कुमार पन्त
बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि– १९८९ को भाग १ को धारा १ अनुसार १८ वर्षमुनि उमेर भएका व्यक्तिहरुलाई बालबालिका भनेर परिभाषित गरिएको छ।
हाल विश्वको कुल जनसंख्या ७ अर्ब ८० करोड रहेकोमा त्यस्को करिब २९ प्रतिशत (२ अर्ब २७ करोड) जति १८ वर्ष मुनिका बालबालिकाको संख्या रहेको छ। नेपालको हालको जनसंख्या २ करोड ९२ लाख जति रहेको र त्यसको करिब ३० प्रतिशत (८८ लाख) जति १८ वर्ष मुनिको संख्या बालबालिकाको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विपद भन्नाले कुनै प्राकृतिक वा मानव निर्मित प्रकोपको कारण छोटो वा लामो समयसम्म गम्भीर किसिमको मानव, भौतिक, वातावरण तथा आर्थिक क्षति हुने र प्रभावित समुदायले आफनै स्रोत–साधनले प्रतिकार वा व्यवस्थापन गर्न नसक्ने अवस्थालाई जनाउँछ। जस्तैः भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, अतिवृष्टि, अनावृष्टि, लु, तूफान तथा रोगको महामारी, युद्ध आदि विपदका उदाहरण हुन्।
नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हक अन्र्तगत उपधारा १ देखि १० सम्म बालबालिकाको शिक्षा स्वास्थ्य लगायत सर्वाङ्गीण व्यत्तिीत्व विकास आदि हकहरु उल्लेख गरिएको छ।
संविधानकै धारा ३१ मा शिक्षा सम्बन्धी हक र उक्त धाराको उपधारा १ देखि ५ सम्म आधारभूत शिक्षाको पहुँच हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक आदिको व्यवस्था गरिएको छ।
शिक्षाको साथसाथै बालबालिका समेतको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। सोही धाराको उपधारा १ देखि ४ सम्म आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगरिने आदि व्यवस्था गरिएको छ।
कोभिड–१९ को परिचय
२०१९ को मध्यबाट चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को विश्वव्यापी महामारी तीव्र रुपमा फैलिँदै पाकिस्तान, इरान, इटाली, अमेरिका, भारत हुँदै नेपाल लगायत विश्वभरि फैलिएको छ। यो रोग नियन्त्रण र रोकथामका लागि विश्वभरि नै लकडाउन, निषेधाज्ञा, क्वारेन्टाइन, आइसोलेसन, कन्ट्याक्ट टे«सिङ, सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानी वा स्यानिटाइजरले हात मिचिमिची धुने र भिडभाड नगर्ने आदि गतिविधि हुँदै आएका छन्।
कोरोनाको शंकास्पद व्यक्तिको नाक र घाँटीबाट स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि सुविधा भएको प्रयोगशालामा परीक्षण गरी संक्रमण निदान गर्र्नेे कार्य नेपाल लगायत विश्वभरि भइरहेको छ। लक्षण देखिएका व्यक्तिहरुको अस्पतालहरुमा उपचार भइरहेको छ भने लक्षणविहीन व्यक्तिहरुलाई आइसोलेसन वा होम आइसोलेसनमा राखी व्यवस्थापन भइरहेको देखिन्छ।
विश्व नै कोभिड—१९ संक्रमणले आक्रान्त भएको बेला १८ वर्ष मुनिका बालबालिका लगायत, गर्भवती, सुत्केरी, अपा¨ता भएका व्यक्तिहरु, जेष्ठ नागरिक र दीर्घरोगीहरु समेत यो रोगको बढी जोखिममा रहेका छन् भने भविष्यका कर्णाधार बालिबालिका यो रोगको चपेटाबाट मुक्त रहन सकेका छैनन्।
कोरोना भाइरस डिजिज (छोटकरीमा कोभिड–१९) भन्ने एक किसिमको भाइरसबाट सर्ने नयाँ सरुवा रोग हो, जुन रोगको किटाणु सन् २०१९ मा चीनमा पत्ता लागेको हो। यो श्वाशप्रश्वासको माध्यमबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छियुँ गर्दा नजिकमा रहेका स्वस्थ व्यक्तिलाई सजिलै सर्छ। यो रोगका मुख्य लक्षणहरु ज्वरो आउने, खोकी लाग्ने र स्वाशप्रश्वासमा समस्या आउनु हो भने सहायक लक्षणहरुमा थकाइ लाग्ने, जीउ दुख्ने, आलश्य उत्पन्न हुने, घाँटी दुख्ने, टाउको दुख्ने, स्वाद थाहा नहुने हो। कसैकसैलाई झाडापखाला वा वान्ता समेत हुनसक्छ।
