कोभिड-१९ ले विश्वभरि नै जरा गाडेर बसेको छ। लगभग एक वर्षदेखि समस्त मानवजातिको जीवनशैली अत्यन्त प्रभावित भएको छ। अझै पनि यो रोगको संक्रमण र यसले निम्त्याएको मृत्यु संसारका केही भागहरुमा तीव्र गतिमा भइरहेको छ। केही मुलुकहरुमा दोस्रो चरण पनि देखा परेको छ। हालसम्म ७ करोड ५० लाखभन्दा बढी मानिसमा यो रोगको पुष्टि भएको छ। यो रोगले लगभग १६ लालभन्दा बढी मानिसको मृत्यु भएको छ।
अझै पनि यो रोगको वर्तमान जोखिमको कारणले गर्दा हाम्रो सामान्य जीवनशैली सहज र सरल हुन सकेको छैन। यो विषम परिस्थितीको भयग्रस्त अन्योलता अझै कति समय रहने हो त्यसको ठ्याक्कै अनुमान लगाउन सक्ने अवस्था पनि छैन। त्यसैले विश्वव्यापीरुपमा हामी सबैलाई एक 'नयाँ सामान्य' जीवनशैली अनुकूलन गर्न आवश्यक छ। तर लकडाउन पछि सामान्य जीवन बिताउने खुसी र उत्साहमा हामीले यो महत्त्वपूर्ण नयाँ सामान्य जीवनशैलीको व्यवास्ता गरिरहेका छौं।
नयाँ सामान्य जीवनशैली भनेको मुख्यतः मास्क लगाउनु, सामाजिक दुरी कायम राख्नु र हातको स्वच्छता हो। कोरोना भाइरस सर्न नदिनु नै यो महामारी विरुद्धको उच्चतम उपाय हो। हाम्रो सानो संलग्नताले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै महामारीको जोखिमबाट मुक्त गर्न सहयोग गर्छ भने किन नगर्ने?
मास्कको प्रयोगले लक्षण नभएका संक्रमित बाट थुप्रै मानिसहरुलाई संक्रमण हुनबाट जोगाउँछ। मास्क लगाउनु भनेको वास्तवमा एक तरिकाले खोपको रुपमा पनि काम गर्न सक्छ भन्ने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले पनि यो नयाँ सामान्य जीवनशैलीलाई प्रोत्साहन गरेको छ र यसलाई कोभिड-१९ विरुद्धको युद्धमा ठूलो हतियार मानेको छ। हङकङ, जापान, सिंगापुर आदि एसियाका मुलुकहरुले प्रारम्भिक चरणमा मास्कको अनिवार्य प्रयोगको रणनीति अपनाए जसले गर्दा मृत्युहरु कम भएको देखिन्छ। यो हाम्रो 'नयाँ भविष्य' को लागि सुरक्षित एक पाइला हुनसक्छ।
विगत केही दिनदेखि हाम्रो देशमा लापरबाही बढेको महसुस भइरहेको छ। सार्वजनिक स्थान, बजार र होटलहरुमा भिडको साथसाथै मास्कको प्रयोग पनि कम गरिएको पाइएको छ। कतिपय विद्यालयहरू पनि खोलिएका छन्। सार्वजनिक यातायातमा पनि भिडभाड बढेको छ। तर, रोगको गम्भीरता र जोखिम अझै पनि घटेको छैन। जबसम्म यो रोग विरुद्ध एक प्रभावी खोप वा कुनै औषधीले नियन्त्रण गर्दैन तबसम्म स्वस्थ र सुखी जीवन बिताउने एकमात्र तरिका आफुलाई रोग लाग्न बाट बचाउनु हो। त्यसैले कृपया बुद्धिमानी अपनाउनुहोस्, मास्क वा सामाजिक दुरी कायम गर्नु कुनै गाह्रो काम होइन।
हाम्रा प्रियजनलाई जोखिममुक्त वातावरण प्रदान गरौ। अनुशासित बनौं। सभ्य बनौं। 'म मास्क प्रयोग गर्छु, म मास्क प्रयोग गर्न लगाउछु, स्वास्थ समाज मेरो पनि दायित्व हो, म सुरक्षित बनाउछु' भनी प्रतिबद्धता गरौं।