नेपालको चिकित्सा शिक्षा अत्यन्त चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा व्यापक उपलब्धिका बाबजुद पनि हाम्रो देशको चिकित्सा क्षेत्रले आशातित् फड्को मार्न सकेको छैन। एक्काइसौं शताब्दीमा आइपुग्दा पनि देशमा अपर्याप्तता असमानता तथा विकटताका कारण गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुन सकेको छैन।
एकै पटक पुराना स्वास्थ्य चुनौतीकै बीचमा नयाँ चुनौतीहरु पनि थपिएका छन्। नयाँ प्रकारका संक्रमित रोगहरुको आगमन, वातावरणीय तथा चालचालनका कारण निम्तिने रोग तथा इपिडिमोयोलोजिकल ट्रान्जिसनले स्वास्थ्य सुरक्षामा जटिलता थपेका छन्। यसर्थ भावी दिनहरुमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चत गर्न रुपान्तरणको खाँचो छ।
वर्तमानलाई हेर्दा चिकित्सा शिक्षाले चुनौतीको सामना गर्न अझै फड्को मार्न नसकेको देखिन्छ। चिकित्सा सेवामा विविध प्रकारका जनशक्तिहरुको सामूहिक प्रयास, सहकार्य एवं आपसी विश्वासको आवश्यकता पर्छ। यद्यपि हामीकहाँ यसको अझै अभाव देखिन्छ। साथसाथै ज्ञान र सिपलाई सही तरिकाले जोड्नसक्ने अर्थात् ज्ञानमा आधारित अभ्यास गर्न सक्षम बनाउने सिकाइको अभाव खड्केको देखिन्छ।
भावी दिनमा चिकित्सा शिक्षालाई अझै वस्तुपरक एवं व्यावहारिक बनाउन स्वास्थ्य चुनौतीमा आधारित ज्ञान र सिपको प्रवाह, स्वास्थ्यकर्मीबीच सहकार्य, प्रविधि मैत्री, आवधिकभन्दा निरन्तर सेवाको मान्यता, प्राथमिक सेवामा जोड, स्वास्थ्य जनशक्तिको वस्तुपरक वितरण, गुणस्तरमा जोड एवं दक्ष नेतृत्वदायी भूमिका प्रदान गर्नसक्ने जनशक्ति निर्माणमा ध्यान दिन जरुरी देखिन्छ।
अबको शिक्षाले गुणस्तरीय सेवा सुनिश्चित गरी स्वास्थ्यकर्मीहरुबीच आपसी टकरावभन्दा सहकार्यद्वारा सेवाग्राहीको आवश्यकतालाई परिपूर्ति गर्नेतर्फ जोड दिनुपर्छ। चिकित्सा शिक्षालाई समयको आवश्यकताअनुसार रुपान्तरणको निम्ति विश्वमा विकास भएको ज्ञान, प्रविधि तथा पूँजीलाई साटासाट गर्नसक्ने माहोल सिर्जना गर्नुपर्छ।
सबैलाई थाहा छ, चिकित्सा शिक्षा महँगो छ। यसर्थ बढो विवेकपूर्ण तरिकाले उपलब्धि हासिल गर्नुपर्छ। मुख्यतयाः चिकित्सा शिक्षालाई रुपान्तरण गर्न संस्थागत सुधार एवं पठनपाठनमा नयाँपन ल्याउनुपर्छ। राज्यले चिकित्सा शिक्षामा यथोचित लगानीमा जोड दिंदै नाफामूलक व्यवसायभन्दा गुणस्तर एवं पहुँच विस्तारमा जोड दिने नीति अवलम्बन गरेको छ।
एकातर्फ हाल सञ्चालित स्वास्थ्य शिक्षा प्रदायक संस्थाहरुको क्षमता बृद्धि एवं दिगोपनमा जोड दिनुपर्ने छ भने अर्कातर्फ ती संस्थाहरुमा पठनपाठनमा नवीनतम शैलीको विकास आजको आवश्यकता बनेको छ। भावी चिकित्सक एवं स्वास्थ्यकर्मीहरु ज्ञान र सिपद्वारा सुुसञ्जित एवं मानवीय मूल्य र मान्यतालाई उच्चतम महत्व दिंदै जीवनपर्यप्त ज्ञान र प्रविधिलाई पछ्याइरहनसक्ने खालको हुनुपर्छ।
यसर्थ चिकित्सा शिक्षा रुपान्तरणको निम्ति राष्ट्रियस्तर तथा जनस्तरको भूमिकालाई परिमार्जन गर्नुपर्छ। यस क्षेत्रमा संलग्न जनशक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्छ र यसलाई केन्द्रीय, प्रादेशिक एवं स्थानीय सरकारले यथेष्ट सहयोग गर्नुपर्छ।
सरकारले चिकित्सा शिक्षामा लगानी सुनिश्चित गर्न आन्तरिक एवं वाह्य स्रोतको व्यवस्थापन तथा गुणस्तरलाई महत्व दिने नीति लिनु आवश्यक छ। प्रस्तावित राष्ट्रिय शिक्षा चिकित्सा आयोगले यिनै चुनौतीलाई सामना गर्दै नेपालको स्वास्थ्य अवस्थालाई माथि उकास्न दक्ष जनशक्तिको निर्माणका लागि भावी कार्यदिशा अबलम्वन गर्न अग्रसर हुनुपर्छ।