अनुसन्धानलाई पत्रपत्रिकाहरुको शिर्षकमा केन्द्रित राखेर निष्कर्ष निकाल्ने हो भने नेपालमा ठेकेदार पछिको सबैभन्दा बढी लापरबाही गर्ने समूह भनेकै डाक्टर हुनुपर्छ। पेलेका नशानशामा फुटबल र सचिन तेन्दुलकरका नशानशामा क्रिकेट बगेजस्तै डाक्टरको नशानशामा लापरबाही बग्छ, मानौं कि ऊ लापरबाही गर्नकै लागि जन्मिएको हो। बस कहिले काहीँ झुक्किएर आफ्नो स्थापित उद्देश्यबाट बिचलित भएर कसैको प्राण जोगाइदिन्छ। वा भनौं डाक्टरले मान्छे मार्नकै लागि जन्म लिन्छ र कहिलेकाहीँ ऊ झुक्किँदा बिरामी बाँच्न पुग्छ।
अहिले हाम्रो समाजमा स्थापित गर्न खोजिएको नमिठो सोच यही नै हो। ताजुब त त्यतिखेर लाग्छ, जब समाजको भ्रम चिर्ने मसिहाका रुपमा उभिएको प्रेसले समेत यही सोचलाई आलिङ्गन गर्दछ। यस्तो सोच स्थापित गर्नु पछाडिका कारणहरु स्फटिक जत्तिकै स्पष्ट छन्, तर दुर्गन्धित कुवामा बसेर आफ्नो संसारको सौन्दर्यताको बयान गर्दै महाकाव्य लेख्नेहरुले त्यही दुर्गन्धको पनि महिमा गाउँदा रहेछन्।
डाक्टरले लापरबाही गर्नै सक्दैन भन्ने छैन। तर उपचारका क्रममा हुने हरेक मृत्यु सब डाक्टर कै लापरबाहीका कारणले हुन्छ भन्नु पनि सही हुन सक्दैन। डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुबाट हुने लापरबाहीको अनुसन्धान गर्नका लागि हरेक देशमा भिन्नै संस्था हुन्छन्। त्यस्ता संस्थाले उपचारका क्रममा भएका लापरबाहीलाई अध्ययन गरी लापरबाहीको गम्भीरता हेरेर आवश्यक कारबाही अगाडि बढाउँछ।
नेपालमा यस्तै लापरबाहीको अनुसन्धान गर्ने आधिकारिक संस्था ' नेपाल मेडिकल काउन्सिल' हो। ऊसँग लापरबाही भएको ठहरिएमा स्वास्थ्यकर्मीको लाइसेन्स रद्ध गर्नेदेखि लिएर अरु कानुनी प्रक्रिया अगाडि बढाउनेसम्मको अधिकार हुन्छ। तर आजभोलि यस आधिकारिक संस्थाको अधिकार मिचेर उग्र हुल र पत्रपत्रिकाले बिना खोज/अनुसन्धान डाक्टर लगायतका समग्र स्वास्थ्यकर्मीलाई दोषी ठहर गर्न हदैसम्म लागिपरेको देख्न सकिन्छ।
कानुनी राजमा अपराध अनुसारको सजाय सबैले भोग्नै पर्छ। तर बिना कसुर कसैलाई अपराधीको बिल्ला भिराउनु पनि त अपराध नै हो। यस्ता अपराधको पनि कानुनी उपचार त हुनुपर्ने हो, तर त्यो हाम्रो देशमा देखिँदैन।
पहिलेपहिले गाउँघरमा लफडा हुँदा कथित ठूलाबडा/झुन्ड नै न्यायका प्रतीक मानिन्थे। जात, वर्ग र हैसियत हेरेर न्याय दिन्थे। त्यसबेला ध्यान न्याय दिनुमा भन्दा पनि 'परिस्थितिलाई कसरी साम्य पार्न सकिन्छ' भन्नेमा हुन्थ्यो। त्यसैले त बलात्कार घटनामा पनि पीडितलाई पिडकसँग बिहे गर्दिन्थे। त्यस्तो निर्णयले कुनै पनि हालतमा न्याय गर्न सक्दैन भनेर आधुनिक न्याय पद्धतिको विकास भयो।
आजभोलि न्याय अदालतले दिन्छ र हरेक अपराधमा अन्तिम फैसला सुनाउने अधिकार उसैलाई हुन्छ। तर विकासको उत्कर्षमा पुगेपछि सबैको अधोगति लाग्छ भने झैं हाम्रो न्याय व्यवस्था झन् झन् उल्टो दिशातिर हिँडिराखेको छ। आजभोलि भीड/पत्रपत्रिकाले अघोषित रुपमा डाक्टरलाई खुइल्याउने र अपराधी करार गर्ने अधिकार आफ्नो हातमा लिएका छन्। अचम्म त त्यतिखेर लाग्छ, जब सरकारले तिनै झुण्डलाई वैधानिकता दिन आतुर भए जस्तै आफ्नो ओठ सिलाउँछ र अदालत आफ्नो क्षेत्र अधिकार मिचिँदासम्म पनि मौन बस्छ। मानौं कि यहाँ डाक्टरका सवालमा कसैलाई पनि मतलब छैन।
