कानको पर्दा एक पातलो झिल्ली हो, जसले बाहिरी कान र मध्यकानलाई छुट्याउँछ। यसले सुनाइमा महत्त्वपूर्ण भूमिका खेल्छ र कानलाई संक्रमणबाट जोगाउँछ।
कानको पर्दा च्यातिनु भनेको झिल्लीमा प्वाल हुनु हो। यसका मुख्य लक्षणहरू कानबाट तरल पदार्थ बग्नु र सुन्ने क्षमतामा कमी हुनु हो।
कानको पर्दा च्यातिने समस्या कुनै पनि उमेर समूहमा हुनसक्छ। यो धेरैजसो कानमा बारम्बार संक्रमणका कारण र चोटपटकका कारणले हुने गर्छ। कम विकसित र ग्रामीण क्षेत्रहरूमा उपचारको अभावले यो समस्या अझै बढी देखिन्छ। समयमै ध्यान नदिँदा यसले सुनाइमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ।
साना र नयाँ प्वालहरू प्राय: ६ हप्ता भित्र आफैं निको हुन सक्छन्। यदि भएन भने शल्यक्रियाको आवश्यकता पर्छ। धेरै मानिसहरू शल्यक्रिया गर्न हिच्किचाउँछन्। धेरैजसो बिरामीहरु यी १० कारणले गर्दा शल्यक्रियामा ढिलाइ गर्छन् जुन गलत हो।
१. ‘कान पाक्दा औषधिले ठिक गरेको हुनाले शल्यक्रिया गर्नु जरुरी लागेन।’
गलत किन हो?: औषधिले अस्थायी राहत दिन सक्छ कान पाक्दा। तर यसले कानको पर्दाको प्वाल बन्द गर्न सक्दैन। औषधि मात्रले कान भित्रको संरचनालाई दीर्घकालीन असरबाट बचाउन सक्दैन। समयमै शल्यक्रिया नगर्दा संक्रमणले कानको हड्डी, भित्री कान र वरिपरिको भागमा पनि स्थायी असर पार्न सक्छ।
२. ‘कसैकसैको शल्यक्रिया बिना नै ठिक भएको छ।’
गलत किन हो?: प्रत्येक व्यक्तिको कानको समस्या फरक हुन्छ। सानो प्वाल केही मानिसमा आफैं ठिक हुनसक्छ ६ हप्ता भित्र। तर लामो समयदेखि भएको समस्या वा ठूलो प्वाल आफैं ठिक हुँदैन। आफ्नो कानको रोगको बारेमा विशेषज्ञको सल्लाह लिनु जरुरी छ।
३. ‘कानमा दुखाइ नभएको हुनाले तत्काल शल्यक्रिया गर्न आवश्यक लागेन।’
गलत किन हो?: पर्दा च्यातिएको अवस्थामा दुखाइ नभए तापनि ठूलो समस्या निम्त्याउन सक्छ। कानको पर्दामा प्वाल हुँदा, ब्याक्टेरिया र पानीलाई मध्यकानमा जान सजिलो हुन्छ। यसले बारम्बार कानमा संक्रमण गराउने जोखिम बढाउँछ, जसले सुन्न सहयोग गर्ने साना हड्डीहरू तथा भित्री कानलाई असर गरी स्थायी नोक्सान पुर्याउन सक्छ।
४. ‘शल्यक्रिया गरेपछि कानमा झन समस्या हुनछ होला।’
गलत किन हो?: कानको पर्दा मर्मत गर्ने शल्यक्रिया धेरै सुरक्षित मानिन्छ। यो माइक्रोस्कोप या इन्डोस्कोपद्वारा शल्यक्रिया गरिन्छ। योग्य चिकित्सकले गर्दा यो प्रक्रियाले सुनाइमा सुधार गर्छ र संक्रमणको जोखिम घटाउँछ। शल्यक्रिया नगर्दा समस्या झन् जटिल बन्न सक्छ, जसले पछि थप जटिल शल्यक्रिया आवश्यक पर्न सक्छ।
५. ‘बाल्यकालदेखिकै समस्या हो, अहिले कहिलेकाहीँ मात्र कान पाक्छ।’
गलत किन हो?: लामो समयदेखि बाँकी रहेको पर्दाको प्वाल आफैं ठिक हुँदैन। यस्तो अवस्थामा संक्रमण बारम्बार हुनसक्छ, जसले कानको हड्डीहरूमा स्थायी असर गराउन सक्छ या भित्री कानमा असर गरी सुनाइ स्थायी रूपमा बिगार्न सक्छ।
६. ‘मेरो उमेर धेरै भइसक्यो, अब शल्यक्रिया गराएर फाइदा छैन।’
गलत किन हो?: पर्दाको प्वाल भएको लामो समय भए तापनि शल्यक्रियाले सुनाइमा सुधार गर्नसक्छ र संक्रमणको जोखिम घटाउन सक्छ। तपाईंको कानको संरचना जति बचाइन्छ, त्यसले भविष्यका गम्भीर समस्याहरू रोक्न मद्दत गर्छ।यो शल्यक्रिया छिटो र बेहोस नगरी गर्ने हुनाले उमेरले फरक पर्दैन।
७. ‘सुनाई कम भए पनि काम चलिरहेको छ, त्यसैले किन शल्यक्रिया गर्ने?’
