काठमाडौं– स्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गर्ने भएको छ। गत जेठ १० गते नै मन्त्रिपरिषदबाट पास भएको नीति स्वास्थ्य मन्त्रालयमा बुधबार मात्र आएको थियो।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नयाँ नीति सार्वजनिक गर्न लागेका हुन्।
संघीयता लागू भएपछि स्वास्थ्यको संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाइएको छ।
नीतिमा आयुर्वेदको विकास गरी स्वास्थ्य पर्यटन भित्र्याउने, स्वास्थ्यमा लगानी बढाउने, देशभित्र र बाहिरका सबै नेपालीलाई समेट्ने लगायतका २५ वटा मुख्य नीति र त्यसका रणनीति रहेका छन्।
नीतिको भावी सोच
स्वस्थ तथा सुखी जीवनलक्षित सजग र सचेत नागरिक।
ध्येय
साधन स्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरी सहकार्य र साझेदारीमार्फत नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्ने।
लक्ष्य
संघीय संरचनामा सबै वर्गका नागरिकका लागिसबैसामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने।
उद्देश्यहरू
१. संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हक सबै नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्नु।
२. संघीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार गर्नु।
३. सबै तहका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै सहज पहुँच सुनिश्चित गर्नु।
४. अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु।
५. सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रसँग बहुक्षेत्रीय साझेदारी, सहकार्य तथा सामुदायिक सहभागितालाई प्रबर्धन गर्नु।
६. नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक स्वास्थ्य सेवामा रूपान्तरण गर्दै जानु।
यस्ता छन् २५ नीति
१. सबै तहका स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने छ।
२. स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच सुनिश्चित गरिने छ।
३. सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिने छ।
४. स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहमा पुनर्संरचना, सुधार एवं विकास तथा विस्तार गरिने छ।
५. स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाअनुरूप प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्क तथा प्रशामक सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिने छ।
६. स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवर्धन, व्यवस्थापन तथा नियमन गर्नुका साथै स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा निजी, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन एवं संरक्षण गरिने छ।
७. आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिने छ।
८. स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसंख्या, भूगोल र संघीय संरचनाअनुरूप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको विकास तथा विस्तार गर्दै स्वास्थ्य सेवालाई व्यवस्थित गरिने छ।
९. सेवाप्रदायक व्यक्ति तथा संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउन स्वास्थ्य व्यवसायी परिषद्हरूको संरचनाको विकास, विस्तार तथा सुधार गरिने छ।
१०. गुणस्तरीय औषधि तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै, कुशल उत्पादन, आपूर्ति, भण्डारण, वितरणलाई नियमन तथा प्रभावकारी व्यवस्थापनमार्फत पहुँच एवं समुचित प्रयोग सुनिश्चित गरिने छ।
११. सरुवा रोग, किटजन्य रोग, पशुपछीजन्य रोग, जलवायु परिवर्तन र अन्य रोग तथा महामारी नियन्त्रणलगायत विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यको एकीकृत उपायहरू अवलम्बन गरिने छ।
१२. नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गरिने छ।
१३. पोषणको अवस्थालाई सुधार गर्न, मिसावटयुक्त तथा हानिकारक खानालाई निरुत्साहित गर्दै गुणस्तरीय एवं स्वास्थ्यवर्धक खाद्यपदार्थको प्रवर्धन, उत्पादन, प्रयोग र पहुँचलाई विस्तार गरिने छ।
१४. स्वास्थ्य अनुसन्धानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यहरूलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको विकासमा प्रभावकारी उपयोग गरिने छ।
१५. स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय तथा प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गरिने छ।
१६. स्वास्थ्यसम्बन्धी सूचनाको हक तथा सेवाग्राहीले उपचारसम्बन्धी जानकारी पाउने हकको प्रत्याभूति गरिने छ।
१७. मानसिक स्वास्थ्य, मुख, आँखा, नाक कान घाँटी स्वास्थ्य सेवालगायतका उपचार सेवालाई विकास र विस्तार गरिने छ।
१८. अस्पताललगायत सबै प्रकारका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गरिने छ।
१९. स्वास्थ्य क्षेत्रमा नीतिगत, संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा समयानुकूल परिमार्जन तथा सुधार गर्दै सुशासन कायम गरिने छ।
२०. जीवनपथको अवधारणाअनुरूप सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोर–किशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिकलगायतका सेवाको विकास तथा विस्तार गरिने छ।
