स्वास्थ्य तथा जनसंख्यामन्त्रीको मन्त्रालयमा बहाल भएको १०० दिन पूरा भएको उपलक्ष्यमा एउटा महत्त्वपूर्ण निर्णय सार्वजनिक भएको छ। सो निर्णयमा सबै संघीय अस्पतालहरुको रेडियोलोजी विभागबाट जारी हुने रिपोर्टहरुलाई फिल्मविहिन बनाइ डिजिटाइजेसन गर्ने भनिएको छ। यो घोषणासँगै सम्बन्धित स्वास्थ्यकर्मी, चिकित्सक र जनस्वास्थ्य क्षेत्रमा सरोकार राख्ने वर्गहरुमा एक प्रकारको उत्सुकता र उत्साह जागेको छ।
अर्कोतर्फ, कार्यान्वयनको पाटोलाई लिएर आशंकाहरु समेत सिर्जना भएका छ्न। यसै सन्दर्भमा, रेडियोलोजी विभागहरुको रिपोर्टहरुको डिजिटाइजेसन, यसका विकल्पहरु, कार्यान्वयनका व्यावहारिक पक्षहरु, फाइदा, अवसर र चुनौतीहरुको बारेमा सकेसम्म धेरैले बुझ्ने गरि केहि आधारभूत जानकारी यहाँ प्रस्तुत गरिएको छ।
रेडियोलोजीमा डिजिटाइजेसन
साधारणतया, रेडियोलोजीमा परीक्षणका तस्वीर र रिपोर्टहरु परम्परागत एनालग र आधुनिक डिजिटल गरि दुई तरिकाले उत्पन्न गरिन्छ। सिटि स्क्यान, एमआरआइ, अल्ट्रासोनोग्राफी जस्ता इमेजिङ्ग मोडालिटिहरुमा परिक्षणका तस्वीरहरु अनिवार्य रुपमै डिजिटल स्वरुपमा प्राप्त हुन्छ्न। रेडियोग्राफी (एक्स-रे) का तस्वीरहरु परम्परागत एनालग प्रणाली र आधुनिक डिजिटल प्रणाली दुबै तरिकाले उत्पन्न गर्न सकिन्छ।
स्क्रिन-फिल्ममा आधारित पराम्परागत एनालग प्रणालीमा क्यासेटभित्र राखिएको फोटोग्राफीक प्लेट (फिल्म)मा बिरामीको शरीरको अङ्गबाट पार भएर गएको एक्स-रे विकिरण र सो एक्सरे विकिरणले क्यासेट भित्रको स्क्रीनमा उत्पन्न गरेको प्रकाश पारिन्छ। त्यस लगतै सो फोटोग्राफीक प्लेट (फिल्म) लाई अध्यारो कोठा भित्र विभिन्न केमिकल प्रोसेसिङ्ग गरि नाङ्गो आँखाले देख्न सकिने तस्वीर तयार पारिन्छ जसलाई रेडियोग्राफ भनिन्छ। परम्परागत एनालग प्रणालीमा सो फिल्म (रेडियोग्राफ) नै एक्स-रे तस्वीर प्राप्त गर्ने र रिपोर्ट हेर्ने एकमात्र माध्यम हो। बिरामीले चिकित्सकलाई एक्स-रे रिपोर्ट देखाउन जाँदा भौतिक रुप मै सो फिल्म बोकेर जानु पर्ने हुन्छ।
अर्कोतर्फ, कम्प्युटराइज्ड रेडियोग्राफी, डिजिटल रेडियोग्राफी जस्ता आधुनिक डिजिटल प्रणालीमा उपयुक्त इमेज रिसेप्टर र कम्प्युटर प्रयोग गरि डिजिटल तस्वीर उत्पन्न गरिन्छ। यसरी प्राप्त भएको तस्वीरलाई फिल्म बिना नै कम्प्युटरको स्क्रीनमा हेर्न सकिन्छ।
