काठमाडौं – नेपाल सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाल चिकित्सक संघकी पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई नियुक्त गरिएकोमा नेकपा एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडान) ले शुभकामना व्यक्त गर्दै केही आलोचनात्मक टिप्पणीसमेत गरेको छ।
संघले विज्ञप्तिमार्फत् डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनको नेतृत्वबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गरेको छ। तर संघले यो नियुक्तिबारे केही नकारात्मक पक्षप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, 'डा. शर्मा स्वास्थ्य सचिव रहँदै युनिसेफमा रोजगारीका लागि राजीनामा दिएको इतिहास छ। त्यस्तो प्रवृत्ति दोहोरिएमा अहिलेको सन्दर्भमा यो देशकै लागि घातक हुन सक्छ।'
संघले सीमान्तकृत युवा चिकित्सकलाई मन्त्री नबनाई, पुरानो सरकारका सल्लाहकारलाई पुनः जिम्मेवारी दिनुले नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको उल्लेख गरेको छ। यसले हालको जेनजी आन्दोलनको भावना र ऊर्जामा ठेस पुर्याएको उक्त संगठनको बुझाइ छ।
संघले डा. शर्मालाई दलगत स्वार्थभन्दा माथि उठी निष्पक्ष र दक्षता–आधारित कार्यशैली अपनाउन आग्रह गरेको छ। 'मन्त्रालय पुनः दलगत राजनीति र स्वार्थको अखडामा परिणत भयो भने, राष्ट्रिय चिकित्सक संघले कडा विरोध गर्नेछ,' विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, संघले डा. शर्मालाई चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक वृद्धि, स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने, र दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा तथा प्रोत्साहनमा प्राथमिकता दिन आग्रह गरेको छ। विज्ञप्तिमा संघका प्रवक्ता डा. अरुण उप्रेतीले हस्ताक्षर गरेका छन्।
