प्युठान- जिल्ला स्वास्थ्य कार्यालय प्युठान र सरुमारानी गाउँपालिकाबीच आवश्यक समन्वय हुन नसक्दा स्वास्थ्य तालिममा समस्या देखिएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा काठमाडौंको पत्रअनुसार 'स्वास्थ्य क्षेत्रको तथ्यांक विश्लेषण तथा प्रयोग' सम्बन्धमा सञ्चालित तालिमको विषयलाई लिएर गाउँपालिका र स्वास्थ्य कार्यालयबीच विवाद देखिएको हो। सोपश्चात् स्वास्थ्यकर्मीहरु समेत अन्योलमा परेका छन्।
तालिममा व्यक्तिको नाम नै किटान गरी बोलाइएको भन्दै सरुमारानी गाउँपालिकाले असहमति जनाएको थियो। उक्त तालिममा गाँउपालिकाका स्वास्थ्य संयोजक र सह-संयोजकलाई सहभागी गराउनका लागि स्वास्थ्य कार्यालयले सरुमारानी गाउँपालिकालाई अनुरोध गर्दै पत्राचार गरेको थियो।
तालिमका लागि तोकिए बमोजिमका सहभागीहरु नपुगेपछि पुनः सोही क्षेत्रका स्वास्थ्यचौकी प्रमुखहरुलाई समेत सहभागी गराइदिन भन्दै पत्राचार गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। उक्त पत्रमा सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुको नाम उल्लेख गरिएको छ। पत्रमा 'बांगेसाल स्वास्थ्य चौकी प्रमुख विमला ज्ञवाली' भन्दै सम्बोधन गरिएको छ।
यसरी व्यक्तिको नाम तोकेर पत्राचार गर्न नहुने भन्दै दुवै कार्यालयबीच विवाद निम्तिएको हो। पत्र पाएपश्चात् सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीले ज्ञवालीलाई तालिममा पठाउन नसकिने व्यहोराको पत्र स्वास्थ्य कार्यालयलाई पठाएका थिए। पत्रमा तालिममा अटेर गरी सहभागी भए कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने व्यहोरासमेत उल्लेख गरिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए।
यता गाउँपालिकाले पत्र तालिममा सहभागी नहुन निर्देशन दिए पनि बांगेसाल स्वास्थ्य चौकी प्रमुख विमला ज्ञवाली भने तालिममा सहभागी भइन्। तालिममा सहभागी भएको भन्दै पछि ज्ञवालीलाई गाउँपालिकाले स्पष्टीकरण सोधेको छ। कार्यसम्पादनमा निरुत्साहित गर्न स्पष्टीकरण सोधिएको भन्दै प्रमुख ज्ञवालीले दुःखेसो पोखिन्।
उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत वलीले कारबाहीको धम्की दिएकोमा आपत्ति प्रकट गरिन्।
'हाम्रो संयोजन पनि भएको छैन, यस अवस्थामा पहिल्यैदेखि जिल्ला स्वास्थ्य कार्यालयले क्षमता विकासका कार्यक्रममा सहभागी गराइरहेको थियो। सोहीअनुसार म पनि सहभागी भएको हुँ,' उनले भनिन्, 'गाउँपालिकाले क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुको साटो सहभागि भएकोमा धम्कीसम्म दिनु दुःखद कुरा हो।’
गाउँपाललिकाका प्रमुखबाटै कर्मचारीको हौसला बढाउनुको साटो धम्की दिने काममा उत्रिन थालेपछि मातहतका कर्मचारीको कार्यसम्पादनमा असर पुगेको उनको भनाइ छ। आफ्नो मनोवलमा ठेस पुग्ने काम गरेता पनि आफ्नो जिम्मेवारीबाट कदापि पछि नहट्ने र क्षमताले भ्याएसम्म उत्कृष्ट कार्यसम्पादनमा प्रतिवद्ध रहने उनले विश्वास दिलाइन्।
सरुमारानी गाउँपालिकाका स्वास्थ्य संयोजक हिरण्यराज शर्माले भने स्वास्थ्य कार्यालय प्युठानले गरेको यो निर्णयप्रति आफ्नो कुनै आपत्ति नभएको स्पष्ट पारे। उनले उक्त विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले गरेको निर्णय र क्रियाकलापप्रति भने आफ्नो बिमति रहेको बताए।
