पछिल्लो समय नेपालका विभिन्न स्थानमा डेंगुको संक्रमण फैलिरहेको छ। डेंगु नियन्त्रणमा ल्याउन सरकारले प्रयास गरिरहेको छ। तर अझै पनि रोग नियन्त्रणमा आउन सकेको छैन। रोगको संक्रमण किन नियन्त्रणमा आउन सकेको छैन? डेंगु के हो? रोकथाम र नियन्त्रणका लागि के गर्ने? लगायतका विषयमा स्वास्थ्यखबरकी बिन्दु शर्माले सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला र इपिडियोमोजोजी तथा महामारी व्यवस्थापना शाखा प्रमुख प्रकाश शाहसँग कुराकानी गरेकी छिन् :
यसरी गर्न सकिन्छ डेंगुको नियन्त्रण
डा अनुप बास्तोला
प्रत्येक वर्ष नेपालमा डेंगुको माहामारी हुने गरेको छ। पछिल्लो समय मोरङमा डेंगुको संक्रमण बढेपछि स्थानीय सरकार तथा इपिडिमोजोली तथा रोग नियन्त्रण शाखाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा अनुप बास्तोलाले अघिल्ला वर्षमा भन्दा यो वर्षमा डेंगुको माहामारी बढेको बताएका छन्।
विषेशगरी मनसुनको बेलामा तराईका विभिन्न क्षेत्रमा यसको महामारी देखिँदैआएको छ।
पानी जमेको ठाँउ, वर्षाका कारण भेल बढेर आउने बेला र बढी फोहोर हुने क्षेत्रमा डेंगुको जोखिम बढ्दो रहको छ।
लामखुट्टेको टोकाइपछि ४ देखि १० दिनको अन्तरालमा डेंगुको लक्षण देखा पर्नेगर्छ।
टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जोर्नीहरु दुख्ने, शरीरमा रातो दाग आउने, मांसपेसी दुख्ने, केही व्यक्तिमा फोक्सो तथा पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र कहिलेकाहीं रक्तस्राव हुने जस्ता समस्या देखिने गर्छ।
तर कतिपय अवस्थामा १० हजारमा डेंगु देखिए पनि यसको लक्षण भने एक हजारमा मात्रै देखिने हुन्छ। त्यसमा पनि ५ सय बिरामीमा फ्लु जस्तो लक्षण देखिन्छ भने ४ सय जनामा मात्रै खास लक्षण देखिन्छ।
कतिपय अवस्थामा बिरामीको शरीरमा विभिन्न ठाँउमा पानी जम्दा रक्तचापको सही रुपमा व्यवस्थापन गर्न नसकिने हुन्छ। आन्तरिक तथा बाह्य रक्तस्राव हुने र शरीरका केही अंग काम नलाग्ने हुन्छन्। मिर्गौला र कलेजोलगायत अंगले काम गर्न छोड्ने हुन्छ।
सबै डेंगु लागेका बिरामी सिकिस्त हँुदैनन्। कतिपय अवस्थामा डेंगु लागेका बिरामी सामान्य खालको उपचारपछि निको हुन्छन्।
पछिल्लो समयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु लागेर आउने बिरामी सामान्य लक्षण लिएर आउने गरेको पाइएको छ। रातो रक्तकोषिकाको कमी भएका बिरामीहरु सामान्य अवस्थामा नफर्किंदासम्म उनीहरु उपचारमै बस्छन्।
पछिल्लो समयमा पूर्वी नेपालमा देखिएको समस्या फेरि नदेखियोस् भन्नका लागि यसको रोकथामको लागि सबै सचेत हुनु जरुरी हुन्छ।
व्यक्तिले कस्तो खालको डेंगु लागेको हो? भन्ने कुरा बझ्न जरुरी हुन्छ। यस अर्थमा के बु्झ्न जरुरी छ भने, संक्रमितमध्ये धेरैजसोलाई ज्वरो आउने हुन्छ।
ज्वरो आउनु राम्रो त होइन तर पनि ज्वरोसँगै अरु रोगको संक्रमण देखियो भने त्यसलाई जटिल मान्नुपर्छ। जसमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, सुन्निने, आन्तरिक र बाह्य रक्तस्राव जस्तो समस्या देखिन थाल्यो भने त्यस्ता व्यक्तिको विषेश ध्यान दिनुपर्छ।
९९ प्रतिशत बिरामीमा डेंगु ज्वरो भएर असपताल आउने बढी भेटिन्छन्। र सामान्य उपचारपछि निको हुन्छ।
रोकथामका लागि के गर्ने?
