सीजन लामिछाने
मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ। यसै अवसरमा देश तथा विदेशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिए। हामीकहाँ पनि पछिल्लो समयमा मधुमेह लगायत अन्य थुप्रै नसर्ने दीर्घरोगको संख्या र चासोमा उल्लेखनीय वृद्धि देख्न सकिन्छ।
मधुमेहका बिरामी लगभग हरेक घर(परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त र पर्याप्त भएको भने पाइँदैन। अझै पनि धेरै मान्छेहरुमा मधुमेह रोगप्रति आ-आफ्नै पूर्वाग्रही धारणा रहेका छन्। स्वयं मधुमेहका बिरामीले पनि यस रोगको बारेमा पर्याप्त जानकारी र परामर्श नपाएको हो कि भन्ने महसुस हुन्छ।
यसै अवस्थामा, मधुमेह सम्बन्धी आम मानिसमा रहेका मान्यता र प्रमाणित तर्कहरुका माध्यमले ती मान्यताको विश्लेषण गर्ने कोसिस यो लेखद्वारा गर्न खोजिएको छ।
धारणा १ : मधुमेह वृद्ध अवस्थामा मात्र वा उमेर बढ्दै जाँदा मात्र लाग्ने रोग हो।
विश्लेषण : साधारण रुपमा बुझ्दा मधुमेहमा दुई अवस्था हुन्छन् पहिलो, इन्सुलिन नामक रसायन पर्याप्त मात्रामा अग्नासयले निकाल्न नसकेको अवस्था र दोस्रो, अग्नासयले निकालेको इन्सुलिनलाई शरीरका कोषले उपयुक्त रुपमा उपयोग गर्न नसकेको अवस्था।
पहिलो प्राय: टाइप-१ मधुमेहमा हुन्छ भने दोस्रो मुख्यतस् टाइप(२ को विशेषता हो। हामीकहाँ धेरै देखिने र मान्छेलाई धेरै थाहा भएको चाहिँ टाइप-२ मधुमेह हो। टाइप-२ मधुमेह उमेर बढ्दै जाँदा, विशेषगरी खानपान र जीवनशैलीका कारणले, वयस्कहरुमा लाग्ने रोग हो। तर टाइप-१ मधुमेह भने सानै उमेरदेखि नै देखिने गर्छ।
बालक अथवा किशोर अवस्थामा पनि मधुमेह लाग्छ भन्ने सुन्दा कतिलाई अचम्म पनि लाग्न सक्छ। तर विश्वभरि यस रोगका बिरामीमा धेरै बालबालिका र किशोरकिशोरी पनि पर्ने गर्छन्। टाइप-१ मधुमेहका अधिकांश बिरामीलाई इन्सुलिनको सुईको आवश्यकता पर्ने गर्छ।
त्यस्तै, कुनै पनि उमेरका गर्भवती महिलामा पनि कहिलेकाहीँ अचानक मधुमेह देखिने हुनसक्छ। यसलाई “जेस्टेसनल डायबिटिज” भन्ने गरिन्छ। हाल विश्वमा नवजातमा देखिने मधुमेह जस्ता विभिन्न खालका मधुमेहका पहिचानले मधुमेह केही सीमित उमेर समूहमा मात्र लाग्छ भन्ने धारणाको खण्डन गर्छन्।
धारणा २ : धेरै चिनी खाएका कारण मान्छेलाई मधुमेह लाग्छ।
विश्लेषण : हामी मधुमेहलाई सामान्य तरिकाले “चिनीरोग” वा “सुगर” भनेर चिन्ने गर्दछौं। नामकै कारणले पनि होला, मधुमेह लाग्नुको कारण चिनी वा गुलियो खानेकुराको बढी सेवन गर्नु हो भन्ने पनि धेरै मानिसलाई लाग्छ। मधुमेह लागिसकेपछि गुलियो कुराहरु कम खानु वा खाँदै नखानु भन्ने जानकारीले पनि यो मान्यतालाई अझै दृढ बनाएको पाइन्छ। चिकित्सकले “तपाईलाई मधुमेह भएछ” भन्दा धेरैजसोको पहिलो रेस्पोन्स नै “तर डाक्टरसाब, म त त्यति चिनी नै खाँदिन” भन्ने हुनसक्छ। तर यो मान्यता सरासर गलत हो।
