नेपालको पूर्वी क्षेत्र धरानमा डेंगुको प्रकोप फैलिएको करिब एक महिना भयो। अहिले यो क्रमश: नियन्त्रणमा आउँदैछ। यो छोटो लेखमा डेंगु रोगको महामारीलाई अवसर बनाएर भइरहेको ठगीमाथि चर्चा गरिन्छ।
धरानका धेरैजसो बिरामीको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै भइरहेको छ। तर किट अभाव भएपछि विगत केही दिनयता बिरामीहरु प्रतिष्ठानभन्दा बाहिरका ल्याब तथा अस्पतालमा टेस्ट गराएर आउने गरेका छन्।
डेंगु रोगको पहिचान गर्न चाहिने किटको बजार मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य हेर्दा दुई-चार सय रुपैयाँ मात्र पर्न जान्छ। तर किट अभावको मौका छोपेर बिरामीहरुसँग २५ सय सम्म असुलिएको छ।
प्रतिष्ठानको ट्रपिकल युनिटको बहिरंग सेवामा आउने बिरामीहरुका अनुसार उनीहरुलाई बिल समेत दिइँदैन।
त्यस्तै बिरामीहरुमा डेंगु रोगप्रतिको डरलाई ‘क्यास’ गर्न पूर्वका केही निजी अस्पतालहरु सक्रिय छन्।
डेंगुको किट टेस्ट गर्ने र पहिला त्यसमै ठग्ने, त्यसपछि रिपोर्ट पोजिटिभ आउनासाथ यो खतरनाक रोग हो, तुरुन्तै भर्ना हुनुपर्छ भन्दै सामान्य बहिरंग सेवामै उपचार तथा जानकारी दिएर पठाउनुपर्ने बिरामीलाई समेत भर्ना गर्ने!
अचम्मलाग्दो कुरा त ज्वरो आउनुअघि सामान्य अवस्थामा रहेको बिरामीलाई समेत डेंगुको उपचार गर्दा एन्टिबायोटिक त्यो पनि सुईबाटै दिइएको पाइयो। हुन त ‘सेकेन्डरी इन्फेक्सन’ रोकथाम भन्न मिल्ला! तर बोल्न, हिँडडुल गर्न र मुखबाट खानसक्ने बिरामीलाई भाइरसको कारणले हुने रोगमा सुइबाट एन्टिबायोटिक दिनु कति जायज होला?
हुन त यसमा पनि पक्ष र विपक्षमा तर्कहरु हुन सक्छन र आउलान्।
धेरैलाई लाग्नसक्छ– यस्तो ठगी त यत्रतत्र छ। तर यसको अन्तर्य भने एउटा अर्को विषयसँग जोडिन्छ। त्यो हो, ‘एलएएमए’। मेडिकल भाषामा भन्नुपर्दा ‘लिभ अगेन्स्ट मेडिकल येड्भाइस’। अर्थात् ‘स्वास्थ्यकर्मीको सल्लाह विपरीत जाने’!
ट्रपिकल युनिटको बहिरंग सेवामा आफैं हिँडेर आएको एक युवा उमेर समूहकॊ बिरामीको हातमा नाम चलेको निजी अस्पतालको कागज थियो- जसमा ‘एलएएमए’ लेखिएको थियो र उनी अघिल्लो दिन साँझ त्यस अस्पतालबाट त्यसरी निस्किएको बताउँदै थिइन्।
सामान्यतया प्यारासिटामोल र जीवनजलले मात्र निको हुने डेंगुको उपचारमा निकै नै खर्च भएको देखेर उनको रोग र अवस्थाबारे विस्तृतमा सोध्दा माथिकै जस्तो विवरण प्राप्त भयो। साथै बिरामीलाई यथोचित सल्लाह र खाने औषधि समेत केही नदिई पठाइएको भएर उनि प्रतिष्ठानको बहिरंग सेवामा आइपुगेकी रहिछन्।
अस्पतालले भर्ना गरिसकेपछि सामान्य अवस्थामा बिरामीले अझ सुधार भएर आफैं जान्छु भन्छ भने केही दायित्व त हुनुपर्ने हो नि! कि ‘इथिकल्ली’ नमिल्ने नै हो कमाइसकेपछि?
नेपालमा डेंगु रोगको बारेमा रहेको अनभिज्ञताले हाल त्यो रोगको महामारीको सेरोफेरोमा भइरहेको ठगी धन्दालाई मलजल गरेको छ। सम्बन्धित निकायको ध्यान जाओस्।
(रेसिडेन्ट डाक्टर, कम्युनिटी मेडिसिन तथा ट्रपिकल डिजिज विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान)