पछिल्ला केही वर्षमा मानव स्वास्थ्य, जनावर स्वास्थ्य र वातावरणबीचको सम्बन्ध अझ स्पष्ट हुँदै गइरहेको छ। ‘एक स्वास्थ्य’ को धारणाले यी तीन क्षेत्रहरूको आपसी निर्भरता र सम्बन्धलाई महत्त्व दिनुका साथै यसले विश्वव्यापी स्वास्थ्य समस्याहरूको समाधानको लागि एक समग्र दृष्टिकोण दिन्छ।
वातावरणीय संकटले जंगल र वन्यजन्तुहरूको लागि जोखिम बढ्दै गएको छ। एक स्वास्थ्य सिद्धान्तलाई संरक्षणका प्रयासमा समावेश गर्नु सबै जीवित प्राणहरूको भलाइका लागि महत्वपूर्ण छ। यो सोच रेड इण्डियन प्रमुख सिएटलको १८५४ को पत्रमा व्यक्त गरिएको गहिरो विचारसँग मिल्दोजुल्दो छ। तत्कालीन अमेरिकी राष्ट्रपति फ्रान्कलिन पियर्सलाई लेखेको पत्रमा उनले मानव, पृथ्वी र सबै जीवित प्राणीहरूबीचको पवित्र सम्बन्धलाई स्पष्ट रूपमा व्याख्या गरेका थिए।
एक स्वास्थ्य अवधारणा: मानव, जनावर र वातावरणीय स्वास्थ्यको जोड
एक स्वास्थ्यको अवधारणा मानव, जनावर र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धको अपरिहार्यतालाई विवेचना गर्ने एक समग्र दृष्टिकोण हो। पछिल्ला दशकहरुमा देखिएका र आगामी दिनहरुमा देखिने विश्वव्यापी जनस्वास्थ्य संकटलाई सम्बोधन गर्न यो दृष्टिकोण बढी महत्त्वपूर्ण भएको छ। हालै देखिएका जनावरबाट मानवमा संक्रमण हुने जुनोटिक रोग ले मानव र पशु स्वास्थ्यका क्षेत्रहरूमा आपसी समन्वयको आवश्यकता झल्काएको छ।
एक स्वास्थ्यको प्रमुख सिद्धान्तमध्ये जंगलको विनाश र जैविक विविधतामा हानि, मानव र पशु दुवैको स्वास्थ्यलाई सिधा प्रभाव पार्छ। पृथ्वीको ३१ प्रतिशत भू-भाग ओगटेको जंगलले शुध्द हावा, पानी र आहार प्रदान गर्छ। वनजंगलले जलवायु परिवर्तनलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। जंगलहरू वन्यजीवहरूको घर पनि हुन्। जंगलमा जैविक विविधतामा हुने हानिले गर्दा वातावरणीय सन्तुलनमा ह्रास हुनसक्छ। यस्तो अवस्थामा जनावर र मानव दुवैको लागि हानिकारक स्थितिहरू सिर्जना गर्न सक्छ।
जंगल र वन्यजीवहरूको विनाश र रोगहरूको संक्रमण
जंगल र वन्यजीवहरूको आवासको विनाशले वातावरणीय संतुलनमा ह्रास गर्नुका साथै रोगहरूको संक्रमणका जोखिमहरू पनि सिर्जना गर्छ। जब वन्यजीवका आवासमा अतिक्रमण गरिन्छ तब जनावरहरू मानव समुदायसँग नजिकसँग सम्पर्कमा आउन बाध्य हुन्छन्। यसले जुनोटिक रोगहरूको जोखिम बढाउँछ। जनावरबाट मानवमा रोगको संक्रमणको गम्भीर विनाशकारी प्रभाव हुनसक्ने तथ्य कोभिड-१९ महामारीले स्पष्ट गरेको छ।
मुखिया सिएटलको दृष्टिकोण: जंगल र वन्यजीवहरूबीचको पवित्र सम्बन्ध
मुखिया सिएटलको १८५४ को पत्रमा जीवनको आपसी सम्बन्धको गहिरो वास्तविकता प्रस्तुत गरिएको छ। उनले लेखेका थिए- "मेरो जनताको लागि पृथ्वीको हरेक भाग पवित्र छ। हरेक चम्किलो पाइनको सुई, हरेक बालुवा तट, हरेक अन्धकार जंगलमा लाग्ने कुहिरो, हरेक सफा र गुञ्जने कीडा हाम्रो सम्झना र अनुभवमा पवित्र छ।"
मुखिया सिएटलका यी शब्दहरूले जंगल, वन्यजीव र सबै जीवित प्राणीहरू समावेश रहेको प्राकृतिक संसारको आन्तरिक मूल्य हुनुका साथै मानव अस्तित्वसँग गहिरो रूपमा जोडिएको प्रष्ट पारेका छन्। यी प्राकृतिक संसाधनहरूको विनाश केवल एक वातावरणीय समस्या मात्र नभएर एक नैतिक र आध्यात्मिक संकट पनि हो जसले मानव र जनावरको स्वास्थ्यलाई प्रभावित गर्छ। भूमि र जीवहरूको लागि सम्मानका लागि उनको आह्वान एक स्वास्थ्य दृष्टिकोणसँग मेल खान्छ।