टाइप-२ मधुमेह लाग्नुको मुख्य कारण मोटोपन, शारीरिक व्यायामको कमी र अन्य जीवनशैली सम्बन्धित कार्यहरु हुन् भने टाइप-१ मधुमेह चाहिँ अहिलेसम्म वंशाणुगत कारणले नै हुने गरेको बताइन्छ। मधुमेहको पुष्टि भइसकेपछि रगतमा चिनी वा ग्लुकोजको मात्रा अचानक धेरै नबढोस् भन्ने हेतुले चिनीजन्य खाना नखान उचित मानिए तापनि चिनी खाएकै कारण मधुमेह लाग्छ भन्ने धारणा वास्तवमै गलत हो।
धारणा ३ : मधुमेह आलु र भात खानु नहुने रोग हो।
विश्लेषण : मधुमेह वास्तवमा के खानु र के नखानु भन्दा पनि के खानु र कति खानु भन्ने विषयसँग बढी सम्बन्धित अवस्था हो। हामी मधुमेह भयो भने आलु र भात चाहिँ खाँदैनौं तर बाहिर रेस्टुरेन्टमा गएर मजाले जंक खाजा खाइदिन्छौं। जसले गर्दा हामी आफूलाई मैले राम्रोसँग आफ्नो खानपिन मिलाइरहेको छु जस्तो लागे पनि वास्तवमा स्वास्थ्यलाई हानि पुर्याइरहेका हुन्छौं।
मधुमेहका लागि सबैभन्दा उचित उपाय भनेको कोही दक्ष न्युट्रीसनिस्टसँग लगातार सल्लाह लिने, कुन खानामा कति कार्बोहाइड्रेट हुन्छ भन्ने कुरा राम्ररी बुझ्ने अनि आफूले दिनभरिमा कतिकति र केके खाएँ भन्ने कुराको लेखाजोखा राख्ने बानी बसाल्नु नै हो। आलु र भात त्याग्नुभन्दा पनि हरेक दिन सबै पोषण तत्व मिलाएर ब्यालेन्स्ड़ डाइट खानु मुख्य आवश्यकता हो।
आलु र भात बढी ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा मध्येका हुन्। यस्ता खानेकुरा खाएपछि अति छिटो रगतमा चिनीको मात्रा बढाइदिने हुँदा नखाने वा कम खाने सल्लाह दिइन्छ, जुन धेरै हदसम्म ठिक पनि हो। तर दिनभरि खाने अरु खानेकुराको मात्रा र समय मिलाउने हो भने यस्ता खाने कुराहरु पनि केही हदसम्म आफ्नो दैनिक खानामा समावेश गर्न भने अवश्य सकिन्छ। यसो गर्दा मन पर्ने खानेकुरा त्याग्नै पर्ने बाध्यताबाट मधुमेहका बिरामी बच्न सक्छन्। उचित ढंगले, सोचेर अनि आफ्नो शरीर बुझेर खाने बानी बसाल्नाले मधुमेहीलाई मात्र नभएर सबैलाई फाइदा नै पुर्याउँछ।
धारणा ४ : फलफूल राम्रा खानेकुरा हुन् र जति खाए पनि नराम्रो गर्दैनन्।
विश्लेषण : हुन त फलफूल स्वास्थ्यका लागि असाध्यै राम्रो खानेकुरामा पर्दछन्। मधुमेहका बिरामीलाई पनि फलफूल खाने सल्लाह दिइन्छ। तर अघि भनेजस्तै सबैभन्दा महत्वपूर्ण कुरा भनेको कति खाने भन्नु नै हो। फलफूल प्राकृतिक गुलियोपनाले भरिएको हुन्छ। धेरै फलफूल मात्र खानाले रगतमा चिनीको मात्रा अचानक बढाइदिन सक्छ। चिकित्सकहरुले पनि त्यसै कारणले दिनमा एउटा मात्र फलफूल खाने सल्लाह दिने गर्छन्।
मेवा, खर्बुजा, भुइँकटहर जस्ता फलफूल चाहिँ एक चिरा मात्र खाने सुझाव दिइन्छ। अघि भनेझैँ ब्यालेन्स्ड़ डाइट खाना खानलाई दिनहुँ एउटा फलफूल आफ्नो दैनिक आहारमा समावेश गर्न सकिन्छ। तर फलफूल राम्रो हो भन्दैमा धेरै मात्रामा खानु वा फलफूल मात्र खानु मधुमेहीको लागि राम्रो सावित हुँदैन। फलफूल खाँदा पनि आँप, अंगुर, केरा, अनार जस्ता धेरै गुलिया फलफूल भन्दा स्याउ, एभोकाडो, इस्ट्रबेरी, मेवा, अमला, जामुन जस्ता फलफूल रोज्दा अझै लाभदायी हुन्छ।
धारणा ५ : इन्सुलिनको सुई लगाउनु भनेको मधुमेहको अन्तिमरसबैभन्दा भयावह स्टेज हो।
