कोभिड–१९ को महामारीले ल्याएको विषम चुनौतीको सामना गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगमा जर्मन सरकारले प्रमुख भूमिका खेलिरहेको छ।
सन् २०२० मा आर्थिक साझेदारी तथा विकासका लागि जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) ले एक अर्ब युरो बराबरको आपतकालीन कोभिड–१९ सहयोग कार्यक्रम घोषणा गरेको छ।
नेपालको कोभिड–१९ को व्यस्थापनमा जर्मन सरकारको बिएमजेडबाट जिआइजेडमार्फत १४ लाख युरो छुट्याएको छ। सो स्रोतको प्रयोगबाट द्विपक्षीय विकास सहयोग परियोजना, स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी रणनीतिक तयारी तथा व्यवस्थापन योजनामा पाँच क्षेत्रमा सहयोग गरिरहेको छ।
जिआइजेडले कोभिड–१९ का हब अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा सुधारका लागि सहयोग गर्दै आइरहेको छ।
एकीकृत फोहरमैला व्यवस्थापन प्रणालीको विकास तथा कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारहरु, स्वास्थ्य संस्था प्रबन्धकहरु तथा निजी कम्पनीहरुसँग काम भइरहेको छ। जसले संक्रमित स्वास्थ्यजन्य फोहोर लगायत अन्य प्रकारका फोहोरहरुको उचित उपचार र विसर्जन सुनिश्चित गर्छ।
यस संस्थाले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन, खानेपानी सरसफाइ तथा र वातावरणीय स्वास्थ्य सम्बन्धित नीति, रणनीतिक योजना, निर्देशिका, मापदण्ड र तालिम सामग्रीहरुको विकासमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राविधिक सहयोग गर्दै आएको छ।
स्वास्थ्यजन्य फोहर उत्सर्जनको परिमाण र स्वास्थ्य सेवा स्थलमा संक्रमण दर वृद्धिको जोखिम दुवै दृष्टिकोणबाट कोभिड–१९ महामारीले फोहोरमैला व्यवस्थापनमा नयाँ चुनौती थपेको छ।
कोभिड–१९ उद्घार उडानबाट निस्केको फोहोरको सुरक्षित व्यवस्थापनः विश्व स्वास्थ्य संगठन नेपाल र हिकाफ ३६० को सहकार्यमा जिआइजेडले नेपाल सरकारलाई जहाजबाट निस्केको फोहरको सुरक्षित व्यवस्थापनमा सहयोग गरेको थियो। जसले १७५ नेपाली विद्यार्थीको वुहान, चीनबाट फेब्रुअरी २०२० मा उद्धार गरेको थियो।
व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन सामग्रीहरुको आकस्मिक खरिद तथा आपूर्ति जस्तैः निसंक्रमण गर्ने सामग्री, साबुन, बाल्टिन, मेडिकल वेस्टको लागि बायो हाजार्ड झोलाहरु समेत उपलब्ध गराएका थियौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा जिआइजेडले राष्ट्रिय कोरोना भाइरस व्यवस्थापनका लागि स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी अन्तरिम निर्देशिकाको विकासका लागि पनि सहयोग गरेको छ।
कोभिड–१९ अस्पताल मा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रणालीको द्रुत अध्ययनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहाकार्यमा डिजिटल माध्यमको विकास गरेर संक्रमण रोकथाम नियन्त्रण, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र वासको क्षेत्रमा स्वास्थ्य संस्था तयारीको द्रुत अध्ययनमा सहयोग गरेको छ।
१३ वटा कोभिड–१९ हब अस्पतालमा स्वास्थ्यजन्य फोहोरमैला उपचार केन्द्र र अस्पताल लन्ड्रीहरुको निर्माण तथा स्थापना (जस्तैः अटोक्लेभ, वासिङ मेसिन, ड्रायर, निडिल कटर, ट्रली, फोहर राख्ने बाल्टिन, पिपिई आदि) र राष्ट्रिय मापदण्ड, कार्यविधि तथा निर्देशिका अनुरुप दिगो स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रणाली सञ्चालन गर्न ८३ जना स्वास्थ्यकर्मी र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन फोकल व्यक्तिहरुलाई तालिम र यी स्रोत व्यक्तिमार्फत सरसफाइकर्मी तालिम)
यस खालको प्राविधिक सहयोग प्रदेश १ को सामाजिक विकास मन्त्रालयको विशेष अनुरोधमा ११ वटा प्रादेशिक अस्पतालहरुको स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रणालीको डिजाइन र विकास चाँडै नै विस्तार गरिँदैछ।
