सानो छँदा आफन्तजनले दसैंमा टीका थाप्दा दिएको `डाक्टर बन्नु´ भन्ने आशिर्वादलाई मैले ज्यादै गम्भीरतापूर्वक लिएछु क्यार। तिनताकादेखि नै ममा डाक्टर भन्ने भूत सवार थियो। यस्तो लाग्थ्यो, सबै रोगीलाई निको पार्ने `डाक्टर´ ले त कहिल्यै मर्नै पर्दैन। नलागोस् पनि कसरी, सबै स्वास्थ्य समस्याको हल निकाल्ने मानिस केले मर्नु?
के अमर हुने प्रलोभनको उपज थियो मेरो डाक्टरी मोह? भन्न सक्दिनँ। अबोध बालमस्तिष्कलाई सब कुराको अर्थ किन नै आवश्यक थियो र। सहरको घस्साघम्सीभन्दा धेरै पर, जहाँ पृथ्वी पुरानो सिल्टीको लोटा जस्तै कुच्चिएर जीवनक्रम कठिन बनाएको मेरो पहाडी गाउँमा बालक हुनाको भावलाई पूर्णता दिँदै अरु पढ्ने परम्परालाई निरन्तरता दिन निस्केको आज झन्डै एक दशक भएछ।
१० मा २ जोड्ने २ वर्षे शिक्षा विज्ञान बाहेकका विकल्पहरुबारे अनविज्ञ भई कटाइयो। त्यसपछि होमिइयो डाक्टर बन्ने (आफ्नो) र बनाउने (परिवारको) सपनालाई साकार पार्ने सागरमा, जहाँबाट तैरिएर बाहिर निस्कने कल्पनासम्म गर्न सकिएन। जिन्दगीका तनाव र तपस्याहरु त्यही दिनबाट सुरु भए, जुन दिन तयारी कक्षाको लागि बानेश्वरबाट एक हुलमा मिस्सिएर पहिल्यै भरिएको नेपाल यातायातमा ठेलिएँ।
हुन त सानैदेखि बोकेको डाक्टर बन्ने अभिलाषाले यसरी थिचेको थियो कि, निर्विकल्प, निसङ्कोच त्यही प्रायोजनमा लीन भइएछ, तनाव लिएर बस्ने र बाहिर देखाउने हिम्मत आएन। अहिले पनि लाग्छ, हनुमानस्थानदेखि न्युप्लाजासम्मको सिंहदरबारको पर्खालका इँटाहरुले कहिलेकाहीँ मलाई अझै पनि खोज्दा हुन् र सोच्दा हुन् `मनभरि व्यथा बोकेर हिँड्ने त्यो दुब्लो केटोले के चिन्ता बिसाउने चौतारी पायो होला?´
त्यो १२ पछिको र एमिबिबएसअघिको समय पनि सम्झिँदै उदेक लाग्दो। आफ्ना अधिकांश सहपाठीहरु स्नातक भर्ना भइसकेका र कोही विदेश पलायन भएर समुन्द्री किनारमा कालो चस्मा लगाउँदै फेसबुकमा फोटो राखेका तर आफू जिन्दगीको कार्यप्रगति सूचकमा `घरको न घाटको´। आफ्ना यी व्यथाहरु एकातिर र एमिबिबएस तयारी सुरुसँगै `फलानोको छोरो डाक्टर भयो´भन्ने गाउँका हजुरबा र हजुरआमाहरुको भ्रम अर्कोतिर।
एमिबिबएस सुरु नगर्दै दसैँमा गाउँ गएको मलाई निधारमा टाँसिएका चामलका दानाहरुभन्दा धेरै, मेरो निधारभन्दा पुराना र मेरो भविष्यभन्दा जटिल स्वास्थ्य समस्याको पोको फुकाउँदै आउने हजुरआमाहरुका अनगिन्ती प्रश्नहरु। म नि:शब्द।