यो विषयलाई सजिलो गरी बुझ्न हाम्रो दैनिक जीवनमा प्रयोग हुने फोटोग्राफीको उदाहरण लिउँ। ९० को दशक वा त्यो आसपाससम्म जन्मेका हामीहरु मध्य अधिकांशलाई याद होला, केही दशक अघिसम्म फोटो खिच्नको लागि क्यामेराभित्र रिल राख्नुपर्थ्यो र फोटो खिचिसकेपछि सो रिललाई सुरक्षित रुपमा निकाली कलर ल्यावमा लगेर धुलाई नेगेटिभ बनाउनुपर्थ्यो र सो नेगेटिभबाट हाम्रो फोटो एल्बम वा भित्तामा सजाउने फोटोग्राफ तयार भइ आउँथ्यो अनि मात्र हामीले सो तस्वीर हेर्न सक्थ्यौं।
तर आजकल डिजिटल क्यामेरा (मोबाइल फोनमा प्रयोग हुने क्यामेरा समेत)द्वारा लिइएको तस्वीर तुरुन्तै क्यामेराको स्क्रिन, मोबाइल फोन वा कम्प्युटर स्क्रिनमा हेर्न सक्छौं। उपयुक्त विधि र माध्यम प्रयोग गरी काटछाँट र सम्पादन गर्न सक्छौं, एउटा उपकरणबाट अर्को अर्को उपकरणमा पठाउन सक्छौं। इमेल, ईन्टरनेट र फेसबुक, म्यासेन्जर जस्ता माध्यम प्रयोग गरि एक ठाउँबाट अर्को ठाउँमा पठाउन सक्छौ। यसरी लिएका मध्य कम मात्रै तस्वीरहरुलाई भौतिक रुपमा फोटोग्राफको रुपमा प्रिन्ट गर्छौं।
यसको अर्थ के हो भने परम्परागत स्क्रिन-फिल्ममा आधारित एनालग रेडियोग्राफी प्रणालीमा एक्स रे रिपोर्टका लागि फिल्म अनिवार्य हुन्छ तर आधुनिक डिजिटल प्रणालीमा आधारित कम्प्युटराइज्ड रेडियोग्राफी, डिजिटल रेडियोग्राफी, सिटि स्क्यान, एमआरआइ, अल्ट्रासानोग्राफी आदिमा फिल्म वा कागज, रिपोर्ट प्रदान गर्ने/हेर्ने विभिन्न विकल्पहरु मध्यको एउटा विकल्प मात्र हो। अर्को शब्दमा भन्ने हो भने बिना फिल्मको रेडियोलोजी रिपोर्ट र डिजिटाइजेसनको पहिलो पुर्वसर्त र पुर्वाधार भनेको डिजिटल स्वरुप मै तस्वीर उत्पन्न गर्ने रेडियोलोजी उपकरणको उपलब्धता हो।
फिल्मविहिन रेडियोलोजीका विकल्पहरु
साधारणतया, कम्प्युटराइज्ड रेडियोग्राफी, डिजिटल रेडियोग्राफी, सिटि स्क्यान, एमआरआइ जस्ता डिजिटल रेडियोलोजी उपकरणहरुमा तस्वीरहरु डाइकम (डि.आइ.सि.ओ.एम) प्रारुपमा उत्पन्न र सन्चित हुन्छ्न। डाइकम प्रारुप जेपिइजी, जेपिजी, पिएनजी जस्तै एउटा तस्वीरको प्रारुप हो जसको पुरा नाम 'डिजिटल इमेजिङ्ग एण्ड कम्युनिकेशन इन मेडिसिन' हो।
यो प्रारुपमा तस्वीरहरुको गुणस्तर उच्च हुने, सम्पादन, नापजाँच जस्ता उपादेयताको उपलब्धता तथा एउटा डिजिटल उपकरणबाट अर्को उपकरणमा गुणस्तर नघटाइ सजिलै पठाउन सकिने भएकाले रेडियोलोजी र चिकित्सा क्षेत्रमा यो प्रारुप प्रयोग गरिन्छ। यो प्रारुपमा भएका तस्वीरहरु हेर्न तथा सम्पादन र नापजाँच गर्न कम्प्युटर वा मोबाइलमा विशेष प्रकारको सफ्टवेयर चाहिन्छ जसलाई 'डाइकम भ्युवर' भनिन्छ।