२१. स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत तथा विशेष कोषको व्यवस्था गरिने छ।
२२. बढ्दो सहरीकरण, आन्तरिक तथा बाह्य बसाइँसराइजस्ता विषयहरूको समयानुकूल व्यवस्थापन गर्दै यसबाट हुने जनस्वास्थ्यसम्बन्धी समस्याहरूलाई समाधान गरिने छ।
२३. जनसांख्यिक तथ्यांक व्यवस्थापन, अनुसन्धान तथा विश्लेषण गरी निर्णय प्रक्रिया तथा कार्यक्रम तर्जुमासँग आबद्ध गरिने छ।
२४. प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्वार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषणलगायतका वातावरणीय प्रदूषणका साथै खाद्यान्न प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गरिने छ।
२५. आप्रवासन प्रक्रियाबाट जनस्वास्थ्यमा उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विदेशमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि समुचित व्यवस्थापन गरिने छ।
प्रत्येक नीतिका प्रमुख रणनीतिहरू
६.१. सबै तहका स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ।
६.१.१. आधारभूत स्वास्थ्य सेवाहरू स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध गराइनेछ।
६.१.२. नेपाल सरकारले स्रोत साधन व्यवस्था गरी स्थानीय तहमार्फत आधारभूत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गर्नेछ। प्रदेश सरकार तथा स्थानीय तहले आवश्यकताअनुसार तोकिएका आधारभूत स्वास्थ्य सेवामा थप सेवाहरू समावेश गर्न सक्नेछन्। थप गरिएका सेवाहरूको व्ययभार सम्बन्धित सरकारले व्यहोर्नेछ।
६.१.३. आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय तहबाट आवश्यकताअनुसार नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरिनेछ।
६.२. स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच सुनिश्चित गरिनेछ।
६.२.१. आधारभूत स्वास्थ्य सेवाले नसमेटेका उपचारात्मक सेवालाई स्वास्थ्य बिमासँग आबद्द गर्दै सुदृढ गरिँदै लगिनेछ।
६.२.२. सामाजिक न्यायका सिद्धान्तमा आधारित रही विपन्न तथा प्राथमिकतामा परेका लक्षित वर्गलाई राज्यको सहुलियतमा स्वास्थ्य बिमामा आवद्ध गरिनेछ।
६.२.३ औपचारिक क्षेत्रलाई अनिवार्य स्वास्थ्य बिमाको दायरामा ल्याउँदै सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गरिनेछ।
६.२.४ विपन्न वर्गका लागि राज्यबाट तोकिएका विशेष स्वास्थ्य सेवाहरूमा क्रमशः पहुँच सुनिश्चित गरिनेछ।
६.३. सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिनेछ।
६.३.१. तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा प्राथमिक अस्पताललगायत सबै तहका स्वास्थ्य संस्थाहरूबाट नियमित प्रवाह हुने गरी दोहोरो प्रेषणको व्यवस्था मिलाइनेछ।
६.३.२. प्रमुख लोकमार्गहरूमा हुने दुर्घटनालाई लक्षित गरी ट्रमा सेवा केन्द्रहरू निर्माण गरी शीघ्र उपचारको व्यवस्था मिलाइनेछ।
६.३.३. निश्चित मापदण्ड, वर्गीकरण तथा आधुनिक प्रविधिअनुरूप एम्बुलेन्स सेवा उपलब्ध हुने गरी प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा सुबिधा सम्पन्न एम्बुलेन्स व्यवस्था गरिनेछ।
६.३.४. अति दुर्गम स्थानमा स्वास्थ्य संकटमा रहेका नागरिकलाई निर्धारित मापदण्डको आधारमा हवाई उद्धारको व्यवस्था गर्नकालागि हवाई एम्बुलेन्स सेवाको विकास गरिनेछ।
६.३.५. आकस्मिक स्वास्थ्य उपचार कोषको व्यवस्था गरी कार्यविधिमार्फत तोकिएबमोजिम कोष परिचालन गरिनेछ।
६.३.६. आकस्मिक उपचारको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सबै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई बेसिक लाइफ सपोर्ट तालिम अनिवार्य गराइनेछ।
६.४ स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहमा पुनर्संरचना, सुधार एवं विकास तथा विस्तार गरिनेछ।
६.४.१. स्वास्थ्य क्षेत्रको विद्यमान संगठन संरचनालाई आवश्यकताअनुसार परिमार्जन गर्दै रोग नियन्त्रण, महामारी नियन्त्रण र अनुसन्धानको मूल जिम्मेवारीसहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका अन्य आवश्यक संरचना स्थापना गरिनेछ।
६.४.२. स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुरूप सुदृढ गर्नका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरी लागू गरिनेछ।
६.४.३. जनसंख्याको वितरण, भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा, संघ, प्रदेश तथा स्थानीय तहमा अस्पताल तथा स्वास्थ्य संस्थाहरू, स्वास्थ्य सेवा तथा जनशक्तिको विकास तथा विस्तार गरिनेछ। स्थानीय तहअन्तर्गत हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, हरेक स्थानीय तहमा प्राथमिक अस्पताल (primary hospital), प्रदेशअन्तर्गत द्वितीय तहको अस्पताल (secondary hospital), प्रादेशिक अस्पतालहरू र संघअन्तर्गत रहने गरी अति–विशिष्टिकृत अस्पतालहरू (super specialized hospital) र संघअन्तर्गत नै रहने गरी हरेक प्रदेशमा कम्तीमा एक विशिष्टिकृत अस्पताल (tertiary hospital) र एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालन गरिनेछ।