अन्तत: घैंटोमा घाम लागेरै छोड्यो। मैले एमिबिबिएस पढ्ने भएँ। त्यो दिनको पूरा चित्र मेरो मानष्पटलमा स्पस्ट छैन। केही धमिलो स्मृति मात्र छ। तर पनि कहिलेकाहीँ स्मृतिका पानाहरु केलाउँदा यतिसम्म स्मरण गर्न सक्छु कि, सानोमा रहरले बोकेको परालको भारी नाके उकालोपछि चौतारीमा फ्यात्त फाल्दा हुने राहत जस्तै थियो त्यो दिन।
जिन्दगीको सबैभन्दा व्यग्र प्रतीक्षाको समय एमबिबिएसको पहिलो दिन। सेतोकोट, एक अञ्जुली उत्साह र मनभरि कौतुहल। उत्साहको एक झोका हावाले बत्याइहाल्यो । नतिजा- फोटो खिचाउने रहर। सेतो मछापुच्छ्रेलाई पृष्ठभूमिमा पारेर सेतै पहिरनमा ठाँटिएका एक हुल युवा ङिच्च हाँसेर सेता दात देखाउँदै फोटो खिचे। 'एमबिबिएस छिर्न गाह्रो निस्कन सजिलो´ भनेर पहिल्यैदेखि सुनिआएको थिएँ र दिमागमा एउटा गुफाको आकृति बनेको थियो, जसको छिर्ने ढोका सानो छ र निस्कने ढोका धेरै ठूलो। सुरुका ती रमाइला दिन बाँच्दै गर्दा हो रहेछ जस्तो लाग्यो। दु:ख र चिन्ता टाढाटाढासम्म कतै देखिँदैनथ्यो। बस केवल डाक्टर हुनाको भाव।
समय बढ्दै गयो, उत्साह घट्दै। १५-१५ दिनमा टेस्ट परीक्षा, ३-३ महिनामा मध्य सेमेस्टर परीक्षा, ६-६ महिनामा सेमेस्टरको अन्तिम परीक्षा अनि युनिभर्सिटी परीक्षा। नतिजा प्रकाशन हुने फेल हुनेहरुको नाम गरेर। उफ् अब समय उस्तै रहेन। परीक्षा केन्द्रित भएर इज्जत र आत्मसम्मानको लागि पढ्नुपर्ने भयो। `बुझेर पढ्ने´ योजना `परीक्षा पछि´ लाई सर्दै जान थाल्यो र त्यसउपर `रट्टामार´ हाबी हुन थाल्यो। न स्टेथस्कोप भिर्नु, न बिरामी हेर्नू , न कसैले डाक्टर नै भन्नू।
आफूले बोकेको अभिलाषाभन्दा धेरै पृथक (पहिलो वर्षमैं हतारिनु हाम्रै असहनशीलताको नतिजा थियो जस्तो अहिले लाग्छ )। बायोकेमका रसायनहरुको ठुस्स गन्ध र तिनमा निकाल्नुपर्ने विभिन्न रङ्गहरु, माइक्रोबायोका एकोहोरो पढाइ।११-१२ कोभन्दा भिन्न लाग्न छोड्यो। साथीहरु कोठामा कम र लाइब्रेरीमा ज्यादा भेटिन थाले।
मेरो कोठा पनि `लज´जस्तो बन्दै गयो, सुत्ने प्रयोजनको लागि मात्र। परीक्षाको समयतिर सबको अनुहारको रङ उडेको देखिन्थ्यो। कतिलाई आफूले पढिएन भन्ने चिन्ता, कतिलाई अरुले भ्याइसके भन्ने चिन्ता। सबै चिन्तित केवल चिन्ताको स्वरुप मात्र फरक। समय पूरा तनावग्रस्त देखिन्थ्यो, मानौँ कसैले एक मुरी चिन्ता हावामा छोडेर गएको छ।