विश्लेषण : इन्सुलिन विशेषगरी टाइप-१ मा चाहिने भए पनि टाइप(२ का केही बिरामीले पनि इन्सुलिनको प्रयोग गर्नु परेको पाइन्छ। इन्सुलिन, सुईको माध्यमबाट शरीरमा लगाइन्छ र यसको डोज चिकित्सकको सल्लाह अनुसार फेरबदल गरिन्छ।
मान्छेलाई इन्सुलिन लगाउने व्यक्तिप्रति अनावश्यक दया वा विचरा भाव उत्पन्न हुनसक्छ। दिनदिनै सुई लाउनुपर्ने भन्दा शरीरभरि घाउ होला भनेर अनुमान गर्न सक्छन्। तर वास्तवमा इन्सुलिन लगाउने एउटा अति पातलो सुई बनाइएको हुन्छ, जसले बोसोमा खोप्दा अनुमान गरिएजस्तो घाउ पनि हुँदैन र पीडा पनि हुँदैन।
त्यस्तै, इन्सुलिन त अन्तिम अवस्थामा लगाउने हो भन्ने अनुमान पनि मुलत: भ्रमित अनुमान हो। चिकित्सकको सल्लाह अनुसार इन्सुलिन लगाउनु खाइने ट्याब्लेटभन्दा अझै सुरक्षित र मधुमेहलाई नियन्त्रणमा राख्न अझै बढी उपयोगी भएको कुरा अनुसन्धानले देखाएका छन्। इन्सुलिन अन्तिम स्टेजमा मात्र नभएर रगतमा ग्लुकोजको मात्रा चाँडै र सुरक्षित ढंगले नियन्त्रणमा ल्याउनको लागि कुनै पनि समयमा उपयोग गर्नुपर्ने हुनसक्छ। यसमा डराउने, आत्तिनुपर्ने कुरा खासै हुँदैन।
धारणा ६ : एलोप्याथी औषधि सेवनभन्दा आयुर्वेद, होमियोप्याथी आदि वैकल्पिक उपचार प्रणालीबाट मधुमेह ठिक पार्न सकिन्छ।
विश्लेषण : अहिलेसम्म मधुमेहलाई चिकित्सा विज्ञानले निको पार्न नसकिने तर उचित खानपिन, नियमित औषधि र पर्याप्त शारीरिक व्यायामले नियन्त्रण भने गर्न सकिने अवस्थाको रुपमा व्याख्या गरेको छ। तर त्यसो भनिरहँदा, आयुर्वेदिकजस्ता अन्य वैकल्पिक उपचार प्रणालीहरुले आक्कल-झुक्कल योग, जडिबुटी र विशेष केही घरेलु उपाय अपनाउनाले मधुमेह ठिक हुनसक्ने बताइरहेको पनि नसुनिने भने होइन।
तथापि, वैज्ञानिक अनुसन्धान र ठोस प्रमाणका अभावमा यिनलाई आधिकारिक र भरपर्दो मानिहाल्न चाहिँ मिल्ने आधार तत्काल देखिंदैन। निको पार्ने नै कुरामा सत्यता पुष्टि नभए तापनि मधुमेह नियन्त्रणमा चाहिँ घरेलु उपाय, विशेष बोटबिरुवारफलरपात वा विशेष योगरआसन केही हदसम्म उपयोगी हुने कुरा पनि विभिन्न अनुसन्धानले नै पुष्टि गरेको पाइन्छ। जस्तै, जामुन, मेथीका दाना जस्ता खानेकुराको सेवन र कपालभाती, मंडुकासन जस्ता योगाभ्यासले समेत मधुमेह नियन्त्रणमा सहयोग पुर्याउने केही अनुसन्धानले समेत देखाएका छन्। तर मधुमेह च्वाट्टै निको पार्छ भन्ने कुरा चाहिँ सत्य होइन।
भ्रम र तथ्य त विभिन्न अनुसन्धान हुँदै जाँदा, औषधि र उपचारका विधिको आविष्कार बढ्दै जाँदा आखिर परिवर्तन हुँदै नै जान्छन्। अहिले उपलब्ध जानकारी अनुसार, सन्तुलित आहार, पर्याप्त शारीरिक व्यायाम, नियमित परीक्षण र विज्ञसँगको नियमित परामर्शका साथै नियमित औषधि सेवन र उच्च आत्मविश्वास नै मधुमेह नियन्त्रणका मुख्य सूत्र हुन्। कोभिड कहरमा अझै बढी जोखिम रहेको हुँदा मधुमेहीहरु अझै सचेत र आत्मविश्वाशी बन्नु पनि उत्तिकै आवश्यक छ।
मधुमेह सचेतना महिनाको सबैमा शुभकामना१ चेतना फैलाउनु र भ्रम मेटाउनु हामी सबैको कर्तव्य हो।