६.४.४. उपचार सेवालाई व्यवस्थित बनाउन समुदाय स्तरदेखि अति–विशिष्टिकृत सेवाप्रदायक संस्थाहरूसम्म दोहोरो प्रेषण प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
६.४.५. ई-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिनलगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गरिनेछ। स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र चिकित्सा सेवा तथा स्वास्थ्य प्रणालीलाई डिजिटलाइजेसन (digitalization) गरी सेवा प्रदान गरिनेछ।
६.४.६. निदानात्मक सेवालाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढीकरण गरिनेछ। प्रत्येक प्रदेशमा एउटा रिफरेन्स प्रयोगशाला तथा निदान केन्द्र (diagnostic centre) को स्थापना गरिनेछ।
६.४.७. सबै तहका सरकारी, गैर-सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्न नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड एवं न्यूनतम सेवा मापदण्ड (minimum service standards) लाई कार्यान्वयन गरिनुका साथै गैर-सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूको हकमा तोकिएको मापदण्ड क्रमशः लागू गरिनेछ।
६.४.८. सरकारी, गैर-सकारी क्षेत्रसँग साझेदारी, सहकार्य तथा सामुदायिक सहभागितालाई प्रबर्धन गर्दै रक्त सञ्चार सेवाको संस्थागत विकास तथा सबै प्रदेश र प्राथमिक अस्पतालसम्म विस्तार गरिनेछ।
६.४.९. सार्वजनिक-निजी साझेदारी गर्दै स्वंयसेवी रक्तदानमार्फत सुरक्षित रगत तथा रक्तजन्य पदार्थहरूको उपलब्धता सुनिश्चित गरिनेछ।
६.४.१०. मानव अंग प्रत्यारोपण तथा अंगदान सेवालगायत, मस्तिष्क मृत्यु भएकाबाट अंगदान सेवालाई व्यवस्थित गरी विकास तथा विस्तार गरिनेछ।
६.४.११. मेडिकोलिगल सेवालाई विकास र विस्तार गर्दै सबै प्रदेश र प्राथमिक अस्पतालसम्म पुर्याइनेछ।
६.४.१२. घर स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य सेवा र विभिन्न संस्थाले दिने स्वास्थ्य सेवालाई व्यवस्थित र नियमित गरिनेछ।
६.४.१३. स्वास्थ्य सेवालाई गुणस्तरीय तथा लागत प्रभावकारी बनाउन उपयुक्त अत्याधुनिक प्रविधिको प्रयोग गरी आधुनिकीकरण गरिनेछ।
६.५ स्वास्थ्यमा सर्वव्यापी पहुँच (universal health coverage) को अवधारणाअनुरूप प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा प्रशामक सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिनेछ।
६.५.१. स्वस्थ रहनु नागरिक स्वयंको जिम्मेवारी हो भन्ने तथ्यलाई स्वास्थ्य सचेतनामार्फत अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवर्धन गरिनेछ।
६.५.२. विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा क्षेत्रसँगको समन्वयमा क्रमशः विस्तार गर्दै उच्च माध्यमिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्यूनतम १ जना स्वास्थ्य जनशक्ति उपलब्ध हुने गरी विद्यालयमा स्वास्थ्यका कार्यक्रम तथा जनचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ।
६.५.३. रोगको प्रकोप तथा लागत प्रभावकारिताको आधारमा समयानुकूल खोप सेवाहरू अवलम्बन गरिनेछ। लक्षित वर्गको खोप पाउने अधिकार सुनिश्चित गर्दै सम्बन्धित व्यक्तिले खोप सेवा अनिवार्य रूपमा लिनु पर्ने व्यवस्था गरिनेछ।
६.५.४. विभिन्न समूहमा हुनसक्ने स्वास्थ्य जोखिमहरू शीघ्र पहिचान गर्न नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ।
६.५.५. विभिन्न उमेर समूह, लिंग, वर्ग, समूह, क्षेत्रका नागरिकलाई प्राथमिकता दिँदै स्वास्थ्यमा सर्वव्यापी तथा समतामूलक पहुँचलाई सुनिश्चित गर्न कोही पनि नछुट्ने व्यवस्था मिलाइनेछ।
६.५.६. निजी तथा गैर-सरकारी संस्थालाई समेत प्रोत्साहित गर्दै संघ, प्रदेश तथा स्थानीय तहमा फिजियोथेरापी सेवासहितको पुनर्स्थापना तथा प्रशामक सेवा केन्द्र स्थापना गरिनेछ।
६.५.७. स्थानीय स्वास्थ्य आवश्यकता र व्यवहारलाई सम्बोधन गर्न स्वास्थ्यसम्बन्धी सन्देश र सामग्री उत्पादन, प्रसारण र सम्प्रेषणलाई वैज्ञानिक, व्यवस्थित र प्रभावकारी बनाउँदै यसको नियमन गरिनेछ।
६.५.८. वातावरण, सरसफाइ, खानेपानी, खाद्य पदार्थलगायतका विषयहरूमा सम्बन्धित सरोकारवालासँगको समन्वयमा निगरानी प्रणाली लागू गरिनेछ।
६.५.९. जनस्वास्थ्यमा पर्नसक्ने प्रतिकूल प्रभावको पहिचान गरी रोकथाम गर्न तथा जोखिम न्यूनीकरण गर्न तोकिएका उद्योग, व्यवसाय तथा आयोजनाको जनस्वास्थ्य प्रभाव मूल्यांकनको लागि मापदण्ड, संयन्त्र तथा तहगत कार्यक्षेत्रको निर्धारण गरिनेछ।
६.५.१०. स्वास्थ्यको सामाजिक निर्धारक तत्वहरूलाई सम्बोधन गर्ने गरी राज्य संरचनाको सबै तहमा बहुक्षेत्रीय सहकार्य र सहयोगलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्दै अन्य क्षेत्रका नीतिहरू स्वास्थ्य नीति तथा योजनामा समावेश गर्न प्रोत्साहन तथा पैरवी गरिनेछ।
६.६. स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैर-सरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवर्धन, व्यवस्थापन तथा नियमन गर्नुका साथै स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा निजी, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन एवं संरक्षण गरिनेछ।