रेडियोलोजी उपकरणहरुमा उत्पन्न हुने डिजिटल तस्वीरहरुलाई बिरामीको रिपोर्ट तयार गर्ने, जाँच, उपचार वा शल्यक्रिया गर्ने चिकित्सकहरुसम्म बिना फिल्म वा बिना कागज पुर्याउनका लागि विभिन्न माध्यम र विकल्पहरु प्रयोग गर्न सकिन्छ। यस्ता विकल्पहरु मध्य हाल डाइकम नेटवर्क जस्तो आधारभुत प्रविधि देखि उच्चतम प्रविधिमा आधारित विकल्पहरु प्रचलनमा रहेका छ्न।
डाइकम नेटवर्क
डिजिटल तस्वीर (डाइकम इमेज)हरुको आदानप्रदान र रेडियोलोजी रिपोर्टलाई बिना फिल्म/कागजको बनाउनका लागि प्रयोग गर्न सकिने सबैभन्दा सस्तो, सजिलो र आधारभुत प्रविधि डाइकम नेटवर्क हो। यो प्रविधिमा डिजिटल तस्वीर र रिपोर्ट उत्पन्न गर्ने उपकरणहरुलाई उपयुक्त क्षमताको डाइकम मैत्री लोकल एरिया नेटवर्क (एल.ए.एन)को सहायताले अस्पताल/स्वास्थ्य संस्थाका विभिन्न विभाग, शाखा र ओपिडिमा रहने कम्प्युटरसँग जोडिन्छ। यस्तो नेटवर्कमा जोडिने कम्प्युटर र उपकरणहरु डाइकम मैत्री हुनुपर्छ। साधारण कम्प्युटरलाई पनि डाइकम भ्युवर राखेर डाइकम नेटवर्कमा आवद्ध गर्न सकिन्छ।
यो प्रविधि प्रयोग गरि रेडियोलोजी विभागमा उत्पन्न हुने तस्वीर र रिपोर्टहरुलाई एकसाथ तुरुन्तै सो डाइकम नेटवर्कमा आवद्ध चिकित्सकहरुको कम्प्युटरमा पठाउन सकिन्छ। हरेक चिकित्सकको कम्प्युटरमा प्राप्त हुने ति डिजिटल तस्वीरहरुलाई सम्बन्धित चिकित्सकले हेर्ने, आवश्यकता अनुसार संचित गर्न र मेटाउन सक्छ्न।
यो प्रविधि प्रयोग गर्दा अन्तर-अस्पताल डिजिटल तस्वीर र रिपोर्ट आदानप्रदानका लागि पेनड्राइभ, सिडि, डिभिडि जस्ता विधुतिय माध्यमका साथ साथै इमेल र गुगल ड्राइभ जस्ता ईन्टरनेटमा आधारित प्रविधिलाई प्रयोग गर्न सकिन्छ।
यो प्रविधि आधारभुत तथा कम क्षमताको प्रविधि भएकाले बिरामीसम्बन्धि जानकारी र डिजिटल डाटाको भण्डारण तथा सुरक्षा पनि केहि चुनौतिपुर्ण हुन्छ । तर सस्तो, आधारभुत र सानो ठुलो सबै प्रकारमा स्वास्थ्य संस्थामा छोटो अवधी मै प्रयोगमा ल्याउन सकिने भएकाले रेडियोलोजी क्षेत्रको सुरुवाती डिजिटाइजेसनका लागि यो सबैभन्दा सम्भाव्य र उत्तम विकल्प हो। साथै, डिजिटाइजेसनलाई यो भन्दा माथिल्लो प्रविधिमा स्तरोन्नति गर्दा समेत यसमा प्रयोग हुने नेटवर्क र कम्प्युटर नै प्रयोग गर्न सकिनु यो प्रविधिको अर्को फाइदाजनक पक्ष हो।