स्वास्थ्य संस्थाहरु, अविष्कार केन्द्र, प्रयोगशाला वा मानिसको घर जस्ता स्थानबाट स्वास्थ्य सेवा सम्बन्धी कार्यहरु गर्दा निस्केका सबै प्रकारका फोहोरलाई स्वास्थ्यजन्य फोहोरमैला भनिन्छ।
धेरैजसो स्वास्थ्यजन्य फोहोर घरयसी फोहोर जस्तै हुन्छ, जस्तैः प्याकेजिङ, बचेको खाना आदि जुन सामान्य अवस्थामा प्रायः जोखिमरहित हुन्छन्। जबकी १० देखि २५ प्रतिशत स्वास्थ्यजन्य फोहोरमैला जोखिमयुक्त अर्थात् हानिकारक हुन्छन्।
जोखिमयुक्त फोहर भन्नाले संक्रमित फोहोर (जस्तैः रगत, रगत लागेका वस्तु वा शरीरका अंगहरुबाट निस्केका द्रव आदि), धारिलो वस्तु (जस्तैः सुई, सिरिन्ज, पत्ती आदि), प्याथोलोजिकल फोहोर (जस्तैः शरीरका अंगहरु, तन्तुहरु), औषधिजन्य फोहोर (जस्तैः प्रयोग वा म्याद नाघेका औषधि, खोप आदि), साइटोटोक्सिक फोहोर (जस्तैः क्यान्सर उपचारमा प्रयोग भएका औषधि), रासायनिक फोहोर र रेडियोधर्मी फोहोर बुझिन्छ।
यस्ता स्वास्थ्यजन्य फोहोरको कमजोर व्यवस्थापनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, बिरामी, स्वास्थ्य संस्थामा आउने व्यक्तिहरु र आम मानिस सबैलाई नोक्सान पु¥याउन सक्छ।
सुरक्षित स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन मुख्यतयाः विधिवत रुपमा स्रोतमै फोहर छुट्याउने र संक्रमित फोहरलाई विसर्जन गर्नु अगाडि उपचार गर्ने कुरामा निर्भर गर्छ।
फोहर जलाउने (इन्सिलेरेसन), ल्यान्डफिल वा अनियन्त्रित विसर्जनका विकल्पको रुपमा वातावरण मैत्री तथा प्रदूषणरहित प्रविधिहरु उपलब्ध छन्।
जसमा जैविक उपाय (जस्तै कम्पोस्टिङ, भर्मी कम्पोस्टिङ, एनारोबिक डाइजेसन (सेप्टि ट्यांक) आदि), न्यून तापीय थर्मल आधारित उपचार (जस्तै अटोक्लेभ प्रविधि, माइक्रोवेभ), रसायनिक उपचार, इनक्यापसुलेसन र खाडलमा गाड्ने जस्ता प्रविधिहरु पर्दछन्। विश्व फोहर संकट र हरित ग्यास उत्सर्जनमा स्वास्थ्य संस्थाहरुको प्रमुख योगदान रहेको छ।
४आर को सिद्धान्त— प्रयोग गर्न नमान्ने प्रयोग कम गर्ने, पुनःप्रयोग गर्ने, र पुनः चक्रीय विधिको पालना गरेर स्वास्थ्य संस्थाहरुले वातावरणीय पदचिह्नलाई कम गर्न र आफ्नो वरिपरिका समुदायहरुलाई सो गर्न अभिप्रेरित गर्नमा मद्दत गर्न सक्छ। असल स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरु र स्थानीय सरकारबीच निकटतम साझेदारी हुनु आवश्यक छ।
समग्रमा फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी हुन्छ। फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार हानिकारक फोहरको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहर उत्पादन गर्ने व्यक्ति वा संस्थाकै हुन्छ। यसको मतलब जोखिमयुक्त स्वास्थ्यजन्य फोहरको उपचारको जिम्मेवारी स्वास्थ्य संस्थाहरुको हुन्छ।
कोभिड–१९ महामारीले गर्दा स्वास्थ्यजन्य फोहोर उत्पादनमा नाटकीय वृद्धि भएको छ। उदाहरणको लागि जकार्ता, कोलालमपुर र मनिलामा महामारीको बेला स्वास्थ्यजन्य फोहर उत्पादनमा करिब ५००ले वृद्धि भएको पाइन्छ। त्यहाँ स्वास्थ्य संस्थाहरु र स्थानीय सरकारहरुले बढी उत्पादित फोहरको मात्रा र समानुपातिक रुपमा वृद्धि भएको संक्रमित फोहर दुवैको व्यवस्थापन उनीहरुसँग हाल भएको फोहोरमैला व्यवस्थापन प्रणालीबाटै गरिरहेको पाइन्छ।
यही अगस्ट सन् २०२० मा संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम द युनाटइटेड नेसन इन्भारोमेन्टल प्रोगाम (युएनइपी) ले नेपाल लगायत ११ विकासोन्मुख देशमा गरेको सर्वेक्षणले महामारीको बेला केही साझा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका अभ्यासहरुलाई उजागर गरेको छ।
(सिन्हा जिआइजेड नेपालका उपप्रमुख प्राविधिक सल्लाहकार हुन्।)