६.६.१. लक्षित समूह तथा क्षेत्रमा स्वास्थ्य तथा उपचार सेवा सुनिश्चित गर्न मापदण्डका आधारमा निजी तथा गैर-सरकारी संघ संस्थासँग साझेदारी गरिनेछ।
६.६.२. निजी क्षेत्रको व्यावसायिकता, कार्यकुशलता, उद्यमशीलता, प्राविधिक दक्षता एवं वित्तीय स्रोतलाई स्वास्थ्य सेवाको विकास तथा विस्तारमा उपयोग गर्दै, सामाजिक उत्तरदायित्व अभिवृद्धि गरिनेछ।
६.६.३. अस्पताल सञ्चालन स्वीकृतिको मापदण्ड सरकारी वा गैर-सरकारी, निजी सबैको निम्ति समान र व्यावहारिक बनाइनेछ। साथै, निजी अस्पतालहरूलाई उपत्यकाबाहिर ग्रामीण समुदायहरूमा खोल्न प्रोत्साहन गर्नुका साथै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाको नियमित प्रतिवेदनलाई अनिवार्य गर्दै प्रभावकारी अनुगमन तथा नियमन गरिनेछ।
६.६.४. गुणस्तरीय स्वास्थ्य सेवाको सर्वसुलभ पहुँच सुनिश्चित गर्न सबै तह र प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट दिइने उपचार तथा स्वास्थ्य सेवाको वर्गीकृत सुविधाका आधारमा शुल्क निर्धारण गरिनेछ।
६.६.५. विशिष्टिकृत र अति विशिष्टिकृत स्वास्थ्य सेवाको विकास गर्दै सरकारी, निजी र गैर-सरकारी क्षेत्रबीच सहकार्य गरी स्वास्थ्य पर्यटनको प्रवर्धन गरिनेछ।
६.६.६. स्वास्थ्य सेवामास्वयंसेवकको अवधारणालाई विकास गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन तथा व्यवस्थापन स्थानीय तहबाट गरिनेछ।
६.७. आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिकलगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिनेछ।
६.७.१. संघीय संरचनाअनुरूप आयुर्वेद चिकित्सासम्बन्धी तहगत संस्थाहरूको योजनाबद्ध विकास तथा विस्तार गरिनेछ।
६.७.२. योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक, युनानी, अकुपन्चरलगायत अन्य चिकित्सा पद्धतिलाई संघीय संरचनाअनुरूप स्थानीय तहसम्म विकास तथा विस्तार गरिनेछ।
६.७.३. स्थानीय स्तरमा उपलब्ध औषधीजन्य जडीबुटी, खनिज एवं जान्तव द्रव्यको पहिचान, संरक्षण, संकलन, प्रवर्धन गर्दै आयुर्वेद चिकित्सामा वैज्ञानिक अनुसन्धान तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गरिनेछ।
६.७.४. प्रचलित तथा परम्परागत चिकित्सा सेवाहरूलाई निश्चित मापदण्डका आधारमा सूचीकृत, व्यवस्थित तथा नियमन गरिनेछ।
६.७.५. आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवासहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने गरी क्रमशः संघीय संरचनाबमोजिम विस्तार गर्दै लगिनेछ।
६.७.६. आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान र आयुर्वेद विश्वविद्यालयको स्थापना गरी आयुर्वेद विज्ञान र प्राकृतिक चिकित्सा प्रणालीको अध्ययन, उपचार र अनुसन्धान गरिनेछ।
६.८ स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसंख्या, भूगोल र संघीय संरचनाअनुरूप सीपमिश्रित दक्ष स्वास्थ्य जनशक्तिको विकास तथा विस्तार गर्दै स्वास्थ्य सेवालाई व्यवस्थित गरिनेछ।
६.८.१. संघीय संरचनाअनुरूप अल्पकालीन तथा दीर्घकालीन योजना बनाई आवश्यक स्वास्थ्य जनशक्तिको प्राप्ति, विकास तथा उपयोग गरिनेछ।
६.८.३. सम्बन्धित निकायहरूको सहकार्यमा एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सबै तहका लागि आवश्यकताबमोजिम स्वास्थ्य जनशक्ति उत्पादन गरिनेछ।
६.८.४. सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी एक मात्र स्वास्थ्य संस्थामा रहने 'एक चिकित्सक र स्वास्थ्यकर्मी - एक स्वास्थ्य संस्था' को अवधारणालाई सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्रमशः लागू गरिनेछ र यस अवधारणालाई प्रभावकारी रूपमा लागू गर्न तथा सेवाको पहुँच विस्तार गर्नका लागि सरकारी अस्पतालहरूमा आर्थिकलगायत अतिरिक्त सुविधासहितको विस्तारित अस्पताल सेवा ( extended hospital services) कार्यान्वयन गरिनेछ।
६.८.५. सबै वडामा रहने आधारभूत स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आकस्मिक अवस्थाको प्रारम्भिक उपचार, प्रारम्भिक ल्याव सेवा तथा अन्य आधारभूत एकीकृत उपचार सेवा प्रवाह गरिनेछ।
६.८.६. सबै स्थानीय तहमा रहने प्राथमिक अस्पतालमा एक एमडीजीपी चिकित्सकीय सेवा रहने गरी आकस्मिक उपचार, ल्याव सेवा, फार्मेसी सेवा, नर्सिङ सेवा तथा जनस्वास्थ्य सेवाका लागि आवश्यक दरबन्दी सिर्जना गरी सेवा प्रवाह गरिनेछ।
६.८.७. स्वास्थ्य जनशक्तिहरूको क्षमता अभिवृद्धिका लागि उच्च शिक्षा अध्ययन, सेवाकालीन तालिम, निरन्तर पेसागत तालिम, पेसागत वृद्धि विकासका लागि स्पष्ट मार्ग तथा अवसर प्रदान गर्नुका साथै पेसागत अनुसन्धानलाई प्रोत्साहन तथा प्रवर्धन गरिनेछ।
६.८.८. गुणस्तरीय स्वास्थ्य सेवाको लागि समयानुकूल विविध विधाहरू (मिडवाइफ, अस्पताल व्यवस्थापन, मेडिकल लिडरसिप, स्वास्थ्य अर्थशास्त्र आदि) मा विशिष्टिकृत जनशक्ति उत्पादनका लागि आवश्यक प्रबन्ध गरिनेछ।
६.८.९. स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विकास तथा विस्तारका लागि एकीकृत छाता ऐन बनाई कार्यान्वयन गरिनेछ। शिक्षण जिल्लाको अवधारणालाई देशभरि लागू गरिनेछ।
६.८.१०. सबै तह र प्रकारका स्वास्थ्य संस्था तथा जनशक्तिहरूको सूचना प्रविधि मैत्री वैज्ञानिक अभिलेखीकरण गरी नियमित रूपमा अद्यावधिक गरिनेछ।
