काठमाडौं- बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटिएको छ। महामारी फैलिएको एक वर्षपछि दोस्रो रुपको भाइरस देखिएको बेलायतमा तेस्रो प्रजातिको भाइरस भेटिएपछि चिन्ता थपिएको छ।
कोरोना भाइरसको दोस्रो प्रजाति भारत, पाकिस्तान र अमेरिकामा पनि देखा परिसकेको छ।
पहिलो भाइरसको जोखिमबाट उम्कन नपाउँदै भाइरसका अन्य रुप पनि देखा पर्न थालेसँगै चिन्ता थपिएको हो। बेलायतको जस्तै भाइरस देखिने हो कि भन्ने चिन्ता नेपालमा पनि बढेको छ।
बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ।
बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको स्वरुप कस्तो हो? यसले गर्ने असर कस्तो छ? लगायतका विषयमा कोरोना भाइरस संक्रमण देखिएपछि सुरुवातबाट यसमा काम गरिरहेका जनस्वास्थ्य विशेषज्ञ प्राडा पदम सिंखडासँग स्वास्थ्यखबरकी कल्पना पौडेलले जिज्ञासा राखेकी छिन्। प्रा डा सिंखडाकाे भनाइ जस्ताकाे तस्तै:
भाइरसको नेचर नै कस्तो हुन्छ भने, यसले आफ्नो रुप फेर्छ। रुप फेर्दा धेरैजसो डिएनए र आरएनए ग्रुपको भाइरस हुन्छ। कोभिडको भाइरस चाहिँ आरएनए ग्रुपको भाइरस हो।
आरएनए गु्रपको भाइरस धेरै म्युटेट (रुप परिवर्तन) हुन्छ। जस्तो हामीले जाडोमा एकथरी लुगा लगाउँछौं, गर्मीमा अर्को लुगा लगाउँछौं भनेझैँ यो भाइरसको अन्त्य सामान्य प्रक्रिया हो।
कोभिड आएको लामो समयसम्म पनि भाइरस किन म्युटेट भएन भनेर मानिसहरुले कुरा पनि गर्ने गरेका थिए। पछि भाइरस म्युटेट भएको थाहा भयो।
रुप परिवर्तन गरिसकेपछि भाइरसको नयाँ प्रजाति बन्छ। नयाँ प्रजाति बनिसकेपछि मेडिकल र पब्लिक हेल्थको दृष्टिकोणबाट मुख्यगरी तीन कुरा विश्लेषण गरिन्छ।
भाइरस नयाँ वातावरणमा घुलमिल हुन आफैंमा क्लेभर हुन्छ। भाइरसले त्यहाँको वातावरणमा त्यहाँको तापक्रम अनुसार, समय अनुसार, मेडिकेसन अनुसार भाइरसले आफूलाई परिवर्तन गर्छ।
मेडिकल र पब्लिक हेल्थको दृष्टिकोणबाट मुख्यगरी तीन कुरा
- नयाँ र पुरानो भाइरसकोे सर्ने तरिका
नयाँ र पुरानो भाइरस कति छिटो वा ढिलो सर्छ भन्ने हो। कुनै भाइरस रुप परिवर्तन भएपछि छिटो सर्ने हुन्छ भने कुनै भाइरस ढिलो सर्ने हुन्छ। छिटो सर्ने पनि २ कारणले हुन्छ, एउटा यसको साइज र सेपमा फरक भयो भने सर्ने तरिका फरक हुन्छ। एक पटक खोक्दा कति संख्यामा भाइरस निस्कियो भन्ने हेरिन्छ।
अर्को हामीले हेर्ने भाइरुलेन्स लेबल हो। भाइरुलेन्स लेबल भनेको तपाईंको शरीरमा कति भाइरस पस्यो भन्ने हो। शरीरमा भाइरस पस्दैमा कोभिड लाग्यो भन्ने होइन। यो टिबी वा अरु रोगमा पनि लागू हुन्छ। थोरै संख्यामा भाइरस शरीरभित्र पस्यो भने त्यसले हामीलाई असर गर्न सक्दैन तर धेरै संख्यामा भाइरस शरीरमा पसेको छ भने त्यसले असर गर्छ।