आजभोलि अस्पतालहरु असुली धन्दाका केन्द्र बन्न थालेका छन्। 'हप्ता उठाउने ' धन्दाको केही परिस्कृत रुप जस्तै यहाँ अस्पतालबाट अघोषित चन्दा उठाउन थालिएको छ। दु:ख कष्ट बिना नै मनग्ये आय हुने हुनाले यो धन्दा खुबै मौलाउँदै गएको छ। आजभोलि अस्पतालका प्रांगण टोले गुण्डाहरुको कर्मथलो बन्न थालेको छ। अस्पतालको कुन बेडमा कुन बिरामी सिकिस्त छ, उक्त बिरामीका आफन्तीलाई कसरी भड्काउन सकिन्छ, के धम्की दिने, कसलाई टार्गेट गर्दा आम्दानी मनग्ये हुन्छ भन्ने कुरामा त्यस्ता दलालहरु केन्द्रित हुन्छन्।
प्रिय मान्छेको मृत्युमा पीडा हुनु स्वभाविक नै हो। तर यही पीडालाई भ्रमका माध्यमबाट आक्रोसमा बदलेर असुलीको धन्दा चलाइन्छ। डाक्टरको प्रतिष्ठामाथि प्रहार गरी उसको नैतिकतामाथि प्रश्न उठाउँदै लापरबाही करार गर्न सकियो भने दलालको जित मात्र हुँदैन, मनग्ये आम्दानी पनि हुन्छ। हलीले जमिनसँग सत्रुता गाँसेर, हलीलाई कहिल्यै फाइदा पुगेको छ र?
डाक्टरले पनि मृतकका नव शुभचिन्तकसँग सत्रुता गाँस्नुभन्दा माग गरेको रकम दिएर नगरेको अपराधको दाग मेटाउनु नै बुद्धिमानी ठहरिने समय आएको छ। किनकी सरकार, मिडिया र डाक्टरका हितका लागि काम गर्न भनी खोलिएका तर राजनीतिक दलका भजनमण्डलीले भरिएका संस्थाको समर्थन बिनाको लडाईं महङ्गो र कठिन हुने गर्दछ।
कुरा उठ्न सक्छ, डाक्टरबाट लापरबाही हुँदै हुँदैन भन्ने के छ र? हो डाक्टरबाट लापरबाही हुनसक्छ, तर त्यसको निर्क्योल गर्ने अधिकार टोले गुण्डा र बिरामीका नव शुभचिन्तक दलालहरुलाई हुनुहुँदैन। उपचारका क्रममा लापरबाही भएकै हो भने डाक्टरलाई कडा सजाय हुनुपर्छ। अहिले जस्तो केही लाखमा सहमति गरेर दोषी डाक्टरलाई अपराधबाट उम्किन दिन पाइन्छ?
केही वर्ष पहिला उपचारको क्रममा चरिकोटमा एक बालकको मृत्यु हुँदा त्यहाँका सरकारी उच्च अधिकारीले नै हात जोडेर 'अबदेखि हामी मान्छे मार्दैनौं।' भन्दै आन्दोलनकर्तासँग माफी माग्न लगाएका थिए। यदि लापरबाही भएकै हो र त्यही लापरबाहीका कारण कसैको ज्यान गएको हो भने हात जोडेर माफी माग्दैमा अपराध माफ हुन्छ? हाम्रो संविधान/कानुनको कुन धारा कुन दफाले यस्तो व्यवस्था गरेको छ? के बलात्कारीले पनि "म अबदेखि बलात्कार गर्दिनँ" भनेर माफी माग्यो र केही लाख क्षतिपूर्ति दिन मन्जुर भयो भने उसको अपराध माफ हुन्छ? कानुन त सबैका लागि एउटै हुनुपर्ने होइन? चुरो कुरो यहीं लुकेको छ।
आजभोलि उपचारका क्रममा कसैको मृत्यु भइहालेमा त्यसलाई कसरी नाफाको व्यापारमा बदल्न सकिन्छ भन्ने ध्यानमै दलालहरु लागेका हुन्छन्। शोकका डुबेका मृतकका आफन्तीलाई भड्काएर डाक्टरलाई लापरबाही गरेको आरोप लगाउन सकियोस् र क्षतिपूर्तिस्वरुप प्राप्त रकमको ठूलो हिस्सा झ्वाँम पार्न सकियोस्। र यो व्यवसाय खुब मौलाउँदै गएको छ।