६.९. सेवाप्रदायक व्यक्ति तथा संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउन स्वास्थ्य व्यवसायी परिषद्हरूको संरचनाको विकास, विस्तार तथा सुधार गरिनेछ।
६.९.१. स्वास्थ्यसम्बन्धी व्यावसायिक परिषद्हरूलाई एकीकृत छाता ऐन बनाई संघीय ढाँचाअनुरूप विकास तथा प्रदेश तहमा विस्तार गरिनेछ।
६.९.२. स्वास्थ्यसम्बन्धी परिषद्हरूको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गरिनेछ।
६.९.३. सेवाग्राहीको स्वास्थ्यप्रति सेवाप्रदायकलाई उत्तरदायी तथा व्यावसायिक बनाउन आचारसंहिताको पालनालाई सुनिश्चित गरिनेछ।
६.९.४. स्वास्थ्यकर्मीलाई आफ्नो कार्य र सेवाप्रति जवाफदेही बनाउन कार्यदक्षताका आधारमा पारिश्रमिक र सुविधा (performance based pay and incentives) को व्यवस्था मिलाइनेछ।
६.१०. गुणस्तरीय औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै, कुशल उत्पादन, आपूर्ति, भण्डारण र वितरणलाई नियमन तथा प्रभावकारी व्यवस्थापनमार्फत पहुँच एवं समुचित प्रयोग सुनिश्चित गरिनेछ।
६.१०.१. औषधी, उपकरण र प्रविधिजन्य स्वास्थ्य सामग्रीहरूको मूल्य र गुणस्तर निर्धारण तथा नियमन लागि संघीय ढाँचाअनुरूप संरचना विस्तार गर्दै लगिनुका साथै जेनेरिक प्रिस्क्रिप्सन (generic prescription) र दक्ष प्राविधिकसहितको अस्पताल फार्मेसीको सञ्चालनलाई कार्यान्वयन गरिनेछ।
६.१०.२. अत्यावश्यक औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको राष्ट्रिय उत्पादनलाई प्रोत्साहित गरी आत्मनिर्भरता बढाइनेछ।
६.१०.३. खाद्यपदार्थ सुरक्षा, औषधीको गुणस्तर तथा बजार मूल्य नियन्त्रणको नीतिअनुरूप संघीय स्वास्थ्य मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा औषधी तथा खाद्यपदार्थ व्यवस्थापन महाशाखाको व्यवस्था गर्ने तथा आन्तरिक उत्पादन हुने वा आयात गरिने औषधी वा औषधीजन्य सामग्रीहरूको राष्ट्रिय मापदण्ड तयार गरी गुणस्तर सुनिश्चित गरिनेछ।
६.१०.४. औषधी तथा औषधीजन्य सामग्रीहरूको निर्दिष्टीकरण (specification) तयार गरी खरिद, ढुवानी, गुणस्तरीय भण्डारण तथा वितरण पद्धतिलाई प्रभावकारी तथा व्यवस्थित बनाइनेछ।
६.१०.५. निश्चित कार्यविधि र मापदण्डको विकास गरी अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय सरकारी, गैर-सरकारी तथा निजी निकायबाट प्राप्त हुने औषधी, उपकरण र औषधीजन्य सामग्रीहरू ग्रहण तथा उपयोग गरिनेछ।
६.१०.६. औषधी आयात, निर्यातलाई व्यवस्थित गर्न राष्ट्रिय औषधीय सतर्कता कार्यलाई सबै तहमा विस्तार गरी प्रभावकारी बनाइनेछ।
६.१०.७. प्रतिजैविक प्रतिरोधलाई सम्बोधन गर्न निगरानी तथा अनुसन्धानलाई सुदृढ बनाउँदै पशुपन्छी, कृषि, खाद्यलगायतका क्षेत्रसँगको समन्वयमा निरोधात्मक, रोकथामका उपायहरू अवलम्बन गरिनेछ।
६.१०.८. आयुर्वेदिक औषधी तथा जडीबुटीजन्य सामग्रीको गुणस्तर सुनिश्चितताका लागि प्रभावकारी नियमनको व्यवस्था मिलाइनेछ।
६.११. सरुवा रोग, किटजन्य रोग, पशुपन्छीजन्य रोग, जलवायु परिवर्तन र अन्य रोग तथा महामारी नियन्त्रणलगायत विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यको एकीकृत उपायहरू अवलम्बन गरिनेछ।
६.११.१. क्षयरोग, एचआइभी र एड्स तथा औलोलगायतका सरुवा रोगहरूको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, निवारण उन्मूलनको लागि प्रभावकारी कार्यक्रमहरू कार्यान्वयन गरिनेछ ।
६.११.२. सूचीकृत रोगहरूको सूचित गर्ने पद्धति (notification system) विकास गरी कार्यान्वयन गरिनेछ।
६.११.३. अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन २००५ अनुरूप रोगहरूलाई क्रमशः नियन्त्रण, निवारण तथा उन्मूलन गर्नकालागि संघ, प्रदेश तथा स्थानीय तहमा क्षमता तथा संयन्त्रको विकास गरिनेछ।
६.११.४. वातावरण र स्वास्थ्यमैत्री प्रविधिलाई प्रोत्साहन गर्दै प्रदेश तथा स्थानीय तहलाई समेत जिम्मेवार बनाई अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरू एवं प्रयोगशालाबाट उत्पादित फोहोर र औषधीजन्य फोहोरको उचित व्यवस्थापनको लागि नियमनका साथै निरन्तर अनुगमन गरिनेछ।
६.११.५. घरायसी तथा समुदायजन्य फोहरमैला व्यवस्थापन तथा वातावरणीय सरसफाइलाई प्रवर्धन गर्न समन्वय तथा पैरवी गरिनेछ।
६.११.६. जलवायु परिवर्तनका कारणले स्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरणका कार्यक्रमहरू परिमार्जन तथा विकास गरी सरोकारवालाहरूसँग सहकार्य तथा समन्वय गरिनेछ।
६.११.७. विपद् तथा महामारीको तत्काल सम्बोधन गर्नको लागि सबै तहमा संयन्त्रको स्थापना, क्षमता विकास, प्रतिकार्य योजना तथा पूर्वतयारी गर्नुका साथै घुम्ती अस्पताल सेवाको व्यवस्था गरिनेछ।
६.११.८. विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, स्वास्थ्य प्रवर्धनलगायत समग्र स्वास्थ्य सेवामा नागरिक र समुदायको सहभागिता र योगदानलाई प्रोत्साहित गरिनेछ।
६.१२. नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायहरूलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गरिनेछ।
