९ वर्ष अघिको घटना हो। मुटुको भल्भ अप्रेसन गर्नुपर्ने एक जना बिरामीको पीडा सुन्दासुन्दै मलाइ चक्कर लागेर आयो। त्यही एउटा सानो घटना, जसले मेरो मन कमजोर बनाइदियो। उनको पीडा सुन्दासुन्दै मेरो मनमा वेचैनी हुन थाल्यो। मुटुको चाल बढेर आयो।
म त्यही मुटुको भल्भ फेर्ने समस्यालाई नै संसारकै सबैभन्दा ठूलो समस्या मान्न थालें। कतै मलाई पनि त्यस्तै भयो भने के होला ? यही प्रश्नले मेरो मन पोल्न थाल्यो। मेरो एन्जाइटीको सुरुवाती विन्दु त्यही थियो।
त्यो घटनापछि मेरो मष्तिष्कमा एउटा छाप नै बस्यो कि मलाई पनि स्वास्थ्यमा ठूलो समस्या पर्नेवाला छ या परिसक्यो। मलाई लाग्न थाल्यो, मेरो पनि मुटुको भल्भमा समस्या छ। मेरो मनमा नकारात्मक विचारले जरा गाड्न थाल्यो।
हातखुट्टाबाट पसिना छुट्ने, टाउको भारी हुने, आँखा झुम्म हुने, दिमागले केही पनि सोच्न नसकेजस्तो हुने, म कहँ छु, के गर्दैछु जस्तो भान हुने, बाहिरी संसारसँग कुनै मतलब नै नहुने जस्ता लक्षण देखापर्न थाले।
रातमा निद्रा नपर्ने, चिटचिट पसिना आउने, श्वासप्रश्वासको गति बढेजस्तो, सास फुलेजस्तो हुन थाल्यो। मुटु पनि दुखेजस्तो, छाती भारी भएजस्तो, खान मन पटक्कै नहुने, भोक नलाग्ने, खानामा कुनै स्वादै नभएको जस्तो, दिमाग पनि खाली भएजस्तो, केही कुरा पनि सम्झन नसक्ने अवस्था भएजस्तो भान हुन थाल्यो। शरीरमा पनि एकदमै कमजोरी महसुस हुन थाल्यो।
म अचम्ममा परिरहेको थिएँ– एक्कासि यस्तो के आइलाग्यो, म भित्र कुनै ठूलो शारीरिक समस्या छ।
केही दिन अघिसम्मको मेरो विन्दास जीवन एकाएक अन्धकार भएजस्तो लाग्न थाल्यो। आखिर यो कसरी भयो, के हुँदैछ आफैं कन्फयुज थिएँ म।
लाउने खाने, घुम्ने इत्यादि कुरा फिक्का लाग्न थालेका थिए। मेरो मन र दिमाग केवल आफैंमा मात्र केन्द्रित थियो र हरेक क्षण सोचिरहन्थ्यो कि मलाई किन यस्तो भइराखेको छ, म भित्र के यस्तो समस्या छ।
अति नै छटपटी हुने र छाती दुख्ने, टाउको भारी हुने, खान मन नहुने, पेट दुख्ने जस्ता लक्षण एकै पटक देखापरेपछि म डाक्टरकहाँ जान तयार भएँ।
मुटुरोग विशेषज्ञ, पेटरोग विशेषज्ञ लगायत फिजिसियन देखाउँदा र सबै जाँच गर्दा पनि रिपोर्ट ठिक देखियो। डाक्टरहरु कुनै समस्या छैन भन्छन् तर आफूलाई भने भित्रभित्रै अनौठो पीडा भइरहेको हुन्थ्यो। डाक्टरहरुले मेरो समस्या नै बुझेनन्, मेरो रोग नै पत्ता लगाउन सकेनन् भन्ने परिरहन्थ्यो।
एकै पटक धेरै लक्षण मानसिक समस्याका कारण देखिँदारहेछन् भन्ने मलाई थाहा थिएन।
डाक्टरकहाँ धाउने क्रम जारी थियो। तर समस्या पत्ता लागिरहेको थिएन। बल्लबल्ल एक जना फिजिसियनले मलाई मानसिक समस्या भएको हुनसक्ने बताए। र मानसिक डाक्टरलाई देखाउन सल्लाह दिए।
