दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएदेखि नै यसको सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशील खनियाँको नेतृत्वमा चिकित्सकहरू डा. विवेक थापा, डा. पंकज नेपाली सहित नर्स र स्वास्थ्यकर्मीहरूको टोलीले साना तथा ठूला शल्यक्रियाहरू गरिरहेको छ।
प्रतिष्ठानले दिएको जानकारीअनुसार युरोलोजी ओपिडीबाट दैनिक ७० भन्दा बढी बिरामीहरूले परामर्शसहितको स्वास्थ्य सेवा लिइरहेका छन्। गत जेठदेखि असोज मसान्तसम्ममा २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका छन्।
यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा बिरामीहरू सामान्यदेखि विशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहितको उक्त सेवा विस्तार भएपछि अहिले यो समस्याको समाधान भएको छ।
युरोलोजिष्ट सर्जन डा. खनियाँका अनुसार, युरोलोजी सेवा लिने २७७ जनामध्ये १ सय ५७ जना मिर्गौलामा भएको पत्थरीका बिरामीको गम्भीर प्रकृतिको शल्यक्रिया भएको छ। २२ जनाको मध्यम खालको शल्यक्रिया र ९९ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको छ।
डा. खनियाँले युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै समस्या, प्रोस्टेटको उपचार, मिर्गौलाको पत्थरी, पिसाबको नलीको समस्या, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको वा सुनिएको, पिसाब पोल्ने र चुहिनेलगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्न सक्ने बताए। अस्पतालमा युरोलोजी सेवा लिनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको पनि उनले जानकारी दिए।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीले युरोलोजी सेवा अहिले धेरै नै प्रभावकारी भएको बताउँदै स्थानीयस्तरमै सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा बिरामीहरूले खुसी व्यक्त गर्ने गरेको उल्लेख गरे।