प्याक्स प्रविधि
प्याक्स( पि.ए.सि.एस) को पुरा रुप 'पिक्चर आर्काभिङ एण्ड कम्युनिकेशन सिस्टम' हो। यो प्रविधि रेडियोलोजी उपकरणहरुबाट उत्पन्न गरिएका डिजिटल तस्वीरहरुको भण्डारण र ति डिजिटल तस्वीरहरुको आदानप्रदान ( कम्युनिकेशन) गर्ने प्रणाली हो। यो प्रविधिमा डिजिटल तस्वीरहरुको भण्डारणका लागि उच्च भण्डारण क्षमताको तस्वीर अभिलेखालय हुन्छ जसलाई प्राविधिक भाषामा 'प्याक्स सर्भर' भनिन्छ।
'प्याक्स सर्भर'ले कम्प्युटराइज्ड रेडियोग्राफी, डिजिटल रेडियोग्राफी, सिटि स्क्यान, एमआरआइ, अल्ट्रासोनोग्राफी जस्ता रेडियोलोजी तथा इमेजिङ्ग मोडालिटिहरुबाट प्राप्त गरेका डिजिटल तस्वीरहरुलाई भण्डार गरेर राख्दछ। यो प्रविधिमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले रेडियोलोजीका तस्वीरहरु आफ्नो कार्यकक्षमा रहेको डाइकम मैत्री कम्प्युटरमार्फत हेर्दछ्न, जसलाई प्राविधिक भाषामा 'डाइग्नोस्टिक वर्कस्टेसन' भनिन्छ। डिजिटल (डिइकम) तस्वीर उत्पन्न गर्ने रेडियोलोजी तथा इमेजिङ्ग मोडालिटि, प्याक्स सर्भर र डाइग्नोस्टिक वर्कस्टेसनलाई उपयुक्त डाइकम नेटवर्टमार्फत जोडिएको हुन्छ।
प्याक्स सर्भरको भण्डारण क्षमता उच्च हुने भएकाले यो प्रविधिमा हालसालैका मात्र नभइ लामो समय देखिका तस्वीरहरु भण्डार भएर बसेका हुन्छ्न जसले गर्दा बिरामीका पहिलेका जाँच परिक्षणका तस्वीरहरु समेत पुन: प्राप्त गरि तुलनात्मक अध्ययन गर्न सम्भव हुन्छ। साथै, उच्चकोटीको सुरक्षा र व्यवस्थापन प्रणाली प्रयोग हुने भएकाले यो प्रविधिमा बिरामीका डिजिटल तस्वीर एवं जानकारीहरुको सुरक्षित र व्यवस्थित भण्डारण तथा आदानप्रदान हुन्छ।
प्याक्स प्रविधि प्रयोग गर्दा अन्तर-अस्पताल डिजिटल तस्वीर र रिपोर्ट आदानप्रदानका लागि पेनड्राइभ, सिडी, डिभिडी जस्ता प्रचलित विधुतिय माध्यमका प्रयोग गर्न सकिन्छ। त्यसका साथै ईन्टरनेट प्रणालीमा आधारित प्रविधि प्रयोग गरि बिरामी, चिकित्सक, अनुसन्धानकर्ता र नियामकहरुलाई विभिन्न स्तरको नियंत्रित एवं सुरक्षीत पहुँच समेत प्रदान गर्न सकिन्छ।
लगानीका हिसाबले ठुलो लागत लागेता पनि फिल्मविहिन रेडियोलोजी र कागजविहिन अस्पतालका लागि प्याक्स प्रविधि अपरिहार्य आवश्यकता र दिर्घकालिन विकल्प हो।
प्याक्स-आर.आइ. एस प्रविधि
