संस्कृतको युज् धातुबाट बनेको योगको अर्थ हुन्छ जोड्नु। आत्मा र परमात्मासँगको मेल नै योग हो। "योग:चित्तवृत्ति निरोध"-पतञ्जलि, अर्थात् चित्त (मन) का वृत्तिको निरोध नै योग हो।
विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँछ। शान्तिका दूत गौतम बुद्धदेखि भगवान शिव र हजारौं ऋषिमुनिहरुको साधना भूमिको रुपमा रहेको नेपाल योगको उद्गम भूमिको रुपमा स्थापित छ।
यसरी आज जुन २१, विश्व योग दिवसका दिनमा व्यक्ति, समाज र राष्ट्रको शान्ति, सु-स्वास्थ्य र समृद्धिको यात्रामा योगको भूमिका केके हुनसक्छन् र यसको प्रवर्धनमा राज्यको नै ध्यानाकर्षण किन र कसरी हुनुपर्छ भन्नेमा विमर्श गरौं।
शरीर, इन्द्रीय, मन र आत्माको संयोग नै आयु हो। आयुर्वेद अनुसार शरीरका सम्पूर्ण दोष, अग्नि, धातु, मल क्रियालाई सम अवस्थामा राखेर आत्मा, इन्द्रीय र मनलाई प्रसन्न राख्नु नै स्वास्थ्य हो।
विभिन्न मानसिक विकारहरुलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा, योग मार्फत शान्ति प्राप्त हुनसक्छ। योग अन्तर्गत महर्षि पतञ्जलीले सूत्रवद्ध गरेका अष्टांग योगलाई चिकित्साका रुपमा प्रयोग गर्न सकिन्छ। यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि पर्दछन्।
त्यस्तै षट्क्रियामा पर्ने धौती, वस्ती, नेती, नौली, कपालभाती, त्राटक तथा अन्य मुद्रा तथा बन्ध चिकित्साबाट समेत बिरामीको उपचार प्रभावकारी बनाउन सकिन्छ। यी मार्फत लोभ, मोह र क्रोधबाट मुक्त गराई उपचारात्मक, संवर्धनात्मक, पुनर्स्थानात्मक उपचार विधि सम्भव छ।
अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउँदै खानपान, तनावबाट मुक्त गराई योगले मानिसमा असल जीवनयापनका पद्धतिहरु विकास गर्छ।
आजकल मुटु तथा रक्तनलीका रोग, श्वासप्रश्वासका रोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको भार नेपाल लगायत विश्वमा नै बढ्दैछ। दीर्घकालीन एवं नसर्ने रोगहरुको नियन्त्रण र उपचारमा उपयोगी हुने योगले विभिन्न शरीरका दोषहरुलाई निकालेर शुद्धीकरण प्रक्रियामा भूमिका निभाउँछ। यसरी सु-स्वास्थ्य एवं साधनामार्फत योगले व्यक्ति, समाज र राष्ट्रमा शान्ति, सहिष्णुता, एकता, भ्रातृत्वको भावना जागृत गर्न समेत मद्दत पुर्या्उँछ।
दैनिक योगासनको अभ्यासले आफ्नो प्राकृतिक स्वास्थ्य तथा सौन्दर्य प्राप्त गर्न उल्लेखनीय योगदान पुर्यायउँछ। अन्य व्यायामहरुले केवल शरीरको हाड र मांसपेसीमा मात्र प्रभाव पार्नसक्ने भए पनि योग अभ्यासले भित्री अंगहरु जस्तै मुटु, कलेजो, फोक्सो, मिर्गौला,आन्द्रा आदि अंगलाई पनि व्यायाम दिने हुनाले शरीरको प्रतिरोधात्मक शक्ति बढ्छ।
के बालक, के बृद्ध, के जवान, के दुर्बल सबैमा उपोयोगी हुने योगासनले शरीरलाई लचकदार र पर्यावरण अनुकूल समेत बनाउँछ। हानिकारक कुलतबाट जोगाएर योगासनले दृढता र एकाग्रता बढाउँछ। योगासनले भोजनमा संयमितता ल्याउनुक साथै दिनचर्या, रात्रिचर्या, ऋतुचर्या लगायतका जीवनशैलीसँग सम्बन्धित रहेर जिन्दगी व्यवस्थापन गर्न सिकाउँछ।