मुखिया सिएटलको सन्देशले दीर्घकालीन जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्छ। उनले भनेका थिए कि पृथ्वी केवल वर्तमान पुस्ताको हुनुका साथै भविष्यका पुस्ताहरूको पनि हो। यस दृष्टिकोण एक स्वास्थ्य ढाँचासँग मेल खान्छ जसले दीर्घकालीन स्थिरता र सबै जीवित प्राणीहरूको स्वास्थ्यको सुरक्षा गर्ने कदमहरूमा जोड दिन्छ।
वन्यजीव र जंगलहरूको संरक्षणमा एक स्वास्थ्य दृष्टिकोणको भूमिका
वन्यजीव र जंगलहरूको संरक्षण एक स्वास्थ्य दृष्टिकोणको केन्द्रीय अंश हो। जंगलहरूले जीवनको लागि हावा र पानीलाई शुद्ध गर्नु, जलवायु नियमन गर्नु र जैव विविधता कायम राख्नु जस्ता आवश्यक सेवा प्रदान गर्छन्। जंगलहरूले वन्यजीवहरूको लागि महत्वपूर्ण आवास पनि प्रदान गर्छन् जसले स्थानीय र वैश्विक वातावरणीय स्वास्थ्यमा सकरात्मक योगदान पुर्याउँछन्। जब हामीले जंगल गुमाउँदा केवल रुखहरुका साथै जीवनलाई कायम राख्ने जटिल सन्तुलन गुमाउँछौं।
वन्यजीव र जंगलहरूको संरक्षणका उपाय
वन र वन्यजीवहरूको संरक्षणको लागि एक स्वास्थ्य अवधारणालाई नीति, संरक्षण र स्वास्थ्य सेवा क्षेत्रहरूमा लागू गर्न आवश्यक छ। यसमा वातावरणीय ह्रासका कारणहरूलाई सम्बोधन गर्ने र मानव र जनावरको स्वास्थ्यको रक्षा गर्ने अन्तरविभागीय समन्वय निर्माण गर्ने कुरा समावेश छ।
वन भूमि उपयोग र संरक्षण: कृषि-वृक्षरोपण र वन्यजीवको संरक्षणले वन भूमि-प्रयोगका अभ्यासहरूले जंगललाई जोगाउन मद्दत पुर्याउँछन्। यसले मानव जीवनयापनलाई पनि सहयोग गर्छ।
जलवायु परिवर्तनको समाधान: वन्यजीव र वन्यजीवको संरक्षण, वृक्षरोपण र विद्यमान जंगलहरूको सुरक्षा मानव र जनावर स्वास्थ्यका लागि महत्त्वपूर्ण छन्। एक स्वास्थ्य अवधारणाले जलवायु परिवर्तनजन्य समस्याहरुको निवारणका उपायहरूला प्रोत्साहित गर्छ। यसले वातावरणीय, मानव र जनावर स्वास्थ्यलाई एकसाथ फाइदा पुर्याउँछ।
जुनोटिक रोगहरूको रोकथाम: वन्यजीवको स्वास्थ्य निगरानी र आवास विनाशको रोकथामले जुनोटिक रोगहरूको जोखिम कम गर्न मद्दत पुर्याउँछ। जनावर र वन्यजीवको स्वास्थ्यको अनुगमन गर्ने एकीकृत निगरानी प्रणालीहरूले सम्भावित महामारीहरूको बारेमा पूर्व चेतावनी प्रदान गर्न सक्छन्।
शिक्षा र जनपैरवी: वन्यजीव र जंगलहरूको संरक्षणको साथसाथै जैव विविधताको महत्त्वबारे विश्वव्यापी जागरूकता र शिक्षा अभियान आवश्यक छ। आदिवासी मुखिया सिएटलले भनेका छन् कि पृथ्वी पवित्र छ र यस पवित्रता सम्मान गर्न सबै पुस्ताले प्रयास गर्नुपर्छ। आगामी पुस्तालाई जैविक विविधतामा आपसी सम्बन्धको महत्त्व बुझाउने जमर्कोले पृथ्वीको संरक्षणको लागि दीर्घकालीन जिम्मेवारीको भावनालाई जागृत गराउँछ।
निष्कर्ष
वन्यजीव र जंगलको संरक्षण वातावरणीय मुद्दा मात्र नभएर स्वास्थ्यको मुद्दा पनि हो। एक स्वास्थ्य अवधारणा लागू गरेर मानव, जनावर र वातावरणीय स्वास्थ्यबीचको अविभाज्य सम्बन्धलाई स्वीकार गर्न सकिन्छ। एक स्वास्थ्य ढाँचाले हामीलाई यस आपसी सम्बन्धको सम्मान गर्न, जंगल र वन्यजीवहरूको रक्षा गर्न र मानव लगायत सबै जीवित प्राणीहरूको लागि एक स्वस्थ र समृद्ध भविष्य सुनिश्चित गर्न आह्वान गर्छ।
निरन्तर वृध्दि भइरहेको वातावरणीय चुनौतीहरूको सामना गर्दै हामीले विगतको ज्ञानलाई अनुकरण गर्ने र यो पृथ्वीको रक्षा गर्न सामूहिक कदमहरू चाल्नु आवश्यक छ। पृथ्वीको प्राकृतिक प्रणालीहरूको सम्मान र एकता मार्फत मात्रै हामी हाम्रो साझा भविष्यलाई बचाउन सक्छौं।