नेपालमा भएका कुल संक्रमितमध्ये करिब ३० प्रतिशतजति बालबालिकामा कोरोना संक्रमण भएको अनुमान गरिएको छ।
यो रोगको निदान महँगो प्रविधि पिसिआरबाट हुने गरेको र रोग लागिसकेपछि हालसम्म कुनै औषधि उपचारको व्यवस्था नभएको तथा लाक्षणिक उपचारमात्रै हुने गरेको छ भने हालसम्म यो रोग विरुद्धको खोप समेत पत्ता लागेको छैन।
कोरोना संक्रमणका कारण शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव
विश्वव्यापी फैलिरहेको कोरोनाको महामारी र यसको सन्त्रासले विश्वभरि शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र र सामाजिक–आर्थिक क्षेत्र लगायत सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित पारेको छ।
यो रोगको संक्रमण नफैलियोस् भनी विश्व स्वास्थ्य संगठनले सुझाएका रोकथाम तथा नियन्त्रणका उपायहरु विश्वभरि लागू गरिएका छन्। मानिसहरुको एक देशबाट अर्को देश र एक ठाउँबाट अर्को ठाउँमा आवतवजावत रोक्न लकडाउनको घोषणा गरिएको थियो। नेपालमा पनि सुरुमा लकडाउन गरियो र लकडाउन प्रभावकारी नभएपछि केही जिल्लामा निषेधाज्ञासम्म गर्नु परेको थियो।
यस्तो विषम परिस्थितिमा भारत लगायत जोखिम क्षेत्रबाट आएका नागरिकबाट समुदायमा कोरोना नफैलियोस् भनी सरकारले विद्यालयहरुलाई क्वारेन्टाइन बनाएको अवस्था एकातिर छ भने विद्यालयमा अध्ययन–अध्यापन गराउँदा भीडभाड हुने र विद्यार्थी तथा शिक्षकमा कोरोना सर्ने डरले विद्यालय बन्द रहेको अवस्था अर्कोतर्फ छ।
दुर्गम पहाडी र हिमाली जिल्लाहरुमा त कोरोना पोजेटिभ भएकाहरुको लागि आइसोलेसन सेन्टर समेत विद्यालयहरुमा व्यवस्थापन गरियो। लामो समय विद्यालय जान नपाउँदा र पढाइ ठप्प हुँदा हामी जस्ता विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने अवस्था रहेको देखिन्छ भने पढाइ नहँुदा ज्ञान हासिलमा नकारात्मक प्रभाव परिरहेको छ। सरकारले अनलाइन, टिभी तथा रेडियोबाट अध्ययन–अध्यापन गर्न–गराउन स्रोत र साधनको अभावमा असम्भव भएको अवस्था छ।
प्राइभेट विद्यालयका शिक्षकहरुले तलब–भत्ता पाउन सकेको अवस्था छैन भने अभिभावकले विद्यालयलाई शुल्क तिर्न सकिरहेका छैनन्। बाहिरी जिल्लाबाट सहरमा आएर अध्ययन गर्ने विद्यार्थीलाई कोठाभाडा समेत फजुलमा तिनुपर्ने अवस्था रहेको छ।
स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने कोभिड १९ को कारणले बालिबालिकाको शारीरिक, सामाजिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। जम्मा संक्रमितमध्ये करिब ३ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोनाको संक्रमण फैलिएको अनुमान गरिएको छ। बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वयस्कहरुको भन्दा कम हुने, अझै गरिब र कुपोषित बालबालिकामा त रोग सर्ने सम्भावना झनै बढी हुने भएकोले रोग हुने र मृत्यु हुने दर बालबालिकामा बढी भइरहेको छ।
अर्कोतिर, कोरोनाको सन्त्रास समाजमा व्याप्त भएकोले कोरोना प्रभावित बालबालिका तथा उसको परिवारलाई समाजबाट माया र सद्भाव तथा सहयोगको सट्टा घृणा र चरम सामाजिक विभेद भई उनीहरुको सामाजिक स्वास्थ्य समेत नराम्रोसँग प्रभावित भएको कसैबाट छिपेको छैन। कोरोना लागेको परिवारलाई हेय तथा छिछि, दूरदूर गर्ने र निको भइसकेपछि पनि सडकमा हिँडदा कोरोना सरिहाल्ने हो कि भन्ने मानसिकता समाजमा व्याप्त रहेको देखिन्छ। सामाजिक विभेद तथा घृणाको कारण मानसिक पीडा र डिप्रेसन जस्ता समस्या बालबालिकामा देखिएर केहीले आत्महत्या समेत गरेका उदाहरण पत्रपत्रिका तथा समाचारबाट सुन्न पाइन्छ।