६.१२.१. सबै तहका स्वास्थ्य संस्थामार्फत स्वस्थ जीवनशैली प्रवर्धन गर्ने कार्यक्रमहरूको विकास तथा विस्तार गरिनेछ।
६.१२.२. खानेपानी, वातावरणीय सरसफाइ, खाद्य सुरक्षा, शिक्षालगायतका विषयसम्बन्धी निकायहरूसँग स्वास्थ्य प्रवर्धनका लागि बहुक्षेत्रीय समन्वयलाई सुदृढ गरिनेछ।
६.१२.३. व्यवसायका कारण स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर तथा जोखिम न्यूनीकरण गर्न व्यवसायीहरूको कार्यस्थल सुरक्षित र स्वस्थकर बनाउन बहुक्षेत्रीय साझेदारी गर्दै मापदण्डको विकास गरी लागू गरिनेछ।
६.१२.४. आनुवांशिक रोगहरूको रोकथाम तथा उपचारका लागि उपयुक्त पद्धतिको विकास गरिनेछ।
६.१२.५. मानव स्वास्थ्यलाई हानि गर्ने प्रशोधित तथा तयारी खाद्यपदार्थहरूलाई निरूत्साहित गर्दै खाद्यपदार्थको उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्री वितरणको क्रममा स्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालका रासायनिक पदार्थ, विषादी तथा अखाद्यवस्तुहरूको मिसावट र प्रयोगलाई नियन्त्रण तथा नियमन गरिनेछ।
६.१२.६. बहुक्षेत्रीय समन्वयमार्फत लागू पदार्थको नियन्त्रण तथा मदिराको प्रयोगलाई निरूत्साहित गरिने तथा सूर्तीजन्य पदार्थको बिक्री, वितरण तथा प्रयोगको प्रभावकारी नियमन गरिनेछ।
६.१२.७. सडक दुर्घटनालगायत अन्य प्रकोप (आगलागी, चट्याङ आदि) रोकथामका लागि जनस्वास्थ्य प्रवर्धन कार्यक्रमका साथै संरचनात्मक व्यवस्था गरिनेछ।
६.१२.८. सबै किसिमका वातावरणीय प्रदूषण तथा विकास निर्माणको कारणले जनस्वास्थ्यमा हुने नकारात्मक प्रभाव न्यूनीकरण लागि तथा स्वस्थ जीवनशैलीका लागि साइकल लेन, सार्वजनिक पार्कको निर्माणलगायत विषय कार्यान्वयन सरोकारवाला निकायहरूसँग समन्वय तथा पैरवी गरिनेछ।
६.१३. पोषणको अवस्थालाई सुधार गर्न, मिसावटयुक्त तथा हानिकारक खानालाई निरूत्साहित गर्दै गुणस्तरीय एवं स्वास्थ्यवर्धक खाद्यपदार्थको प्रवर्धन, उत्पादन, प्रयोग र पहुँचलाई विस्तार गरिनेछ।
६.१३.१. बहुक्षेत्रीय पोषणसम्बन्धी नीति तथा खाद्य सुरक्षालगायतका कार्यक्रमहरू अद्यावधिक गर्दै उच्च प्राथमिकताका साथ लागू गरिनेछ।
६.१३.२. महिला तथा बालबालिकालगायत विभिन्न उमेर समूहको सूक्ष्म पोषण अवस्था सुधारका लागि खाद्य विविधीकरण तथा सन्तुलित आहार उपभोगमा जोड दिँदै सबै तहमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गरिनेछ।
६.१३.३. विद्यालय स्वास्थ्य कार्यक्रम र पोषण शिक्षालाई सुदृढीकरण गर्दै कार्यक्रम विकास तथा सञ्चालन गरिनेछ।
६.१३.४. विभिन्न पोषिलो तथा स्वास्थ्यवर्धक खाद्यपदार्थहरूको उपभोगलाई प्रोत्साहन गर्दै घरायसी उत्पादनलाई प्रवर्धन गरिनेछ।
६.१४. स्वास्थ्य अनुसन्धानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यहरूलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको विकासमा प्रभावकारी उपयोग गरिनेछ।
६.१४.१. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संस्थागत संरचना, क्षमता तथा कार्यक्षेत्रलाई समयानुकूल परिमार्जन, विकास तथा संघीय संरचनाअनुरूप विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाइनेछ।
६.१४.२. स्वास्थ्य अनुसन्धानमा सबै तहको क्षमता विकास गर्दै प्राज्ञिक तथा शैक्षिक संस्थाहरूको समन्वयमा स्वास्थ्य अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिलाई अनुसन्धानमा प्रेरित गरिनेछ।
६.१४.३. सबै क्षेत्र तथा निकायबाट गरिने स्वास्थ्य अनुसन्धानका नतिजालाई एकीकृत गरी प्राप्त तथ्य, प्रतिवेदन तथा निष्कर्षहरूलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको विकास तथा विस्तारमा प्रयोग गरिनेछ।
६.१४.४. देशमा उपलब्ध औषधीय जडबिुटी, जान्तव, खनिज द्रव्य, आयुर्वेद तथा परम्परागत चिकित्सा सम्बन्धी ग्रन्थ, ज्ञान, सीप आदिको अनुसन्धान गरी बौद्धिक सम्पत्तिको रूपमा अभिलेखीकरण, संरक्षण र सम्वर्धन गरिनेछ।
६.१५. स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय तथा प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गरिनेछ।
६.१५.१. संघीय संरचनाअनुरूप सबै तहको स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत रूपमा विकास तथा व्यवस्थापन गरिनेछ।
६.१५.२. स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत, प्रविधिमैत्री, समयानुकूल र नियमित बनाउँदै सबै तहमा सूचना प्रयोगको क्षमता अभिवृद्धि गरिनेछ।
६.१५.३. स्वास्थ्य सूचना प्रणाली, अनुसन्धान, सर्वेक्षण तथा निगरानीबाट प्राप्त तथ्य तथा सूचनाहरूलाई विभिन्न तहमा हुने अनुगमन, मूल्यांकन, नीति निर्माण, कार्यक्रम विकास तथा निर्णय प्रक्रियामा उपयोग गरिनेछ।
६.१५.४. स्वास्थ्य सूचना हरूको सुरक्षाको उपाय अवलम्बन गर्दै सेवाग्राहीको स्वास्थ्य सेवा सम्बन्धी विवरणको विद्युतीय अभिलेखन (ई-रेकर्डिङ) राख्ने व्यवस्था मिलाइनेछ।
६.१५.५. स्वास्थ्य क्षेत्रमा विद्यमान निगरानी पद्धतिहरूलाई सुदृढ गर्दै एकीकृत निगरानी पद्धतिको विकास गरी अवलम्बन गरिनेछ।
६.१६. स्वास्थ्यसम्बन्धी सूचनाको हक तथा सेवाग्राहीले उपचारसम्बन्धी जानकारी पाउने हकको प्रत्याभूति गरिनेछ।