पछिल्लो समय सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका स्वास्थ्य संयोजकबीच संस्थागत विषयहरुमा समन्वय हुन नसकेकोमा समेत शर्माले गुनासो पोखे। 'स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीको दक्षता, क्षमता वृद्धिका विषयमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो ढंगले निर्णय लिँदा समस्या उत्पन्न भएको छ,' संयोजक शर्माले भने।
विधि र विधानमा रहे पनि सम्बन्धित व्यक्तिसँग छलफल नगरी निर्णय गर्दा यस्ता समस्याहरु सिर्जना हुने उनको बुझाइ छ।
तर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर वलीले भने जिल्ला स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य चौकी हस्तान्तरण गरे पनि अझै स्वास्थ्य कार्यालयले नै ती इकाइहरु चलाउन खोजेको आरोप लगाए। 'स्वास्थ्य संस्थाले सीमा तोकेर पठाउनु पर्थ्यो, व्यक्ति तोकेर पठाउँदा समस्या हुन्छ,' प्रमुख प्रशासकीय अधिकृत वलीले भने, 'स्वास्थ्य कार्यालयले संघीयता विरोधी काम गर्यो।'
'स्वास्थ्य कार्यालयले व्यक्ति तोकेर नभई सम्बन्धित व्यक्तिलाई पठाई दिन भनी अनुरोध मात्र गर्ने हो,' उनले भने।
यता सोही विषयमा बुझ्न गाउँपालिका अध्यक्षसँग सम्पर्क हुन सकेन। उपाध्यक्ष मिना सोमैलाई सोध्दा उनले यस विषयमा आफूलाई कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिइन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले भने यस विषयलाई लिएर दुःख व्यक्त गरे। स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि स्पष्ट बुझाई हुन नसक्दा जिम्मेवार पदमा रहेको व्यक्तिले सामाजिक सञ्जालमा समेत अपाच्य शब्दहरु मार्फत विरोध जनाउनु र अपमानजनक शब्द प्रयोग गरेकोप्रति उनले दुःख व्यक्त गरेका हुन्।
उनले भने, 'साविक जिल्ला स्वास्थ्य कार्यालय हुँदा मातहतका करिब ३ सय ६० जना स्वास्थ्यकर्मीहरुको प्रोफाइल तथा तालिम ,अध्ययनलगागतका सम्पूर्ण विवरणहरु आफूसँग रहेकाले कहाँ, कुन र कस्तो खालको स्वास्थ्यकर्मीको आवश्यकता हुन्छ, सोही मापदण्डअनुसार उहाँहरुलाई तालिममा सहभागी गराएका हौं। उत्कृष्ट स्वास्थ्य संस्था छनोट गरी स्वास्थ्यका सूचकहरुमा राम्रा देखिएका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिममा सहभागी गराइएको हो।'
‘हामीले पूर्वाग्रह ढंगले होइन, सम्बन्धित क्षेत्रधिकारभित्र रहेर बोलाएका हौं,' सुवेदीले थपे।
अहिले यही विषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।
स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयमा सबैको साझा धारणा र समान बुझाई हुनुपर्ने स्वास्थ्यकर्मीहरुको माग छ। यी र यस्ता विषयहरु पुनः नदोहोरिउन् भन्दै जिल्लामा क्रियाशील स्वास्थ्यकर्मीहरुका संयुक्त ट्रेड युनियनहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिसमेत जारी गरेका छन्।
प्युठानस्थित राष्टिय स्वास्थ्यकर्मी संघ नेपाल, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल स्वास्थ्यकर्मी संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।