`केही पढेको छैन यार´ बाहेक अरु बोल्ने फुर्सद कसैलाई छैन। सबै एकचित्त भएर कठिन प्रयत्नमा लीन छन्। अझ भनौं मनोकामना पूरा गर्न तपस्यारत छन् । कोहीलाई घर पहिलो पटक छोडेको छट्पटी, कोहीलाई सिनियरको र्याकगिङको तनाव , कोह पढाइको चपेटामा ग्रसित र कोही यी सबैको सिकार भई सहनशीलताको बाँध भत्किएर डिप्रेसन र सुसाइडसम्म।
`चिन्ताले चिताको बाटो डोहोर्या उँछ´, संयमित भएर पढ्नुपर्छ भनेर जबरजस्ती आत्मबल निकालेर आफूलाई सम्हाल्न नखोजेको पनि होइन तर फेरि उही चक्र दोहोरिने- कम अङ्क , नाममा हाइलाइट, प्रोफेसरको उही डाएलग- बा-आमा सम्झेर पढ्। फ्रेममा बाआमा नै आएपछि सिरियस नभई पढ्न सकिएन। यसरी नै चक्र दोहोरिइरह्यो।
एमबिबिएस अन्तिम वर्षका केही अन्तिम दिनहरु! त्यही पुरानो गुफाको याद आयो। आफूलाई बाहिर निस्कने त्यो ठूलो ढोकाको संघारमा उभिएको छु भन्ने भान भयो। अन्तत: एमबिबिएस सकियो। एक अध्याय जसमा धेरै सहपाठीहरुको संघर्ष र तनावको वर्णन छ र म एक पात्र र दर्शक दुवै बनेको छु। मानिसहरुले `छिर्न गाह्रो, निस्कन सजिलो´ भनेर अपूर्ण व्याख्या गरेका रहेछन्। छिर्नु र निस्कनु बीचको त्यो लामो अन्धकार बाटो जसले मजस्ता धेरैको सिर्जनशील समय खाएको छ, त्यसको त कुनै चर्चै छैन।
म सबै समस्याहरु भोग्दै एमबिबिएस सकेर बाहिर निस्केको छु। एक बटुवा भएर जो आकाश छुने अभिलाषामा एउटा क्षितिज आइपुगेको छ र आँखा अगाडि अरु धेरै क्षीतिजहरु देखेर अल्मलिएको छ। कसैको छोराछोरी डाक्टर बन्नु हाम्रो समाजमा `लोटरी लाग्नु´ जस्तो गरी हेरिन्छ, मानौं अब उसको घरमा पैसा मुफ्तमा भित्रिँदै छ। पुर्ख्यौली सम्पत्तिको आलिसान घरमा १० घण्टा सुत्ने र कामको नाममा मुखमा आएको थुक निल्नु सिवाय केही नगर्नेहरु भर्खर १८ घण्टा ड्युटी सकेको डाक्टर विरुद्ध भोलि सबैभन्दा पहिले मिडियामा कुर्लन्छन्- डाक्टरको लुट्तन्त्र (एकाध घटना बाहेक)!
मेरो आत्मबल छिन्नभिन्न। के मेरो भनाइको अर्थ डाक्टरहरु गलत नै हुँदैनन् भन्ने हो त? पटक्कै होइन। पेशागत मर्यादा भङ्ग गरी गलत नियत अपनाउने जो कोहीको पर्दाफास हुनैपर्छ तर चिया पसलमा सुनेको गफको आधारमा विचार र समाचार वान्ता गर्नु कत्तिको उचित होला?
मैले सेवाभाव राखेर मेरो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण समयको ६ वर्ष एमबिबिएसमा खर्चेको छु। मलाई कुनै पश्चताप छैन, केवल एउटा अदृश्य भय मात्र- कतै हाम्रो समाजको डाक्टरप्रतिको दृष्टकोणले अरु कैयौंलाई जस्तै भविष्यमा मलाई पनि विदेश पलायन गराउने त होइन?