६.१६.१. सेवाप्रदायकलाई स्वास्थ्य सूचना प्रवाहमा जिम्मेवार बनाउँदै, सूचनामैत्री स्वास्थ्य संस्थाको विकास गरी स्वास्थ्य सेवा पाउने सेवाग्राहीको सुसूचित मन्जुरी, गोपनीयता र सूचनाको हकलाई सुनिश्चित गरिनेछ।
६.१६.२. नागरिकको स्वास्थ्य तथा समाजमा प्रत्यक्ष एवं परोक्ष रूपमा नकारात्मक असर पार्ने खालका सञ्चार सामग्रीहरूलाई निरूत्साहित तथा नियमन गरिनेछ।
६.१७ मानसिक स्वास्थ्य, मुख, आँखा, नाक, कान, घाँटी स्वास्थ्य सेवालगायतका विशेष उपचार सेवालाई विकास र विस्तार गरिनेछ।
६.१७.१. आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गरिनेछ।
६.१७.२. सार्वजनिक निजी साझेदारीमा आँखा स्वास्थ्य सेवालाई विकास तथा विस्तार गर्दै केन्द्रीय निकायबाट समन्वय, सहकार्य तथा नियमन गर्नका लागि संघीय स्वास्थ्य मन्त्रालयमा एक आँखा स्वास्थ्य इकाइ स्थापना गरिनेछ।
६.१७.३. मुख स्वास्थ्य तथा दन्त सेवा सम्बन्धी रोगहरूको नियन्त्रण तथा उपचार सेवालाई आधारभूत स्वास्थ्य केन्द्रद्रलगायत सबै तहमा विकास तथा विस्तार गरिनेछ।
६.१७.४. नाक, कान, घाँटीको उपचार सेवालाई सबै तहमा विकास तथा विस्तार गरिनेछ।
६.१७.५. ज्ञान, सीप हस्तान्तरण तथा सीपमिश्रित सेवाको अवधारणामार्फत विशेष थप तालिममार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवालाई प्राथमिक अस्पतालहरूमार्फत सबै नागरिकको पहुँच सुनिश्चित गरिनेछ।
६.१७.६. अन्य विशिष्टिकृत स्वास्थ्य सेवालाई आवश्यकताअनुसार विकास तथा विस्तार गरिनेछ।
६.१८. अस्पताललगायत सबै प्रकारका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गरिनेछ।
६.१८.१. स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि एक संघीय नियमनकारी संयन्त्रको (प्रत्यायन निकाय) स्थापना तथा विकास गरिनेछ।
६.१८.२. सबै तहका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा गुणस्तर मापदण्ड विकास तथा परिमार्जन गरी लागू गरिनेछ।
६.१८.३. गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि निर्देशिका, गुणस्तर मापदण्ड तथा स्तरीय उपचार विधि (उपचार प्रोटोकल) हरू परिमार्जन तथा विकास गरी लागू गरिनेछ।
६.१८.४. उत्पादनस्थल र वितरणका चरणमा भ्याक्सिन, औषधी, स्वास्थ्य उपकरण, बायोलोजिकल रियजेन्टलगायत स्वास्थ्य सामग्रीहरूको गुणस्तर परीक्षण कार्यविधि विकास तथा परिमार्जन गरी लागू गरिनेछ।
६.१८.५. स्वास्थ्य संस्थाको चिकित्सकीय तथा व्यवस्थापकीय पक्षको परीक्षण गरी सेवाको गुणस्तर तथा संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।
६.१८.६. स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिरणजन्य सेवाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक मापदण्ड तर्जुमा गरी लागू गरिनेछ।
६.१९. स्वास्थ्य क्षेत्रमा नीतिगत, संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा समयानुकूल परिमार्जन तथा सुधार गर्दै सुशासन कायम गरिनेछ।
६.१९.१. स्वास्थ्य सेवालाई पारदर्शी, जवाफदेही एवं जनउत्तरदायी बनाउन स्वास्थ्य सुशासन कार्यविधि बनाई लागू गरिनेछ।
६.१९.२. सेवाग्राहीको उजुरी, गुनासो, सुझावको सुनुवाइ गरी सोको समाधानका लागि आवश्यक संयन्त्र विकास गरी कार्यान्वयन गरिनेछ।
६.१९.३. स्वास्थ्य सेवाप्रदायक व्यक्ति र संस्थाको सुरक्षाको लागि प्रचलित कानुनी व्यवस्थाको समयानुकूल परिमार्जन गरी लागू गरिनेछ।
६.१९.४. सबै तहका स्वास्थ्य संस्थाको स्वास्थ्य सेवा र व्यवस्थापनको अनुगमन तथा मूल्यांकनको एकीकृत खाका विकास तथा परिमार्जन गरी लागू गरिनेछ।
६.१९.५. सबै स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवाको बारेमा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।
६.१९.६. सबै तहमा स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।
६.१९.७. समुदायको संस्कृतिलाई समेत मध्यनजर गर्दै स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाइने तथा उपभोक्ताको हक सुनिश्चित गरिनेछ।
६.२०. जीवनपथको अवधारणाअनुरूप सुरक्षित मातृत्व, बालस्वास्थ्य, किशोर-किशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिकलगायतका सेवाको विकास तथा विस्तार गरिनेछ।
६.२०.१. सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाइनेछ।
६.२०.२. मातृशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोर-किशोरी स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिकलगायत विभिन्न उमेर तथा जोखिम समूह लक्षित सेवाहरूको सुदृढीकरण गर्दै प्रोफेसनल मिडवाईफ्री तथा नर्सिङ सेवा विस्तार गरिनेछ।
६.२०.३. महिला स्वास्थ्यमा प्रभाव पार्ने सामाजिक निर्धारकहरूलाई मध्यनजर गर्दै सरोकारवालाहरूसँगको समन्वयमा विशेष कार्यक्रमको व्यवस्था गरिनेछ।
६.२०.४. सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ गर्न प्रत्येक वडामा दक्ष प्रसूतिकर्मीको व्यवस्था गरिनेछ।
६.२०.५. कानुनबमोजिम सुरक्षित गर्भपतन सेवालाई गुणस्तरीय तथा प्रभावकारी बनाइनेछ।
६.२०.६. बाँझोपनासम्बन्धी स्वास्थ्य सेवालाई क्रमशः प्रदेश तहमा विस्तार गरिनेछ।
६.२१. स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत तथा विशेष कोषको व्यवस्था गरिनेछ।