संक्रमित बालबालिकाको उपचारको लागि अस्पताल जाँदा समेत स्वास्थ्यकर्मीहरुले आफूलाई कोरोना सर्छकि भन्ने डरले बालबालिकाको उचित उपचार र मधुरबोली नसुन्दा बिरामी बालबालिकाको मन झनै खिन्न हुने र स्वास्थ्य अवस्था झन खराब हुने गरेको पाइएको छ।
अस्पतालहरुमा उचित तथा पर्याप्त बेड, जनशक्ति र आधुनिक औजार उपकरण र औषधिको अभाव भए पनि हालका दिनमा सरकारले सबै कुरामा अभिवृद्धि गरिरहेका पाइएको छ, तथापि यो सेवा अझै पर्याप्त छैन। कारोना रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपायहरु उल्लंघन भइरहेकोले संक्रमण दर दिनानुदिन बढिरहेको छ। कोरोना संक्रमणको कारण व्यापार, उद्योग, कलकारखाना तथा व्यवसाय समेत चौपट रहेको, कृष्ीि क्षेत्रमा समेत मलखाद लगायत दक्ष जनशक्ति समेत उपलव्ध नभएको कारण उत्पादनमा नकारात्मक असर परेको छ।
कोभिड–१९ न्यूनीकरणका उपाय
१. संक्रमण दरको तिव्रता २. उक्त रोगले मानिसलाई रोगको चिह्न लक्षण सहित रोगी बनाउन सक्ने क्षमता ३. रोगको कारण बिरामी भई थला पर्ने समयावधि ४. रोगको निको हुन दर ५. रोगको कारण शारीरिक तथा मानसिक रुपमा हुने अपा¨ता तथा ६. रोगको कारणले हुने मृत्युदर गरी ६ वटा आधार बनाई कुनै पनि रोग कति गम्भीर किसिमको छ भनी विश्लेषण गर्ने प्रचलन हुन्छ। कोरोनाको सन्दर्भमा हेर्न हो भने यसको संक्रमण तीव्र वा बढी भए पनि निको हुने दर धेरै बढी भएको र अन्य ४ वटा आधार एकदमै न्यून भएकोले विश्वभरि र नेपालमा कोरोनाको बारेमा जेजस्तो सन्त्रास फैलाइएको छ, त्यो युक्तिसंगत भएको देखिँदैन। तथापि, यो रोग विश्वमै नयाँ रोग भएकोले हामी सबैले उच्च सर्तकता, सावधानीका साथसाथै रोकथाम, नियन्त्रण र उपचार उचित व्यवस्था गर्नु नै बुद्धिमानी ठहर्छ।
शिक्षा क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने उपाय
१. विद्यालयहरुलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टर नबनाई वैकल्पिक व्यवस्था गरिनुपर्छ।
२. यो रोगको मृत्युदर न्यून अथवा एक प्रतिशतभन्दा पनि कम भएकोले कोरोनाका धेरै हाउगुजी गर्नुभन्दा सरभाइभल अफ फिटेस्ट र नेचुरल सेलेक्सन अफ स्पिसेज भन्ने डार्विनको सिद्धान्तलाई समेत मध्यनजर गरी सावधानी अपनाएर विद्यालयलाई विस्तारै खुला गरिनुपर्छ।
३. केही नहुनुभन्दा केही हुनु जाति भने जस्तै अनलाइन, टिभी तथा रेडियोबाट कक्षा सञ्चालन गरिनुपर्छ र सबै विद्यार्थीलाई दूरशिक्षाको पहुँचमा ल्याउन जरुरी छ।
४. क्वारेन्टाइन र आइसोलेसन रहेका विद्यालयहरुलाई निर्मलीकरण गरिनुपर्छ।
५. प्राइभेट विद्यालयका शिक्षकहरुलाई राहत प्रदान गरिनुपर्छ, साथसाथै सरकारी विद्यालयका राहत दरबन्दी आदिमा काम गर्ने शिक्षकहरुलाई समेत उचित क्षतिपूर्ति दिई उनीहरुको परिवारका सदस्यलाई लालनपालन गर्न सक्ने व्यवस्थाको लागि आर्थिक सहयोग गरिनुपर्छ।
६. सक्ने र क्षमता भएका अभिभावकहरुले स्वेच्छाले वैशाखदेखिको फी तिरी विद्यालय र अध्यापकहरुलाई सहयोग गर्नुपर्छ।
७. विद्यार्थीलाई घरमै भए पनि अभिभावकले नियमित निगरानी गरी पढ्ने र सिक्ने वातावरण कायम गर्नुपर्छ। घरायसी काममा समेत बालबालिकालाई संलग्न गराई व्यस्त राख्नुपर्छ।
स्वास्थ्य क्षेत्रमा परेको असर न्यूनीकरण कसरी गर्ने?
