मस्तिष्कघात भनेको के हो?
हामीमध्ये धेरै जनाले हर्टअट्याकको बारेमा धेरै नै सुनेका छौं। जसरी मुटुमा हार्टअट्याक हुन्छ त्यसैगरी मस्तिष्कमा पनि अट्याक हुन्छ।साधारण रुपमा भन्नुपर्दा मस्तिष्कमा हुने आघात अर्थात अट्याकलाई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ। मस्तिष्कमा जाने नशा फुटेर वाँ साँघुरो भएर रगत प्रवाह बन्द हुने अवस्था नै मस्तिष्कघात हो।नशा बन्द हुने समस्यालाई स्केमिक स्ट्रोक र नशा फुटेर हुनेलाई हेमोरेजिक स्ट्रोक भनिन्छ।
अहिलेको अवस्थामा मस्तिष्कघात चिन्ताजनक विषय हो।नेपालमा यो समस्या अहिले विकराल भइरहेको छ।मानिसको मृत्युको कारकमध्ये यो रोग पाँच नम्बरमा पर्छ।आगामी १० वर्षमा मस्तिष्कघात मानिसको मृत्युको पहिलो कारण बन्नसक्ने देखिएको छ।विश्वभर नै मस्तिष्कघातको समस्या भयावह हुने अवस्था छ।हाम्रो देशमा विशेषगरी गाउँघरमा अझैपनि मृत्युको कारण थाहा नभएको भन्ने गरिन्छ।सायद ती व्यक्तिमा मस्तिष्कघात भएको हुनसक्छ।नेपालमा त कतिपयमा मस्तिष्कघात पहिचान नै नभइ मृत्यु भइरहेको अवस्था अझै छ।
यो समस्या नेपालमा किन यस्तो विकराल भएको होला?
अहिले मानिसहरुको खानपिन, परिवर्तित दैनिकी, जीवनशैलीमा आएको परिवर्तन नै मुख्य कारण हो।चुरोट, रक्सिको सेवन गर्ने, मधुमेह, उच्च रक्तचापका बिरामीहरुले नियमित औषधि नखाने वा औषधि खाएर पनि मदिरापान समेत गरिदिने, स्वस्थकर खाना नखाने, तनाव धेरै हुने व्यक्तिमा यो समस्याको जोखिम रहन्छ।
मस्तिष्कघात भएको शंका कसरी गर्ने? लक्षणहरु कस्ता हुन्छन्?
मस्तिष्कघात हुन लागेको थाहा पाउन गाह्रो हुन्छ। तर केही संकेतहरु हुन्छन्। जस्तै आधा अनुहार झम्झमाउने वा बाङ्गो हुने, हात वा खुट्टा झम्झमाउने वा कमजोर हुने, आवाज लरवरिने, होस कम भएजस्तो हुने समस्या अचानक भएको छ भने यो मस्तिष्कघातको लक्षण हो। यस्तो लक्षण देखिएको ४ घण्टालाई स्वर्णिम समय भन्छौं। यो ४ घण्टामा अस्पताल पुगेर उपचार सुरु भएमा मान्छेको मृत्यु हुने देखि प्यारालाइसिस हुने, देख्न, बोल्न, सुन्न नसक्ने वा घाँटीभन्दा तलको भाग नचल्ने समस्याहरुबाट बच्न सकिन्छ।
यदी यस्तो लक्षण देखिनासाथ बिरामी अस्पताल पुगिहाले र सहि पहिचान भएर उपचार भयो भने धेरै हदसम्म निको पार्न र बचाउन सकिन्छ। तर नेपालमा बिरामी भइहाल्दा सुरुमा सिटामोल खाएर घरमै आराम गर्ने चलन छ। यसले उनीहरुले आकस्मिक उपचार नै पाउन सक्दैनन्। यो समस्या आम सर्वसाधारणमा मात्र होइन, हामी चिकित्सकमै पनि छ। ज्वरो आयो भने साधारण रगत वा पिसाबको जाँच गरेर समस्या थाहा हुन्छ। तर अस्पतालमै भएका स्वास्थ्यकर्मी समेत जाँच नगरी सिटामोल खाएर आराम गर्न घर जान्छन्। समयमै उपचार गराउन आवश्यक छ।
मस्तिष्कघातमा प्यारालाइसिस हुने समस्या धेरैमा देखिने शारीरिक जटिलता हो?
हो, मस्तिष्कघातमा ‘कमन’ शारीरिक जटिलता भनेको प्यारालाइसिस हुने हो। मस्तिष्कघात हुँदा दिमागको नशा बन्द हुन्छ।जहाँको नशा बन्द भएको छ त्यहाँ सुकेर र नशा फुटेर प्यारालाइसिस हुन्छ।यदी ठिक्कको मात्रामा छ भने मान्छे बाँच्छ तर प्यारालाइसिस हुन्छ।त्यही अवस्थामा बढी रगत बगेको छ, नशा सुकेको दिमागको भाग बढी छ भने मान्छेको मृत्यु नै हुन्छ।
नशा फुटेर वा सुकेर हुने मस्तिष्कघातमा कुन बढी घातक हुन्छ?
हेमोरोजिक स्ट्रोक अर्थात दिमागको नशा फुटेर हुने समस्या प्रतिएकसय जनामा १० जनामा देखिने समस्या हो।बाँकी ९० प्रतिशतमा दिमागको नशा बन्द भएर वा सुकेर दिमागमा रगत सप्लाई नहुने समस्या देखिन्छ।तर नशा सुकेर भन्दा फुटेर हुने समस्यामा बढी खतरनाक हुन्छ।
मस्तिष्कघात भएको कसरी पत्ता लगाइन्छ?
