काठमाडौं- निक साइमन्स इन्स्टिच्युटका संस्थापक डा जेम्स ह्यारिस साइमन्स (जिम साइमन्स)लाई मरणोपरान्त स्वास्थ्यखबर लाइफ टाइम अचिभमेन्ट हेल्थ अवार्ड प्रदान गरिएको छ। स्वास्थ्य तथा मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री प्रदीप पौडेलले अवार्ड हस्तान्तरण गरेका हुन्।
गत भदौ ३० गते उक्त अवार्ड घोषणा गरिएको थियो। निक साइमन्स फाउन्डेसनकी प्रबन्ध निर्देशक तथा निक साइमन्स फाउन्डेसन इन्टरनेशनलकी कन्ट्री रिप्रजेन्टेटिभ प्याट्रिसिया विसेनफेल्डले उक्त अवार्ड ग्रहण गरेकी हुन्। अवार्ड ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंह, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा भीमप्रसाद सापकोटा, नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा र निक साइमन्स इन्स्टिच्युट नेपालकी कार्यकारी निर्देशक अर्चना अमात्यलगायतको उपस्थिति थियो।
कार्यक्रममा मन्त्री पौडेलले साइमन्स परिवारले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे। आफू इन्स्टिच्युटले गरेका कामबारे जानकार रहेको बताउँदै उनले निरन्तरताको अपेक्षा रहेको बताए।
निक साइमन्स फाउन्डेसनकी प्रबन्ध निर्देशक प्याट्रिसियाले यतिबेला निककी आमा मर्लिन आफैं आउन खोजेपनि सम्भव नभएको जानकारी दिइन्। अवार्डलाई योगदानको कदरका रुपमा महशुस गरेको बताउँदै थपिन्, 'साइमन्स परिवारका लागि नेपाल उनीहरुका दिवंगत छोरा निकले दिएको सुन्दर उपहार हो। निकको चाहना अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ। यसलाई जारी राख्नेछ।'
को थिए जिम, के काम गरिरहेको छ निक साइमन्स इन्स्टिच्युट ?
डा जेम्स ह्यारिस साइमन्स विश्वका ५५ औं धनी व्यक्ति र संसारकै महान् गणितज्ञ थिए । उनी जिम साइमन्सका नामले बढी चिनिन्थे । उनको ८६ वर्षको उमेरमा गत वैशाखमा निधन भयो । साइमन्सले परिवारले नेपाली स्वास्थ्य क्षेत्रका लागि ठूलो योगदान गरेको छ । साइमन्स परिवारले स्थापना गरेको निक साइमन्स इन्स्टिच्युट नेपालको ग्रामीण स्वास्थ्यको भरोसा बनेको छ ।
नेपाल साइनो
१६ वर्षअघि सन् २००२ मा २२ वर्षीय एक अमेरिकी युवा निक साइमन्स कामका सिलसिलामा नेपाल आए । सांस्कृतिक तथा भाषिक अवरोधका बाबजुद उनले ९ महिना नेपाल बसेर काम गरे । न्युयोर्क फर्किनुअघि उनी नेपालमा निरन्तर योगदान दिने निर्णयमा पुगे । अमेरिकास्थित घर पुगेपछि उनले आमा मर्लिनलाई भने, ‘यदि मैले आफ्नो बाँकी जीवन नेपालमै बिताउन चाहेँ भने तपाईं अचम्ममा नपर्नुहोला ।’
नेपालप्रतिको प्रेमले गर्दा निकले आफ्नो केही सयम नेपालको चिकित्सा क्षेत्रका लागि खर्चिने निधो गरेका थिए । तर सन् २००३ को गर्मियामको एक दिन इन्डोनेसियाको बालीमा स्विमिङ गर्दै गर्दा उनको निधन भयो । निकले संसार छाडे पनि उनको सोचले पूर्णता पाउनुपर्छ भन्ने उनका बुवाआमा सहित परिवारलाई लाग्यो।
निककी आमा मर्लिनले स्वास्थ्यखबरलाई भनेकी थिइन्, ‘कुन अभिभावकलाई आफ्नो सन्तानको सपना पूरा गर्न मन लाग्दैन र ? छोरा बितेर गए पनि उसको सपना पूरा गर्ने अभिभावकीय दायित्व हामीले निर्वाह गर्ने सोच्यौं।’
साइमन्स परिवार र उनका केही साथी नेपाल आएर यहाँको अवस्थाबारे जानकारी लिएपछि उनीहरुले स्वास्थ्य क्षेत्रमा लगानी गर्न थालेका हुन्।
ग्रामीण स्वास्थ्यमा योगदान
छोराको सम्झनामा उनीहरुले निक साइमन्स इन्स्टिच्युट (एनएसआई) नामक संस्था नेपालमा स्थापना गरेका छन् । एनएसआईले नेपालको ग्रामीण स्वास्थ्यका लागि उपयुक्त चिकित्सकीय जनशक्ति एमडीजीपी, बीएसएलटी उत्पादन गर्ने र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने लगायतका काम गरिरहेको छ।
