सन् २०१२ देखि विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो। सन् १८९५ मा नै एक्सरेको विकास वैज्ञानिक विल्हेल्म रोईन्टेनले गरेका भएपनि सन् २०१२ देखि मात्रै विश्व रेडियोलोजी दिवस मनाउन थालिएको हो।
नेपालमा पनि प्रत्येक वर्ष रेडियोलोजी दिवस मनाउँदै आइएको छ। यो १२ औं रेडियोलोजी दिवस हो। यस वर्षको रेडियोलोजी दिवसको नारा 'रेडियोग्राफर: सिइङ द अनसिन' वा नदेखिने वस्तुलाई देखिने बनाउनु भन्ने हो।
के हो रेडियोलोजी सेवा
चिकित्सा शास्त्रका अन्य विधाहरु जस्तै रेडियोलोजी पनि एक महत्वपूर्ण विधा हो। विश्वमा एक्सरे सेवाको विकास भएसँगै रेडियोलोजी सेवाको पनि विकास भएको हो। यस विधामा शरीरका विभिन्न अंगहरुको छाया लिने काम हुन्छ। उक्त छायाको माध्यमबाट विभिन्न प्रकारका रोगहरुको उपचार गर्ने काम रेडियोलोजी सेवाले गर्छ। चिकित्सा शास्त्रमा पछिल्लो समय रेडियोलोजी एकदमै उदयमान विधाका रुपमा विकसित भएको छ।
किन मनाइन्छ रेडियोलोजी दिवस
नेपालमा जनतामा सचेतना फैलाउनका लागि प्रत्येक वर्ष रेडियोलोजी डे मनाउने गरिएको हो। यस वर्ष त्रिवि शिक्षण अस्पतालमा एक वाकाथन कार्यक्रम गरी यो दिवस मनाइएको छ।
त्यस्तै भोली शनिबार बिदाको दिन पारेर हामीले क्विज प्रतिस्पर्धाको आयोजना गरिएको छ। उक्त प्रतिस्पर्धाका नेपालका १२ वटा विभिन्न मेडिकल कलेजका रेडियोग्राफरहरु तथा रेडियोलोजी अध्ययन गरिरिहेका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ।
त्यस्तै काठमाडौं बाहिर पनि रेडियोग्राफरहरुले आ –आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रमहरु गरी रेडियोलोजी दिवस मनाउने तयारी छ।
रेडियोलोजीका फाइदाहरु
पछिल्लो समयले रेडियोलोजी रोग पत्ता लगाउने मात्रै नभई रोगको उपचारमा समेत उपयोगी भएको छ। शल्यक्रिया नचाहिने रोगमा इन्टरभेन्सन रेडियोलोजीको माध्यमबाट पनि उपचार सम्भव छ।
पहिले एक्सरेमा मात्रै सीमित रहेको रेडियोलोजी सेवा हाल सिटिस्क्यान अल्ट्रासाउण्ड तथा एमआरआई सेवामा समेत विस्तार भइसकेको छ।
शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु अन्य विधाले पत्ता लगाउन नसक्ने भएकोले चिकित्सा शास्त्रमा रेडियोलोजीको विकास भएको हो।
कलेजो, फोक्सो, मिर्गौला लगायतका अंगहरुमा भएका भित्री रोगहरुको पहिचानका लागि सिटीस्क्यान तथा एमआरआईको महत्व रहेको छ। रेडियोलोजीले रोगको पहिचान गरे पश्चात् मात्रै त्यसको उपचार हुनेगर्छ।
रेडियोलोजी रोगको पहिचान तथा उपचारमा मात्रै नभई उपचारपछिको फलोअपमा समेत महत्व छ। हाल विकास भएको पेटस्क्यान उपचार पनि रेडियोलोजीको नयाँ प्रविधि हो। जसले क्यान्सर उपचारमा महत्वपुर्ण भुमिका खेलेको छ।
स्वास्थ्य क्षेत्रमा अन्यको तुलनामा रेडियोलोजीको विकास छिटो भएको अवस्था छ। विश्वका विकसित भनिएका देशले दिदैं आएका रेडियोलोजी सेवा नेपालमा पनि दिन सकिएको छ।
अन्य देशले पनि रेडियोलोजीको अत्याधुनिक प्रविधिको रुपमा एमआरआई इन्टरभेन्सन रेडियोलोजीकै प्रयोग गर्ने पाइएको छ।
नेपालमा रेडियोलोजी सेवाको वर्तमान अवस्था
नेपालमा रेडियोलोजी सेवा विस्तार सकारात्मक रुपमा भइरहेको छ। यद्यपि नेपालका रेडियोलोजिष्टहरु शहर केन्द्रित भएका छन्। रेडियोलोजी सेवालाई दुर्गम तथा दुरदराजमा अझै पनि विस्तार गर्न सकिएको छैन। कतिपय स्थानहरुमा दरबन्दी तथा कतिपयमा पर्याप्त उपकरणको अभावका कारण नेपालमा रेडियोलोजी सेवालाई दुरदराजमा विस्तार गर्न नसकिएको हो।
हाल नेपालमा करिब ७ सयको संख्यामा रेडियोलोजिष्टहरु उत्पादन भइसकेको अवस्था छ। यद्यपि अधिकांश शहरी क्षेत्रहरु काठमाडौं, पोखरा, भरतपुर, विराटनगर जस्ता मुख्य सहरहरुमा मात्रै कार्यरत रहेका छन्।
पछिल्लो समय डिजिटल सेवाको अवधारणाले रेडियोलोजी सेवालाई थप विकसित बनाएको छ। तत्कालै कम्युटरमा हेर्न सकिने सेवालाई थप सहज र छिटो बनाउन सम्भव भएको छ।
बिरामीले आफ्नो रिपोर्ट मोबाइलमा घरमै बसी बसी हेर्न सक्ने अवस्थामा नेपालको रेडियोलोजी पुग्नुले बिरामी तथा चिकित्सक दुवैलाई फाइदा पुगेको छ।
(डा शर्मा नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष हुन्।)