झोल खानेकुरा प्रशस्त खाने
सामान्य ज्वरो छ भने प्यरासिटामोलको प्रयोग गर्ने
सामान्य खालको ज्वरो बाहेकका अरु समस्या देखिएमा तरुन्त चिकित्सककहाँ पुर्याउनुपर्छ।
नियन्त्रणका लागि के गर्ने?
लामखुट्टे बस्ने, विषेशगरी पानी जम्ने ठाँउ जहाँ, लार्भाको वृत्तिविकास हुन्छ त्यस्तो स्थान खोज्नुकासाथै त्यसलाई हटाउने।
जमेको पानी र फोहोर ठाँउ, फालिएका बोतल, घरमा पानी जम्मा गर्नका लागि राखिएका कन्टेनरहरु जहाँ संक्रमण जोखिम छ, त्यस्तो ठाँउ र खाल्डाखुल्डीहरु पुर्नुका साथै उचित व्यवस्थापन गर्नुपर्छ।
लामुखुट्टेको टेकाइबाट बच्नका लागि स्प्रेको पनि प्रयोग गर्न सकिन्छ।
सूचना पाउनासाथ महामारी नियन्त्रणका लागि समूह पठाउँछौं
प्रकाश शाह
वरिष्ठ स्वास्थ्य प्रशासक, इपिडियोमोजोजी तथा महामारी व्यवस्थापना शाखा प्रमुख
देश संघीय संरचनामा गइसकेपछि कतिपय कार्यक्रम प्रदेश तथा स्थानीय तहमा पठाएका छौँ।
केन्द्रीय तहमा महामारीको सूचना पाउनासाथ हामीले इपिडिमोलोजीबाट महामारी नियन्त्रणका लागि समूह पठाउँछौं। माहामारीको समयमा निःशुल्क परीक्षण होस् भन्ने उद्देश्यले कीट माहामारी भइरहेको क्षेत्रमा पठाइरहेका छौँ। भर्खरै डेंगुको प्रकोप देखिएको धरानमा पनि दुई हजार कीट पठाइसकेका छौँ।
पहिला प्रत्यक्ष रुपमा जिल्लामा जनस्वास्थ्य कार्यालय हुँदा त्यहाँको प्रमुखको नेतृत्वमा रेपिड रेस्पोन्स टिम थियो। त्यसमा रेपिड रेस्पोस टिमको फोकल पर्सन लगायत मेडिकल अधिकृत र ल्याबको टिम रहेको थियो।
संघीयता कायम भइसकेपछि स्थानीय तहमा जाँदा त्यो स्तरका कर्मचारी अहिले भने छैनन्। स्थानीय तहमा दुई या तीन जना मात्रै कर्मचारी मात्रै छन्। तर उनीहरु तालिमप्राप्त पनि छैनन्। यसरी विपत जोखिमका लागि योग्य कर्मचारी नभएकाले आपतकालीन अवस्थामा व्यवस्थापनका लागि समस्या नहोस् भन्नका लागि विपत जोखिम न्यूनीकरण ऐन र जनस्वास्थ्य सेवा ऐन अन्तर्गत हामीले सबै प्रदेश र स्थानीय तहमा पत्रचार गरिसकेका छौँ।
जसमा विपत व्यवस्थापनका लागि प्रमुख प्रशासकको अध्यक्षतामा रेपिड रेस्पोसन टिम या आकस्मिक मेडिकल टिम गठन हुनुपर्ने उल्लेख छ। जसमा मेडिकल अधिकृतको नेतृत्व हुनुपर्ने छ।
कतिपय अवस्थामा टिम गठन भइसकेका छन् भने धेरै स्थानमा टिम गठन छैनन्।
यसरी हेर्दा पहिले देश संघीयतामा नजाँदै जिल्लाबाट प्रत्क्षय समन्वय भई टोली घटनास्थलमा पुग्ने गर्थे । तर अहिलेको अवस्थामा विपत व्यवस्थापनका लागि जनशक्ति सँगसँगै धेरै कुराको अभाव देखिन्छ।
हेरौं भिडियो :
भिडियो : निमेष जंग राई