मुटुका रक्तनलीहरुमा विभिन्न कारणबाट बोसो अर्थात् कोलेस्टेरोल जमेर साँघुरो हुने गर्छ, जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्न नसक्दा मुटुका मांसपेशी मर्न थाल्छन्, जसलाई हृदयाघात भनिन्छ।
लक्षण के हुन् ?
हृदयाघात भएका बेला छातीको बीचमा भारी भएजस्तो, घाँटी न्याकेजस्तो हुन्छ। यो अवस्था कुम या घाँटीमा फैलिएर जाने हुन्छ, जसलाई क्लासिकल लक्षण भनिन्छ।
यसबाहेक ढाड तथा पेटको माथिल्लो भेगमा दु्ख्ने, सास फेर्न गाह्रो हुने, अकस्मात बेहोस हुने, पसिना आउने, बान्ता आउने, बंगारा दुख्नेजस्ता लक्षण देखिन सक्छन्। त्यसैले हृदयाघातमा यो नै लक्षण देखिन्छ, भन्ने छैन।
तर, हिँड्दा, शारीरिक अभ्यास गर्दा सास फेर्न गाह्रो हुने, छातीमा भारीपन महसुस हुने तथा छाती पोलेजस्तो हुने भएको छ, तर, समस्या समाधान भएन भने हृदयाघात हुन सक्छ भनेर चिकित्सककहाँ जानुपर्छ। छाती तथा पेटको माथिल्लो भागको अप्ठेरो १५–२० मिनेटसम्म रहिरह्यो भने नजिकको अस्पतालमा गएर जचाँउनुपर्छ। कतिपयले पेटको माथिल्लो भाग दुख्दा ग्यास्ट्रिक ठानेर त्यत्तिकै बस्ने गरेको पाइन्छ। तर, त्यसो गर्नुहुँदैन, यस्तो समस्या लामो समय रहिरह्यो भने जँचाइहाल्नुपर्छ।
हृदयाघात भएको शंका लागेमा सकेसम्म छिटो अस्पताल गइहाल्नुपर्छ। हृदयाघात भनेको आपतकालीन (इमर्जेन्सी) अवस्था हो, सकेसम्म छिटो पहिचान गरेर डाक्टरले उपचार सुरु गर्नुपर्छ
हृदयाघात हुँदा मुटुमा रगत प्रवाह गर्ने रक्तनलीमा अवरोध भएको हुन्छ। यस्तो अवरोधलाई जति चाँडो खोल्न सक्यो, उति बिरामी बाँच्ने सम्भावना बढी हुन्छ। हृदयाघातको लक्षण देखा परेको अवस्थामा अस्पताल हिँडेर जानुहुन्न र एस्पिरिन लिएर जान सकिन्छ।
हृदयाघात किन हुन्छ ?
मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलको समस्या भएकाहरु, धूमपान तथा मद्यपान गर्नेहरु र परिवारका सदस्यलाई हृदयघात भएकाहरु हृदयाघातको बढी जोखिममा हुन्छन्। पुरुषहरु हृदयाघातको बढी जोखिममा हुन्छन् भने महिलालाई पनि महिनावारी रोकिएपछि जोखिम बढ्दै जान्छ।
युवाहरुमा पनि आजकाल हृदयाघात बढी हुन थालेको छ। त्यसको यकिन कारणबारे हालसम्म पुष्टि हुन नसके पनि धूमपान बढी गर्ने तथा मधुमेहको समस्या भएकाहरु बढी जोखिममा हुन्छन्। कतिपयलाई तनावले पनि हृदयाघात भएको हुन सक्छ।
हृदयाघात हुन नदिन र भएपछिको जीवनशैली कस्तो हुनुपर्छ?
सबैभन्दा महत्वपूर्ण कुरा जीवनशैली हो। चुस्त रहनुपर्छ। शारीरिक अभ्यास गर्नुपर्छ। कम्तीमा हप्तामा ३ पटक दैनिक ३० मिनेट हिँड्न सकिन्छ। योभन्दा बढी हिँड्दा झन् राम्रो। यसबाहेक जिम र हाइकिङ जान सकिन्छ। साइक्लिङबाट पनि शारीरिक अभ्यास हुन्छ।
खानपानमा पनि ध्यान पुर्याउनुपर्छ। चिल्लो, तारेको, धेरै कार्बोहाइड्रेट भएको खानेकुरा खानुहुँदैन। जीवनशैली पनि नराम्रो छ र फेमिली हिस्ट्री पनि छ भने जोखिम झन् बढ्ने हुन्छ। त्यसैले खानपानमा ध्यान पुर्याउनुपर्छ। बढी चिल्लो भएको तथा तारेको मासु खानुहुन्न। हृदयाघात भएको बिरामीले चाहिँ मुटुमा कति क्षति पुगेको छ, त्यसअनुसारको जीवनशैली अपनाउनुपर्छ।
हिँड्दा, शारीरिक अभ्यास गर्दा सास फेर्न गाह्रो हुने, छातीमा भारीपन महसुस हुने तथा छाती पोलेजस्तो हुने भएको छ, तर, समस्या समाधान भएन भने हृदयाघात हुन सक्छ भनेर चिकित्सककहाँ जानुपर्छ।
र, सबैभन्दा महत्वपूर्ण कुरा औषधि नियमित खानुपर्छ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्।)