गत वर्ष (सन् २०१८) भारतमा जिकाको प्रकोप फैलिएर सयौंको संख्यामा संक्रमित भएको भारतीय र अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले पुष्टि गरेको छ।
सन् २०१९को जुलाई महिनामा ब्रिटिस मेडिकल जर्नल ग्लोबल हेल्थमा प्रकाशित लेखमा भारतको राजस्थानमा १ सय ५९ जनामा जिका भाइरस संक्रमण प्रमाणित भएको उल्लेख छ।
त्यस्तै भारतको मध्य प्रदेशमा पनि जिका देखिएको थियो। भारतको अरु क्षेत्रमा पनि जिका फैलिएको हुनसक्ने अनुमान वैज्ञानिकहरूको छ। नेपालमा जिका फैलाउने लामखुट्टे पर्याप्त मात्रामा रहेको र दुई देशबीच खुला सीमाको कारणले भारतबाट आउने संक्रमित मार्फत् नेपालमा पनि जिका आयातित हुँदैन भनेर ढुक्क हुने अवस्था छैन।
यस मानेमा नेपालको ढोकैसम्म जिका आइसकेको हुनाले नेपाल यस रोगको उच्च जोखिममा छ।
भारतीय वैज्ञानिकहरूले ठूलो संख्यामा भारतीयहरू मलेसिया र सिंगापुरमा आवतजावत गर्ने भएको र ती देशमा गएको ३ वर्षदेखि नै जिका देखिँदै आएकाले जिका भारतमा आयातित भएको हुनसक्ने सम्भावना रहेको बताउँछन्।
तर, गत वर्षमा देखिएको संक्रमितहरूको भ्रमण इतिहास नभएकाले राजस्थानमा देखिएको बिरामीहरू स्थानीय लामखुट्टेबाट सरेको हुनेसक्ने देखिन्छ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अनुसार भारतमा सन् १९५४ मा नै जिका भाइरस देखा परिसकेको थियो। यदि यस्तो हो भने, नेपालले पनि जिका परीक्षण गर्नमा ढिलाइ गर्नु हुँदैन।
नेपालमा सन् २००४ मा डेंगु पत्ता लागेको थियो। हालै नेपालको इतिहासमा नै पहिलो पल्ट धेरै डेंगु संक्रमित देखिएका छन्। डेंगु देखिने क्रम आजसम्म पनि रोकिएको छैन। डेंगु र जिका फैलाउने लामखुट्टे एकै भएकाले सतर्कता अपनाउनु पर्ने हुन्छ।
नेपालले केही वर्षअघि (ब्राजिलमा जिका महामारी देखिएको समयमा) जिकाको परीक्षण सुरु गरेको त थियो। पंक्तिकारले पनि केही शंकास्पद बिरामीमा जिका परीक्षण गर्न पठाएको थियो। तर, केही दिनपछि परीक्षणले निरन्तरता भने पाएन। यसलाई निरन्तरता दिनु पर्दथ्यो।
एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्दछन्। लक्षणहरू डेंगुसँग मिल्दोजुल्दो हुने भए पनि कडा नहुने भएकाले धेरैले खासै ध्यान दिने गर्दैनन्।
सामान्य ज्वरो आउने, जीउ/जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने यसका लक्षणहरू हुन्। दसैंपछि अस्पताल आइपुगेका केही बिरामीहरू डेंगुको मिल्दोजुल्दो लक्षणहरूका साथै आँखा पनि रातो लिएर आएका थिए।
जुन दसैंअघि देखिएका बिरामीहरूमा देखिएको थिएन। धेरै बिरामीमा जाँच गर्दा डेंगु पोजेटिभ नदेखिने तर लक्षणहरू भने मिल्दोजुल्दो देखिने गरेकोले जिकाको बारेमा पनि सोच्न सकिने थियो वा जिकाको जाँचको सुविधा उपलब्ध हुनु पर्दथ्यो।
विशेष गरेर गर्भवती अवस्थामा जिका संक्रमित भए जन्मने बच्चामा टाउको सानो हुने (माइक्रोकेफाली)तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने अनुसन्धानहरूमा देखाएको छ।
छिमेकी देश भारतमा जिकाको विषयलाई लिएर थप सतर्कता अपनाएको देखिन्छ। भारत मात्र होइन मलेसिया, थाइल्याण्ड लगायत विभिन्न जिका देखिसकेको देशहरूमा विभिन्न प्रयोजनको लागि नेपालीहरू जाने आउने र त्यहाँ जिका संक्रमित भए त्यो यहाँको रैथाने लामखुट्टेमा समेत सर्नसक्ने भएकोले यसप्रति सजकता अपनाउनु पर्ने हुन्छ।
जिका संक्रमित हुँदा लक्षणहरू कडा नहुने भएकोले लगभग कोही पनि चिकित्सकसम्म आइपुग्ने सम्भावना अति न्यून हुन्छ। त्यसैले जहाँ लामखुट्टेको संख्या अत्यधिक छ, त्यहाँ समुदायमा आधारित अनुसन्धान गरी संक्रमित देखिए नीति निर्माताले बृहत योजना बनाइ लागू गर्नसके भविष्यमा हुन सक्ने जिकाको प्रकोपलाई नियन्त्रण गर्न सजिलो हुने थियो।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)