काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जना डाक्टरले आवेदन दिएका छन्।
उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त हाल्न साउन १ गते दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको थियो।
नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पूरा गरी दरखास्त हाल्न समय दिइएको थियो। सोही अनुसार आज अन्तिम दिनसम्म ११ जनाले आवेदन दिएका छन्।
यी हुन् ११ उम्मेदवार
प्राडा श्रीकृष्ण गिरी, प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द्र शेरचन, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा रमेशचन्द्र सिंह, प्राडा जेएन पाण्डेय ‘हिमाली’, प्राडा यहुनचन्द्र शिवाकोटी, प्राडा तरुण पौडेल, प्राडा प्रमोदकुमार शर्मा, डा निलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेलले आवदेन दिएका छन्।
पहिले दिएकामध्ये यस पटक पनि डा गिरी, डा सिंह, डा पोखरेल, डा शर्मा र डा उपाध्यायले दोहो¥याएर आवेदन दिएका छन्।
नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। यसअघि ६१ वर्षको उमेर सिमा राखेका कारण धेरैको आवेदन पर्न सकेको थिएन।
पहिलो पटक असार ९ गते आवेदन माग गरिएको थियो। सो समयमा ६ जना डाक्टरले आवदेन दिएका थिए।
आवेदन दिनेमा गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि थिए। उनले यस पटक पनि आवदेन दिएका छन्।
यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रेक्टार डा श्रीकृष्ण गिरी, डा प्रमोद शर्मा, डा पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झाले पनि आवेदन दिएका थिए।
सिफारिस समितिले उनीहरुले हालेको दरखास्तमा पर्याप्त पुष्टि हुने प्रमाण नपुगको भन्दै नयाँ दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।
नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्र पेस गर्नुपर्ने हुन्छ।
स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँगको निकटतम रहेका डा गिरी उपाध्यक्ष बन्न चर्को दौडधुपमा रहेको यसअघि नै चर्चा भइरहेको छ।
गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ।
उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।
समितिले दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई योग्यता पुगेका आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्ने छ। सोमध्ये सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने छ।
उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।
समितिको बैठक भोलि बिहीबार बस्ने र सो बैठकले आवेदनमाथि अध्ययन सुरु गर्ने छ।