तर ख्याल गर्नुपर्ने कुरा, दक्ष प्रशिक्षकसँग मात्र योगासन सिक्नुपर्छ। सकभर खाली पेटमा बिहानको समय उचित हुन्छ नभए साँझको समयमा समेत गर्न सकिन्छ। पहिला सूक्ष्म व्यायाम गरेपश्चात मात्र योगासनको प्रारम्भ गर्नुपर्छ। महिनावारी,गर्भवती भएका बेला वा रोगले आक्रान्त पारेको बेला योगासन गर्नुहुँदैन।
योग चिकित्सा आफैंमा सम्पूर्ण रोगका लागि पूर्ण छैन। यसमा राष्ट्रको लगानी निकै न्यून छ। वैज्ञानिक अनुसन्धान, अत्याधुनिक प्रयोगशाला, दक्ष एवं विशेषज्ञ जनशक्ति, निजी क्षेत्रको साझेदारी नहुनुले पनि यसतर्फ सरोकारवालाहरुको ध्यान अझै आकृष्ट हुनसकेको छैन। प्रशासनिक र सामाजिक संयन्त्रमा देखिने एलोपेथी प्रेमले पनि यो अझै व्यापक र व्यावहारिक हुन सकेको छैन।
साम्प्रदायिक सोच र संकुचित व्यवहारमा परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य प्रणालीको मूलप्रवाहमा योगलाई समाहित गर्न सक्नुपर्छ। आधुनिक चिकित्सा प्रणालीलाई जस्तै योगलाई पनि प्राथमिकतामा राखेर हरेक सरकारी तथा निजी अस्पतालमा योग इकाईहरु स्थापना हुनु जरुरी छ।
दक्ष जनशक्ति उत्पादन गर्न योग शिक्षाको प्रबन्ध र यसलाई हेर्ने सकारात्मक दृष्टिकोण निर्माण गर्न आवश्यक जनचेतनामूलक कार्यक्रम राज्य स्तरबाटै हुनु जरुरी छ। अनि मात्र जनताको स्वास्थ्य उपचार, प्रवर्धन तथा जीवनको गुणस्तर सुधार्न योगले ठूलो भूमिका खेल्नसक्छ।
योगलाई राष्ट्रको समृद्धिसँग समेत जोडेर हेर्न सकिन्छ। प्राकृतिक सुन्दरता, मनोरम हिमश्रृंखलामा धनी देश नेपाल आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको साधनास्थलका रुपमा परिचित छ। आउँदै गरेको भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै विश्वभरि नै योगको बारेमा महत्वपूर्ण प्रचारप्रसार गर्दै योग पर्यटनमार्फत देशको समृद्धिको ढोका खोल्न सकिन्छ।
काठमाडौं, पोखरा, चितवन जस्ता पर्यटकीय स्थलहरुमा योग अभ्यास गर्ने–गराउने योग र साधनाका केन्द्रहरु खोलेर सरकारले व्यवस्थित गर्नुपर्छ। साथै योग र ट्रेकिङलाई जोडेर टुर प्याकेजहरु निर्माण गर्न सकेमा निजी व्यवसायीहरु समेत लाभान्वित हुन सक्छन्। योग प्रशिक्षकहरुको जीविकोपार्जन हुनुका साथै योग पर्यटनले विश्वमाझ नेपाललाई योगभूमिका रुपमा चिनाउनसमेत मद्दत पुर्या्उँछ।
योग चिकित्सा अन्तर्गत रहेर नसर्ने रोगहरुमा उलेख्य प्रगति गर्नसके प्राकृतिक र सांस्कृतिक बनोटमा नेपालले प्रवाह गर्ने गुणस्तरीय स्वास्थ्य सेवाको सन्देश समेत विश्वभर प्रवाह हुनसक्छ। योग आसन र स्वस्थ जीवनशैलीमा सबैमा ध्यानाकर्षण गर्नसके स्वास्थ्य उपचारमा लाग्ने राज्यको भार समेत कम गराउन सकिन्छ।
योग खेलकुद मार्फत विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर देशको नाम उच्च बनाउँदै खेलकुद पूर्वाधार विकासमा विदेशी लगानी समेत भित्र्याउन सकिन्छ।
योग शिक्षा मार्फत मानिसको जीवनयापनमा परिवर्तन गर्दै समुन्नत नेपालको कल्पना गर्न सकिन्छ। यसरी योगलाई पर्यटन, चिकित्सा, खेलकुद, शिक्षा आदिसँग जोडेर हेर्दा राष्ट्रको समृद्धिको यात्रा सहज देख्न सकिन्छ। साथै मानव विकासको सूचाकांकमा समेत अनुकरणीय प्रगति गर्दै यस यात्राले सन्२०३० सम्ममा दिगो लक्ष्य हासिल गर्ने उद्देश्यलाई टेवा पुर्यायउनसक्छ।