मस्तिष्कघात भएको पत्ता लगाउन स्पेसल एमआरआइ हुन्छ।हाम्रो देशमा साधारण अस्पतालमा बिरामी पुगेपछि डाइग्नोसिस समयमै एकदमै कम हुन्छ।एमआरआइ नभएको ठाउँमा सजिलै पत्ता लगाउन गाह्रो हुन्छ। एमआरआइले मस्तिष्कघात भएको १० मिनेट पछि नै पत्ता लगाउन सक्छ। सिटी स्क्यानले भने एक, दुईदिन पछि नशा सुकेको देखाउछ।तर ब्रेन ह्यामरेज भएको सिटी स्क्यानमा तुरुन्तै देखाउँछ।स्पेसल एमआरआइ सबै ठाउँमा त उपलब्ध छैन।
नेपालमा मस्तिष्कघातको समयमै सहि उपचार हुनै सकेको छैन भन्न सकिन्छ?
मस्तिष्कघात पहिचान र उपचारका लागि एमआरई, सिटी स्क्यान र अन्य प्रविधि उपचार देशभर सबैतिर सहज उपलब्ध छैन।त्यसैले पनि यो रोगको भयावह अवस्था छ।मानिसमा पनि जनचेतनाको कमिले गर्दा हामीकहा रिजल्ट खासै राम्रो छैन।
मस्तिष्कघातको उपचार कसरी गरिन्छ?
१०० प्रतिशतमा ६० देखि ८० प्रतिशत मानिसलाई खासै उपचार चाहिँदैन।थोरै रगत बगेको, सानो सानो सुकेको छ भने एकवर्ष ६ महिनामा औषधिले नै ठिक हुन्छ।तर ठूलो नशामा रगत बगेको छ भने यसको कारण पत्ता लगाउने, कुन भागको नशा हो, उच्च रक्तचापको कारणहरु छ।अर्को मुटु वा दिमागको कारणले गर्दा रगत पातलको हुने औषधि खाने व्यक्तिमा पनि ब्रेन ह्यामरेजको समस्या हुन्छ।
टाउको नै खोलेर सबैको अप्रेसन गर्नु पर्दैन।अहिले इन्टरभाष्कुलर प्रविधिबाट नशाबाटै तारहरु छिराएर बन्द भएको नशा खुलाउने विधिहरु पनि नेपालमा छ।
समयमै अस्पताल आएको अवस्थामा ६० प्रतिशत भन्दा बढीको औषधिबाटै पनि ठिक हुन्छ?
हो, समयमै अस्पताल आएर सहि उपचार भएको अवस्थामा औषधिबाटै ६० प्रतिशत भन्दा बढी बिरामी ठिक हुन्छन्। तर आफ्नो स्वास्थ्यको ख्याल नराख्ने, उच्च रक्तचाप, मधुमेह लगायतका समस्या भएका बिरामीले पनि स्वास्थ्यमा ध्यान नदिने, चुरोट, रक्सि सेवन गर्ने कारणले ६० प्रतिशत बिरामी नर्मल हुँदैनन्।
मस्तिष्कघातपछि आउने शारीरिक समस्याको पुनर्स्थापनाको अवस्था कस्तो छ नेपालमा?
मस्तिष्कघात पछि आउने शारीरिक जटिलताको पुनर्स्थापनाका लागि पुनर्स्थापना केन्द्र अति आवश्यक हो। दुर्भाग्यवस नेपालमा राम्रा पुनर्स्थापना केन्द्रहरु नै छैनन्। भएकाहरुमा पनि सबैले अफोर्ट गर्न सक्ने अवस्था छैन। सायद २,४ प्रतिशत बिरामीले मात्र पुनर्स्थापना केन्द्रमा जानुभएको छ। प्यारालाइसिस भएको व्यक्ति घरमा भएपछि नर्स वा एकजना व्यक्ति जतिबेला पनि आवश्यक पर्छ। जीवनभर बाँच्ने बिरामी केयर नहुँदा ६ वा ८ महिना पनि बाच्न गाह्रो हुन्छ।
यो रोग उमेरसँग पनि सम्बन्धित छ?
यो समस्या उमेरसँग सम्बन्धित छ। जति उमेर बढ्दै गयो त्यति नै मस्तिष्कघात हुने जोखिम बढी रहन्छ। उमेर बढ्दै जाँदा नशामा पनि फ्याहरु डिपोजिट हुँदै जान्छ।र, नशा सानो हुँदै जाम हुँदै जान्छ र जुन फ्लोमा जानुपर्ने रगत अत्याधिक फ्लोमा जाँदा पनि स्ट्रोक हुन्छ।
मस्तिष्कघात हुँनै नदिन के-के कुरामा ध्यान दिने?
याद गर्नुपर्ने कुराहरुमा उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ।मुटुको समस्या भएका बिरामी, उच्च रक्तचाप, सुगरका बिरामीले आफ्नो यी समस्यालाई कन्ट्रोलमा राख्नुपर्छ।नियमित औषधि खाने, नियमित व्यायम गर्ने, ८ घण्टा वा पुरा निद्रा सुत्ने र खानपानमा विशेष ध्यान दिनुपर्छ।चुरोट, रक्सिको सेवन गर्नु हुँदैन। शरीरलाई सक्रिय राख्नुपर्छ।
-(वरिष्ठ न्युरो सर्जन डा झा वीर अस्पतालमा कार्यरत छन्।)