- डा प्रकाश बञ्जाडे
डाक्टरहरूमा शैक्षिक आरक्षण नीतिहरू विवादास्पद छन्। आरक्षणले चिकित्सा क्षेत्रलाई सही मार्गमा हिँडाउनुपर्छ तर अवस्था त्यस्तो देखिँदैन। आरक्षणका लागि कसरी विद्यार्थीहरु छनोट गरिन्छ? योग्यता, नियमहरू के हुन्? आदिबारे खुला बहस गर्नुपर्ने धेरले बुझ्नुपर्ने बेला आएको छ।
यसमा समावेश गरिएका सिद्धान्तहरू, विसंगतिहरू, न्यायिक असफलताहरू, विवादास्पद मुद्दाहरू आदिले यसलाई जेलेको छ। जान्नुपर्नेछ समानता, सीमा सर्तहरू, मेरिट आर्गुमेन्टहरूको बारेमा। राजनीति त मुख्य समस्या हो। यो त्यस्तो गठबन्धन बनेको छ, जहाँ उनीहरुले दीर्घकालीन असर नहेरी तत्कालिक लाभका लागि नीति बनाइरहेका छन्।
सबै आरक्षण/सामाजिक न्यायका मामिलालाई एउटै तराजुमा जोख्न सकिँदैन। अन्यथा विसंगतिहरू निर्माण हुन्छन्। जुन विसंगतिले प्रतिभामाथि प्रहार गर्छ। चिकित्सामा आरक्षणको नीतिबाट हामीले नेपालमा स्वास्थ्य सेवाको वास्तविक प्रभावलाई हेर्नु आवश्यक छ। नेपालमा डाक्टरहरूको अभाव छैन तर उनीहरू कहाँ छन्? मुख्य समस्या हो। नेपालमा आज चिकित्सा सेवा सहरी धनीहरूको थप धनी हुने माध्यम हो। सरकारले आफ्नो सेवाहरू घटाएको छ र साथै डाक्टर र चिकित्सा सुविधाहरू सहरी र अर्ध-सहरी केन्द्रहरूमा प्रोत्साहित गरिएको छ । जहाँ पैसा तिर्न सक्षम धेरै जना हुन्छन् वा प्राइभेट सेवा लिइरहेका हुन्छन्। ग्रामीण क्षेत्रमा पूर्वाधारहरू अझै पनि कमजोर छ र यस्तो उपेक्षाले प्रतिबद्ध डाक्टरलाई त्यहाँ बस्न वातावरण बनाइँदैन।
शिक्षामा वञ्चितहरुलाई पहुँच दिन आरक्षण आवश्यक छ, तर नेपालमा चिकित्सा अभ्यास र स्वास्थ्य सेवाको अनुहार बदल्नको लागि अझ धेरै कुरा चाहिन्छ। वास्तवमा सम्पूर्ण प्रणालीलाई परिवर्तन गर्नु आवश्यक छ। स्वास्थ्य सेवालाई अधिकारको रूपमा हेर्नुपर्छ। चिकित्सालाई वित्तीय सुरक्षा प्रदान गर्नुपर्छ तर यसको अर्थ ठूलो रकम दिने होइन। यसले मुख्यतया आर्थिक उन्नतिका लागि प्रवेश गर्नेहरूको आकर्षण कम गर्दछ। चिकित्सा बिरामी, अशक्त र निराश व्यक्तिहरूलाई सहयोग गर्ने सम्बन्धमा हुनुपर्छ।
चिकित्सक भइसकेपछिको आरक्षणका विषयमा छलफल गर्नैपर्ने समयमा हामी छौं। चिकित्सामा ग्र्याजुएटहरुले यो पनि भन्न सक्नुपर्छ कि हामी आरक्षण चाहँदैनौं। जसले हाम्रो क्षमता र योग्यतामाथि प्रश्न गर्छ, त्यस्तो आरक्षण जरुरी छैन। कनभने खुला प्रतिस्पर्धाबाट अब्बल चिकित्सक निर्माण हुन्छन्। विशेषगरी पोस्ट ग्र्याजुएसनमा आरक्षण एकदम अन्यायपूर्ण छ किनकि पोष्ट एमबिबिएस (जुनसँग पहिले नै अत्यधिक आरक्षण प्रणाली रहेको छ जुन सबै कुराको आधारमा गैर-योग्यतामा आधारित छ) प्रत्येक विद्यार्थी बराबर मानिन्छ। सरकारले उनीहरूलाई विशेष अधिकार दिएर अन्य विद्यार्थीहरूको बराबरीको मञ्च प्रदान गरेर उत्थान गरिसकेको छ।
