दैलेख- मन्त्रीका लागि सिफारिस खगेन्द्र सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको छ। मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दैलेखका मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको पाइएको छ।
सुनारसहित मैना बि.क. लगायतका प्रतिवादीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा नं. ०८१–७८–०००६३४ दर्ता भएको हो। उक्त मुद्दामा अदालतले प्रतिवादी खगेन्द्र सुनारका नाममा ७ दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको पाइएको छ।
तर अदालतले पठाएको पत्रअनुसार, हालसम्म दैलेख जिल्ला प्रहरी कार्यालयले उक्त पक्राउ पुर्जीको तामेली प्रतिवेदन पठाउन सकेको छैन। त्यसैले अदालतले पुनः पहिलो ताकेता पत्र पठाउँदै सात दिनभित्र तामेली प्रक्रिया पूरा गरी रिपोर्ट पेश गर्न निर्देशन दिएको देखिएको छ।
पत्रमा भनिएको छ, 'यदि तामेली गरी पठाउन नसकिएको हो भने त्यसको कारणसहित जवाफ पठाउनुहुन अनुरोध छ।'
सुनारमाथि लागेको आरोप अनुसार, उनीसहितको समूहले २०८१ साउन महिनामा मेहेलकुना अस्पतालमा गएर संस्थाको संरचना तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र हातपात गरेको आरोप छ।
