विश्वमा मातृ मुत्युदरको प्रमुख कारण प्रसवपछिको अत्याधिक रक्तस्राव पनि एक हो। नेपाल पनि यसबाट विमुख रहने कुरै भएन। उक्त समस्या निराकरणमा नेपाल सरकारले नीतिगत रुपमा स्वास्थ्य संस्थामा मात्र प्रसूति गराउने भनेको छ, र सोहीअनुसार सेवा दिंदै आएको छ। अपेक्षाकृत सफलता पनि हासिल गर्दै आएको छ।
प्रसवपछिको अत्यधिक रक्तस्राव रोक्नका लागि अक्सिटोसिन अति आवश्यक औषधि हो । यसको प्रयोगले आमा र बच्चाको ज्यान जोगिने भएकाले विश्व स्वास्थ्य संगठनले अक्सिटोसिनलाई जीवन रक्षक औषधिअन्तर्गत राखेको छ।
खासगरी प्रसव व्यथा सहज पार्न तथा प्रसवपछिको रक्तस्राव रोक्न यो औषधिको प्रयोग गरिन्छ, जसको प्रयोगले आमा र बच्चाको ज्यान बचाउन सहयोग गर्छ।
तर आजको दिनसम्म पनि नेपाल र नेपाल जस्तै न्युन तथा मध्यम आय भएका देशहरुमा यति महत्वपूर्ण औषधिको विश्व स्वास्थ्य संगठन तथा अन्य रेगुलेटरी बोडीले दिएको मापदन्डअनुसार उत्पादन, भन्डार तथा आपूर्ति नभएको पाइएको छ। फलस्वरुप औषधिमा हुनुपर्ने गुण उचित मात्रा नभएको, कसैमा धेरै भएको, कसैमा कम र औषधिले देखाउनुपर्ने प्रभाव कम देखिएको विभिन्न अध्ययन, अनुसन्धानले देखाएका छन्।
अक्सिटोसिनको प्रयोग किन र कहाँ गरिन्छ?
खासगरी प्रसव व्यथा सहज पारी बच्चा जन्माउन सहज गराउने, प्रसवपछिको रक्तस्राव रोकी आमाको ज्यान जोखिममा पर्नबाट बचाउने, आमाको दूध ग्रन्थीलाई सक्रिय तुल्याई निरन्तर दूध उत्पादन गराउने लगायतका समस्या समाधानमा अक्सिटोसिनको महत्वपूर्ण भूमिका रहन्छ।
सामान्यतयाः अक्सिटोसिनको प्रयोग प्रसूति सेवा उपलब्ध हुने सरकारी तथा निजी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकहरुमा गरिन्छ। नेपाल सरकार स्वास्थ्य सेवा विभागको २०७३ र २०७४ को वार्षिक प्रतिवेदनअनुसार नेपालका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा रहेका प्रसूति तथा नवजात शिशुको आधारभूत आकस्मिक स्याहार (बिइओएनसी), प्रसूति तथा नवजात शिशुको विशिष्ट आकस्मिक स्याहार (सिइओएनसी) र बर्थिङ सेन्टर गरी करिब २ हजार ३९ वटाभन्दा बढीमा आवश्यकताको आधारमा यो औषधि नेपाल सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको छ।
अक्सिटोसिन भन्डारणको मापदन्ड र वर्तमान अवस्था
विभिन्न फार्माकोपियाहरुमा अक्सिटोसिन उत्पादन तथा भन्डारण बारेमा तापक्रमको बाध्यकारी अवस्था उल्लेख नगरे पनि विश्व स्वास्थ्य संगठन तथा अन्य रेगुलेटरी बोडीले गरेको विभिन्न अध्ययन र अनुसन्धानले अक्सिटोसिनको उत्पादन, भन्डार तथा आपूर्ति २ देखि ८ डिग्री तापक्रममा व्यवस्थापन गर्दा यसको प्रभावकारिता रुम तापक्रममा उत्पादन, भन्डार तथा आपूर्ति गर्दाभन्दा धैरै गुणा पाइएको छ।
फलस्वरुप विभिन्न देशहरुमा विश्व स्वास्थ्य संगठन तथा अन्य रेगुलेटरी बोडीले दिएको मापदन्डअनुसार उत्पादन, भन्डारण तथा आपूर्ति भइरहेको छ। जसले गर्दा अक्सिटोसिनको क्षमता पहिलेको तुलनामा वृद्धि हुनुका साथै आवश्यक मात्रामा नै सकारात्मक नतिजा आएको देखिएको छ।
तर नेपालमा भने हालसम्म पनि यसरी मापदन्ड पूरा गरी सोही मापदन्डअनुसार अक्सिटोसिनको आपूर्ति, भन्डारण गरी वितरण गरिएको पाइँदैन। नेपालमा गरिएका विभिन्न अध्ययन, अनुसन्धानको रिपोर्ट तथा प्रतिवेदनमा पनि नेपालमा प्रयोग भइरहेका अक्सिटोसिन न्युन गुणस्तरीय भएको पाइएको छ। फलस्वरुप प्रसवको समयमा गर्भासय संकोचन आवश्यकताअनुसार नहुन सक्छ र विभिन्न जटिलता आउनसक्छ।
नेपालका केही भूभागमा अत्याधिक उच्च तापक्रम हुन्छ। उक्त तापक्रमले गर्दा रासायनिक प्रतिक्रिया हुनगई अक्सिटोसिन छिटो डिग्रिडेसन हुन्छ, र क्षमतामा ह्रास आउँछ। अक्सिटोसिनको उत्पादनदेखि सरकारी निकाय अन्तर्गतका केन्द्रीय मेडिकल स्टोर, प्रदेश मेडिकल स्टोर, जिल्ला स्टोर, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा आजको दिनसम्म पनि भन्डार तथा आपूर्ति २ देखि ८ डिग्री तापक्रममा हुन सकेको छैन।
औषधि व्यवस्था विभागले केही महिनाअघि मात्र एक सूचना निकाली अक्सिटोसिन उत्पादनकर्ताले उत्पादित अक्सिटोसिनको स्टोर गर्दा २ देखि ८ डिग्रीमा राख्नुपर्ने भनी लेबुल टाँस्नुपर्ने र सोहीअनुसार आपूर्ति गर्नुपर्ने र फार्मेसीहरुमा पनि सोहीअनुसार भन्डारण गर्नुपर्ने भनिएको छ। तर सोको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान आजसम्म पनि जान सकेको छैन।
अक्सिटोसिनको प्रभावकारिता कायम राख्न आगामी दिनमा चाल्नुपर्ने कदम
– अक्सिटोसिन भन्डारणका निम्ति सरकारले केन्द्रीय मेडिकल स्टोर, प्रदेश मेडिकल स्टोर, जिल्ला स्टोर, पालिका स्टोर, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीसम्म भन्डारणको व्यवस्था मिलाउनुपर्ने र सबै ठाउँमा रेफ्रिजेरेटरको प्रबन्ध मिलाउनुपर्ने।
– अक्सिटोसिन खरिद गर्दा गुणस्तर प्रत्याभूति गर्ने, मापदन्डअनुसारको आपूर्तिको सुनिश्चितता गर्ने, गराउने।
– औषधि व्यवस्था विभागले नियमन गर्ने, बेला(बेलामा गुणस्तर जाँच गर्ने।