१. कोरोना के हो र के होइन, यसको बारेमा एफएम, टिभी, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल आदिबाट व्यापक रुपमा यसको सत्यतथ्यबारे जनचेतना अभिवृद्धि गर्नुपर्छ।
२. कोरोनाको उच्च जोखिमबाट आएका बालबालिकालाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा उचित बसोबास, पोषणयुक्त खाना, सरसफाइ, मनोरञ्जन आदिको व्यवस्था गरी एक आपसमा रोगको संक्रमण नफैलिने उचित व्यवस्था गरिनुपर्छ।
३. कोरोना पोजेटिभ आएका बालबालिकालाई उचित स्याहार, सुसार, खानपान, मानसिक तनाव कम गर्ने वातवारण आदि कायम गरिनुपर्छ। लक्षण देखिएकाहरुको हकमा विशेष लाक्षणिक उपचार सहित उचित हेरचाह र मायाको वातावरण सिर्जना गर्नुपर्छ।
४. कोरोनाको बारेमा प्रचार भइरहेका मिथ्या कुराहरुलाई चिरी सामाजिक सद्भाव र सहयोग बढाउन सम्बन्धित सरोकारवाला निकायहरु जस्तैः संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले विशेष भूमिका खेल्नुपर्छ।
५. व्यक्तिगत सुरक्षा सामग्रीहरुको उपलब्धता, औषधि, औजार–उपकरण तथा निदान गर्ने व्यस्था सजिलो र सहज गरिनुपर्छ।
६. माानसिक स्वास्थ्यसँग सम्बन्धित उचित शिक्षा र परामर्श वृहद रुपमा सञ्चालन गरिनुपर्छ।
७. सामाजिक भेदभाव तथा घृणा फैलाउने, सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ।
८. अस्पतालहरुमा कोरोना संक्रमण भएका वा रोगका लक्षण देखिएका बालबालिकको लागि विशेष किसिमको उच्च सुविधा सहितको वार्ड स्थापना गरी उपचार सेवा दिइनुपर्छ।
अन्त्यमा, कोरोना संक्रमणको विश्वव्यापी महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न विश्वस्तरमा सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्छ। शान्ति र विश्वबन्धुत्वको भावना कायम राख्दै सबै मिली यो महामारीलाई परास्त गर्नु आजको आवश्यकता देखिएको छ।
महामारीको कारण सम्पूर्ण मानव जाति विशेषगरी भविष्यका कर्णधार बालबालिका निकै जोखिममा छन्। यो जोखिमबाट बचाई उनीहरुको शिक्षा र स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई समयमै हटाएर, देशको सामाजिक–आर्थिक अवस्थालाई सदृढ गर्नु जरुरी छ। साथै, संविधानले दिएको बालबालिका सम्बन्धी हक तथा अधिकारको पूर्ण कार्यान्वयनमा सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, समाज, परिवार तथा व्यक्तिविशषले समेत सकारात्मक भूमिका खेल्न आग्रह गर्दछु।
(ऐश्वर्य विद्या निकेतन, धनगढी, कैलालीमा कक्षा १० मा अध्ययनरत पन्तले सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको वक्तृत्वकलामा प्रस्तुत गरेको आलेख।)