अस्पतालको शय्यामा यदि कसैले कुनै बिरामीलाई तपाईंका लागि महत्वपूर्ण कुरा के हो भनेर प्रश्न गर्नुहुन्छ भने त्यो व्यक्तिले निसंकोच भन्छ: 'आरोग्य'- मलाईं यो अस्पतालमा बस्नु छैन।
कस्तो महत्वपूर्ण कुरा रहेछ आरोग्य, सजिलै प्राप्त गर्न गाह्रो– अमुल्य छ आरोग्य, कसैको जीवन स्वर्ग वा नरक यही धर्तीमै साक्षात्कार गराउने तागत रहेछ यसमा। किनकि स्वस्थ शरीर अनि मन नै बाँच्ने आधार हो।
तर प्रश्न आउँछ कि यस्तो महत्वपूर्ण चिजको पूर्व महत्व र रक्षामा हामी पहिलेनै किन सजग भएनौं? सायद यो प्रश्न पनि धेरै जसोलाई अस्पतालमा नै उठ्ने गर्दछ, फुर्सदमा हामीलाई यस प्रश्नमा ध्यान जाँदैन, यही हो विडम्बना आजको आरोग्यताको सवालमा।
एकैछिन मनन् गर्दा के आरोग्यता प्राप्तिका लागि अस्पतालमा नै पुग्नु पर्ने हो कि? अवश्य पनि धेरैलाई यही लाग्छ कि चिकित्सक आरोग्यदाता हुन् र धन माध्यम।यही सोचबाट माथि उठ्न नसक्दा आज देशमा स्वास्थ्य रक्षा भन्दा उपचारमा बढी रकम खर्च भएको छ। सबै पक्षलाई मध्यनजर गर्दा आजको आवश्यकता गुणस्तरीय स्वास्थ्य उपचार मात्र नभई स्वास्थ्य शिक्षा र आरोग्य प्राप्तिका लागि सतर्कता भन्ने कुरामा दुईमत नहोला किनकि प्रिभेन्टिभ मेडिसिन (स्वास्थ्य रक्षा) भन्ने विषय हामीले विद्यालयदेखि चिकित्सा शास्त्र सम्मको स्तरमा राखिएको हो।
प्रिभेन्टिभ मेडिसिनको अवधारणा अथवा भनौं जन्म आयुर्वेद विज्ञान बाट नै भएको हो किनकि स्वस्थ व्यक्तिको स्वास्थ्यलाई रक्षालाई पहिलो उद्देश्य बनाउदै स्वस्थ व्यक्तिले पालना गर्नुपर्ने नियमहरुको उल्लेख गरिएको छ जुन कुरा अहिले कुनै रोगीलाई मात्र भन्ने प्रचलन छ।
कोहि वृद्ध मानिसलाई मैले प्रश्न गरे कि आजकल मान्छे किन निरोगी छैनन? जवाफ भिन्न भिन्न आयो: मानिस पापी भए आजकल, धेरै खान्छन थोरै निष्काशन गर्छन, रहनसहन परिवर्तन भयो आदि।यस उत्तरबाट यो झल्किन्छ कि पहिलेको शताब्दी अनुकुल थियो स्वास्थ्य संरक्षणका लागि अथवा भनौं स्वास्थ्य चेतनाको विकास नभएको युगमा पनि मानिस लामो समय बाँचे। परिवर्तन सामान्य प्राकृतिक प्रक्रिया हो जहाँ वातावरण एक महत्वपूर्ण पक्ष हो मानिसको स्वास्थ्यमा भूमिका खेल्ने।
परिवर्तनशील समयमा हामीले पनि समयानुकुल आफूलाई परिवर्तन गर्नु पर्ने कुरालाई नकार्न मिल्दैन तर प्रकृतिकोविरुद्ध पनि जानु हुँदैन। यसको उदाहरणमा आयुर्वेद आधुनिक विज्ञान भन्दा निकै अगाडि आएको विज्ञान हो जहाँ यही जीवनशैली समय र वातावरण अनुसार आफुलाई ढाल्नुपर्छ- नियमबद्ध हुनुपर्छ किनकि रोगको उत्पादक कारण यिनै हाम्रा गतिविधि हुन् र कारणलाई त्याग गर्नुको अर्थ आरोग्य को सुत्र हो।यही वैज्ञानिक धरातलमा उभिएर युगानुरूप परिवर्तनको समर्थन गर्ने शास्त्र हो आयुर्वेद।
