काठमाडौं- टोखा नगरपालिका १ झोरमा रहेको झोर महाकाल स्वास्थ्य चौकीमा एक दिने शिुल्क आँखा शिविर सम्पन्न भएको छ । केडीसी जनरल अस्पताल र झोर महाकाल स्वास्थ्य चौकीको आयोजना तथा बीएम टिपिबी फाउण्डेशनको सहयोगमा गत बुधबार आयोजना गरिएको शिविरमा त्यस क्षेत्रका ११२ जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ७७ जना महिला र ३५ जना पुरुष रहेका थिए।
शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु) २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) १० जनामा ड्राइ आइ, र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोबिया तथा आँखाको एलर्जी देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

 
उक्त शिविरमा ६० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १० जनाभन्दा बढी बिरामीलाई थप उपचारका लागि रिफर गरिएको बताइएको छ । 
कार्यक्रममा अप्टोमेट्रिस्ट पुजा पाण्डित, नेत्र सहायक अमिशा आचार्य र युना राई, तथा जन स्वास्थ्य अधिकृत स्वेच्छा मरासिनी लगायतले सेवा प्रदान गरेका थिए।
यस्तै कार्यक्रममा वडाध्यक्ष रामेश लामिछाने, स्वास्थ्य चौकी इन्चार्ज पवन यादव, नर्स सरस्वती कार्की तथा स्वयंसेवक बलराम सापकोटाको सहभागिता रहेको थियो।
शिविर बिहान १० बजेदेखि साँझ ४ बजेसम्म  चलेको थियो । 
झोरका स्थानीयले आफ्नै टोलमा आँखा जाँच गर्न पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले नियमित रुपमा आँखाको जाँच आवश्यकता र महत्त्वबारे सचेत भएको समेत प्रतिक्रिया दिएका थिए । 
त्यसो त टोलीले शिविर भएकै दिन दिउसो आँखा स्वास्थ्य र मधुमेहजन्य रेटिनोप्याथी सम्बन्धी जनचेतनामूलक सत्र पनि आयोजना गरेको थियो । सो कार्यक्रममा विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका ३० जना बढीको सहभागिता थियो ।
