काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार बैद्यखानका निर्देशक डा प्रदिप केसीसँग असन्तुष्टि व्यक्त गरेका छन्। आफूले यसअघि पनि भिजिट गरेको बताउँदै सुधारिने संकेत नदेखिएको बताए।
सिंहदरबार बैद्यखानाको विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२ सार्वजनिक कार्यक्रममा उनले असन्तुष्टि पोखेका हुन्। उनले निर्देशक डा केसीप्रति लक्षित गर्दै भने, 'अघिल्लोपटक भिजिटमा आइयो। उहाँकै कोठामा बसेर यसो गर्ने, उसो गर्ने भनियो। बेलुका फेसबुकमा खिलापमा लेखिदिनुभयो । जिम्मेवारी बोध पनि गर्नुपर्ने होला । तपाईं राज्यको जिम्मेवार व्यक्ति हो, हामी त कति दिन बस्छौं र ? सही मनशाय राखेर बनाउन खोजेको हुँ।'
उनले वैद्यखाना सुधारिएको म्यासेज छ त ? भन्दै प्रश्न गरे। उनले यही तरिकाले वैद्यखाना डाइनोसर बन्ने बताए। उनले थपे, 'डाइनोसर छैन नि, उसले आफ्नो अस्तित्व जोगाउन सकेन संसारबाट लोप भएर गयो। वैद्यखानाले, आयुर्वेदले अस्तित्व राख्न सकेन भने राज्यको प्राथमिकतामा पर्दैन। लगानी हुँदैन । विस्तारै अस्तित्व समाप्त भएर जान्छ।’ आफू मन्त्रालयमा कसैले केही ल्याइदिन्छ कि भनेर पर्खेर बसेको उल्लेख गरे।
सिंहदरबार वैद्यखाना विकास समितिले पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको हो। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त रणनीति सार्वजनिक गरेको हो । डा लक्ष्मी प्रसाद घिमिरे संयोजनकत्वको उपसमितिले रणनीति बनाएको हो। उक्त उपसमितिमा डा पुष्पराज पौडेल,डा कोपिला अधिकारी, डा विभाकर ठाकुर, डा विनोद शाह सदस्य थिए।
उक्त रणनीतिक योजना मार्फत् दीर्घकालीन रुपमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै अन्तर्राष्ट्रिय निर्यात प्रवर्धन गर्न सफल हुने स्थितीमा पुग्नुपर्ने आयुर्वेद क्षेत्रका विज्ञहरु बताउँछन् ।