आर. आइ. एसको पूरा रुप रेडियोलोजी इन्फर्मेसन सिस्टम हो। यो प्रविधी रेडियोलोजी विभागहरुमा बिरामीसम्बन्धि जानकारीहरु र कार्यप्रवाह (वर्कफ्लो)को व्यवस्थापनका लागि प्रयोग गरिन्छ। यो प्रविधि मार्फत् परीक्षणको पालो व्यवस्थापन तथा ट्रयाकिङ, बिरामीसम्बन्धि सान्दर्भिक जानकारी र फाइलहरुको आदानप्रदान, रिपोर्टिङ तथा बिलिङ आदिको डिजिटल व्यवस्थापन गरिन्छ।
यदि प्याक्सलाई आर.आइ. एससँग एकीकृत गर्न सकियो भने तस्वीरको आदानप्रदान मात्र नभइ रेडियोलोजीसम्बन्धि सम्पुर्ण कार्यहरु- परिक्षणको सिफारिस देखि रिपोर्टिङसम्मका सबै कार्य र सोका नतिजाहरुको डिजिटाइजेसन र भण्डारण हुन्छ। प्याक्स-आर.आइ.एसले एकातिर रेडियोलोजी विभागको कामलाई छिटो छरितो बनाउँदछ भने सँगसँगै फिल्मलेस, पेपरलेस रेडियोलोजीको अवधारणालाई समेत कार्यान्वयनमा ल्याउदछ।
यसका अतिरिक्त प्याक्स प्रविधिलाई इलेक्ट्रोनिक मेडिकल रेकर्डस जस्ता प्रविधि समेटिएको हस्पिटल इन्फर्मेसन सिस्टमसँगै एकसाथ प्रयोगमा ल्याउन सकेमा अस्पतालका सम्पूर्ण क्रियाकलापहरुलाई कागजविहिन समेत बनाउन सकिन्छ।
यी विकल्पहरुका अलवा उच्च गतिको गुणस्तरीय इन्टरनेट सेवाको सर्वसुलभता हुन सकेमा जहाँकहीँबाट पहुँच पाउन सकिने ईन्टरनेट र क्लाउडमा आधारित अनलाइन इमेज आर्काभिङ्ग समेत फिल्मविहिन डिजिटाइजेसनको विकल्प बन्न सक्दछ।
फाइदा तथा अवसर
साधारणतया आर्थिक पाटोलाई फिल्मविहिन रेडियोलोजीको मुख्य फाइदाको रुपमा बुझ्ने गरिएको छ। तर फिल्मविहिन डिजिटाइजेसन स्वास्थ्य क्षेत्रलाई आमुल परिवर्तन गरि आधुनिकीकरण गर्ने गेमचेन्जिङ्ग प्रविधि हो। आर्थिक पाटो, फिल्मविहिन रेडियोलोजीका धेरै फाइदाहरु मध्यको एक मात्र हो।
फिल्म, कागज, प्रिन्टर, भ्युबक्स, रिपोर्ट राख्ने खाम/झोला जस्ता भौतिक खर्च कटौती भइ ती खर्चहरुबाट केहि वर्षमा डिजिटल प्रविधिमा भएको लगानी पुर्ति भइ त्यसपछिका वर्षहरुबाट खुद नाफा सिर्जना हुन आउँदछ। अर्कोतर्फ, अल्पकालीन रुपमा प्रयोगमा आउने फिल्म, कागज, प्रिन्टर, भ्युबक्स, रिपोर्ट राख्ने खाम/झोला जस्ता अस्पतालजन्य भौतिक वस्तुहरुको फोहोर र त्यो सँग जोडिएर आउने वातावरणीय प्रभावलाइ समेत न्यूनीकरण गर्न मद्दत पुग्छ।
