काठमाडौँ- नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट विरुद्धमा उभिने वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सिन्डिकेट विरुद्ध आवाज उठाउने नेपाल वैदेशिक राजगार व्यवसायी संघ, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरु, सरकारी निकाय, मलेसियन सरकार तथा दूतावास एवं अन्य सहयोगीलाई धन्यवाद दिएको हो।
संघका अध्यक्ष तारानाथ अर्याल तथा महासचिव कृष्णप्रसाद बजगाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिन्डिकेट खारेज गरेको सूचना सम्प्रेषण गरी आधिकारिक इमेलमार्फत आफ्ना मातहतका समन्वयकारी संस्थाहरुलाई जानकारी गराएकोप्रति नेपालस्थित मलेसियन दूतावासलाई धन्यवाद दिन चाहन्छौं।’
विज्ञप्तिमा उल्लेख छ, ‘मिति २०८१ मंसिर २७ गतेको छलफलमा श्रम मन्त्री शरदसिंह भण्डारीले सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने तथा छुट्टै कानुन बनाई विषेश क्षेत्रको स्वास्थ्य परीक्षण गरिरहेका स्वास्थ्य संस्थाबाट जाँच नगराई कोरिया, इजरायल तथा अन्य देशको स्वास्थ्य परीक्षण अस्पतालबाट गरिरहेको कुरा तुरुन्त बन्द गरी श्रम मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा हृदयदेखि आभार प्रकट गर्दछौं।’
संघले चाँडै नै मलेसिया लगायत अन्य देशमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट अन्त्य भएको सूचना नेपाल सरकारको आधिकारिक निकायबाट प्रकाशित हुने पनि जनाएको छ।