काठमाडौं – इजरायलको अस्पतालमा इरानले आक्रमण गरेको छ। इरानले दक्षिण इजरायलको बेर्सेबा शहरमा रहेको सोरोका अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्।
इजरायली अधिकारीहरूका अनुसार सोरोका अस्पतालमा इरानले प्रहार गरेको बलिस्टिक मिसाइल आक्रमण भएको हो।
इजरायल र इरानबीचको आक्रमण एक सातादेखि जारी छ। इजरायली सैन्य अधिकारीका अनुसार इरानले आज इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको हो। जसले थुप्रै नागरिकलाई क्षति पुर्याएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समाचारहरुले अस्पतालमा आक्रमण भएको विषय उल्लेख गर्दै सामाजिक सञ्जालमा आइरहेका केही अपुष्ट भिडियो फुटेजहरू र त्यसका विवरण समेत राखिरहेका छन्। धुलो र भग्नावशेषले भरिएका अस्पतालका करिडोरमा मानिसहरू भाग्दै गरेको र चिकित्सकहरू भवनको भग्नावशेषबाहिर उभिएको भिडियो फुटेजका विवरणहरु बाहिर आइरहेका छन्।
'दक्षिणी इजरायलको बेर्सेबामा रहेको सोरोका अस्पतालमा प्रत्यक्ष आक्रमण भएको खबर छ। थप विवरण आउन बाँकी छ,' इजरायलको विदेश मन्त्रालयले एक्समा पोस्ट गरेको छ।
अस्पतालका प्रवक्ताले अस्पतालमा क्षति पुगेको र विभिन्न क्षेत्रमा व्यापक क्षति भएको प्रतिक्रिया दिएको गार्जियनले उल्लेख गरेको छ। 'हामी हाल क्षति र घाइतेहरूको मूल्याङ्कन गर्दैछौँ। जनतासमक्ष अहिले अस्पताल नआउन अनुरोध गर्छौ', प्रवक्ताले भनेको भनाई गार्जियनले उल्लेख गरेको छ।
यसअघि देशभर साइरन बजेका थिए र इजरायली सञ्चारमाध्यमले मध्य इजरायलमा धेरै ठूला विस्फोटका आवाज सुनिएको र अन्य केही स्थानमा पनि प्रत्यक्ष आक्रमण भएको जनाएका छन्। तेल अविव र जेरुसेलममा पनि विस्फोटका आवाज सुनिएका छन्।