यसमा समावेश भएका केही मुख्य मुद्दाहरूलाई प्रकाश पार्नुपर्छ, विशेषगरी नेपालको चिकित्सा शिक्षा प्रणालीको सन्दर्भमा। एमबिबिएसमा आरक्षण जरुरी छ। किनभने उनीहरुले पढ्ने स्कुल फरक छ। उनीहरुले पाउने वातावरण फरक छ। तर जब पोष्ट ग्र्याजुएटको कुरा आउँछ, त्यहाँ आरक्षणको कुरा गर्दा केही सचेत हुनुपर्छ। किनभने एमबिबिएसमा सबैलाई समान अवसर प्रदान गरिएको छ। सबै विद्यार्थीहरूको एउटै पुस्तकालयमा समान पुस्तकहरूमा पहुँच थियो। एनाटोमी हलमा उही उही समान अवसर। उही क्लिनिकल वार्डहरू। उही शिक्षकहरु। उही कक्षा। उही छात्रावास। उही क्यान्टिनहरू। उही बिरामीहरू। उही प्रयोगशालाहरु। उही विषयका पुस्तकहरू। सबै उही भएपछि अब आरक्षणका नाममा फरक बनाउनु अन्यायपूर्ण हुन्छ र प्रतिभावान् चिकित्सक उत्पादन गर्ने नीति विरुद्धको कदम पनि।
समान अवसर दिँदा पनि कोहफ पछाडि पर्छ भने अब नीतिको दोष हुँदैन। उसको कमजोरी हुन्छ। किनकी एमबिबिएस १९ को श्रेणी र १९०० को श्रेणीले उस्तै अवसर पाएका छन् आरक्षणबाट। अब फरक समुदायबारे होइन, दुई चिकित्सकहरूको क्षमतामा ठूलो भिन्नता छ।
एमबिबिएस विद्यार्थीहरूले आधा दशकभन्दा धेरै समय एकसाथ बिताउँछन्। उनीहरूले आधा दशक परिश्रम गरे र धेरै अनिद्राको रात गुमाए। त्यो अवसर सबैलाई थियो। तर प्रवेश परीक्षामा हुने आरक्षणबाट धेरै दिन नसुतेको र परिश्रम बढी गरेको बाहिरिन्छ भने त्यो अन्याय हुन्छ। डाक्टर बनिसकेपछि गरिब, जनजाति, पिछडिएको भन्ने तर्क त्यति जायज हुँदैन।
अहिले करिब ७० प्रतिशत सिट आरक्षणको लागि तोकिएको छ। स्वास्थ्य सेवामा समानताको अधिकारको विरुद्धमा देखिन्छ। सरकारी सेवामा रहेका चिकित्सकलाई कोटा दिनु उत्तम हो तर जो दुर्गम क्षेत्रमा सेवा दिएको छन्। जो सुगममा बसेर सरकारी करको दुरुपयग गर्ने सेवा नगर्ने र जनताले तिरेको करको रजाईं गरेर पेसाको दुरुपयोग गरेका छन्। उनीहरुलाई होइन, विदेशी कोटा अनि फेरि खुलामा पनि जातिगत कोटा निर्धारण गरिएको छ। यसले कुनै पनि खुला प्रतिस्पर्धामा आउने डाक्टरले पढ्न पाउने छैन। यसमा पनि आधा आफ्नाको लागि आरक्षित छ।
म पहिलेभन्दा बढी विश्वस्त छु कि नेपाली चिकित्सा प्रणालीले आफ्ना डाक्टरहरुलाई असफल बनाउँदैछ र महत्वाकांक्षी युवा दिमाग खेर जान दिइरहेको छ। यस्तो अवस्थामा म अब कसैलाई पनि यो फिल्ड सिफारिस गर्ने छैन । जसको आवाज अझै पनि राजनीतिज्ञ र निर्णय निर्माताहरूलाई यी अनुहारविहीन विद्यार्थीहरूको भन्दा बढी महत्त्वको छ- हिसाब गरेर, 'यो मेरो समस्या होइन' भन्दै र उनीहरूलाई बेवास्ता गर्दैछ।
