काठमाडौं- उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।
अमेरिकामा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मुटुको उपचार र किड्नीको डायलाइसिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। तर हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेको छ।
असोज १ गते उक्त अस्पतालमा भर्ना भएका उनलाई मुटुको इसीजी गराइएको थियो। बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएयो। असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले एन्जीयोग्राम गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराए तर परिवारका सदस्यहरूलाई पनि भेट गर्न दिइएन।
जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्के। असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको उल्लेख छ।
सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो। रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको फिरादपत्रमा उल्लेख छ।
बिरामीलाई एन्जीयोप्लास्ट गरिसकेपछि आइसीयूमा राख्दा बेलुका ५ बजे नै हात सुन्निएको, फोका उठेको देखेर डा किशोरले कस्सिएर बाँधिएको हातको टेप खुकुलो बनाउने भनेर लेखे पनि अस्पतालले उक्त कार्य नगरी लापर्बाही गरेको फिरादपत्रमा जिकिर गरिएको छ।