तर म भने के भएको छ र मानसिक रोगको डाक्टरलाई देखाउने भन्ने सोच्न थालें। मानसिक समस्या भएको कल्पनासम्म थिएन मलाई। तैपनि एक पटक नशारोग सम्बन्धी डाक्टरलाइ देखाउने विचार गरें। त्यहँ गएर सबै रिपोर्ट र आफ्नो समस्या राखेपछि डाक्टरले मलाई एन्जाइटी न्युरोसिस भएको बताए।
डाक्टरले एन्जाइटी न्युरोसिस एक प्रकारको मानसिक समस्या वा चिन्तारोग भएको बताए। त्यसपछि डाक्टरले औषधि सेवन र काउन्सिलिङले यो रोग ठिक हुने बताए। ती डाक्टरले देखाएको राम्रो व्यवहार र उनले गरेको काउन्सिलिङले मेरो आधा समस्या त्यहीं समाधान भएजस्तो लाग्यो।
मेरो शरीरमा देखिएका लक्षणहरु हेर्दा मलाई एन्जाइटी भएको कुरा विश्वास लाग्यो र केही महिनाको औषधि लिई एक हप्तापछि फलोअपमा आउने गरी घर फर्कें। त्यो दिन मन हल्का भएजस्तो अनुभव भयो।
एक हप्ताको औषधि सेवनले ममा धेरै परिवर्तन आइसकेको थियो। समस्या धेरै कम भइसकेको जस्तो लाग्न थाल्यो। सबै कुरा विस्तारै नर्मल हुँदै जान थाल्यो। म त्यो अन्धकार र छटपटाहटबाट बाहिर निस्केकोमा खुसी थिएँ। आखिर सबैभन्दा ठूलो मनको खुसी नै रहेछ भन्ने लाग्यो।
मनमा खुसी छैन भने संसारको कुनै पनि कुराले खुसी दिन सक्दैन। मन खुसी हुनका लागि मन विचार सकारात्मक कुराले भरिनुपर्छ, मनमा नराम्रो कुरालाई स्थान दिनु हुँदै भन्ने सिकें मैले।
रेगुलर फलोअप गर्दै डाक्टरको सल्लाहमा औषधिको मात्रा कम गर्दै गएँ। लगभग ४ वर्ष औषधि सेवन गरें। यसै क्रममा मानसिक रोग सम्बन्धी विभिन्न प्रवचन, इन्टरनेटमा उपलब्ध भिडियोहरु हेर्दै आफूलाई परिवर्तन गर्दै लगें।
मानसिक रोग मनको रोग भएको हुँदा मन शान्त पार्न योग, ध्यान, व्यायाम, खानपान जस्ता कुरामा पनि ध्यान दिदै गएँ। मनोविदसँग काउन्सिलिङ त लिइनँ तर मानसिक समस्या समाधानका लागि औषधि सेवनका साथै काउन्सिलिङ अनिवार्य जस्तै मान्छु मैले। नियमित औषधि सेवन र काउन्सिलिङ लियो भने मानसिक समस्या निको हुने मेरो अनुभवले सिध्द गरेको छ।
एन्जाइटी धेरै ठूलो समस्या होइन। सही उपचार र व्यवहार परिवर्तनका साथै सोच्ने ढंग मिलाएको खण्डमा यो समस्या पूर्ण रुपमा निको हुन्छ। यसका लागि आत्मविश्वास र सकारात्मक सोच जरुरी छ।
एक पटक मानसिक समस्या भइसकेको मान्छेमा पछि पनि उक्त समस्या देखापर्ने सम्भावना रहन्छ। मेरो हकमा पनि कहीं कतै नराम्रो घटना घट्दा, केही समस्या आइपर्दा केही नराम्रो पो हुने हो कि, गम्भीर रोग पो लाग्ने हो कि, भविष्यको अनावश्यक चिन्ता, डर आदि जस्ता कुरा कहिलेकाहीं मनमा आउन खोज्छन्। तर यस्ता कुरालाई बेवास्ता गरी मनलाई दृढ बनाएर अघि बढ्ने गर्छु।
अर्को महत्वपुर्ण कुरा समाजले पनि मानसिक समस्या भएका मानिसप्रति गर्ने व्यवहार र सोच बदल्नुपर्छ। मानसिक समस्याबाट गुज्रेका र ठीक भइसकेका व्यक्तिहरुले पनि आफ्नो अनुभव अरु मानसिक बिरामीसँग सेयर गरिदिँदा धेरै राहत मिल्न जान्छ। मानसिक समस्या भएकाहरुका लागि परिवारको साथ र सहयोग पनि अत्यन्तै महत्वपूर्ण हुन्छ।
(पीडितको नाम गोप्य राखिएको छ।)