गलत किन हो?: तपाईंको कानले अहिले अलि कम भए पनि सुन्दै हुनुहुन्छ। तर उपचार नगर्दा यो सुनाइको समस्या समयसँगै झन् गम्भीर हुँदै जान सक्छ। बारम्बार संक्रमण वा तरल पदार्थ जम्ने कारणले गर्दा सुनाइको स्तर थप कमजोर बनाउन सक्छ, जसले पछि उपचार झन् जटिल बनाउँछ।
८. ‘कानमा कहिलेकाहीं मात्र समस्या हुने भएकोले शल्यक्रियाको लागि प्राथमिकता दिएको छैन।’
गलत किन हो?: शल्यक्रियामा ढिलाइ गर्दा समस्या झन् गम्भीर बन्छ, जसले पछि अझ महँगो र जटिल उपचार आवश्यक पर्न सक्छ। उदाहरणका लागि, संक्रमण कान पछाडिको हड्डीसम्म या मस्तिष्कमा फैलियो भने भर्ना गरी उपचार गर्नुपर्ने या आपतकालीन शल्यक्रिया समेत गर्नुपर्ने स्थिति आउन सक्छ। समयमै उपचार गर्दा समय, पैसा र मानसिक तनाव कम गर्न सकिन्छ।
९. ‘कानको शल्यक्रिया गर्न डर लाग्छ।’
गलत किन हो?: कानको पर्दा मर्मत गर्न गरिने शल्यक्रिया साधारण र सुरक्षित प्रक्रिया हो। यो सामान्यतया कानलाई लाटो गरी गरिन्छ र १ घण्टा भित्र नै सकिन्छ। धेरैजसो केसमा शल्यक्रियाको केही समयपछि नै डिस्चार्ज गर्न सकिन्छ र तुरुन्तै दैनिक काममा फर्कन सकिन्छ। शल्यक्रिया नगरी कानको समस्या बेवास्ता गर्दा गम्भीर जटिलताहरू निम्तिन सक्छन्, जसले अझ गाह्रो शल्यक्रिया गर्नुपर्ने अवस्था ल्याउन सक्छ।
१०. ‘शल्यक्रिया नगरी हेरिङ एड लगाउँदा कस्तो होला?’
गलत किन हो?: हेरिङ एडले अस्थायी रूपमा सुन्ने क्षमता सुधार्न सक्छ। तर यसले कानको पर्दाको प्वालको समस्या समाधान गर्दैन। कानको पर्दाको प्वालले बारम्बार संक्रमण हुनसक्छ, जसले हेरिङ एड प्रयोग गर्न पनि कठिन बनाउँछ।
शल्यक्रिया भनेको समस्या जडबाट समाधान गर्ने प्रक्रिया हो। पर्दाको प्वाल मर्मत भएपछि धेरैजसो अवस्थामा हेरिङ एडको आवश्यकता नै पर्दैन। किनकि सुन्ने क्षमता शल्यक्रियाबाट सामान्य अवस्थामा फर्किन सक्छ। यसरी शल्यक्रिया दीर्घकालीन समाधान हो भनेर बुझ्न सकिन्छ।
मुख्य सन्देश
कानको पर्दा च्यातिँदा समस्या सानो जस्तो लाग्न सक्छ। तर यो समयमै समाधान नगर्दा ठूला जटिलताहरू निम्त्याउन सक्छ। पर्दाको प्वालले संक्रमणलाई भित्र जान दिन्छ, जसले सुनाइ कमजोर बनाउँछ, कानको हड्डीहरू तथा भित्री कानमा स्थायी नोक्सान पुर्याउन सक्छ र संक्रमणका कारण थप जटिल समस्या उत्पन्न हुनसक्छ।
कानको पर्दा मर्मत गर्ने शल्यक्रिया सुरक्षित, प्रभावकारी र दीर्घकालीन समाधान हो। शल्यक्रियाले समस्या जडबाट समाधान गरेर सुनाइ सुधार गर्छ, संक्रमणको जोखिम हटाउँछ र कानलाई प्राकृतिक रूपमा स्वस्थ राख्छ।
शल्यक्रियाले धेरैजसो अवस्थामा सुन्ने क्षमता पूर्ण रूपमा सामान्य बनाउँछ, जसले भविष्यमा हेरिङ एडकै आवश्यकता हटाउन सक्छ। त्यसैले, समस्या देखिने बित्तिकै शल्यक्रिया गराउनु सबैभन्दा सही र दीर्घकालीन उपाय हो।
(ईएनटी सर्जन डा महर्जन पाटन अस्पताल तथा मिराम क्लिनिक, कुमारीपाटीमा कार्यरत छन्।)