यस्तो लाग्छ, नेपालमा कोरोनासँग सम्बन्धित तथ्यांक केवल औपचारिकताका लागि हुन्। त्यसको जानकारी राखे पनि हुन्छ, नराखे पनि हुन्छ। तथ्यांकको समीक्षा गरेर आफूलाई सचेत बनाए पनि हुन्छ, नबनाए पनि हुन्छ।
सरकारले बन्देज लगाएका केही सीमित स्थानमा बाहेक अन्यत्र भीडभाड भइरहेकै छ। सडकदेखि सवारी साधनसम्म, मुख्य चोकदेखि भित्री गल्लीसम्म, चिया पसलदेखि सपिङ मलसम्म, जहाँतहीँ भीडभाड देखिन्छ। सामाजिक दूरीको विषय अब ‘भन्ने कुरा न हो’ जस्तो भइसक्यो। अर्थात्, जताततै कोरोना भन्ने केही थियो तर अब छैन भन्ने भाव देखिन्छ।
नेपालमा कोरोना संक्रमण ६ अंकमा गणना भइरहेको छ। यतिञ्जेलमा ‘कोरोना केही होइन रहेछ’ भन्ने भाष्य बलियो बन्दै गएको देखिन्छ। कतिपयलाई यसले बाह्य प्रभाव नदेखिएकाले र कतिपयलाई सामान्य लक्षण देखिएर निको भएकाले पनि त्यस्तो भाष्य बलियो बन्दै गएको हुनसक्छ। कोरोना संक्रमणप्रति बढ्दो बेवास्ता त्यसकै प्रभाव हुनसक्छ।
तर, यसैबीच कतिपय कोरोना संक्रमित गम्भीर बिरामी परेका छन्। लामो समयको अस्पताल बसेर र ठूलो रकम खर्च गरेर मृत्युको मुखबाट फर्किएका छन्। मुख्य कुरा त सयौंले संक्रमणकै कारण ज्यान गुमाएका छन्। हामीले सिक्नुपर्ने यहीँबाट हो। जुनसुकै महामारीमा पनि केही समूह कम मात्रै जोखिममा हुन्छन्, केही बढी जोखिममा हुन्छन्।
सामान्यतयाः बढी जोखिममा भएकैले ज्यान गुमाउने हुन्। त्यसैले आम नागरिकदेखि राज्यका निकायले सम्भावित मानवीय क्षतिबाट सिक्नुपर्ने हुन्छ। सचेत बन्नुपर्ने हुन्छ। क्षति हुन नदिन रणनीतिक तयारी गर्नुपर्ने हुन्छ। अहिले मानिस भिडभाडको अंश बनिरहेकाहरुमा सम्भवतः दुई/तीन वटा कारण हुन सक्छन्। पहिलो, लामो समयसम्म बन्दी जीवन बिताउनुपर्दाको आर्थिक कठिनाइ। दोस्रो, कोरोना केही होइन रहेछ भन्ने भाव। तेस्रो, कोरोना विरुद्धको भ्याक्सिनबारे आइरहेका शुभ समाचारहरु।
अन्य विषयमा प्रशस्तै चर्चा भइसक्यो। भ्याक्सिनसँग सम्बन्धित समाचार र हाम्रा आशाका विषयमा भर्खरै चर्चा सुरु भएको छ। धेरैलाई लाग्दैछ, भ्याक्सिन बनिसक्यो, अब केही समयमा नै हामीकहाँ उपलब्ध हुन्छ। त्यसैले डराउनुपर्ने केही छैन। डराउनुपर्ने त होइन, डराएर केही हुने पनि होइन। तर भ्याक्सिनका आफ्नै किसिमका जटिलता छन्। भाइरस र भ्याक्सिन दुवै नयाँ भएकाले तिनको पूर्ण प्रभावकारिता र अहिले भइरहेका हल्लाबीच अति निकट साइनो नहुन पनि सक्छ। यस्ता भ्याक्सिन वर्षौंसम्म परीक्षण र प्रयोगकै चक्रमा हुन्छन्। त्यसैले समग्रमा यो सिक्दै जाने विषय हो। मुख्य कुरा, ती भ्याक्सिन हाम्रोजस्तो तेस्रो विश्वमा तत्काल र सहज पहुँच हुने विषयमा प्रशस्तै सन्देह गर्न सकिन्छ।
विश्व परिवेशमा हाम्रो उपस्थिति र देशभित्र सेवा प्रवाह गर्नसक्ने क्षमतासम्मलाई ख्याल गर्दा सन्देहको ग्राफ अझ माथि उठ्छ। त्यसैले अहिले चर्चामा आइरहेका भ्याक्सिनहरु हामीलाई तत्कालका लागि ‘आकाशको फल’ जस्तै नहोलान् भन्न सकिन्न। भ्याक्सिन आउला, सर्वसाधारणको पहुँच पनि पुग्ला। तर त्यसका लागि अझै केही समय कुर्नुपर्ने कुरामा हामी तयार भएकै राम्रो हो। त्यतिञ्जेल आफू र आफ्नो वरपर कसैले पनि कोरोनाको कहर व्यहोर्न नपरोस् भन्नेमा सचेत बन्नुपर्छ। विश्वभर दैनिक लाखौंको संख्यामा संक्रमित थपिइरहेका छन्, हजारौंको संख्यामा मान्छे मरिरहेका छन्।
पछिल्लो केही दिनयता त बेलायत लगायत विश्वका धेरै देशमा नयाँ रुपको कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। यसको असर, रोकथाम लगायतका विषयमा थप अध्ययन बाँकी नै छ। हाल बनाइएका भ्याक्सिनले उक्त नयाँ रुपको भाइरसलाई काम गर्छ कि गर्दैन? भाइरसको रुप थप कसरी बदलिँदै जाने हो? यसले झनै अन्यौल सिर्जना गरेको छ।
तथ्यांक प्रस्तुतकर्ताका लागि तपाईं–हाम्रो मृत्यु वा केवल एउटा संख्या मात्रै हो, तर परिवारका लागि त्यो सर्वस्व हो। यसबाट पर्ने आघातमा पछुतो सिवाय अरु केही हुँदैन। त्यसैले भ्याक्सिनको सहज पहुँच भयो भने प्रयोग गरौंला, त्यसको प्रतीक्षा गर्दै गरौंला।अहिलेलाई भने सचेत बन्न नछाडौं। ताकि, भ्याक्सिन आउनुअघि नै कोरोना संक्रमित हुन नपरोस्।