फिल्मविहिन रेडियोलोजीले बिरामीका डिजिटल तस्वीर र जानकारीहरुमाथि चिकित्सक र स्वास्थ्यकर्मीहरुको पहुँच स्थापित र वृद्धि गर्दछ। यसले बिरामीको स्वास्थ्योपचार र स्वास्थ्य सुधारका लागि यस्ता डाटाहरु र उपादेयताको अधिकतम प्रयोग गर्न सम्बन्धित चिकित्सकहरुलाई उत्प्रेरित गर्दछ। जसको फलस्वरूप स्वास्थ्य क्षेत्र थप तथ्यपरक, अन्तरक्रियात्मक र अनुसन्धानमुलक बन्न जान्छ। साथै, अनुसन्धानमुलक क्रियाकलापहरुका लागि चिकित्सक तथा विद्यार्थीहरुलाई आवश्यक पर्ने रेडियोलोजिकल जानकारीहरुको प्रत्यक्ष पहुँचले यस्ता क्रियाकलापहरुलाई थप सहज, व्यापक र प्रभावकारी बनाउन सहयोग पुर्याउँछ।
अझ, प्याक्स र आर.आइ. एस तथा एच. आइ. एस जस्ता प्रविधिहरुलाई एकीकृत गरि प्रयोगमा ल्याउन सकेमा यसले कागजविहिन अस्पतालको अवधारणा सँगसँगै निकट भविष्य मै सम्पुर्ण नेपाली जनसंख्याको आफ्नै क्लिनिकल डाटाबेस तयार पार्न समेत मद्दत गर्नेछ । जसले नेपाली स्वास्थ्य क्षेत्रको तथ्यांक संकलन, अध्ययन, अनुसन्धान र स्वास्थ्योपचार प्रणालीलाई युगान्तकारी परिवर्तन गरिदिने छ। हाल विश्व आर्टिफिसियल इन्टेलिजेन्स (ए.आइ)को युगमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा फिल्मविहिन रेडियोलोजीले नेपालको रेडियोलोजी एवं चिकित्सा क्षेत्रमा समेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगका लागि पुर्वाधार तयार गर्नेछ।
चुनौती
सुरुमा ठुलो संख्यामा कम्प्युटर तथा नेटवर्किङ लगायतका उपकरणहरु खरिद तथा स्थापना गर्नुपर्ने भएकाले अस्पतालहरुका लागि बजेट व्यवस्थापन चुनौतीपूर्ण हुन सक्दछ। त्यसबाहेक परम्परागत रुपमा फिल्ममा रेडियोग्राफको स्वरुपमा रेडियोलोजी तस्वीर हेर्ने बानी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डाइकम भ्युवर जस्ता सफ्टवेयरमार्फत डिजिटल तस्वीर हेर्न र सोको अधिकतम उपयोगमा अभ्यस्त हुन समय लाग्नेछ। सुरुवाती चरणहरुमा, अन्तर-अस्पताल डिजिटल तस्वीर आदानप्रदान केहि जटिल र चुनौतीपूर्ण हुन सक्छ। डिजिटल नेटवर्कजस्ता कम भण्डारण क्षमताका आधारभुत प्रविधिमा, फलोअपमा आउँदासम्म पुराना रेडियोलोजी तस्वीरहरुको भण्डारण र व्यवस्थापनले थप चुनौती सिर्जना गर्नसक्दछ।
डिजिटल तस्वीर र अन्य क्लिनिकल जानकारीहरुको दुरुपयोगको रोकथाम र साइबर सुरक्षा अर्को गम्भीर र चुनौतीपुर्ण विषय हो। सोका लागि बिरामीको परिक्षणका डिजिटल तस्वीर तथा जानकारीहरु, सोको भण्डारण, उपयोग, आदानप्रदान, सुरक्षा र मेटाउनेसम्बन्धि निति नियम र निर्देशिका तयार गरि कार्यान्वयन लग्नु आवश्यक छ।
सुझाव
