काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य  तथा जनसंख्या मन्त्री डा. सुधा शर्मालाई नेपालको स्वास्थ्य प्रणालीमा देखिएका प्रमुख चुनौती र तिनका समाधानका सुझावहरू औपचारिक रूपमा बुझाएको छ। संघले मन्त्री डा शर्मालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको अवसरमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।
संघले बुझाएको पत्रमा संघीय व्यवस्थापछि उत्पन्न समन्वय समस्याहरू, प्राथमिक स्वास्थ्य सेवाको कमजोर स्थिति, स्वास्थ्य बीमा कार्यक्रमको सीमित प्रभावकारिता र मानव स्रोत व्यवस्थापनमा देखिएका असमानतालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।
एनएमएले प्राथमिक स्वास्थ्य संरचनालाई सुदृढ बनाउन, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, र संघीय, प्रादेशिक तथा स्थानीय तहबीचको जवाफदेहिता प्रणाली स्पष्ट पार्न आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल वृद्धि र ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न पनि संघले जोड दिएको छ।
संघका पदाधिकारीहरूले मन्त्री शर्मासँगको भेटमा स्वास्थ्य सेवामा दीगो सुधार ल्याउनका लागि मन्त्रालय र चिकित्सक समुदायबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्। मन्त्री शर्माले संघको पहलप्रति आभार व्यक्त गर्दै सुझाबहरू नीति निर्माणमा प्राथमिकताका साथ समेटिने आश्वासन दिइन्।
नेपाल चिकित्सक संघका अनुसार, देशको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नीति, संरचना र व्यवहारगत सुधार आवश्यक छ, र यो प्रक्रिया सबै सरोकारवालाको साझा प्रतिबद्धताबाट मात्र सम्भव हुनेछ।
चिकित्सक संघको सुझाव