६.२१.१. स्वास्थ्य सेवामा सबैको समतामूलक पहुँच वृद्धि गर्ने, स्वास्थ्य सेवामा व्यक्तिगत खर्च (out of pocket expenditure) कम गर्ने र लागत प्रभावकारिताका आधारमा स्वास्थ्यमा वित्तीय स्रोतको परिचालन गर्ने विषयलाई समेट्दै एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
६.२१.२. स्वास्थ्य क्षेत्रमा राज्यको लगानीलाई समायुनुकूल वृद्धि गर्दै व्यक्तिगत खर्चको भार क्रमशः घटाइनेछ।
६.२१.३. स्वास्थ्य क्षेत्रको समग्र आम्दानी, लगानी, बाँडफाँट, प्रयोगको विश्लेषणात्मक विवरण राष्ट्रिय स्वास्थ्य लेखा (national health accounts) वार्षिक रूपमा प्रकाशित गरी नीति, कार्यक्रम योजना तर्जुमा गर्न प्रयोग गरिनेछ।
६.२१.४. सूर्तीजन्य, मदिराजन्यलगायतका स्वास्थ्यलाई हानि गर्ने अन्य पदार्थबाट प्राप्त हुने राजस्वको अधिकतम हिस्सा जनस्वास्थ्य प्रवर्धनलगायतका कार्यक्रममा लगानी गरिनेछ।
६.२१.५. अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट लिइने आर्थिक सहयोगलाई परिणाम तथा प्राथमिकता निर्धारण गरेर दोहोरोपना नहुने गरी प्रभावकारी परिचालन गरिनेछ।
६.२१.६. अति दुर्गम, ग्रामीण क्षेत्रका साथै अति सीमान्तकृत समुदायहरूका लागि संघीय स्वास्थ्य मन्त्रालयले विशेष कोषको व्यवस्था गर्ने र प्रदेश, स्थानीय सरकारले उक्त कोषमा थप रकमको व्यवस्था गरी आउटरिच क्लिनिक (outreach clinic) वा एकीकृत आधारभूत स्वास्थ्य घुम्ती सेवाहरूद्वारा सेवाको सुनिश्चितता गरिनेछ।
६.२२. बढ्दो सहरीकरण, आन्तरिक तथा बाह्य बसाइसराइजस्ता विषयहरूको समयानुकूल व्यवस्थापन गर्दै यसबाट हुने जनस्वास्थ्यसम्बन्धी समस्याहरूलाई समाधान गरिनेछ।
६.२२.१. जनसांख्यिक सूचनाको विश्लेषण गरी समग्र विकास आयोजनाको योजना तर्जुमा तथा कार्यक्रम विकासमा उपयोग गरिनेछ।
६.२२.२. मृत्युको कारण परीक्षण गर्ने व्यवस्थाको विकास गरी यसलाई व्यक्तिगत घटना दर्तासँग आबद्ध गरिनेछ।
६.२२.३. बाह्य तथा आन्तरिक बसाइसराइ र सहरीकरणको प्रभावकारी व्यवस्थापन गरिनेछ । यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गरिनेछ।
६.२२.४. वैदेशिक रोजगारमा जाने नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि कार्यविधि बनाई लागू गरिनेछ।
६.२३. जनसांख्यिक तथ्यांक व्यवस्थापन, अनुसन्धान तथा विश्लेषण गरी निर्णय प्रक्रिया तथा कार्यक्रम तर्जुमासँग आबद्ध गरिनेछ।
६.२३.१. हरेक वडास्तरको स्वास्थ्य संस्थामार्फत हरेक उमेर समूहको यथार्थ जनसंख्या विवरण अद्यावधिक गरी उमेर समूह लक्षित स्वास्थ्य कार्यक्रमहरूको योजना तर्जुमा गरिनेछ।
६.२३.२. जीवनपथको अवधारणाअनुसार जनसांख्यिक तथ्यांकव्यवस्थापन, अनुसन्धान तथा विश्लेषण गरी निर्णय प्रक्रिया तथा कार्यक्रम तर्जुमासँग आबद्ध गर्ने।
६.२३.३. अशक्त र अपांगता भएकाहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै तहमा अपांगतामैत्री संरचना र संयत्र विकास गरी लागू गरिनेछ।
६.२३.४. सरकारी तथा निजी क्षेत्रको संलग्नतामा जेष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि जेष्ठ नागरिक स्याहार केन्द्रहरूको स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
६.२४. प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्वार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषणलगायतका वातावरणीय प्रदूषणका साथै खाद्यान्न प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गरिनेछ।
६.२४.१. वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषण, रासायनिक प्रदूषणलगायतका वातावरणीय प्रदूषणबाट जनस्वास्थ्यमा पर्नसक्ने असर न्यूनीकरणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै ठोस वैज्ञानिक योजना तथा कार्यक्रमहरूको विकास गरी लागू गरिनेछ।
६.२४.२. खाद्य प्रदूषणको नियमन र नियन्त्रणका लागि कार्ययोजना विकास गरी लागू गरिनेछ।
६.२४.३. प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न एन्टीबायोटिकको दुरुपयोगलाई प्रभावकारी नियमन र नियन्त्रण गर्न आवश्यक कार्ययोजनाको विकास गरी लागू गरिनेछ।
६.२५. आप्रवासन प्रक्रियाबाट जनस्वास्थ्यमा उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विदेशमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि समुचित व्यवस्थापन गरिनेछ।
६.२५.१. प्रस्थानपूर्व, गन्तव्य मुलुकमा र आगमनपश्चात स्वास्थ्य परीक्षण, प्रवर्धन तथा स्वास्थ्य सेवामा पहुँच र उपभोगका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
६.२५.२. विदेशमा रहेका नेपाली नागरिकको स्वास्थ्य प्रवर्धन तथा स्वास्थ्य सेवामा पहुँच र उपभोगका लागि आवश्यक संयन्त्रको व्यवस्था गर्दै आवश्यक कार्यविधि विकास गरी लागू गरिनेछ।
६.२५.३. विदेशी नागरिकहरूको नेपाल प्रवेशपूर्व स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिनेछ।
६.२५.४. आप्रवास स्वास्थ्यका सूचनाहरूलाई समयानूकूल व्यवस्थापन गर्न आप्रवास स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Migration Health Management Information System) को विकास गरी लागू गरिनेछ।