साइमन्स परिवारले नेपालमा काम गरिरहेका अमेरिकी डाक्टर मार्क जिम्मरम्यानलाई भेटे । उनीमार्फत सुरुमा पाटन अस्पतालमा सहयोग गरे । साइमन्स परिवारको चाहना बुझेका डा जिम्मरम्यानले त्यसपछि नेपालको ग्रामीण भेगमा पुगेर अध्ययन गरे । डा जिम्मरम्यानको समूहले स्थानीयलाई सोध्यो, ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुपर्दा तपाईंहरुलाई के होस् भन्ने चाहनुहुन्छ ?’ धेरैको साझा उत्तर थियो, ‘डाक्टर ।’ डाक्टर आएदेखि अपरेसन गरेर बच्चा जन्माउने, भाँचिएका हातखुट्टा शल्यक्रिया गरेर जोडिदिने, राम्रो उपचार पाउने ग्रामीण जनताको अपेक्षा थियो।
ग्रामीण तहका मानिसले अपेक्षा गरेका सबै सेवा दिन धेरै विशेषज्ञ डाक्टर चाहिने देखेपछि डा जिम्मरम्यान ‘एमडीजीपी’ (एमडी इन जेनेरल प्राक्टिस) डाक्टर तयार गर्नु उपयुक्त हुने निक्र्योलमा पुगे । छात्रवृत्तिमा पढाएर एमडीजीपी डाक्टर तयार गरी ग्रामीण भेगमा पठाउने प्रस्ताव साइमन्स परिवारकहाँ जिम्मरम्यानले पेस गरे । साइमन्स परिवारले सुरुमा एक जना त्यसपछि ३ जना गर्दै हालसम्म ७५ जना डाक्टरलाई एमडीजीपी पढाइसकेको छ।
सोही छात्रवृत्तिमा एमडीजीपी पढेका हाल एनएसआईकै वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह सम्झिन्छन्, ‘हामीलाई छात्रवृत्रि दिने बेला निक बितेर गए पनि नेपालमा धेरै निक जन्माउने चाहना अन्तर्गत तिमीहरुलाई छात्रवृत्तिमा पढाइँदैछ भनिएको थियो । त्यही अनुसार हामीले पढ्यौं र काम गर्यौं।’
अहिले निक साइमन्स इन्स्टिच्युटले ‘ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम’ भनेर विभिन्न जिल्लामा आफैंले पढाएका एमडीजीपी डाक्टर पठाएको छ । नेपालका धेरैभन्दा धेरै ग्रामीण भेगमा चिकित्सकीय सेवाको पहुँच पुगोस् भन्ने चाहना साइमन्स परिवारको रहेको उनले बताएका थिए । जनशक्ति उत्पादन बढ्दै जाँदा सेवा विस्तार पनि गर्दै जाने योजना अनुरुप एनएसआईले काम गरिरहेको छ।
एनएसआईले डाक्टर र स्वास्थ्यकर्मीका लागि आवास मर्मत तथा निर्माणमा, अपरेसन थिएटर र डेलिभरी रुमका लागि पनि सहयोग गरिरहेको छ । अपरेसन थिएटर नर्स, एनेस्थेसिया, बायोमेडिकल इक्युपमेन्ट टेक्निसियनको तालिमका लागि पनि एनएसआईले सघाइरहेको छ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँग मिलेर अस्पताल शुद्धीकरण कार्यक्रम चलाइरहेको एनएसआईले देशका ८४ अस्पतालको व्यवस्थापनमा विभिन्न किसिमका वर्कसप, सहयोग, फलोअप लगायतका काम गरिरहेको छ । एनइएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग मिलेर डाक्टर र नर्सका लागि विभिन्न तालिममा पनि सघाउँदै आएको छ । साइमन्स परिवारको सहयोगका कारण नेपालका दुर्गम भेगका जनताको उपचार सेवामा पहुँच विस्तार भइरहेको छ।
नेपालमा सहयोग गरिरहेका विदेशी दाताहरुले कार्यक्रमको डिजाइन आफ्नो स्वार्थ अनुकुल गर्ने गरेको आरोप लाग्दै आएको छ । तर एनएसआईले अनुसन्धान गरेर नेपालीको आवश्यकता अनुसार कार्यक्रम बनाइरहेको छ । नेपालीले नै नेतृत्व गरिरहेको इन्स्टिच्युटको आर्थिक सहयोगी साइमन्स परिवारको एउटा चाहना छ, ‘सकेसम्म नेपालका धेरै जिल्लामा आपतकालीन सर्जरी सेवा दिन सकियोस्।’
छोरा निकको सपना पूरा गर्न जिमले छाडेर गएको एनएसआईले युगौंसम्म त्यो प्रयत्न जारी राख्नेछ । अलिबिदा विश्वका महान् गणितज्ञ, नेपालका स्वास्थ्यसेवी !