चितवन- पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ। जसमा छ हजार ९४० जना सहभागी भएका छन्। यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ।
शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।
त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, वृद्धाआश्रमबाट १८९ र कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन्।
खोप शुरु भएको पहिलो दिन २७९ ले खोप लगाएका थिए। यो सङ्ख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्म पुगेको थियो।
जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव पाँच प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।
खोप लगाइसकेपछि आठ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उहाँको भनाइ छ। खोप लगाएकामध्ये चार जनालाई डाबर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए।
सर्लाहीमा साढे छ हजारलाई खोप
सर्लाही–सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ।
अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ।
जिल्लामा अभियानअन्तर्गत पहिलो चरणमा दुई हजार ९७६ ले खोप लगाएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्याङ्कअनुसार जिल्लास्थित २० वटै स्थानीय निकायमा अग्रपङ्क्तिमा काम गर्ने झण्डै छ हजार ६३९ रहेका जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ।
लक्ष्यअनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासक श्रवण नायकले बताए।
जिल्लाबाट कोरोनाविरुद्धको सात हजार डोज खोप माग गरिएकामा पाँच हजार ३०० डोजमात्र प्राप्त भएको थियो। अब आज आउने लिखित निर्देशनअनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने वा केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने उहाँले बताए।
सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोहीमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताए।
पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरि दोस्रो डोज लगाउनुपर्ने छ। अघिल्लो बुधबार अर्थात् यही माघ १४ गतेबाट सर्लाहीसहित देशभर शुरु गरिएको पहिलो चरणको अभियान शनिबार अन्त्य भएको हो।
बागलुङमा १, ७२९ ले लगाए खोप
गलकोट– बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ। बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन्।
गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन्। पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।
जिल्लामा दुई स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो। धवलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो।
बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका लक्ष्य गरी खोप केन्द्र सञ्चालन गरिएको खत्रीको भनाइ छ।
पहिलो चरणमा एक हजार ७१४ लाई खोप लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदीबन्दीलाई समेत खोप लगाउँदा सङ्ख्या बढी भएको खत्रीले जानकारी गराए। मानव सेवा आश्रमका ३१ लाई र जिल्ला कारागार कार्यालयमा रहेका १२५ जनालाई खोप लगाइएको उनको भनाइ छ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३७३ र धवलागिरि अस्पताल केन्द्रमा एक हजार २०० लाई खोप लगाइएको थियो। अझै २३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिए।
अब केही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
रासस