अहिले नयाँ देखिएको कोरोना भाइरसमा के भयो भने थोरै संख्यामा शरीरभित्र पस्यो भने पनि त्यसले पुनः उत्पादन गर्नसक्ने देखिएको छ। जसले गर्दा थोरै सख्ंयामा शरीरमा आए पनि मानिसलाई असर गर्न सक्ने भयो।
यो भाइरस पुरानो भन्दा ७० प्रतिशत तीव्र संक्रामक छ भन्ने देखिएको छ। भनेको के हो भने, पुरानो भाइरसले एक हप्तामा सय जना संक्रमित भएका थिए भने अहिलेको नयाँ भाइरसले सोही अवधिमा १७० जनालाई सार्न सक्छ।
- नयाँ भाइरसले संक्रमण भएपछि देखिने लक्षण उस्तै हुन्छ कि फरक
बेलायतमा नयाँ प्रकारको यो भाइरस गत सेप्टेम्बरमा नै थोरै संख्यामा देखिएको थियो। अहिले ठूलो संख्या देखिइसकेको छ।
गत दुई हप्तादेखि भने यो भाइरस पपुलेसन लेभलमा देखिएको छ। युकेको साउथमा बढी देखिएको थियो तर अहिले लन्डनमा पुरानो प्रजातिभन्दा ७० प्रतिशत बढी नयाँ प्रजातिको भाइरस संक्रमण भएको छ।
लक्षण र चिह्न पुरानो भाइरसको जस्तै नै छ। त्यसमा केही फरक छैन। शरीर दुख्ने, ज्वरो आउने, थकाइ महसुस हुने, श्वासप्रश्वासमा समस्या हुने लगायतका समस्या नै छन्। त्यसैले गर्दा लक्षण र चिह्नका आधारमा मात्र पुराना वा नयाँ कुन प्रजातिको भाइरस हो भनेर परीक्षण नगरी छुट्याउन सकिँदैन। नयाँ भाइरसले बनाउने गम्भीरता पनि धेरै छैन।
पहिले सय जना संक्रमितमध्ये १० जनालाई अस्पताल भर्ना गर्नुपथ्र्यो भने अहिले पनि सो अनुपात नै छ।
तर, चिन्ताको विषय के भयो भने यो भाइरस ७० प्रतिशत तीव्र संक्रामक भएकोले अस्पताल भर्ना हुनेको सख्ंया बढी छ। अहिले युकेका अस्पतालहरु पूरै भरिएका छन्।
- उपचार गर्ने तरिका
नयाँ भाइरस संक्रमण भएपछि पुराना भाइरसलाई गरिएको उपचार पद्धतिले काम गर्छ कि गर्दैन भन्ने हो। धेरैजसो आरएनए भाइरसको हकमा पुरानो उपचार पद्धतिले नयाँ भाइरसलाई काम गर्दैन। जस्तो यहाँ हरेक वर्ष फ्लु भ्याक्सिन लगाउनुपर्छ। फ्लु हरेक वर्ष म्युटेट हुन्छ। जसको कारण यो वर्ष लगाएको भ्याक्सिनले अर्को वर्ष काम गर्दैन। त्यसैले हरेक वर्ष नयाँ भ्याक्सिन बनाइन्छ।
यो समयको सबैभन्दा चिन्ता भनेको नयाँ भाइरसलाई अहिले बनेको कोभिड भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने हो। अहिलेसम्म ल्याबमा भएको परीक्षणको अवस्था हेर्दा काम गरेको देखिन्छ।
अहिले बेलायतमा फाइजर र अक्सफोर्डको दुई वटा भ्याक्सिनलाई अनुमति दिइएको छ।
अब पपुलेसन लेभलमा हेर्दा भ्याक्सिन लगाएका व्यक्तिलाई नयाँ खालको इन्फेक्सन देखियो भने यसले काम गर्दैन कि भन्ने डर हुन्छ। तर भ्याक्सिनले सबैलाई प्रोटेक्ट त गर्दैन।
अक्सफोर्डको पहिलो डोजको भ्याक्सिन ७० प्रतिशत मात्र प्रभावकारी छ भनिएको छ। पुरानो संक्रमण भएको ७० प्रतिशतलाई काम गर्यो तर नयाँलाई ७० प्रतिशत प्रभावकारी हुन्छ कि हुँदैन हेर्नुपर्ने हुन्छ। अहिलेसम्म यो भ्याक्सिनले नयाँलाई पनि काम गर्छ भन्ने आशा गरिएको छ।