वर्तमानमा उपलब्ध हुनुपर्ने र निकट भविष्यमा प्रयोग हुनैपर्ने यो प्रविधि नेपालमा सुरुवात गर्न केन्द्रिय स्वास्थ्य मन्त्री र केन्द्रिय स्वास्थ्य मन्त्रालय जस्तो उच्चस्तरबाट निर्णय र पहल हुनु आफैमा एउटा महत्त्वपूर्ण, सर्हानिय एवं ऐतिहासिक कार्य हो। सधैं जस्तै यसको मुख्य पाटो अर्थात् कार्यान्वयन पक्ष के हुन्छ भन्ने विषय नै उत्सुकता र आशंकाको विषय हो। एउटा मेडिकल इमेजिङ्ग टेक्नोलोजीष्टको आँखाबाट हेर्दा, यदि दृढता, इच्छाशक्ति र सकारात्मक पहलकदमी लिने हो भने प्रभावका हिसाबले यो निर्णय जति महत्त्वपूर्ण र गमेचेन्जिङ्ग छ, यसको कार्यान्वयन पक्ष त्यति धेरै अफ्ट्यारो र चुनौतीपूर्ण छैन।
लगानी, अनुभव र प्रयोगको रुपमा पहिलो चरणमा घोषणा गरिएका सम्पुर्ण २२ संघीय अस्पतालमा आधारभुत स्तरको डाइकम नेटवर्कमा आधारित डिजिटाइजेसनमार्फत सुरुवात गर्न उपयुक्त हुनेछ। त्यी मध्य भवन जस्ता भौतिक र अन्य पुर्वाधारहरुमा पुर्णमा पाएको कुनै एक संघीय अस्पताललाई छनौट गरि प्याक्स, आर.आइ. एस, एच. आइ. एस जस्ता प्रविधिको एकीकृत प्रयोग गरि पेपरलेस अस्पतालको रुपमा विकसित गरि क्रमिक रुपमा यो अवधारणा अरु अस्पतालमा समेत फैलाउदै लग्न सकिन्छ। त्यस्तै खालको मोडेलमा डिजिटाइजेसनलाई कार्यान्वयन गर्न प्रदेश सरकार र सो मातहतका अस्पतालहरुलाई समेत प्रेरित गर्नु उपयुुक्त हुन्छ।
सोका लागि आवश्यक बजेट, निति नियम र निर्देशन, आइटि तथा रेडियोग्राफी जनशक्ति, कम्प्युटर तथा नेटवर्किङ उपकरणहरुको उपलब्धताको सुनिश्चितताको लागि स्वास्थ्य मन्त्री तथा मन्त्रालयस्तरबाटै पहल हुन जरुरी छ। यसबाहेक चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डाइकम भ्युवर, रेडियोलोजीका डाइकम तथा अन्य डिजिटल डाटाहरुको प्रयोग सम्बन्धमा आवश्यक तालिम तथा सिप हस्तान्तरणका लागि अस्पतालहरुमा उपलब्ध रेडियोग्राफी स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरि परिचालन गर्नु उपयुुक्त हुन्छ।
नेपालको रेडियोलोजी र स्वास्थ्य क्षेत्रलाई युगान्तकारी परिवर्तन गर्ने सम्भावनायुक्त यो निर्णयलाई बिना किन्तु परन्तु पुर्ण इमानदारीता र दृढ इच्छाशक्तिका कार्यान्वयनमा लैजान अत्यावश्यक छ। अन्यथा, फिल्मविहिन रेडियोलोजी रिपोर्टको निर्णय बिना प्रभाव घोषणा र कागजमै सिमित हुनेछ।
(लेखक मेडिकल इमेजिङ टेक्नोलोजीष्ट तथा रेडियोग्राफी प्रशिक्षक हुन्।)