आधुनिक सभ्यतासंगै विज्ञानको सहायताले आफ्नो श्रमलाई घटाउंदै जीवनशैलीलाई परिवर्तित गरेको मानव आज यही प्रकृति विरुद्ध हुनाले अरोग्यता को भिखारी बन्नु परेको प्रमुख कारण हो।अघिको प्रश्नको उत्तरको विश्लेषण गर्नु पर्दा मानिस पापी जरुर भएकै छ, पहिलेका मानिस कुकर्म गर्न डराउथे पापी भइन्छ भनेर, अहिले त्यही चेतना पापी भनेको रोगी हुनु हो भनेर बुझाउनु जरुरी छ।
अर्को पक्षमा खानपिनको कुरा आउँदा वेफुर्सदको आजको मानव छिटोको पछी लाग्दा मिठो विर्सिएर रोगको सिकार बनेकै छौं। आजको खानामा फास्टफुड, चिल्लो पदार्थमा नै केन्द्रित हुँदा नै खाएको भोजनमा क्यालोरी बढी भएर मोटोपनाको कारक तत्वको रुपमा आज बिकराल रहेको छ।आयुर्वेदमा यस विषयमा सात्विक भोजनको स्वरुपमा मिश्रित, छ रसयुक्त खाने विधान छ जसलाई आज आधुनिक विज्ञानले ब्यालेन्स डाइटको नामले चिनेको छ।हो यिनै कुरामा आयुर्वेदको वैज्ञानिकता झल्कन्छ जहाँ विहान ब्रह्ममुहुर्तमा (सुर्येदय हुनुभन्दा ९० मिनेट अगाडि) उठेर नित्य कर्मको विधान छ।
आज विज्ञानले समर्थन गर्दै त्यही भन्छ: "Early to bed early to rise" किनकि वैज्ञानिक पक्षले हेर्दा उक्त समयमा विरुवाले स्वासप्रस्वास गर्दा ताजा अक्सिजन दिने गर्दछ जसले मस्तिस्कको रक्तसंचार बढाएर यसको क्षमता वृद्धि गर्दछ जसकारण सो समयमा ज्ञान आर्जन प्रभावकरी हुन्छ। यति मात्र नभएर ५००० वर्ष अगाडि उल्लेखित गरिएको जीवनशैलीलाई आधार बनाएर आज प्रत्येक चिकित्सकले औषधि मात्र नभएर खानपिन र रहनसहनमा ध्यान दिनु भन्दछन्। वास्तवमा औषधिलाई खानाको रुपमा लिएको अहिलेको स्वास्थ्य सतर्कताले खानालाई औषधिको रुपमा कहिले स्वीकार्ने हो पत्तो छैन। पश्चिम दर्शनलाई विकासको आधार सम्झिएका हामीले पूर्वबाट मुख फर्काउँदै जाँदा पश्चिममा पूर्वीय दर्शनले पाएको विशिष्ट स्थान बारे अनविज्ञ झैँ छौं। त्यसैले त ओबामाले र मोदीले योग गरेको फोटोलाई like र retweet गर्दै बस्छौं तर त्यसको अभ्यास गर्दैनौं किनकि हामीलाई विकास चाहिएको छ, सिको मात्र गर्नु छ। घरको घ्युकुमारी खानु छैन aloevera juice खानु छ बजारको। सुन्दा साना साना लाग्ने कुराबाट नै महत्वपुर्ण कुरा जोडिएको छ- आरोग्य।
यसर्थ आधुनिकतालाई आँखा चिम्लिएर विश्वास गर्ने हामी त्यही विज्ञानको जरालाई उपेक्षा गर्दा आफ्नो वशको आरोग्यता गुमाई भौतारिनु परेको छ। घरमा तुलसीलाई इश्वरको स्वरुप मान्न लगाएर यसको औषधिय गुणलाई उकास्न अभिप्रेरित गर्न हाम्रो विज्ञान, हाम्रो पूर्वीय कला संस्कृति महान छ। हामी धनी भएर पनि किन खाली हात छौं त भन्दा हामीले हाम्रो धनको उचित समयमा चिनेनौं र चिनेर पनि व्यवस्थापन गरेनौं तर त्यहीको अभाव मात्र महसुस गर्दै र दोष अरुलाई नै दियौं। भगवान धन्वन्तरीले हामीलाई सुस्वास्थ्यका लागि अभिप्रेरित गरुन। धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आरोग्य दिवसको शुभकामना!
-(कन्सल्टेन्ट आयुर्वेद चिकित्सक डा खनाल हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवनमा कार्यरत छन्।)