ता उत्पादन कानुनत: चिकित्सकबाट सिफारिस गर्न मिल्दैन। यदि त्यस्तो उत्पादन प्रयोग गर्नुपर्ने अवस्था हो भने कुनै खास पदार्थ भएको वस्तुको ब्रान्ड नाम नतोकी खान सुझावसम्म दिन सक्छन्। चिकित्सकीय आवश्यकताको अवस्था हो भने चिकित्सकीय मात्रामा बजारमा उपलब्ध धेरै औषधिमध्ये सिफारिस गर्न मिल्छ।
औषधि व्यवस्था विभागमा दर्ता नभएका यस्ता उत्पादनहरु औषधि पसलमा राख्न मिल्दैन। हर्लिक्सलगायत अन्य वस्तु औषधि पसलमा उपलब्ध हुने तर्क दिने हो भने त्यस्ता वस्तुहरु बिरलै चिकित्सकले सिफारिस गर्छन्। तर क्रयशक्ति भएका बिरामी वा उपभोक्ताले आफूखुसी किनेर लैजान्छन्।
खाद्य तथा औषधि ऐनबीचको अस्पष्टताले केही व्यापारी विशेषले यस्ता उत्पादनहरु भ्याट र करको हवाला दिंदै खाद्यको नाममा भित्र्याएर चिकित्सकलाई सिफारिस गराउन प्रबर्द्धन गर्छन्। एक विभागले कानुनत: प्रतिबन्ध लगाएको वस्तु अर्को विभागले आयात सिफारिस दिनु आफैंमा विडम्बना हो।
यदि खाद्यपूरक हो भने त सम्पूर्ण खाद्य पसललगायत सुपरमार्केटमा उपलब्ध हुनुपर्योर, जहाँ ग्राहकले आफ्नो क्रयशक्ति हेरेर छानेर खरिद गरी सेवन गर्छन्। खाद्यपूरकका नाममा भित्रिने सबै उत्पादनहरु चिकित्सककीय मात्रामा औषधिको रुपमा बजारमा उपलब्ध छन्। जुन गुणस्तरीय तथा धेरै सस्तो छन्। तर खाद्यपूरकको रुपमा भित्रिएका त्यस्ता वस्तु धेरै गुणा महँगो छन्।
धेरैजस्तो उत्पादनहरु उत्पादन हुने देशको मूल्यभन्दा पनि बढी छन्। साथै गुणस्तरको समेत यकिन छैन। जस्तो चिकित्सककीय मात्रामा उपलब्ध क्याल्सियमको मूल्य रु ७ छ भने खाद्य पूरकको रुपमा भित्रिएका त्यस्ता वस्तुको मूल्य रु ३०-५० सम्म छ। चिकित्सककीय मात्रामा उपलब्ध मिथायेलकोबालामिनको मूल्य रु २० छ भने खाद्य पूरकको रुपमा भित्रिएका त्यस्ता वस्तुको मूल्य रु ४०-६० सम्म छ।
यी त केही उदाहरण मात्र हुन्। केही समय पहिले भारतमा खाद्य पूरकको चिकित्सकबाट हुने सिफारिसलाई बन्देज लगाएको छ। चिकित्सकीय रुपमा खासै प्रभावकारी नहुने, अन्य प्रशस्त विकल्प रहेका, गुणस्तर यकिन नभएका र अत्यधिक चर्को मूल्यमा बिक्री हुने यस्ता वस्तुको अविवेकशील सिफारिस चिकित्सकको मर्यादा र नैतिकताप्रति नै प्रश्न हो।
खाद्यपूरकको रुपमा सिफारिस भएका त्यस्ता वस्तुको सट्टा अर्को वस्तु दिंदा चिकित्सकले औषधि बिक्रेतालाई दुर्व्यवहार समेत भएको गुनासो आएकोले यस्ता वस्तुलाई प्रबर्द्धन गर्ने चिकित्सकहरु समेत शंकाको घेरामा देखिन्छन् । केही अवस्थामा महँगा यस्ता औषधिलाई मुख्य औषधि ठानेर रोगको मुख्य औषधि नै छोडी बसेको अवस्था समेत छ।
कहालीलाग्दो रुपमा सहरी छेत्रमा व्याप्त यस्तो विकृतिलाई समयमै नरोकेमा ठूलो दुर्घटना हुने सम्भावना छ । यसर्थ सम्पूर्ण चिकित्सकले औषधिको समुचित प्रयोगलाई व्यवहारमा उतार्न जरुरी छ। अन्यथा आम उपभोक्ताले हालै जारी मुलिकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ अनुसार जानीजानी प्रभावहीन र अनावश्यक औषधि सिफारिस गरेको भनी क्षतिपूर्तिसहित कारबाहीको माग दाबी गर्न सक्छन्।
यस्तो व्यवसायमा केहीले लाभ प्राप्त गरेका होलान्, केहीले रोजगार प्राप्त गरेका पनि होलान् तर जुन दिशामा कहालीलाग्दो रुपमा यो अघि बढेको छ, यसले समग्र चिकित्सा क्षेत्रलाई विकृत बनाउने तथा बिरामीलाई अनावश्यक आर्थिक भार बढाउनेबाहेक समग्र स्वास्थ्यमा लाभको हिसाबले तात्विक भिन्नता केही छैन। यसर्थ यसले बिकराल रुप लिनुअघि नै सम्बन्धित निकायहरुको नतिजामुखी हस्तछेप जरुरी छ।
(केसी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक हुन्)