आरक्षण नीतिहरू सीमित समयसीमा डिजाइन गरिएको छैन। जब कुनै देश र यसका नागरिकले आफ्नो स्वास्थ्य सेवा कार्यक्रम र प्रणाली सुधार गर्न चाहन्छन्, यसको उद्देश्य बौद्धिक डाक्टरको विश्वसनीय ज्ञानले तिनीहरूको रोगको समाधान खोज्छन्। नियमनकारी निकाय चिकित्सा शिक्षाको गुणस्तरका बारेमा चिन्तित रहेको संकेत देखिँदैन। न त उनीहरूको आरक्षणको उद्देश्य पिछडिएका वर्गलाई न्याय र अवसर प्रदान गर्ने आवश्यकतालाई सम्बोधन गर्नु हो। स्वास्थ्य सेवा प्रणालीको गुणस्तर सुधार नगरी आरक्षणमा केन्द्रित नीतिले राम्रो गुणको डाक्टर प्राप्त गर्ने लक्ष्य प्राप्त गर्न सक्दैन l
नेपालमा फेरि आरक्षणमा ध्यान दिनुपर्छ। जातीय आरक्षणका लागि अझै केही प्रष्ट पार्नु पर्छ। यो केवल त्यस्ता परिवारहरूको लागि हुनुपर्छ, जसका बुवा वा आमाले आरक्षणबाट शिक्षा वा रोजगारी प्राप्त गरेका छैनन्। उच्च आय भएकाहरुका सन्तान उक्त जाति भएकै कारण अरु वास्तविक पीडितको अवसर खोसिरहेका छन्।
नेपालमा पनि दलित, उत्पीडित, महिला, गरिब, अल्पसङ्ख्यक, मधेसी, थारु, जस्ता शब्दभन्दा मोडल माइनोरिटीको झल्को दिनेगरी अल्पसङ्ख्यक समुदायका एकाध प्रतिनिधिलाई प्रस्तुत गर्ने चलन बढेको छ। यो शैलीभित्र छिपेको राजनीति खतरनाक छ । यो छलकारी संस्कार हो। पछिल्लो समयमा अमेरिकामा ‘मोडल माइनोरिटी’को बहस उर्लिएको छ। आरक्षणका विषयमा अमेरिका, भारत र नेपालमा पनि क्रमश: नकारात्मक विचार बढ्दै गइरहेको छ। अमेरिकामा सीमित एसियन अमेरिकनको शैक्षिक लगायत सफलतालाई औंल्याएर ‘मोडल माइनोरिटी’को ट्याग लगाउने (स्टेरिओटाइपिङ) बुद्धिविलास विरुद्ध आवाज उठेको छ। ‘सकारात्मक विभेद’, ‘आरक्षण’ वा ‘कोटा सिस्टम’जस्ता शब्दका साटो अमेरिकामा ‘मोडल माइनोरिटी’ शब्दलाई बढी रुचाउन थालेको छ। अल्पसङ्ख्यक समुदायका केही व्यक्ति कतिपय कुरामा अगाडि हुन्छन्। तिनलाई बढाइ—चढाइ प्रचार गरेर अल्पसङ्ख्यकको मोडलका रूपमा प्रस्तुत गर्ने शैलीलाई पनि नवीन स्वरुपको ‘मोडल माइनोरिटी’ मान्न सकिन्छ।
त्यसैले अब हामी पनि बहसमा उत्रिनुपर्छ- मेधावी चिकित्सकले अवसर पाउन्, जो भोलि हाम्रो उपचार गर्नेछन्। यदि यस्तै आरक्षणको आवरणभित्र लुकेका खेलहरुमै रमाउन थाल्यौं भने मेधावी डाक्टर विदेशिनु पर्नेछ। स्वास्थ्य सेवाको सुधारको नारा अनिश्चितकालका लागि सुनिश्चित हुनेछ। राम्रो उपचार पाएर बाँच्न चाहनुहुन्छ भने पहिले आरक्षण प्रणालीबाट 'मारिन' लागेको मेधावी चिकित्सक जोगाउनुहोस्।