यो भाइरस युवा पुस्तामा सर्ने दर बढेको छ। तर मर्ने दर भने घटेको छ। त्यसैले पनि बेलायत सरकारले पहिले डोज सबै जनसख्ंयालाई लगाउने योजना बनाएको छ। किनभने, यो भाइरसको सर्ने दर तीव्र भएकाले कमसेकम पहिलो डोज सबैलाई लगाएपछि १२ हप्ता सुरक्षा गर्छ भनिएको छ।
पहिले पहिलो डोज लगाएको २८ दिनमा दोस्रो डोज लगाइहाल्नूस् भनिएको थियो। तर अहिले चाहिँ ४ देखि १२ हप्ताको बीचमा दोस्रो डोज लगाउनु
भनिएको छ।
अहिले केही दिन फेरि साउथ अफ्रिकाबाट आएका दुई जना बिरामीमा तेस्रो प्रजातिको भाइरस देखिएको छ। प्रजातिबारे परीक्षण गर्न सबै स्थानमा सकिँदैन। यहाँ चाहिँ प्रजाति पत्ता लगाउने र पहिचान गर्ने तरिका एकदमै छिटो र वैज्ञानिक छ।
तेस्रो प्रजाति दोस्रो प्रजाति भन्दा खराब भए–नभएको थाहा छैन। अहिले ल्याबमा त्यसको विस्तृत अनुसन्धान भइरहेकोले एक–दुई दिनमा यसबारे जानकारी आउँछ। अनि सँगैसँगै दोस्रो प्रजातिको भ्याक्सिन बनाउने काम पनि भइरहेको छ, अहिलेको भ्याक्सिनले काम गरेन भने भनेर।
परिवर्तित भाइरसलाई हेर्दा हामी ढुक्क भएर हिँडडुल गर्ने अवस्था छैन। नेपालमा पछिल्लो समयमा कोरोना परीक्षण घटेको देखिन्छ। मानिसहरु निर्धक्क जनस्वास्थ्यका मापदण्ड पालना नगरी बाहिर निस्कन थालेको खबर पढ्न पाइन्छ।
तर, यो समयमा जतिसक्यो धेरै परीक्षण गर्ने हो। जनस्वास्थ्यका तीन मुख्य मापदण्ड मास्क, भौतिक दूरी र हातको सरसफाइ गर्ने कुरा कडा रुपमा पालना गर्नुपर्छ।
बेलायतबाट नेपाल गएका केही व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको भन्ने सुनिएको छ। उनीहरुलाई दोस्रो प्रजातिको भाइरस संक्रमण हुने निकै सम्भावना हुन्छ।
हुन त नेपालमा खुला ठाउँ धेरै छ। घरहरुमा पनि भेन्टिलेसन हुन्छ। दिउँसो फुर्सदमा मानिसहरु छतमा घाम ताप्ने गर्छन्। तर युके, अमेरिका र भारतमा घना बस्ती भएको, जनसंख्या धेरै भएको स्थानमा दोस्रो प्रजातिको भाइरस फैलिएको छ।
अहिले अक्सफोर्डले बनाएको भ्याक्सिन नेपालका लागि पनि उपयुक्त हुने देखिन्छ। यसको भण्डारण २ देखि ८ डिग्रीमा गर्नुपर्ने भएकोले नेपालमा पनि यो खालको संरचना भएकाले यो भ्याक्सिन प्रयोग हुनसक्छ।
अब सरकारले यसका लागि कसरी प्रक्रिया अगाडि बढाउँछ भन्ने हो। तर, मुख्य कुरा सरकारले अहिले परीक्षण गर्ने, संक्रमित पत्ता लगाएर आइसोलेसनमा राख्ने जस्ता कुरामा हात झिक्न हुँदैन। जनताले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु हुँदैन।
(प्राध्यापक सिंखडा स्कुल अफ ह्युमन एन्ड हेल्थ साइन्स, हर्डसफिल्ड युनिभर्सिटी बेलायतमा कार्यरत छन्।)