"हिँड्दै अस्पताल गएको बिरामीको उपचारका क्रममा मृत्यु।" आजभोलि धेरै सुनिने समाचारको शीर्षक हो यो। अस्पतालसम्म ठमठमी हिँड्दै आएको, अघिल्लो रात दुई थाल भात खएको, सन्चो भएपछि नगरकोट घुम्न जाउँला भनेको, तेरो बिहेमा छमछमी ननाची त कहाँ मरौंला भनेको आदि सब बिरामीका स्वस्थताका सूचक बन्न थालेका छन्। मानौ त्यस्ता बिरामी उपचारका क्रममा डाक्टरको लापरबाहीका कारण मात्रै मर्छन्। त्यतिबेला सम्बन्धित शल्यक्रियाको जटिलताको कुनै मूल्य रहँदैन, न त बिरामीले आफूसँगै बोकेर आएका दीर्घ रोगको कुनै लेखाजोखा नै हुन्छ।
मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग लागेका बिरामीले शल्यक्रियाको अधिल्लो दिन दुई थाल भात पनि खान सक्छन्, अस्पतालसम्म ठमठमी हिँड्दै पनि आउन सक्छन् र भविश्यका योजनाहरु पनि बनाउन सक्छन्। तर त्यस्ता बिरामीमा शल्यक्रियाको सफलताको सम्भावना स्वस्थ व्यक्तिको तुलनामा कम हुन्छ। जुन डाक्टरको लाबरबाहीका कारणले फिटिक्कै होइन। यो कुरा समाजले बुझ्न धेरै आवश्यक छ।
डाक्टरहरुलाई अजीव व्यवहार गरिन्छ। उपचारमा सफलता हात पारे उही व्यक्तिलाई देवता बनाइन्छ। उपचारमा असफल भए उसैलाई दोषी करार गरी बङ्गारा भाँच्नसम्म पछि परिँदैन।
उपचारका क्रममा डाक्टरमाथि भएको दुर्व्यवहारलाई लिएर अहिले हाम्रो छिमेकी मुलुक तातेको छ। पश्चिम बंगालकी मुख्यमन्त्रीले दुर्व्यवहारमा परेका डाक्टरलाई न्याय दिनुको साटो धम्की दिएपछि भारतभरिका डाक्टरहरु आन्दोलित बनेका छन् र स्वास्थ्य सेवा केही दिनदेखि ठप्प छ।
हामीले हाम्रा अधिकांश कुरा उतैबाट सिक्छौ। हाम्रा नेताले पनि उतैबाट सिक्छन्। त्यसैले यो उपचारका क्रममा हुने हिंसा र लापरबाहीको व्यापारलाई नियमकानुनले बाँध्न सकिएन भने भोलिका दिनहरुमा नेपालको स्वस्थ्य सेवा पनि ठप्प पार्नुपर्ने अवस्था आउनसक्छ। किनकी आफू असुरक्षित भएर अरुको सेवामा लाग्नु प्रायः असम्भव हुन्छ।
अब आउनुस् हाम्रा सरकारका कुरा गरौं। सामाजिक सञ्जालमा गालीबेइज्जती गरेकै आरोपमा लाखौं जरिवाना तिर्नुपर्ने र वर्षौं जेल बस्नु पर्ने कानुन बनाउने सरकार डाक्टरलाई ज्यानै मार्ने धम्की दिने, कुटपिट गर्ने दोषीलाई जेलमै राखेर अनुसन्धान गर भन्ने सानो अनुरोध गर्दा पनि कुनै चासो देखाउँदैन।
कतै यो लापरबाहीको धन्दा चलाउने व्यक्तिहरु पार्टीद्वारा संरक्षित गुण्डा नाइके त होइनन् भन्ने शंका उब्जन्छ। यस्तो असुरक्षित माहोलमा डाक्टरमाथि ठूलो दुर्घटना हुने सम्भावना अधिक रहेको हुन्छ। यसका लागि मेचीदेखि महाकालीसम्मका स्वास्थ्यकर्मी एकजुट भएर लापरबाहीको यो बढ्दो व्यापारविरुद्ध आवाज उठाउन ढिलो भइसकेको छ। नत्र मासिक पैतीस हजारको तलब खाएर लाखौंको लापरबाही जरिवाना कसरी तिर्न सकिन्छ?
सरकारलाई एउटा सानो प्रश्न, डाक्टरी पढ्नका लागि नै घरबार बेच्नुपर्ने अवस्था भएको देशमा गर्दै नगरेको लापरबाहीको जरिवाना डाक्टरले के बेचेर तिर्ने? सरकार न्याय दिन नसके पनि यसको उपाय बताइदे!